पठन संस्कृतिको पुनर्जागरण
०६ कार्तिक २०८३
•
९ मिनेट पाठ
पठन संस्कृतिको पुनर्जागरण
केही समयअघि कक्षा ७ का विद्यार्थीले सोधेको प्रश्नले मलाई निकै गम्भीर भएर सोच्न बाध्य बनायो। एक जना प्रसिद्ध नेपाली साहित्यकारको कथा पढिरहेका थियौँ। करिब पाँच पृष्ठ लामो त्यस कथाले मानवीय संवेदनाको सूक्ष्म पक्ष कलात्मक ढङ्गले प्रस्तुत गरेको थियो। कथा पढिसकेपछि विद्यार्थीले सोधे, “सर, लेखकले यति लामो कथा किन लेखेका होलान्? यो कुरा त एक दुई वाक्यमै भन्न सकिन्थ्यो नि!”




मैले तत्कालै सहज उत्तर दिएँ, “साहित्य भनेकै सामान्य कुरालाई पनि कल्पनाशीलता र कलात्मकताका माध्यमबाट फरक ढङ्गले अभिव्यक्त गर्ने विधा हो।”

विद्यार्थीले मेरो उत्तर सुने तर उनको जिज्ञासा त्यतिमै समाप्त भयो कि भएन, मलाई थाहा भएन तर उनको प्रश्नले भने मेरो मनमा अनेक प्रश्न जन्माइरह्यो। पाँच पृष्ठको कथा पढ्न किन कठिन लाग्न थाल्यो? केही वाक्यमै सूचना प्राप्त गर्न सकिने अवस्थामा मानिसले लामो साहित्यिक रचना पढ्न किन समय खर्च गर्ने? अनि पढ्नु भनेको सूचना प्राप्त गर्नु मात्र हो कि जीवन र जगत् बुझ्ने प्रक्रिया पनि हो? यी प्रश्नको उत्तर खोज्दै जाँदा मलाई अहिलेको शैक्षिक तथा सामाजिक चुनौतीतर्फ ध्यान दिनुपर्ने महसुस भयो। त्यो हो, पठन संस्कृतिमा आइरहेको ह्रास र त्यसले मानिसको कल्पनाशीलता, एकाग्रता, संवेदनशीलता तथा विश्लेषण क्षमतामा पार्न सक्ने प्रभाव।

सूचना बढ्दैछ, गहिराइ घट्दैछ?

इन्टरनेटको विस्तारले ज्ञान र सूचनामा मानिसको पहुँच अभूतपूर्व रूपमा बढाएको छ। आज संसारको कुनै कुनामा भएको घटनाबारे केही सेकेन्डमै जानकारी प्राप्त गर्न सकिन्छ। पुस्तकालयमा घण्टौँ खोज्नुपर्ने सामग्री मोबाइलको एउटा स्क्रिनमा उपलब्ध हुन्छ। यसलाई मानव सभ्यताको महत्त्वपूर्ण उपलब्धि मान्नुपर्छ तर सूचना प्राप्त गर्न सहज हुँदै जानु र गहिरो ज्ञान हासिल गर्नु एउटै कुरा होइन।

आज हामी २०–३० सेकेन्डका रिल्स, छोटा भिडियो र झट्ट हेरेर सकिने सामग्रीमा अभ्यस्त हुँदै गएका छौँ। एउटा भिडियो सकिन नपाउँदै अर्को सामग्री अगाडि आइपुग्छ। एउटा विषयमा केहीबेर सोच्न खोज्दा अर्को दृश्यले ध्यान तान्छ। मनोरञ्जन र सूचनाको यो निरन्तर प्रवाहले तत्काल आनन्द त दिन्छ तर लामो समयसम्म एउटै विषयमा केन्द्रित हुने, त्यसका विभिन्न पक्ष केलाउने र निष्कर्षमा पुग्नुअघि पर्याप्त सोचविचार गर्ने अभ्यास कमजोर बनाउँदै लगेको छ। प्रविधिलाई दोष दिएर मात्र समस्याको समाधान हुँदैन। इन्टरनेट आफैँमा ज्ञानको स्रोत हो। समस्या यसको प्रयोगको उद्देश्य, समय र तरिकामा छ। हामीले प्रविधिलाई ज्ञानको गहिराइमा पुग्ने माध्यम बनाइरहेका छौँ कि क्षणिक मनोरञ्जनको अन्तहीन चक्रमा आफूलाई सीमित गरिरहेका छौँ भन्ने प्रश्न महत्त्वपूर्ण छ।

पठनको अर्थ अक्षर चिन्नु वा सूचना सङ्कलन गर्नुमात्र होइन। पढ्नु भनेको लेखकले प्रस्तुत गरेको विचारसँग संवाद गर्नु, त्यसका पक्ष विपक्षमा सोच्नु, पात्रको मनोविज्ञान बुझ्नु, घटनाको सम्भावित परिणाम अनुमान गर्नु र आफ्नै धारणा माथि प्रश्न उठाउनु पनि हो। यस्तो अभ्यासले मानिसलाई तत्काल देखिएको यथार्थभन्दा पर पुगेर सोच्न सिकाउँछ।

कल्पनाशीलताको विकास कसरी हुन्छ?

साहित्य पढ्दा पाठकले प्रत्यक्ष नदेखेका संसारको कल्पना गर्छ। उपन्यासको पात्र कस्तो होला, उसको अनुहारमा कस्तो भाव होला, ऊ किन त्यस्तो व्यवहार गर्दै होला र अब के होला भन्ने प्रश्न पाठकको मनमा उठ्छन्। लेखकले शब्दमार्फत एउटा संसार निर्माण गर्छ। त्यस संसारलाई जीवन्त बनाउने काम पाठकको कल्पनाशीलताले गर्छ। चलचित्र वा भिडियोमा पात्रको अनुहार, आवाज, परिवेश र घटनाक्रम प्रत्यक्ष देखाइन्छ।

साहित्यमा भने पाठकले शब्दका आधारमा यी सबै कुरा आफ्नै मनमा निर्माण गर्नुपर्छ। यही प्रक्रियामा कल्पनाशीलता सक्रिय हुन्छ। पाठकले लेखकले दिएको सीमित सङ्केतबाट विस्तृत संसारको परिकल्पना गर्छ। एउटै कथा पढेका दुई व्यक्तिले त्यसका पात्र र घटना फरक ढङ्गले अनुभूत गर्न सक्छन्। साहित्यको सौन्दर्य पनि यही स्वतन्त्रतामा नीहित छ।

कथा पढ्दा हामी पात्रको वर्तमान अवस्था मात्र बुझ्दैनौँ उसले विगतमा भोगेका घटना र भविष्यमा गर्नसक्ने निर्णयबारे पनि सोच्न थाल्छौँ। कुनै पात्रले गरेको गल्तीका कारण खोज्छौँ। उसको निर्णयको परिणाम अनुमान गर्छौं र अर्को परिस्थिति भएको भए के हुन्थ्यो होला भनेर कल्पना गर्छौं।

यसरी पठनले सम्भावनाको संसार खोल्छ। सबै कुरा तयार दृश्यका रूपमा हेर्ने बानी बढ्दै गयो भने पाठकले आफैँ कल्पना गरेर रिक्त स्थान भर्ने अवसर पाउँदैन। यसबाट सबैको कल्पनाशीलता घट्छ भन्ने निष्कर्ष निकाल्न नसकिए पनि कल्पना, एकाग्रता र गहन चिन्तनका लागि आवश्यक अभ्यासको अवसर भने गुम्दछ नै।

ज्ञानभन्दा पर पनि छ पठनको महत्त्व

शिक्षण सिकाइमा सामान्यतः ज्ञान, बोध, प्रयोग, विश्लेषण, मूल्याङ्कन र सिर्जनात्मकतालाई उच्चस्तरीय सिकाइका महत्त्वपूर्ण पक्षका रूपमा लिइन्छ। कुनै विषयबारे तथ्य जान्नु ज्ञान हो। त्यसको अर्थ बुझ्नु बोध हो। सिकेको कुरा व्यवहारमा प्रयोग गर्नु प्रयोग हो। त्यसका विभिन्न पक्ष केलाउनु विश्लेषण हो। प्रमाणका आधारमा त्यसको गुणदोष छुट्याउनु मूल्याङ्कन हो। अनि उपलब्ध ज्ञानलाई नयाँ ढङ्गले संयोजन गरेर नवीन विचार वा सिर्जना प्रस्तुत गर्नु सिर्जनात्मकता हो।

सूचनामा मात्र सीमित हुने पठनले यी सबै पक्षलाई समान रूपमा विकसित गर्न सक्दैन। एउटा समाचार पढेर हामी कुनै घटनाबारे जानकार हुन सक्छौँ तर घटनामा संलग्न व्यक्तिको मनोविज्ञान, सामाजिक परिवेश र निर्णयका जटिल कारण बुझ्न थप अध्ययन र चिन्तन आवश्यक पर्छ। साहित्यले यस्ता पक्षमा प्रवेश गर्ने अवसर दिन्छ। यसको अर्थ समाचार, विज्ञानसम्बन्धी सामग्री वा इन्टरनेटबाट प्राप्त ज्ञान महत्त्वहीन हुन्छ भन्ने होइन। तथ्यले संसारबारे जानकारी दिन्छ भने साहित्यले त्यही संसारमा बाँचिरहेका मानिसका अनुभूति, द्वन्द्व, पीडा, आशा र आकाङ्क्षा बुझ्न सहयोग गर्छ।

यस सन्दर्भमा भावनात्मक बुद्धिमत्ताको चर्चा पनि सान्दर्भिक हुन्छ। आफ्ना भावना पहिचान गर्नु, तिनलाई व्यवस्थापन गर्नु, अरूको भावनाप्रति संवेदनशील हुनु र परिस्थिति अनुसार व्यवहार गर्नसक्नु जीवनका महत्त्वपूर्ण सीप हुन्। साहित्यिक कृतिमा प्रस्तुत पात्रका अनुभवसँग पाठकले आफूलाई जोड्न सक्छ। आफूभन्दा फरक सामाजिक, आर्थिक र सांस्कृतिक पृष्ठभूमिका व्यक्तिका दुःख र सङ्घर्ष बुझ्ने अवसर पाउँछ। यसले सहानुभूति र समानुभूतिको अभ्यासलाई प्रोत्साहित गर्छ।

कथाको कुनै पात्रसँग असहमत हुँदा हुँदै पनि पाठकले उसले त्यस्तो निर्णय किन गर्‍यो भन्ने बुझ्ने प्रयास गर्छ। वास्तविक जीवनमा पनि अरूको व्यवहार तत्काल गलत ठहर गर्नुभन्दा त्यसका कारण खोज्ने बानी उपयोगी हुन्छ। यस अर्थमा साहित्य जीवनको प्रयोगशाला हो, जहाँ हामी अरूका अनुभवबाट सिक्न सक्छौँ र आफ्नै धारणाको समीक्षा गर्न सक्छौँ।

पुराना पुस्तक किन पढ्ने?

आज नयाँ पुस्ताका विद्यार्थीले पुराना कथा, उपन्यास र कविताको उपयोगितामाथि प्रश्न उठाउनु अस्वाभाविक होइन। उनीहरूलाई आवश्यक जानकारी इन्टरनेटमा उपलब्ध छ। छोटो भिडियोले इतिहास, विज्ञान वा सामाजिक घटनाको सार बताइदिन सक्छ। त्यसैले लामो पुस्तक पढ्नुपर्ने कारण के हो भन्ने प्रश्न उनीहरूमा उठ्नु स्वाभाविक छ। पुरानो पुस्तक पढ्नुको उद्देश्य विगतका सबै विचार जस्ताको तस्तै स्वीकार्नु होइन। कुनै समयको समाज, मान्यता, सङ्घर्ष र मानवीय सम्बन्धलाई बुझ्नु हो। समय, प्रविधि र सामाजिक संरचना परिवर्तन भए पनि प्रेम, इष्र्या, लोभ, करुणा, अन्याय, आकाङ्क्षा र आत्मसम्मान जस्ता मानवीय अनुभूति विभिन्न रूपमा दोहोरिइरहन्छन्।

पुरानो साहित्य पढ्दा हामी विगतलाई मात्र बुझ्दैनौँ, वर्तमानलाई हेर्ने नयाँ दृष्टि पनि प्राप्त गर्छौं। कुनै समय सामान्य मानिएको व्यवहार आज अन्यायपूर्ण लाग्न सक्छ। कुनै पात्रको निर्णयले हामीलाई तत्कालीन सामाजिक संरचनाको सीमितता बुझाउन सक्छ।

यसरी साहित्यले इतिहास, समाज र मानवीय चेतनाबीच सम्बन्ध स्थापित गर्छ। पुस्तक पढ्नु भनेको सबै निष्कर्ष लेखकबाटै प्राप्त गर्नु पनि होइन। असल पाठक लेखकसँग असहमत हुन सक्छ, उसका तर्कमाथि प्रश्न उठाउन सक्छ र फरक निष्कर्ष निकाल्न सक्छ। यही स्वतन्त्र चिन्तनको अभ्यासले व्यक्तिलाई सूचनाको उपभोक्ता मात्र नभई विवेकशील पाठक बनाउँछ।

पठन संस्कृति फर्काउने जिम्मेवारी

पठन संस्कृतिको विकासका लागि विद्यालय, विश्वविद्यालय, परिवार र समाज सबैको भूमिका हुन्छ। पाठ्यपुस्तकको परीक्षा उत्तीर्ण गर्न आवश्यक सामग्री मात्र पढेर विद्यार्थीको बौद्धिक तथा भावनात्मक विकासका सबैपक्ष समेटिदैनन्। उनीहरूलाई पाठ्यक्रम बाहिरका कथा, उपन्यास, जीवनी, नाटक, कविता र विचारप्रधान पुस्तकसँग पनि परिचित गराउनुपर्छ।

विद्यालयमा पुस्तक पढेर त्यसको सार लेख्न लगाउने, विद्यार्थीलाई पात्रको निर्णयबारे छलफल गर्न, कथाको वैकल्पिक अन्त्य कल्पना गर्न, लेखकसँग असहमत हुने आधार प्रस्तुत गर्न र पुस्तकले उठाएका प्रश्नलाई वर्तमान जीवनसँग जोड्न प्रेरित गर्नुपर्छ। पुस्तक पढेपछि त्यसबारे स्वतन्त्र बहस गर्ने वातावरणले पठनलाई बोझ होइन, बौद्धिक आनन्दको स्रोत बनाउन सक्छ।

लामो बिदा पनि यसका लागि उपयुक्त अवसर हुन सक्छ। दसैँ, तिहारजस्ता पर्वका बिदामा बालबालिकालाई उनीहरूको रुचि र उमेरअनुसारका पुस्तक उपलब्ध गराउन सकिन्छ। पुस्तक पढेपछि त्यसबारे परिवारमा छलफल गर्ने, मन परेको अंश सुनाउने वा आफ्नै शब्दमा प्रतिक्रिया लेख्ने अभ्यास गर्न सकिन्छ। पुस्तक पढ्ने विद्यार्थीलाई सानो उपहार दिने, पुस्तकालय भ्रमण गराउने र साथीहरूसँग पुस्तक साटासाट गर्ने कार्यक्रमले पनि उनीहरूको रुचि बढाउन सक्छ तर बालबालिकालाई ‘मोबाइल नहेर, किताब पढ’ भनेर निर्देशन दिँदै अभिभावक आफैँ निरन्तर मोबाइलमा व्यस्त रहनु प्रभावकारी हुँदैन।

बालबालिकाले हामीले भनेका कुरा मात्र होइन, गरेका काम पनि नियालिरहेका हुन्छन्। त्यसैले उनीहरूका अगाडि अभिभावकले पुस्तक पढ्ने, लेख्ने र विचारमाथि छलफल गर्ने बानी बसाल्नुपर्छ। शिक्षकले पनि पाठ्यपुस्तक पढाउने व्यक्तिको भूमिकामा मात्र सीमित नभई आफू स्वयं पाठक भएको उदाहरण प्रस्तुत गर्नुपर्छ।

पठन संस्कृतिको पुनर्जागरणका लागि ग्याजेटको प्रयोगलाई पूर्णतःनिषेध गर्न आवश्यक छैन। बरु निश्चित समय डिजिटल उपकरणबाट टाढा रहने, सुत्नुअघि पुस्तक पढ्ने, घरमा सानो पुस्तकालय बनाउने र परिवारका सदस्यले सँगै पढ्ने अभ्यास गर्न सकिन्छ। डिजिटल माध्यमबाटै पनि पूर्ण पुस्तक, साहित्यिक रचना र श्रव्यपुस्तकको उपयोग गर्न सकिन्छ। मुख्य कुरा माध्यमभन्दा पनि पठनको गुणस्तर, निरन्तरता र उद्देश्य हो।

पठन संस्कृति भनेको किताबको सङ्ख्या बढाउनु मात्र होइन; पढेको कुरामाथि सोच्नु, त्यसलाई जीवनसँग जोड्नु र आवश्यकपर्दा आफ्ना धारणासमेत परिवर्तन गर्न तयार हुनु हो। पुस्तकले हाम्रो जीवनलाई सहज बनाउने स्नेह, संवेदना र विवेकको अभ्यास गराउँछ। जसरी इन्जिनलाई सहज रूपमा सञ्चालन गर्न इन्धन आवश्यक पर्छ, त्यसरी नै मानवीय सम्बन्ध र व्यक्तित्वलाई सहज, सन्तुलित तथा संवेदनशील बनाउन पठन संस्कृतिले महत्त्वपूर्ण भूमिका खेल्छ।

आजका बालबालिका समाजका सक्रिय सदस्य पनि हुन्। उनीहरूलाई सूचना प्राप्त गर्नसक्ने बनाउनु आवश्यक छ तर त्यतिले मात्र पुग्दैन। उनीहरूलाई प्रश्न गर्न, कल्पना गर्न, अरूको पीडा बुझ्न, प्रमाणका आधारमा तर्क गर्न र नयाँ सम्भावनाको खोजी गर्नसक्ने बनाउनु पनि उत्तिकै आवश्यक छ। यसका लागि दसैँतिहारका बिदा घुमफिर र मनोरञ्जनमा मात्र सीमित नराखौँ। बालबालिकालाई पुस्तक उपहार दिऔँ, उनीहरूसँगै पढौँ र पढेका कुरा माथि संवाद गरौँ। उनीहरूलाई पढ्न आदेश दिनुभन्दा पढ्ने वातावरण सिर्जना गरौँ किनभने पढ्ने बानी निर्देशनबाट होइन, रुचि, अवसर र उदाहरणबाट विकसित हुन्छ।

आजको आवश्यकता प्रविधिबाट भाग्नु होइन, प्रविधिको उपयोग गर्दै गहिरो पठन र चिन्तनका लागि समय छुट्याउनु हो। हामीले आफ्ना बालबालिकालाई किताबसँग मित्रता गर्न सिकाउन सकेनौँ भने उनीहरू सूचनाले भरिपूर्ण तर अनुभूतिले रिक्त बन्ने जोखिम रहन्छ। उनीहरूलाई पढ्न सिकाउनु भनेको अक्षर बुझ्न सिकाउनु मात्र होइन; जीवन बुझ्न, मानिस चिन्न र आफूलाई निरन्तर परिष्कृत गर्न सिकाउनु हो। यस दसैँतिहारमा सानो प्रयासबाट पठन संस्कृतिको पुनर्जागरण सुरु हुन सक्छ।

- रासस
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।




पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस