‘सहरमा शाहरुखको जवान हेर्ने लहर छ। जवान नै हेर्ने हो भने विमानस्थलमा जाउँ। त्यहाँ देश छाड्नेको लर्को हेर।’
बालेन शाहको फेक एकाउन्टबाट केही दिन अगाडी सम्प्रेषण यो सन्देश सामाजिक सन्जालमा किङ खानको सिनेमा ‘जवान’ जस्तै भाइरल छ।
यो सन्देश भाइरल हुनुको ३ कारण छन्– पहिलो शाहरुखको चर्चित सिनेमा जवान। दोस्रो बालेनको नाम जोडेर राखिएको स्ट्याटस अनि तेस्रो मुलुकबाट दैनिक बाहिरिँदै गएका लाखौँ जवान को यथार्थता। हाम्रा जवान र शाहरुखको जवानको कथामा केही समानता पनि छन्।
शाखरुखको सिनेमामा परम्परागत राजनीतिले देशलाई खोक्रो बनाउँदै लगेको देख्न सकिन्छ। त्यसैले सिनेमाले सिस्टमभित्रको विकृतिमाथि जोडदार प्रहार गरेको छ। यो भारतको यथार्थता पनि हो।
बैकको लोन तिर्न नसकेर आत्महत्या गर्न बाध्य किसानको समस्या देखाएको छ। सरकारी अस्पतालको बिग्रँदो अवस्थाले सर्वसाधारणले ज्यान गुमाएको तथ्य प्रकाश गरेको छ। भारतीय समाजमा देखिएको यो समस्या नेपाली समाजको व्यथासँग मेल खान्छ।
हाम्रोमा पनि खेतीको समयमा मल हाल्न नपाएर किसानको बिजोग भएको समाचार आइरहेका छन्। रिन तिर्न नसकेर आत्मदाह गरेका समाचार सुनेकै हो।
जवान सिनेमामा देखाएजस्तै हाम्रोमा पनि विलाशी सवारीसाधनको व्याजभन्दा किसानले चलाउने ट्र्याक्टरको लोनमा व्याज बढी छ। हाम्रोमा अझै पनि दुर्गमका जनताले गतिलो उपचार त के ज्वरो आएको बेला सिटामोल समेत खान पाएका छैनन्। त्यसैले भारतीय सिनेमाको चर्चित कथा र नेपाली समाजको यथार्थ व्यथासँग मेल खान्छ।
भारतीय सिनेमा जवानमा नेपालले समाजले भोगिरहेको एउटा तितो यथार्थता भने ओझेलमा छ। सिनेमा हलमा देखिने लाइन भन्दा विमानस्थलमा देखिने लर्को कम्ता छैन। विमानस्थलमा दिनहुँ सरदर दुई हजार ४ सय भन्दा बढी युवा काम र पढाईको लागि मुलुक छोडेर जाने गरेका छन्। लाग्छ सिङ्गो मुलुक क्रमशः विदेश उडिरहेको छ। अघिल्लो वर्ष मात्र करिब ९ लाखले काम र अध्ययनको लागि मुलुक छाडेको तथ्याकंले पनि मुलुकको विकराल स्थिति दर्साउँछ।
त्यसैले पनि बालेनको नामबाट सम्प्रेषित माथिको स्ट्याटस यति धेरै लोकप्रिय बन्यो। फेक एकाउन्टबाटै सही बालेनको नाम जोडिसकेपछि जवान सिनेमा हेर्ने कतिपयले साँच्चिकै बालेन साहलाई पनि जवान सिनेमा हेर्न अनुरोध गर्न थालेका छन्। यो आग्रह मनोरन्जनको लागि हैन। मुलुकको समस्या हल हुन्छ कि भन्ने आशाका साथ देखियो।
‘बालेन साहलाई जवान सिनेमा हेर्न मेरो पनि आग्रह छ। उक्त सिनेमा हेरेपछि बाहिरिँदै गएका नेपाली जवान रोक्ने आइडिया सायद दिमागमा फुर्छ कि,’ सामाजिक सन्जालमा विनोद प्रजापति लेख्छन्, ‘जवान बाहिरिनु पनि त हाम्रो सिस्टमकै खराबी त होला नि ?।’ वृद्ध बा–आमा र बालबालिकालाई घरमा छाडेर खाडी मुलुकमा पसिना बगाउन गएका जवान जब अपाङ्ग भएर स्वदेश फर्कन्छन् तब त्यो झनै डरलाग्दो अवस्था रहेको उनी लेख्छन्।
सिनेमाको हिरोमा समेत आशा राख्ने वर्गले बालेनमा पनि ‘जवान’ देख्नु स्वाभाविक नै हो। सिनेमामा शाहरुख खान विक्रम र आजादको दोहोरो भूमिकामा छन्। सिस्टमका विकृति विरुद्ध उनले लड्दै गर्दा सिनेमा हलमा निकै ताली बज्छ। सिनेमामा अभिनय गर्ने इमानदार सरकारी अधिकारीले पनि आजादको सिस्टम सुधार्ने तरिका गलत भएपनि उद्देश्य असल भएको बताउँछन्।
पछिल्लो समयमा कतिपय युवा जमातले मेयर बालेन प्रति पनि त्यही आशा देखाएका छन्। उनका तरिका गलत भएपनि कतिपय कामहरु जायज भएको भन्दै तारिफ पनि भएका छन्। त्यसैले होला ‘सिंहदरबार जलाउने’ भन्ने बालेनको आक्रामक स्टाटश प्रति पनि लाखौँले समर्थन जनाएका थिए।
शाहरुखको जवानमा फिदा भएको नेपाली समाजले बालेनमा नयाँ जवान देख्नु स्वाभाविक हो। उनका कतिपय राम्रा कामले आशा जगाउने गरेको छ भने कतिपय व्यक्तित्वले निराशा दिने गरेको छ। यति हुँदा हुँदै पनि धेरैले नयाँ पीढीबाट नयाँ मुलुकको कल्पना गरेको देखिन्छ।
मुलुकमा पर्याप्त रोजगारीको अवसर नहुनु, सिप भएकाले काम गर्ने वातावरण नबन्नु। राज्यले प्रोत्साहन नगर्नु लगायतका कारण यूवाहरु विदेश पलायन हुँदै छन्। अनि अर्को कुरा लामो समयदेखि अलमलमा रहेको राजनीतिप्रति पनि नेपाली युवाको आशा हराएको छ। यस्तोमा नयाँ आशा देखाउने कोही जवानको आवश्यकता रहेको नेपाली युवाको बुझाई छ।
‘जवान उमेरले मात्र हैन, चेतना र सोचले पनि हुनु पर्छ,’ सामाजिक सन्जालमा प्रमोद रिजाल लेख्छन्, ‘जवान जब संयमित भएर मुलुकको हितमा अगाडी बढ्छ तब लामो समयदेखि सिस्टमका ‘काली’ (जवान सिनेमाका खलपात्र) हरुको अन्त्य निश्चित छ।
भारतीय सिनेमा जवान सफल भएको छ। सामाजिक विसङ्गतिका विरुद्ध बनेको सिनेमाले बक्स अफिसमा राम्रो कलेक्सन गरेको समाचार आइरहेको छ। तर सिनेमाको त्यो आम्दानीले भारतको समस्या समाधान गर्ने होइन। सबैभन्दा ठुलो कुरो यो सिनेमा चेतनाको झिल्को बनेको छ। हो त्यही चेतनाको झिल्कोले सिस्टमका खराबी जलाउने काम नयाँ जवानले गर्नु पर्छ। जवानको जवान सन्देश यति नै हो।
‘शाहरुखको जवान हिट भयो,’ सामाजिक सन्जालमा मनोहर पुडासैनी लेख्छन्, ‘नेपाली ‘जवान’ कहिले चल्ने हो त्यो भने हेर्न बाँकी नै छ।’
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।
पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो।
तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।
संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए।
नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।
तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन।
स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्।
गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए।
अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।
अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?
महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?
नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?
अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?
अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?
हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?
यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।
आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।
वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ।
हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ।
शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।
बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ।
'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ।
भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ।
जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्।
केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...