पोखरा-अरु लेखकले दुखले बनाएका पात्र र चरित्रलाई हुबहु उतारेर पाठकसँग इमोसनल ब्ल्याकमेलिङ गर्ने? तिमीले नै महान् ठानेका र खप्पर रिङ्ग्याउने लेखकलाई पढे भइगयो नि, तिमीलाई किन पढ्ने? प्रश्नका एकपछि अर्को झटारो बर्सिए। प्रश्न फेरि थपियो— भाषाको तोडमोड गर्ने? अंग्रेजीलाई जबरजस्ती घुसाएर नेपालीमा अतिक्रमण गर्ने?
बोल्ने पालो आएर हातमा माइक परेपछि लेखक कुमार नगरकोटी प्रतिरक्षामा आक्रामक उत्रिएनन्। सबै प्रश्नहरुको सहज उत्तर दिएर हाँसिदिए। टिप्पणीकार राजन गोदारले सर्जकको सट्टा खुद्रे टिप्पणीकार भन्दा के फरक पर्छ भनेर सोधेका थिए। फेरि उत्तर सोझो आयो—फरक पर्दैन। सहभागी सबै हाँसे। लेखनमा जति अराजक र उत्ताउलो कहलिएका छन्, शनिबार पोखरेली पाठकहरुसँग अन्तर्क्रियामा उत्रिएका नगरकोटी त्यस्तो छम्कट्टै लागेनन्। बरु लेखाइमा देखिएभन्दा बढी बिन्दास र स्वच्छन्द अवतारमा प्रकट भए। कुनै पनि प्रश्नको उत्तर दिएर आफू र आफ्नो लेखनबारे प्रष्टिकरण दिएनन् उनले।
र्यानन्डम रिडर्स सोसाइटी अफ नेपालले महिनाको अन्तिम शनिबार चलाउने लेखक—पाठक अन्तरसंवादको ५० औं शृङ्खलाका पाहुना थिए नगरकोटी। नेपाली साहित्य लेखन परम्परामा नयाँ पराम्परा थालनी गर्ने अभियान घोषणा नगरेरै हस्तक्षेप गरेका उनलाई पाठकहरु र्यातखर्यारख्ती पार्ने मुडमा थिए। सुरुवातमै लिखित टिप्पणी पेस गरेका गोदारले अरु लेखकको पात्र चोर्ने आरोपमात्रै लगाएनन्, हिम्मत र खुबी भए युगीन पात्र एवं चरित्र रचना गर्न चुनौती दिए। 'होइन भने कुमार तपाईं पुन्टे लेखक हो?,' उनले सोधे। तर कुमारको उत्तर सहज थियो—हुँ।
तिमीलाई पढ्न किन आवश्यक छ भन्दा छैन नपढ्नोस् भन्दै लेखक नगरकोटी शनिबारको बिहान पोखरेली पाठकमाझ ताज्जुब देखिए। 'मेरो पहिलो सम्भोग वेश्यासँग भएको हो,' उनले हाकै भनिदिए। यसो भन्दा श्रीमती रिसाउनुहुन्न? पाठक प्रश्न झरिहाल्यो। कार्यक्रममै उपस्थित श्रीमती साबित्री कार्कीतर्फ इशारा गर्दै कुमारले उत्तर दिए, 'मैले त उनैलाई सुनाएको हुँ।' दर्शक दीर्घामा विश्मयमिश्रित हाँसो छायो।
पाठक दीर्घाबाटै कवि सरस्वती प्रतीक्षाले नगरकोटीमा आडम्बर भन्ने नै नभएको बताइन्। कुमारले त्यसैमा झन् कुरा थपे, 'के नैतिकता? के इमान्दारिता? के आडम्बर? मेरो जेजस्तो जीवन छ, त्यस्तै लेखिदिन्छु।' 'यस्तो कमै लेखकले साहस गर्न सक्छन्, जुन नगरकोटीले गरेका छन्,' प्रतीक्षाले भनिन्।
कुमारलाई अनेक प्रश्न बाटोघाटोमा पनि आइलाग्दो रहेछ। 'भुइँ मान्छेको बारेमा लेख्नुहुन्न, तपाईं त बुर्जुवा हो भनेर मलाई एकजनाले भन्यो, मैले हो भनिदिएँ,' कुमारले सुनाए, 'अर्कोले फेरि एक दिन तपाईं त मार्क्सवादी हो भन्यो, फेरि पनि मैले हो भनिदिएँ।' खासमा किन जसले जे भने पनि हो भन्छन् त उनी? त्यसमा किन प्रतिरक्षा गर्दैनन्? 'मलाई सबै चिज ग्राह्य छ, जेजे यो संसारमा अस्तित्वमा छन्,' उनले भने। भाषाका हकमा पनि जुनभाषाको शब्द बगेर आउँछ त्यहीमा लेख्दा अंग्रेजी र अरुका शब्दहरु आफ्नो लेखनमा बढी परेको उनको भनाइ थियो।
मदन पुरस्कारदेखि नोबेल पुरस्कारसम्मको खिल्ली उडाउँदै आफ्नो पुस्तक अक्षरगन्जमा त्यसलाई दागको संज्ञा दिएका नगरकोटी आफैंले चाहिँ कुनै पुरस्कार र सम्मान लिएका छैनन् र भन्ने प्रश्न पनि गोदारले राखेका थिए। दिए लिने, नदिए नलिने र खोज्दै नहिँड्ने भावसहित उनले उत्तर दिए, 'पोहोर काठमाडौंमा बुक अफ दिन इयर दिन बोलाइयो, गएँ र लिएँ, तर घर आइपुग्दासम्म सम्मानपत्र कता थियो भन्ने ख्यालै गरिनँ।'
कवि तीर्थ श्रेष्ठले सुन्दर बन्न पाखण्ड गर्नेहरुका माझ कुमार नगरकोटी विपरीत उपस्थित भएको बताए। 'कुमारमा पाखण्ड छैन, स्वच्छन्दता छ। स्वच्छन्दतामा जुन लय हुन्छ, त्यही नै सुन्दरता हो,' उनले भने।