अल्पविराम पोखरेली
हजुरआमा ढोग गरें । तेह्र बर्से नातिनी र दश बर्से नातिले एकसाथ ढोगेपछि शकुन्तलाले भनिन् – चिरञ्जीवी हौ, ज्ञानी बन, धेरै पढ है बाबा! नातिनातिनी त ठुल्ठुला भइसकेछन्।
हो आमा यो छोरीले सातमा पढ्दै छे। यसले तीन भन्दै जानुकाले सासूको खुट्टामा ढोग्न खोजिन्।
सौभाग्यवती बनिरहूँ बुहारी, तिमीले आदरसाथ टाउको निहुरायौ त्यही काफी छ, खुट्टामा ढोग्नु हुँदैन पाप लाग्छ।
जेठो छोराको पालो पुर्याएर दुई वर्षपछि कान्छाको घरमा आएकी थिइन् शकुन्तला अनि कान्छो खोई त बुहारी?
– अँ उहाँ त कामबाटै आउनुभको छैन। अनि उता जेठाजू जेठानी र नानी बाबुहरू निकानन्दै हुनु होला नि, होइन त आमा !
–आमा, यता आउनुस् त।
जानुकाकी छोरी बाथरुमबाट चिच्याइन्।
फेरि के भयो भन्दै? छोरीको आवाजतिर लागिन् जानुका र सोधिन् –के भयो, किन चिच्याएकी?
‘हेर्नुस् न आमा ! मेरो पिसावबाट रगतै रगत आयो।’ छोरीले रुँदै भनिन्।
– रुनु पर्दैन नरोऊ। यो केही होइन। तिमी अब नछुने भयौ। अब तिमी सात दिनसम्म बाहिर निस्कन र अरूलाई छुन हुँदैन।
त्यही बेला जानुकाको श्रीमान् नरेश पनि आइपुग्यो। शकुन्तला पनि आइपुगिन् र भनिन् – बुहारी तिमी त झन् एक्काइसौ शताब्दीकी, म उन्नाइसौं शताब्दीकी, मैले तिमीलाई के शिक्षा दिनु र खोई ?
यो नरेशले र नातिले पनि दिसापिसाव गर्छ, नाकमुखबाट सिँगान र खकार फाल्छ होइन र हो। त्यो सबै शरीरको विकार फालेजस्तै नारीहरू रजस्वला हुनु पनि शरीरको विकार हो।
पुरुष र नारीमा यही भिन्नता हुन्छ–उमेर पुगेपछि नारीको रज उत्पादन हुने र गर्भाशय गतिशील हुन रजस्वला हुन्छ भने पुरुषको वीर्य। नातिनीले केही बार्न पर्दैन बरु हिजोआज रजोवती महिलाले लगाउने प्याड पाइन्छ त्यो लगाउने बेलाबेलामा सफा गर्न नुहाए हुन्छ।
– के हो जानुका तिमी ! तिमी हामीले भन्नुपर्ने कुरा आमाले पो भन्नुभो त।