क्याप्टेनका कलम
०३ वैशाख २०७८
•
११ मिनेट पाठ
क्याप्टेनका कलम

श्रीओम श्रेष्ठ रोदन  

 




कहाँबाट शुरु गरूँ म ? अलमलमा परिरहेको छु । लेख्न बस्नासाथ उहाँसँगका असङ्ख्य भेट र रोचक क्षणहरू एकदमै नजिक आउँछन् । कुनलाई छोड्नु ? कुनलाई लेख्नु ? धर्मसङ्कटमा छु म।

उहाँ अर्थात् क्याप्टेनसाप अर्थात् क्याप्टेन जनकबहादुर राणा । इन्डियन आर्मीका रिटार्यड क्याप्टेन । वीरगन्जवासी जङ्गबहादुरका सन्तति । उहाँसँग परिचय भएदेखि लगभग अन्तिम समयसम्म  कहिले टाढा भएनौं हामी । हुनै दिनु भएन उहाँले । काठमाडौंमा हुँदा कुनै न कुनै निहुँले हाम्रो भेट नियमितजस्तै हुने गथ्र्याे । वीरगन्जमा हुँदा पनि फोनले कहिले टाढिन दिएन हामीलाई । साहित्य र साहित्यकारहरूप्रतिको चासोको कारण उहाँ सोधखोज, कुराकानी गरिरहनुहुन्थ्यो हामीसँग । हामी भनेका जय छाङ्छा र म।

उहाँसँग पहिलोपटक मधुपर्कमा परिचय भएको थियो । जवाहरलाल नेहरुले लगाउने जस्तो घाँटीसम्म ट्याप्प भएको कालो कोट र सेतो पाइन्ट लगाउनुभएको थियो । अग्लो कदु, खाइलाग्दो अनुहारको व्यक्तित्व भएको मान्छे को होला भन्ने लागिरहेको थियो । त्यतिन्जेल म आफ्नो टेबुलमा काम गरिरहेको थिएँ । वसन्तजीले उहाँ क्याप्टेन जनकबहादुर राणा र उहाँ श्रीओमजी भनेर दुवैको परिचय एकसाथ गराउनुभएको थियो । त्यतिन्जेल उहाँ जुरुक्क उठेर हात मिलाउनुभएको थियो । क्याप्टेनसापको नाम लिनासाथ कान्तिपुरमा पढ्ने गरेको ‘लाहुरेको डायरी’ ले पूरै परिचित भइहालें म । त्यो ताका लाहुरेको डायरी स्तम्भ चर्चित थियो । नेपालको पहिलो मिस नेपाल रुबी राणाकी बाबु हुनु अर्को परिचय हो उहाँको।

परिचयको त्यो क्षण निकै बलवान् संयोग मिलेको थियो हाम्रो सायद । त्यसपछि हाम्रो मित्रता दिनप्रति दिन घनिष्ठ हुँदै गयो । कहिलेकाहींँ अचम्म पनि लाग्थ्यो, त्यस्तो बूढो मान्छेसँग घनिष्ठता भएकोमा । पैँतीस वर्षसम्म भारतीय सेनामा काम गरेर निवृत्त भएपछि मातृभूमि फर्कनुभएका क्याप्टेनसाप मेरो बाको जस्तै उमेरको हुनुहुन्थ्यो । तर, बन्यौं हामी साथीसाथी । प्रेममा सबै कुरा सम्भव भएजस्तै जायज भएको थियो हाम्रो मित्रता पनि।

बन्दुक चलाएको हात भए पनि उहाँको हात अत्यन्त नरम थियो । प्रत्येक पल्ट हात मिलाउँदा त्यस्तै अनुभव गर्थें  म । त्यसैले हुनसक्छ बन्दुक बिसाउनासाथ कलम समाइहाल्नु भो । पैँतीस वर्ष समातेको बन्दुकले युद्धमा कतिलाई मार्नु भो थाहा छैन, तर बूढ्यौलीमा केही वर्ष समातेको कलमले उहाँलाई कहिले नमर्ने बनाएको छ । कलमको कमाल नै यही हो, मरेपछि पनि बचाउने।

संस्मरणमा अत्यन्त तीक्ष्ण हुनुहुन्थ्यो क्याप्टेनसाप । चित्रजस्तो गरेर एकएक घटना सुनाउनुहुन्थ्यो । त्यसैले त नेपाली साहित्यमा युद्धसाहित्यलाई भित्र्याउनुभयो उहाँले  । जीवन र जागिरका असङ्ख्य अनुभवका संस्मरणहरू थिए उहाँसँग । युद्धकथा अरूले पनि लेखेका थिए होलान्। तर, आम पाठकका बीच युद्धसाहित्यलाई लोकप्रिय भने उहाँले नै गराउनुभएको हो । कुनै पनि घटनाको संस्मरण लेख्नु हुँदा पात्रको नाम, तिथिमिति मात्र होइन, प्रत्येक संवादलाई समेत सहज रूपमा उतार्नुहुन्थ्यो।

युद्धका घटनाहरू सुन्न म जहिले पनि उत्साही  हुन्थें । त्यसैले हाम्रो भेट हुनासाथ म युद्धका प्रसङ्गहरू खोतल्थें । उहाँ जीवन्त रूपमा सुनाउन थाल्नुहुन्थ्यो ।  धेरै पटक उहाँले लेखेका र नलेखेका घटनाहरूको दृश्यात्मक विवरण सुनेको छु मैले ।

मैले एकपटक सोधेको थिएँ– कसरी भारतीय सेनामा पुग्नु भो राणासाहेब मान्छे ?

‘म जङ्गबहादुरको सन्तति हुँ, नेपालबाट भागेर पुगेका थियाँैं हामी । त्यतिबेला राणा थर लेख्दा सेनाले भर्तीमा नलिने भएकाले मैले आफ्नो थर ढाँटेर थापा राखेको थिएँ ।’  

उहाँ भारतीय सेनामा भर्ती भैसकेपछिका कठिन दिनहरू, आफ्नो मेहेनत र ज्ञानको कारण आफ्ना अफिसरहरू प्रभावित भएका घटनाहरू, युद्धका त्रासदी क्षणहरू, युद्धविराम हुँदा गर्ने रमाइला र साङ्गीतिक क्षणहरू, आफ्नै अगाडिबाट गोली गएका क्षण र आफ्नै मित्रहरू गोली लागेर ढलेका घटनाहरू कथाजस्तै सुनाउनु  हुँदा  ध्यान दिएर सुन्ने गर्थेंँ म। 

एक दिन क्याप्टेनसापले मधुपर्ककै कार्यालयमा जयजीसँग रचना माग्नुभयो ।  ‘सगर’ त्रैमासिक पत्रिकाका लागि । ‘सगर’ को शुरुवात वीरगन्ज साहित्य परिषदले गरेको थियो । संयोगले वर्षभरिका उत्कृष्ट रचनाहरुमध्ये एक जना उहाँ पनि पुरस्कृत हुनुभो, ज्ञानपूर्ण पुरस्कारबाट । त्यसका लागि म पनि जयजीसँग वीरगन्ज गएको थिएँ । त्यही बेला हामीले दार्जिलिङ, कालिम्पोङ र सिक्किमको यात्रा गरेका थियौं।

२०५३ चैत ३० गते हामी काठमाडौंबाट हिंडेका थियौं वैशाख १ गतेको कार्यक्रमको लागि । वीसापको कार्यक्रममा देशभरि र प्रवासबाट पनि धेरै लेखकहरूको सहभागिता थियो । तर, हामी दुई जनालाई भने क्याप्टेनसापले आफ्नै घरमा बस्नुपर्ने बाचा पहिले नै गराउनुभएको थियो।

बाटोका कारण हामी भनिएको समयभन्दा एक घण्टाजति ढिलो पुगेका थियौं । उहाँ एक घण्टादेखि बसपार्कमा नै हामीलाई कुरिरहनुभएको थियो । बसबाट ओर्लनासाथ द¥हो हात मिलाएर स्वागत गर्दै रिक्सामा चढाउनुभएको थियो ।

छपकैयाको ‘कमला सदन’ लेखिएको दुईतल्ले सेतो घरमा ओरालियौं । त्यही साँझ हामीले खायौँं पियौँं र रमाइलो गरयौं। उहाँ जति फरासिलो हुनुहुन्थ्यो त्योभन्दा बढी कप्तानीसाप रमाइलो हुनुहुन्थ्यो । उहाँको व्यवहारले एकै रात बिताएको घरलाई छोड्न हामीलाई गा¥हो भएको थियो भोलिपल्ट । त्यही राति उहाँले भातको सट्टामा रोटी खानुभएको थियो सुगर भएकाले । अन्ततः त्यही सुगरले जित्दैजित्दै  उहाँलाई हरायो २०६० को भाइटीकाको राति ।

सामान्यतया म आफ्नो अनुभूति लेख्ने मान्छे । अरूका अनुभूतिका शल्यक्रिया गर्ने सामथ्र्य नभएको र नरुचाउने मान्छे म । सिर्जना पढ्न सदा तम्सिने तर पढेपछि लागेको लेख्न तर्किने बानीजस्तै बनिसकेको छ मेरो ।

सन्ताउन्न सालको तेस्रो महिनातिर जस्तो लाग्छ । क्याप्टेनसाप आउनुभयो मधुपर्कमा र  ‘नेपाली’ त्रैमासिक –१६२ निकालेर दिनुभयो । सरर पल्टाएँ । रैनबसेरा शीर्षक र स्रष्टाको नाम देख्नासाथ रोकिएँ । त्यही अवसर पारेर उहाँले भन्नुभयो – ‘पढेर के लाग्छ लेख्नुस् । कमलबाबुले छाप्छु भन्नुभएको छ ।’ क्याप्टेनसापको आग्रहसहितको सौगात अलिकति भारी र धेरै हार्दिक लाग्यो र स्वीकारेँ।

मलाई लाग्यो– क्याप्टेनसापको यही आग्रहद्वारा नै म ‘नेपाली’ मा प्रवेश गर्नेछु । आफूभन्दा जेठो  पत्रिकामा आफ्ना कुरा लेख्न पाउनु चानचुने कुरो होइन । अर्को कुरा कमल दीक्षितजस्ता उमेर, अनुभव, योगदान र सिर्जनाले पनि भीष्मपितामह सरहका श्रद्धेय व्यक्तिले सङ्केत मात्र गर्नु मेरो निम्ति लाख हो , पुरस्कार हो।

क्याप्टेन साप जसको साहित्यमा कलम उघ्रिएदेखि शरीरले नचिने पनि अक्षरहरूसँग परिचित छु । उहाँको लेखनीको प्रारम्भिक कक्षादेखि नै अक्षर मात्र होइन अनुहार र अनुभवहरुसँग परिचित छु म । हो, उहाँको र मेरो उमेरमा पर्याप्त असमानता छ तर भावनाको दृष्टिले हामी समान छाँैं र निकट छौंँ । मन मिलेपछि तन र धनको केही लाग्दो रहेनछ ।

क्याप्टेन जनकबहादुर राणाको रैनबसेराको घटना ०५३ फागुन १८ गतेको साँझको हो । प्रकाशित भएको छ तीन वर्षपछि अर्थात् नेपालीको २०५६ को माघ, फागुन र चैत अङ्कमा । लेखको प्रारम्भमा कथा, कविता नछाप्ने नियम छ नेपालीको भनेर सम्पादकको भनाइसँगै क्याप्टेनसापले संस्मरण भनेर लेखे पनि उत्कृष्ट कथा भएको तर पन्छाउन मनले नमानेको उल्लेख गरिएको छ । यसबाट क्याप्टेनसापको रचना स्तरीय भएको पुष्टि हुन्छ । तर रचना राम्रो हुँदाहुँदै पनि तीन वर्षपछि प्रकाशित हुनुबाट नेपाली साहित्य र प्रकाशन समस्यालाई पनि सङ्केत गरेको छ ।

२०५५ सालको पुसमा फेरि साहित्यिक समूहसहित म वीरगन्ज पुगेंँ । वीरगन्ज साहित्य परिषद्ले मलाई अकस्मात् सम्मान पनि ग¥यो । त्यतिबेला म समूहमा भएको कारण एक्लै छुट्टिएर क्याप्टेन सापकहाँ जान सकिनँ । कार्यक्रमको अन्तिम दिन उहाँले दिउँसो चियाका लागि निम्ता गर्नुभो । सबै जना कलैया जानुभएकाले धरणीधर कोइराला र म एउटा रिक्सामा बसेर उहाँको घरमा दोस्रोपटक पुगेका थियौंँ । त्यतिबेला रमेश गोर्खाली दाइ पनि बाटोमा भेटिनुभयो र सँगै गएका थियौंँ।

विसं २०५६ तिर, सारांश नेपालबाट हामीले चाइनिज कवि चङचको सम्मानमा काठमाडौं किचेन रेस्टुरेन्टमा कार्यक्रम गरेका  थियौंँ। कार्यक्रम नसिद्धिँदै क्याप्टेनसापलाई निकै गाह्रो भयो । उहाँ ट्याक्सी चढेर घर जानुभयो महाराजगन्जमा । त्यसपछि पनि कार्यक्रमहरुमा फाटफुट भेटघाट भैरहन्थ्यो, कुराकानी भैरहन्थ्यो।

वीरगन्ज हुनुहुँदा प्रायः शनिबार हामी लामै फोनमा गफिन्थ्योैं र कुरा साहित्यिक नै हुन्थे । पछिल्लो समयमा म उहाँलाई जहिले पनि प्रकाशित संस्मरणहरुको एउटा सङ्ग्रह निकाल्नका लागि भनिरहन्थें । तर उहाँ कहिले हतारिनु भएन । कति पटक त मैले अब काठमाडौं आउँदा तपाईले पाण्डुलिपि लिएर मात्र आउनुपर्छ  भनें ।  उहाँ जहिले पनि हाँसेर भन्नुहुन्थ्यो – ‘तपार्इँजस्तो शुभचिन्तक हुनुहुन्छ। मेरो पुस्तक म मरेपछि निकालिदिइहाल्नुहुन्छ नि ।’  

दुख लाग्छ । अहिलेसम्म पनि सार्थक बनाउनसकेको छैन उहाँले मप्रति गर्नुभएको विश्वासलाई । बचन पूरा गर्न नसकेकोमा चिमोटिरहेजस्तो लाग्छ । तर के गर्नु ? पुस्तक प्रकाशन गर्नका लागि छोरा विशालसँग पटकपटक कुरा पनि नभएको होइन । क्याप्टेन सापलाई सम्झनासाथ अहिले पनि उहाँको त्यही आवाज बेलाबेलामा सुनिरहेंजस्तो लाग्छ । ढिलोचाँडो अवश्य निस्केला क्याप्टेनसापको ‘लाहुरेको डायरी’ । बाँच्ने भनेकै विश्वासले त हो नि ।

पुस्तकका लागि जयजी र मैले धेरै कराएको बेला भने धेरैवटा रचनाको सम्पादन पनि गरिसकेको बताउनुहुन्थ्यो उहाँ । बेलाबेलामा फोन गरेर उहाँले हामी उपस्थित भएको  कार्यक्रमको आयोजक, वक्ताहरू , तिथिमिति जस्ता प्रश्न सोधिरहनुहुन्थ्यो।

एक पटक मैले इमेज एफएममा उहाँसँग आधा घण्टाको साहित्यिक अन्तर्वार्ता लिएको थिएँ,  स्टुडियोमा नै बोलाएर ।  उहाँले आफ्नो क्यामराबाट फोटो खिच्न लगाउनु भएको थियो प्राविधिक मित्रलाई । कुनै कार्यक्रममा त्यो फोटोका पछाडि तिथिमिति र आफ्नो मन्तव्यसहित लेखेर मलाई एकप्रति दिनुभएको थियो । त्यो अन्तर्वार्तामा मैले गरेका प्रश्नहरूको बारेमा पनि पटकपटक मलाई सोध्नुभएको थियो, लेख्नलाई । तर लेखिए नलेखिएको भने थाहा पाउन सकेको छैन ।

केही वर्ष मैले इमेजमा समाचार वाचन शुरु गरें । त्यसपछि प्रत्येक दिन बिहान साढे छ बजे समसामयिक घटनाका बारेमा सम्बन्धित नेताहरूसँग प्रत्यक्ष अन्तर्वार्ता लिने कार्यक्रम चलाएँं ‘आजको सन्दर्भ’  । उहाँ त्यसको नियमित स्रोता हुनुहुन्थ्यो । जहिले पनि मेरो आवाज र मैले गरेका प्रश्नहरूको प्रशंसा गर्नुहुन्थ्यो । हरेक दिनको कार्यक्रम सकिनासाथ प्रतिक्रिया दिएर प्रोत्साहित गर्ने गर्नुहुन्थ्यो । क्याप्टेनसाप सेनाबाट निवृत्त हुनुभएपछि कृषक र कृषकबाट साहित्यकार बन्नुभएको थियो । क्याप्टेन राणाको साहित्यिक सक्रियता र सबै पुस्तासँग घुलमिल हुनसक्ने उहाँको विशेषता अद्भूतको थियो ।

उहाँको संस्मरणशक्ति अत्यन्त तीक्ष्ण थियो  । उहाँ प्रत्येक घटना र पात्रको संवाद समेत सविस्तार वर्णन गर्न सक्नुहुन्थ्यो । यही गुणका कारण उहाँका प्रायः संस्मरणहरू चित्रात्मक हुन्थे । नेपाली, अङ्ग्रेजी, हिन्दी र बङ्गाली भाषाको राम्रो ज्ञानका कारण परिवेशअनुसार शब्दप्रयोग गर्न सिपालु हुनुहुन्थ्यो । आफ्नो क्षेत्रको पर्याप्त ज्ञान र संस्मरण शक्तिका कारण उहाँको लेखाइ सन्दर्भमाथि सन्दर्भ जोड्दै आकाशपाताल जोडिएजस्तै पनि हुनेगथ्र्यो । त्यसैले उहाँ छोटो लेख्न सक्नु हुन्नथ्यो, लामा हुन्थे उहाँका लेखहरू।  

एक पटक रेयुकाई नेपाल पाटन शाखाको आयोजनामा कविगोष्ठी भएको थियो । संयोजकका नाताले विभिन्न कविहरूका साथ उहाँलाई पनि निम्ता गरेको थिएँ । अर्को पटक २०५४ पुस १८ गते अन्तर्राष्ट्रिय स्वयं सेवा दिवसको उपलक्ष्यमा विद्यालयस्तरीय कविता प्रतियोगिता भएको थियो । त्यसमा उहाँलाई निर्णायकका रूपमा आमन्त्रण गरेँ । एकपटक कवि र अर्को पटक निर्णायक हुनुभएकोमा निकै खुशी हुनुभएको थियो । यी दुई सन्दर्भलाई आधार बनाएर उहाँले एउटा संस्मरण लेख्नुभयो – ‘किस्सा प्रायश्चित्तको’ । छापियो समष्टिको वर्ष १९, अङ्क १, २०५५ मा । त्यसमा केही सन्दर्भ पारेर मेरा केही बानीहरूका बारेमा पनि उल्लेख गर्नुभएको थियो । त्यही भएर होला त्यो समष्टिको भित्री पृष्ठमा उहाँले ‘परम मित्र श्रीओम श्रेष्ठ ‘रोदन’ ज्यूमा नरिसाएर पढिदिने आग्रहसहित समर्पण ’ भनेर हस्ताक्षर गरेर दिनुभएको थियो।

हाम्रो सम्बन्ध हामी दुईको बीचमा मात्र नभएर पारिवारिक थियो । हामीबीच घरमा जानेआउने क्रम चलिरहन्थ्यो । जयजी र म मात्र हुँदा कतिपय नभन्दा पनि हुने पारिवारिक कुराहरू पनि बताउनुहुन्थ्यो।  

चिनीको रोगले उहाँलाई निकै गाल्दै लगेको थियो । आँखा राम्रोसँग नदेख्ने भएपछि पटकपटक लेजर गराउनुभएको थियो । प्रत्येक दिन इन्सुलिन लगाउनुपथ्र्यो ।  कतिपटक लड्नु पनि भयो । आँखाले राम्रो देख्न छोडेपछि उहाँ घरबाट बाहिर निस्कन सक्नु भएन । त्यसपछि उहाँ प्रायः साहित्यकारहरूसँग फोनमा मात्रै कुरा गर्नुहुन्थ्यो । जोसँग कुरा भए पनि मलाई भन्नुहुन्थ्यो र साहित्यिक गतिविधिका बारेमा सोधिरहने गर्नुहुन्थ्यो । घरमा नै थला पर्न थाल्नु भएपछि जयजी र म केही पटक सँगै भेट्न पुगेको थियौंँ । केही पटक मदन दाइ, पुष्पजी र अन्यको साथमा पनि गएका थियाँैं । एकपटक म निर्मोही व्यास सरसँग पनि गएको थिएँ ।  त्यसबेला धेरै कुरा नगरी मैले दुई वटा निबन्ध सुनाएको थिएँ, उहाँको अनुरोधमा ।

उहाँको अस्वस्थता बढ्दै गएको थियो । धेरै चाप्दा भने  शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । अस्पतालमा कमजोर र शिथिल देखिनु भए पनि अलिकति पनि डराउनु हुँदैनथ्यो । विश्वासका साथ कुरा गर्नुहुन्थ्यो । पछि कप्तानी सापसँगको कुराबाट मात्र उहाँको स्वास्थ्य स्थितिको जानकारी पाएका  थियौंँ।

पछिल्लोपटक उहाँ विएण्डवि अस्पतालमा लामो समय भर्ना हुनुभयो । भर्ना हुनासाथ क्याप्टेन सापले छोरा विशाललाई हामीलाई फोन गर्न भन्नुभएको थियो । खबर पाउनासाथ हामी पुगेका थियौंँ । हामीलाई देखेर उहाँ निकै खुशी भएर भन्नुभएको थियो– ‘तपाईहरूसँग भेटघाट गर्न मन लागेर खबर गर्न लगाएको ।’

विएण्डविमा भने उहाँ निकै गलिसक्नुभएको थियो । उहाँ आफैले पनि आशा मारिसक्नुभएको जस्तो कुरा गर्नुहुन्थ्यो । त्यसैले हुनसक्छ आफू हस्पिटलमा भएकै बेलामा उहाँले आफ्नो एक मात्र छोरालाई हतार गरेर विवाह गर्न लगाउनुभएको थियो । त्यो दिन हामीलाई हस्पिटलमा खुशीयालीको लड्डु खुवाउनुभएको थियो ।

सायद त्यसपछि हामीबीच भेट हुन सकेन । खुशीको लड्डु खाएर छुट्टिएको भेट नै अन्तिम भेट बन्यो हाम्रो । एकैपटक भाइटीकाको राति खबर आयो हामी सबैलाई छोड्नुभएको । यद्यपि क्याप्टेनसापसँगको मित्रता कायमै छ । उहाँको शरीर नभए पनि उहाँले बताउनुभएका संस्मरणहरू कानमा गुन्जिरहेका छन् । कतिपय सन्दर्भमा सिकाउनुभएका कतिपय कुराहरू मुटुमा टाँसिरहेका छन् ।

थोरै समयमा साहित्यमा धेरै गर्नु भो र धेरै पाउनु भो पनि । यो अमरत्वलाई श्रद्धाञ्जली होइन सलाम छ मेरो।  

आखिर तपाई बन्दुकको सिपाही भन्दा कलमकै सिपाही बन्नुभयो क्यारे।
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
•
२ मिनेट पाठ
शिखर यात्रामा डा.पुष्करराज भट्ट
लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 




भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
रमितेखोलो
रमितेखोलो
टङ्क भट्टराई टङ्क भट्टराई • · २१ वैशाख २०८१ · ११ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस