झापा, माघ २४– झापाको काँकडभिट्टामा कला साहित्य उत्सवको दोस्रो संस्करण आउँदो फागुन ९ देखि ११ गतेसम्म आयोजना हुने भएको छ। प्रत्येक दुई वर्षमा गर्ने लक्ष्यसहित रिडर्स झापाले दुई वर्ष अघि पहिलो संस्करण आयोजना गरेको थियो।
नेपाली कला साहित्य तथा राजनीतिक क्षेत्रका हेभिवेटहरुलाई मोफसलमा जमघट गराएर कला साहित्य र समाजका सामयिक विषयमा बहस गराउने लक्ष्यसहित उत्सवको दोस्रो संस्करण आयोजना गर्न लागिएको रिडर्स झापाका अध्यक्ष उज्जवल प्रसाईले बताए। नेपालका तथा भारतमा रहेर नेपाली लेखन क्षेत्रमा सक्रियता देखाइरहेका लेखक, पत्रकारहरुको उल्लेख्य जमघटमा उत्सव हुने आयोजकको भनाई छ।
प्राज्ञिक बहसका लागि आयोजना हुने यस्तो बृहत कार्यक्रम राजाधनी केन्द्रीत भइरहेका बेला दुई वर्ष अघि झापामा आयोजना हुँदा त्यसको सर्वत्र प्रशंसा भएको थियो । 'पहिलो संस्करणको सफलताले हामी उत्साही भएका छौं', कार्यक्रम संयोजक दिपक पोखरेलले भने 'दोस्रो संस्करण पनि त्यत्तिकै सफल हुनेमा आशावादी छौं।'