ज्ञान, अध्ययन र सिर्जनाको त्रिवेणी ‘त्रिफला
१३ कार्तिक २०८३
•
८ मिनेट पाठ
ज्ञान, अध्ययन र सिर्जनाको त्रिवेणी ‘त्रिफला
हातहातमा ‘स्मार्टफोन’, सामाजिक सञ्जालको ‘भर्चुअल’ दुनियाँ। यसैमा रमाइरहेको आजको पुस्ता तर झापाको मेचीनगर–१० धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयमा भने फरक दृश्य देखिन्छ।




चारैतिर पुस्तकका पङ्क्तिबीच युवा मोबाइलको स्क्रिनमा होइन, पुस्तकका पानामा नजर दौडाउँदै अध्ययनमा तल्लीन भेटिन्छन्। कोही चार्टर्ड एकाउन्टेन्सी (सिए) को तयारीमा छन्, कोही लोकसेवाको परीक्षाको अध्ययनमा जुटेका छन् त कोही चिकित्सकको लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने लक्ष्यसहित पढिरहेका छन्।

तीमध्ये एक छन्, मेचीनगर–१० का प्रशान्त चौधरी। चार्टर्ड एकाउन्टेन्सी पढिरहेका उनको एक वर्षदेखि पुस्तकालय आउने–जाने दिनचर्या बनेको छ। हरेक दिन आफ्नो ‘कोर्षबुक’ बोकेर पुस्तकालय पुग्ने उनी दैनिक चारदेखि पाँच घण्टा यहाँ बिताउँछन्। पुस्तकालयको शान्त वातावरण उनका लागि अध्ययनको आधार बनेको छ।

“पुस्तकालयमा शान्त र अध्ययनका लागि उपयुक्त वातावरण छ। घरमाभन्दा यहाँ बसेर पढ्दा बढी एकाग्र हुन सकिन्छ। चारैतिर पुस्तक देख्दा पनि पढ्न प्रेरणा मिल्छ”, चौधरी भन्छन्, “त्यसैले आफ्नो कोर्षबुक बोकेर दैनिक चारदेखि पाँच घण्टा यहाँ अध्ययन गर्ने गरेको छु। सीए अध्ययनका लागि नियमित अभ्यास र एकाग्रता आवश्यक पर्ने भएकाले पुस्तकालय मेरो अध्ययनको राम्रो थलो बनेको छ।”

उनीजस्तै मेचीनगर–९ की यमुना तिम्सिना पनि अध्ययनका लागि केही दिनयता नियमित पुस्तकालय आउन थालेका छन्। अध्ययनका लागि अनुकूल वातावरण खोज्दै पुस्तकालय पुग्ने उनी नयाँ पाठकमध्ये एक हुन्।

मेचीनगर–१० की डा. समीक्षा खड्का भने एमबिबीए पूरा गरेर चिकित्सकको लाइसेन्स परीक्षाको तयारी गर्दै छिन्। उनी दुई महिनादेखि नियमित रूपमा पुस्तकालयमा पढ्दै आएकी छन्। “घरमा एक्लै पढ्दा कहिलेकाहीँ एकोहोरो लाग्छ। पुस्तकालयमा शान्त वातावरण र पारिवारिक माहोल छ। यहाँ आउँदा मन पनि शान्त हुन्छ र पढाइमा ध्यान दिन सजिलो हुन्छ”, खड्का भन्छिन्।

यी तीनै जना फरक शैक्षिक लक्ष्य बोकेर पुस्तकालय पुग्छन्। उनीहरूका लागि पुस्तकालय पुस्तक पढ्ने ठाउँ मात्र होइन, आफ्नो भविष्य निर्माणका लागि एकाग्र भएर समय बिताउने साझा थलो बनेको छ। पठन संस्कृति कमजोर हुँदै गएको चर्चा भइरहँदा पुस्तक पढ्ने बानी साँच्चै हराउँदै गएको हो वा त्यसका लागि उपयुक्त वातावरण र अवसरको अभाव छ भन्ने प्रश्न पनि उठ्छ।

चौधरी भन्छन्, “पढ्ने रुचि भएका विद्यार्थीलाई शान्त वातावरण र आवश्यक पुस्तक उपलब्ध गराउन सकियो भने पठन संस्कृति अझै बलियो बनाउन सकिन्छ। पुस्तकालय त्यसका लागि उपयुक्त थलो हो।”

त्रिफला राष्ट्रिय पुस्तकालयकी कर्मचारी चन्द्रकला भट्टराईका अनुसार दैनिक १० देखि १५ पाठक नियमित रूपमा अध्ययनका लागि आउने गरेका छन्। बिदाका दिन कतिपय विद्यालयबाट विद्यार्थीलाई पुस्तकालय भ्रमण गराउने गरिएको छ।

“यहाँ दैनिक नियमित रूपमा अध्ययन गर्न आउने पाठक हुनुहुन्छ। लोकसेवाको तयारी गर्ने विद्यार्थी पनि आउनुहुन्छ। विद्यालयबाट विद्यार्थीलाई पुस्तकालयबारे जानकारी दिन र अवलोकन गराउन पनि ल्याउने गरिएको छ”, भट्टराईले भनिन्।

पुस्तकालयमा विद्यार्थीको नियमित उपस्थिति र विद्यालयबाट हुने भ्रमणले नयाँ पुस्तालाई पुस्तक तथा पठन संस्कृतिसँग जोड्ने अवसर दिएको छ। अध्ययनका लागि शान्त ठाउँ खोज्ने विद्यार्थी र पुस्तकको संसारसँग परिचित हुन आउने बालबालिका दुवैका लागि पुस्तकालय उपयोगी बनिरहेको छ।

२०५३ वैशाख १ गते केही पुस्तकबाट सुरु भएको त्रिफला राष्ट्रिय पुस्तकालयले आफ्नो तीन दशक लामो यात्रामा अहिले ५० हजारभन्दा बढी पुस्तक तथा पत्रपत्रिका सङ्ग्रह भएको संस्थाका रूपमा आफूलाई विकसित गरेको छ।

धुलाबारी माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भएको यसको यात्रा भाडाका कोठा हुँदै आफ्नै तीनतले भवनसम्म आइपुगेको हो।

पुस्तकालयको पहिलो तलामा पुस्तकालय, वाचनालय र कार्यालय छन्। दोस्रो तलामा साहित्यिक, शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सभाहल छ। तेस्रो तलामा साहित्यकार तथा अतिथिका लागि आवासीय कक्ष बनाइएका छन्। यसले पुस्तकालयलाई अध्ययनसँगै साहित्यिक भेटघाट र विचार आदानप्रदानको केन्द्रका रूपमा विकास गरेको छ।

पुस्तकालयका संस्थापक अध्यक्ष प्रेमप्रकाश पोखरेल ‘फलाहारी’ पुस्तकालयलाई पुस्तक थुपारेर राख्ने ठाउँमा मात्र सीमित गर्न नहुने बताउँछन्। “पुस्तकमा ज्ञानको ठूलो भण्डार हुन्छ। त्यसलाई पढ्ने, बुझ्ने र नयाँ पुस्तासम्म पुर्‍याउने वातावरण बनाउनुपर्छ। पुस्तकालयको उद्देश्य पुस्तक सुरक्षित राख्नु मात्र होइन, मानिसमा पढ्ने बानीको विकास गर्नु पनि हो”, उनले भने।

सीमापारिका नेपाली स्रष्टाको साझा थलो

त्रिफला राष्ट्रिय पुस्तकालयको पहिचान विद्यार्थीको अध्ययनमा मात्र सीमित छैन। पूर्वी नेपालका साहित्यकारको जमघट हुने थलोका रूपमा यसको छुट्टै महत्त्व छ। भारतको दार्जिलिङ, सिक्किम, आसाम र मणिपुरसम्मका नेपालीभाषी स्रष्टाका कृति यहाँ सङ्गृहीत छन्।

विदेशमा रहेका नेपाली साहित्यकार तथा शुभचिन्तकले आफ्ना प्रकाशित पुस्तकसमेत पुस्तकालयमा पठाउने गरेका छन्। यसले भौगोलिक दूरीका कारण टाढा रहेका नेपालीभाषी लेखक, पाठक र साहित्यिक समुदायलाई एउटै साझा थलोमा जोडेको छ। यहाँ सङ्गृहीत कृति नेपाली भाषा, साहित्य र संस्कृतिसम्बन्धी अध्ययनका लागि उपयोगी स्रोत बनेका छन्।

साहित्यकार तथा पत्रकार देवेन्द्रकिशोर ढङ्गानाका अनुसार त्रिफला पुस्तकालय पछिल्लो समय साहित्य, कला र सङ्गीतको केन्द्रका रूपमा विकसित हुँदै गएको छ। “पुस्तक पढ्नु भनेको ज्ञानको दायरा फराकिलो बनाउनु हो। त्रिफलाले पुस्तक सङ्ग्रह गर्ने कामसँगै साहित्यकारलाई भेटघाट गर्ने, विचार आदानप्रदान गर्ने र सिर्जनाबारे छलफल गर्ने ठाउँ दिएको छ। पुस्तकालयको यस्तो भूमिका पठन संस्कृतिको विकासका लागि महत्त्वपूर्ण छ”, ढुङ्गाना भन्छन्।

पुस्तकालयमा नियमित अध्ययन गर्ने विद्यार्थी र साहित्यिक कार्यक्रममा सहभागी हुने स्रष्टाका उद्देश्य फरक छन् तर दुवैलाई जोड्ने साझा माध्यम पुस्तक र ज्ञानप्रतिको रुचि हो। यस अर्थमा त्रिफला अध्ययन र सिर्जनाबीचको सम्बन्ध जोड्ने साझा चौतारी बनेको छ।

एक व्यक्तिको सङ्कल्प, हजारौँको साथ

त्रिफला राष्ट्रिय पुस्तकालयको आजको स्वरूप पछाडि संस्थापक प्रेमप्रकाश पोखरेल ‘फलाहारी’ को लामो सङ्घर्ष र सयौँ दाताको योगदान जोडिएको छ। सामान्य परिवारमा जन्मिएका फलाहारीले नुन, अन्न र जुत्ताचप्पल त्यागेर गेरुवा वस्त्रधारण गरेपछि पुस्तकालय स्थापनाका लागि सहयोग जुटाउन देशका विभिन्न ठाउँमा पैदलयात्रा गरेका थिए।

सुरुका दिनमा उनको अभियानलाई समाजका सबैले सहज रूपमा स्वीकारेका थिएनन्। कसैले असामान्य ठाने, कसैले आलोचना गरे तर उनले पुस्तकालय स्थापनाको लक्ष्य छाडेनन्। पुस्तक र ज्ञानको महत्त्व बुझाउँदै सहयोग जुटाउने प्रयास निरन्तर अघि बढाए।

पुराना दिन सम्झँदै फलाहारी भन्छन्, “सुरुका दिनमा पुस्तकालय बनाउने काम सजिलो थिएन। धेरै ठाउँमा पुग्नुपर्‍यो, सहयोग माग्नुपर्‍यो र विभिन्न कठिनाइ सामना गर्नुपर्‍यो तर ज्ञान सबैका लागि आवश्यक छ भन्ने विश्वासले यो काम निरन्तर अघि बढाएँ।”

स्थानीय जग्गादाता, साहित्यकार, समाजसेवी तथा पुस्तकप्रेमीको सहयोगले पुस्तकालयले क्रमशः आफ्नै जग्गा र भवन प्राप्त गर्‍यो। स्थानीय छत्रबहादुर बस्नेत र देवेन्द्रविक्रम नेम्वाङ लगायतले जग्गा उपलब्ध गराउन सहयोग गरे भने विभिन्न दाताले पुस्तक र आर्थिक सहयोग प्रदान गरे। पुस्तकालयका संस्थापक तथा आजीवन सदस्यको सङ्ख्या एक हजारभन्दा बढी र साधारण सदस्य पाँच हजारभन्दा बढी रहेको फलाहारी बताउँछन्। “कसैले जग्गा दिनुभयो, कसैले पुस्तक दिनुभयो, कसैले आर्थिक सहयोग गर्नुभयो। धेरै व्यक्तिको सहयोग र विश्वास नभएको भए पुस्तकालय आजको अवस्थामा पुग्नसक्ने थिएन,” उनी भन्छन्।

फलाहारीको व्यक्तिगत सङ्कल्पबाट सुरु भएको अभियान आज सामूहिक ज्ञानसम्पत्तिका रूपमा विकसित भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०७७ सालमा देशकै उत्कृष्ट पुस्तकालयको सम्मान प्राप्त गर्नु पनि यसको यात्राको महत्त्वपूर्ण उपलब्धि हो।

संरक्षणको चुनौती

पुस्तकालयको विकाससँगै यसको दीर्घकालीन संरक्षणको प्रश्न पनि महत्त्वपूर्ण बनेको छ। पचास हजारभन्दा बढी पुस्तक तथा पत्रपत्रिकालाई व्यवस्थित राख्न, सूचीकरण गर्न र पुराना कृतिलाई सुरक्षित गर्न दक्ष जनशक्ति तथा पर्याप्त आर्थिक स्रोत आवश्यक पर्छ। कोसी प्रदेश सरकारबाट प्राप्त अनुदानपछि पुस्तकको ‘बाइन्डिङ’ र ‘क्याटलगिङ’को काम सुरु गरिए पनि सबै पुस्तक व्यवस्थित गर्न अझै धेरै काम बाँकी छ।

फलाहारी भन्छन्, “पुस्तकालयमा धेरै पुराना र दुर्लभ पुस्तक छन्। तिनलाई सुरक्षित राख्नु हाम्रो जिम्मेवारी हो। त्यसका लागि दक्ष कर्मचारी, आर्थिक स्रोत र व्यवस्थित संरक्षण प्रणाली आवश्यक छ।”

उनले स्थानीय तहबाट अपेक्षित सहयोग नपाएको गुनासो गरे। भविष्यमा पुस्तकालयको भवन विस्तार गरी व्यवस्थित वाचनालय र सङ्ग्रहालयसमेत स्थापना गर्ने योजना रहेको उनले बताए। यसले अध्ययन, अनुसन्धान, पुस्तक संरक्षण र ज्ञानसम्बन्धी गतिविधिलाई थप व्यवस्थित बनाउनसक्ने उनको अपेक्षा छ।

पुस्तकालयको क्षेत्रगत विकासका लागि कोसी प्रदेश पुस्तकालय सङ्घ नेपालले पनि भूमिका खेलिरहेको छ। सङ्घका सल्लाहकार उद्धव विष्टका अनुसार पुस्तकालयलाई ज्ञान र सीपको खुला केन्द्रका रूपमा विकास गर्न आवश्यक छ। “पुस्तकालय भनेको पुस्तक राख्ने ठाउँ मात्रै होइन, ज्ञान र सीप हासिल गर्ने साझा केन्द्र हो।

पुस्तकालयलाई जीवन्त राख्न समुदायको सहभागिता, नियमित पठन गतिविधि र संस्थागत सहयोग आवश्यक हुन्छ”, विष्टले भने।

सङ्घकी कोषाध्यक्ष राधा घिमिरे पनि पुस्तकालयको दिगो विकास र पठन संस्कृतिको विस्तारमा पुस्तकालय क्षेत्रका संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताउँछिन्। “पुस्तकालयलाई व्यवस्थित बनाउने र नयाँ पुस्तालाई पुस्तकसँग जोड्ने कामलाई प्राथमिकता दिनुपर्छ”, उनले भनिन्।

त्रिफला राष्ट्रिय पुस्तकालयको कथा भवन निर्माण, पुस्तक सङ्कलन वा सम्मान प्राप्तिको कथा मात्र होइन। यो ज्ञानप्रतिको समर्पण, सामूहिक सहयोग र पठन संस्कृति जीवित राख्ने प्रयासको कथा पनि हो।

- सुदीप राउत/रासस
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।




पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ६ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ७ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस