पुनर्निर्माणको एक खर्ब ४५ अर्ब बजेट स्वीकृत
२९ असार २०७४
•
६ मिनेट पाठ
पुनर्निर्माणको एक खर्ब ४५ अर्ब बजेट स्वीकृत
काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति बैठकले आगामी आर्थिक वर्षको लागि एक खर्ब ४५ अर्ब ९३ करोड ४९ लाख ४० हजार रुपैयाँ बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले प्राधिकरणबाट प्रस्तुत उक्त बजेट तथा कार्ययोजना प्रस्ताव पारित गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए। प्राधिकरणले विभिन्न निकायमार्फत पुनर्निर्माण र पुनर्स्थापना कार्यमा उक्त बजेट खर्च गर्ने उनले बताए।




'आगामी आवमा पुनर्निर्माणका कुन कुन काम कसरी अगाडि बढाउने भन्ने कार्ययोजना पारित भएको छ,' प्रवक्ता भुसालले भने, 'अब साउन १ गतेदेखि सोही कार्ययोजनामा टेकेर हामी काम गर्न सक्छौं। अब पुनर्निर्माणको मार्ग स्पष्ट भएको छ।' आगामी आर्थिक वर्ष निजी आवास पुनर्निर्माणलाई अभियानको रुपमा अगाडि बढाउने उनले बताए। 'पहिलो किस्ताको रकम असोज मसान्तभित्र लिइसक्नुपर्नेछ। दोस्रो र तेस्रो किस्ताको रकम लिने समयावधि स्पष्ट तोकिएको छ,' उनले भने।

बैठकले भूकम्प कम प्रभावित १७ जिल्ला हेर्ने गरी आठ ठाउँमा प्राधिकरणको सम्पर्क कार्यालय स्थापना गर्न स्वीकृति दिएको प्रवक्ता भुसालले जानकारी दिए।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले पुनर्निर्माणले गति लिएको दाबी गरे। 'म सिइओ भएर आउनुअघि ६५ हजार घर बनिसकेको तथ्यांक आएको थियो। तर म आउँदा हजारवटा पनि घर बनेका रहेनछन्,' उनले भने, 'अहिले करिब ४० हजार घर सम्पन्न भएका छन्। एक लाख १० हजारभन्दा बढी घर निर्माणाधीन अवस्थामा छन्।'

पोखरेलले एक लाख ५० हजारभन्दा बढी घरधनी दशैंअघि ठहरोबाट छानामुनि जाने बताए। स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि पुनर्निर्माणले अझ बढी गति लिएको उनको भनाइ छ।

पुनर्निर्माणको काम केही सुस्त भए पनि गुजरात, पाकिस्तान, इन्डोनेसिया लगायतलाई हेर्दा यो प्रगति सन्तोष मान्नलायक रहेको पोखरेलले दाबी गरे। पुनर्निर्माणलाई थप प्रभावकारी बनाउन कम प्रभावित १७ जिल्लामा अति प्रभावित १४ जिल्लाकै मोडलमा काम गर्ने तयारीमा रहेको उनले जानकारी दिए।

निर्देशक समितिका उपाध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता भीम रावलले भने प्राधिकरणले कार्ययोजना अनुरुप काम गर्न नसकेको आरोप लगाए। 'कार्यप्रगति हेर्दा एकदमै सुस्त र पहिले बनाएका कार्ययोजना कार्यान्वयन नहुने समस्याको पुनरावृत्ति देखियो,' उनले भने, 'गएको पुसमा यो वर्षभित्र सबै निजी घर बनाएर यो वर्षभित्र छानामुनि ल्याउने भनिएको थियो। अहिलेसम्म जम्मा २५ सय घर पनि निर्माण सम्पन्न भएको रहेनछ।'

सिइओ परिवर्तनको प्रसंगतर्फ संकेत गर्दै उनले 'हामी आएपछि सब चिज हुन्छ' भन्ने दाबी गलत साबित भएको बताए। 'पहिले कार्यकारी अधिकृतलाई स्पष्टीकरण सोध्ने, हटाउने कुरा त सजिलो भएको थियो। आज फेरि त्यही कर्मचारीको सरुवा किन भयो? विद्यालयहरु किन बनेनन्? सिंहदरबारमाथि भूकम्पको लागि किरिया बसेजस्तो सेतो छोपेको छोप्यै छ, यस्तो किन भयो,' रावलले प्रश्न गरे।

भूकम्प पीडितलाई राहत दिने र पुनर्निर्माणलाई तीव्रता दिने सबैको साझा कर्तव्य भएकाले गल्ती, कमजोरी सच्याएर अगाडि बढ्न सुझावसहित बजेट तथा कार्ययोजना पारित गरिएको उनले बताए। 'आगामी दिनमा कुन मन्त्रालयको कुन विभागले काम गरेको छैन, त्यो प्रगति विवरणसहित आओस्। सम्बन्धित निकायलाई उत्तरदायी बनाउने प्रणाली स्थापित होस् भन्ने सुझाव दिएका छौं,' उनले भने।

निर्देशक समितिमा प्रधानमन्त्री अध्यक्ष र प्रमुख प्रतिपक्षी दलबाट उपाध्यक्ष रहेका छन्। देउवा प्रधानमन्त्री बनेपछि पहिलोपटक समितिको बैठक बसेको हो। बैठकमा प्रधानमन्त्री देउवाले पुनर्निर्माण कार्यलाई थप तीव्रताका साथ अघि बढाउन प्राधिकरण नेतृत्वलाई निर्देशन दिए।
अर्को समाचार
यस्तो रह्यो पुनर्निर्माणको तस्बिर
१५ वैशाख २०७८
•
८ मिनेट पाठ
यस्तो रह्यो पुनर्निर्माणको तस्बिर
नेपालमा कहालीलाग्दो भूकम्प आएको ६ वर्ष बित्यो । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएका भग्नावशेष यति छिट्टै उठिहाल्छन् भन्ने धेरैलाई विश्वास लाग्दैन्थ्यो। अझै हाम्रो जस्तो पूर्वाधार निर्माणको गति कम भएको र वर्षपिच्छे सरकार फेरिरहने अस्थिर मुलुकमा भूकम्पपछिको पुनर्निर्माणले यति छिटो गति लिन्छ भन्ने कमैको विश्वास थियो।




स्रोतसाधन र आर्थिक अभाव हुँदा सरकारलाई पनि पुनर्निर्माण गर्न उत्तिकै चुनौती थियो । चुनौतीकै बीच सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेर काम अगाडि बढायो। प्राधिकरणले ६ वर्षमा भूकम्पले क्षतिग्रस्त तथा तहसनहस भएका सबै क्षेत्रका भग्नावशेष पहिलेको तुलनामा अझै बलियो हुने गरी उठाएको छ। छिमेकी भारत र अन्य मुलुकहरूमा भूकम्पपछिको पुनर्निर्माणको गतिभन्दा नेपालको रफ्तार बढी देखिएको छ।  

भूकम्पपछि पुनर्निर्माणको जस लिन राजनैतिक दलहरूबीच चर्को द्वन्द्व नभएको भए यसको गति झनै फराकिलो हुने थियो। भूकम्पपछिका केही वर्ष दलहरूबीचको द्वन्द्वले पटक–पटक प्राधिकरणको नेतृत्व फर्ने काम भयो। यही कारण पुनर्निर्माणको गतिले तत्कालै तिव्रता पाउन सकेन । विगतमा जेजस्तो भए पनि अहिले भूकम्पपछिको पुनर्निर्माण लगभग उत्तराद्र्धमा आइसकेको भन्दा अतिसयोक्ती नहोला । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली भूकम्पले क्षतिग्रस्त संरचना निर्माणको चरण उत्तराद्र्धमा आएको बताउँछन्। ‘भूकम्पले क्षतिग्रस्त भएका संरचना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी काम गरिरहेका छौं,’ उनले नागरिकसँग भने, ‘भूकम्प गएको ६ वर्षको अवधिमा फेरि पहिलाको भन्दा पनि अझै बलियो, व्यवस्थित खालको संरचना तयार पार्न सफल रह्यौं।’ उनले भूकम्पले क्षतिग्रस्त भएको ६ वर्षको अवधिमा निजी क्षेत्रको आवास निर्माणमा ९३ प्रतिशत निर्माण सकिएको जानकारी दिए।

भूकम्पपछिको पुनर्निर्माणमध्ये निजी आवास क्षेत्रमा मात्र प्रगति भएको होइन । सरकारी निकायका भवन, स्कुल, स्वास्थ्यचौकी, प्रहरीचौकी, सांस्कृतिक सम्पदालगायत सबै संरचनाको पुनर्निर्माणको गति लगभग उस्तै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यही साता भत्किएको धराहराको पुनर्निर्माणको उद्घाटन गरेका छन्। यस्तै रानी पोखरी, दरबार हाईस्कुललगायतका संरचनाले आफ्नो पुरानोस्वरूप पाइसकेका छन् । अन्य संरचना बन्ने क्रममा छन्।

निजी आवास निर्माण ९३ प्रतिशत

२०७२ सालको भूकम्पले मुलुकभर १० लाखभन्दा धेरै निजी आवास क्षतिग्रस्त बनाएको थियो। तर, अहिलेसम्म भूकम्पले क्षतिग्रस्त भएकामध्ये ९३ प्रतिशत निजी आवास तयार भइसकेका छन्। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीका अनुसार भूकम्पले क्षतिग्रस्त भएर निजी क्षेत्रको आवासका लागि अनुदान सम्झौता गरेका आठ लाख ११ हजार सात सय ५४ लाभग्राहीमध्ये हालसम्म सात लाख ५३ हजार एक सय चारजनाले भवन निर्माण गरेका छन्। यो कुल लक्ष्यको ९३ प्रतिशत हो ।  

प्राधिकरणका अनुसार ९९.८६ प्रतिशत लाभग्राहीले पहिलो किस्तावापत रकम बुझेका छन्। दोस्रो किस्तावापत ८६.७८ प्रतिशत र तेस्रो किस्ता वितरण ७८.६६ प्रतिशत पुगेको छ। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यो आर्थिक वर्षभित्रै निजी आवासको मुलभूत कार्य निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए।  ‘कोभिड–१९ का कारण सिर्जित जोखिमहरूको व्यवस्थापन गर्दै हामीले पुनर्निर्माण तथा पुनस्र्थापना कार्यमा सन्तोषजनक उपलब्धि हासिल गरेका छौं,’ उनले भने। प्राधिकरणले निजी आवास पुनर्निर्माणका क्रममा ६ लाख ३४ हजार नौ सय ७३ गुनासाहरूको सम्बोधन गरेको प्राधिकरणले जनायो।  भूकम्पपछि दुई सय ९९ वटा असुरक्षित स्थानमा रहेका ४ हजार ७ सय २० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाएको छ । प्राधिकरणले १२ हजार सात सय ८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरेको ज्ञवालीले बताए।

आधा सम्पदा पुनर्निर्माण सकियो

भूकम्पले लडेका क्षति पुगेका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको ५३.६ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ। अहिले ३१.३ प्रतिशत सम्पदाको पुनर्निर्माणको काम जारी छ । भूकम्पले भत्किएको ऐतिहासिक सम्पदामध्ये रानीपोखरी, दरबार हाईस्कुल, गद्दीबैंठक, धरहरालगायतका ऐतिहासिक सम्पदाको पुनर्निर्माणको काम सम्पन्न भइसकेको छ। त्यतिमात्रै होइन, सिंहदरबारस्थित मुख्य प्रशासनिक केन्द्रको पनि तीनवटा मोहडाको पुनर्निर्माणको काम सम्पन्न भइसकेको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त नौ सय २० वटा सम्पदामध्ये हालसम्म चार सय ९३ वटा सम्पदाको पुनर्निर्माण सकिएको छ।  

अझै दुई सय ८८ वटा पुनर्निर्माणका क्रममा छन्। भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरी, धरहरालगायतका संरचना तयार भइसकेका छन्। प्राधिकरणले मुलुकको मुख्य प्रशासनिक भवन सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भाग पुनर्निर्माण गरेपछि गत फागुन ३ मा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे। अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय त्यहीबाट सञ्चालन भइरहेको छ। केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी संग्रहालय क्षेत्रमा रहेको रणोद्दीप दरबारलगायतका पुरातात्विक महत्वका दरबारहरूको जिर्णोद्वार जारी रहेको जनायो। भूकम्पले क्षतिग्रस्त भएको चार सय दुई गुम्बामध्ये दुई सय ९४ वटा सम्पन्न भइसकेको छ।  

चार सय दुई गुम्बामध्ये दुई सय ९४ वटा सम्पन्न भइसकेका छन् । पुनर्निर्माण गर्नुपर्ने आठ सय ९५ मध्ये एक सय वर्षभन्दा पुराना र दुई हजार वर्ग फिटभन्दा बढी प्लिन्थ एरिया भएका दुई सय ६४ वटा गुम्बामध्ये ३६ वटा र सय वर्षभन्दा कम र दुई हजार वर्ग फिटभन्दा मुनिका ६ सय ३१ गुम्बामध्ये एक सय एकवटाको पुनर्निर्माण कार्य अगाडि बढिरहेको प्राधिकरणले जानकारी दिएको छ ।

८३ प्रतिशत विद्यालय बने

२०७२ सालको भूकम्पले १४ जिल्लाका सात हजार पाँच सय ५३ वटा विद्यालयको संरचनामा क्षति पुर्‍याएको थियो। भूकम्पले क्षतिग्रस्त भएका विद्यालयमध्ये हालसम्म ६ हजार दुई सय ४६ अर्थात् ८२.७ प्रतिशत विद्यालयको पुनर्निर्माणको काम सकिएको छ । अझै पनि १३ सय सात अर्थात् १७.३ विद्यालयको पुनर्निर्माणको काम अझै जारी नै छ। प्राधिकरणले चालु आर्थिक वर्षभित्रै बाँकी १७ प्रतिशत विद्यालय पनि पुनर्निर्माण सम्पन्न गर्र्ने लक्ष्य राखेको छ। भूकम्पले क्षतिगस्त एक हजार एक सय ९७ स्वास्थ्य संस्थामध्ये हालसम्म ६ सय ९८ वटा पुनर्निर्माण भइसकेका छन्। अझै दुई सय ९६ को पुनर्निर्माण जारी छ।

सरकारी भवन ९० प्रतिशत बने

भूकम्पले भत्काएका कुल चार सय १५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ। प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका दुई सय १६ वटा संरचनामध्ये दुई सय १४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ।  

पुनर्निर्माणका क्रममा विभिन्न जिल्लामा सात सय ६२ किलोमिटर सडक पुनर्निर्माण गर्नुपर्नेमा पाँच सय २५ किलोमिटर सडकको पुनर्निर्माण सम्पन्न भइसकेको छ। बृहत्तर रानीपोखरी–टुँडिखेल–रत्नपार्क–खुल्लामञ्च–भृकुटीमण्डप–रंगशाला–लोकतान्त्रिक संग्रहालय, नारायणहिटी संग्रहालय, गोरखा एवम् नुवाकोट दरबार क्षेत्र एवम् उपत्यकाका सातवटै पुरातात्विक सम्पदाहरूको गुरुयोजना स्वीकृतिको चरणमा छन्।

पुनर्निर्माणमा भएको खर्च  

पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्र्थापना योजनानुसार परिमार्जित कुल बजेट चार खर्ब ८८ अर्ब रूपैयाँ हो । यसमध्ये सरकार एवम् दातृ निकायहरूको समेत गरी २०७७ चैत मसान्त तीन खर्ब ५७ अर्ब रूपैयाँ खर्च भइसकेको छ।

प्राधिकरणका अनुसार पुनर्निर्माणमा ६७ अर्ब राहत तथा उद्दार एवम् अन्य कार्यक्रममा खर्च भएको छ । यस्तै भारतीय एक्जिम बैंकतर्फको ४९ अर्ब रूपैयाँ नेपाल सरकारतर्फ स्रोतान्तर भएको हुँदा वास्तविक प्रतिबद्धता रकम जम्मा दुई खर्ब ९४ अर्ब रूपैयाँ मात्रै भएको ज्ञवालीले बताए।  

यसमध्ये दुई सय ४३ अर्ब रूपैयाँका लागि सम्झौता भइ स्रोत सुनिश्चितता भएको छ। यसका अलावा गैरसरकारी संस्थाहरूसँग करिब ९० अर्ब रूपैयाँ परिचालनका लागि सम्झौता भइ करिब ७२ अर्ब रूपैयाँ परिचालन भएको छ । ‘नेपालको पुनर्निर्माणमा दातृ निकायबाट प्रतिबद्धता भएको सत प्रतिशत रकम परिचालन हुने सुनिश्चत भएको छ,’ उनले भने, ‘सम्पूर्ण दातृ निकाय एवम् मित्रराष्ट्रहरूले नेपालको पुनर्निर्माणबाट भएको प्रगति प्रति खुसी व्यक्त गरेका छन्, जुन हाम्रो लागि गौरवको विषय हो।’  

कार्यकारी अधिकृत ज्ञवालीले विभिन्न प्रतिकूलताका बाबजुद प्राप्त गरेको अनुभव र सिकाइ हाम्रै भावी पुस्ताका लागि उपयोगी हुने विश्वाससहित व्यवस्थित ढंगले अभिलेखीकरण कार्य गरिरहेको बताए। ‘भूकम्पपछिको पुनर्निर्माणको अनुभव र सिकाइ अन्यको लागि अनुकरणीय हुने आशा गरेका छौं,’ उनले भने, ‘नेपाल सरकारद्वारा प्रस्तावित सगरमाथा संवादको समेत सन्दर्भ पारेर हामीले आगामी सन् २०२१ को नोभेम्बरको अन्तिम साता वा डिसेम्बरको पहिलो साताभित्र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरेका छौं ।’

प्राधिकरणले ६ वर्षको अवधिमा भत्केका संरचनाहरू मात्र पुनर्निर्माण भएका छैनन्, पुनर्निर्माण अभियानले महत्वपूर्ण गुणात्मक परिवर्तनसमेत ल्याएको दाबी गरेको छ। करिब ४० करोड ७५ लाख कार्यदिन बराबरको रोजगारी सिर्जना भएको विभिन्न अध्ययन प्रतिवेदनहरूले देखाएको छ । यस्तै पुनर्निर्माणबाट करिब आठ लाख घरपरिवारको बैंक खातामार्फत वित्तीय पहुँचमा बृद्धि भएको छ।

भूकम्पले सिकाएको पाठ

‘हामीले विपद्लाई अवसरको रूपमा बदल्न सक्यौं । राज्यले अझै धेरै पनि गर्न सक्थ्यो। यद्यपि पहिलाको घर भूकम्प प्रतिरोधि थिएनन्, त्यसैले ढल्यो। अहिले नयाँ बन्ने घरहरू भूकम्प प्रतिरोधी बन्ने कुरामा सुनिश्चित भएका छन्,’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘भूकम्पपछि सर्वसाधारण जनतामा पनि भूकम्प प्रतिरोधात्मक भवन बनाउनुपर्छ भन्ने चेतनाको बृद्धि भएको छ ।’ भूकम्पको विपद्पछिको रिजिलेन्स (सुरक्षित) मुलुक बनाउने कुराको निम्ति, भूकम्पपछि सुरक्षित बनाउनको लागि ठूलो मात्रामा अभियान नेपालले छेड्न सफल भएको छ।  

भूकम्पपछि संघीय सरकार तथा स्थानीय सरकारले भवन निर्माण सम्बन्धित मापदण्ड तयार पारेर जारी गरेका छन्। त्यतिमात्रै होइन, भवन निर्माणका दक्ष इन्जिनियरको साथसाथै दक्ष निर्माणकर्मीको समेत उत्पादन भएको छ। एकातर्फ भूकम्पले भत्किएको घर भूकम्प प्रतिरोधात्मक निर्माण भएका छन्। ढुंगा, काठ, माटो प्रविधिमा आधारित स्थानीय निर्माण सामाग्रीको प्रयोग गरेर पनि बलियो घर बनाउन सकिन्छ भन्ने मोडेलको निर्धारण भएको छ। प्रविधि विकास भएको छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस