यज्ञश, काठमाडौं, वैशाख १७ 'चार अक्षर चिनेका सभासद् पढाइ र आर्थिक अवस्था कमजोर भएका सभासद्लाई 'ल्याप्चे' भन्दिछन्' कुरैकुरामा गगन थापा दुखी भए । देशको सबैभन्दा चर्चित विद्यार्थी नेताबाट सभासद् बनेका गगनसँग आठ ओस्कर विजेता फिल्म 'स्लमडग मिलेनियर' का विषयमा कुरा चलिरहेको थियो । बीचैमा उनलाई संविधानसभाको झल्को आयो। अनि मुम्बईको झुपडीबाट कुरा सोझै बानेश्वरतिर सोझियो।
'झुपडपट्टिबाट आएको केटाले फटाफट उत्तर मिलाएपछि जब पुलिसले केटालाई पक्राउ गर्छ त्यो बेला मलाई झट्ट संविधानसभाको याद आयो' उनी विस्तारमा सुनाउने मूडमा आए।
'झुपडीबाट आएको गरिब केटाको ज्ञानमा पनि शंका गरिन्छ । प्रश्न सोध्नेले शंका गर्छ पुलिसले पत्याउँदैन । यो फिल्ममा मात्र होइन । हाम्रो संविधानसभामा पनि 'ल्याप्चे'हरुको ज्ञानमाथि सबैलाई शंका छ तीनलाई सभामा पठाउने पार्टीलाई समेत उनीहरुमाथि भरोसा छैन' गगनको दुख विस्तारै विरक्तितिर उन्मुख हुँदैछ ।
किन हुन्छ यस्तो मानिसहरु किन अरुको ज्ञानलाई गान्दैनन् 'धनीमानी र शहरीयाहरु ज्ञानमा पनि आपुनो नियन्त्रण खोज्दारहेछन् । गरिब र गाउँका मान्छेसँग पनि ज्ञान हुन्छ भन्ने हाम्रो समाजले स्वीकार्न सकेको रहेनछ' फिल्मले उनलाई फुराएको ज्ञान हो यो ।
'ल्याप्चे' भनिनेहरुसँग हामीसँग नभएको ज्ञान छु यसको पुष्टिका लागि उनले नाइ समूदायकी सभासद् रामसीला ठाकुरको उदाहरण दिए- 'एउटा कार्यक्रममा ठाकुरले मजाले नर्वेका राजदुतसँग कुरा गरेको मैले देखेको छु।'
'हामीजस्तै मिलाएर सन्धी-सम्झौताको धारा किटेर भन्न नसक्लान् तर मजदुरी र ज्यालाका बारेमा उनीहरुसँग धेरै ज्ञान छ' उनले सुनाए । कुराको चुरो यत्ति हो- गरिबको ज्ञानमाथि शका नगर यो शक्तिशालीको पेवा होइन ।
राजधानीमा जन्मिएर यहीँबाट नेता भएका गगन संविधानसभाको 'सेटअप' देखेर पनि उदेक मान्छन् । राष्ट्रिय पञ्चायतदेखि गुञ्जिएको प्रकाशचन्द्र लोहनीको स्वर सभामा एकनास गुञ्जिइरहेकै छ । तर 'मजदुर, किसान, गरिब समुदायका सभासद्ले अहिलेसम्म बोल्न पाएका छैनन्' आफू धेरैपटक कड्किइसकेको सभाका बारे उनले राय दिए
***
'स्लमडग मिलेनियर' ले आठ ओस्कर जित्नुअघि नै गगनले घरमै फिल्म हेरे । 'मलाई निर्देशकको कल्पनाशीलता र पटकथा मनपर् यो' फिल्मप्रेमी नेता फिल्मको समीक्षा थाले । 'यो ओस्कर पाउनलायक फिल्म हो' ल फैसला पनि आयो । 'कथा त सामान्य हो नी प्रश्नउत्तर मात्रै हो । तर ती उत्तर केटाको जीवनमा कसरी जोडिएका छन् त्यसका माध्यमले कथा भन्ने शैली अद्भूत हो' उनले फिल्मको विशेषता बताए ।
फिल्म हेर्दा दर्शकले हिरो÷हिरोइनमा आफूलाई खोज्ने वा कल्पना गर्ने सामान्य कुरा हो । त के गगनले जमाल मलिकमा कतै आफूलाई देखे? 'यो चरित्र नै यस्तो छ धेरैलाई यो अर्कै दुनियाँको लाग्छ' झुपडपट्टिका मान्छेलाई त आपुनै लाग्यो होला नि?
'त्यो बेला म सिद्धार्थ वनस्थली स्कूलमा पाँच कक्षामा पढ्थेँ' अब एकछिन फ्ल्यासब्याक । 'स्वयम्भू हिँडेका राजा वीरेन्द्र थाहै नदिई वनस्थली स्कूल छिरे स्कूलमा भूकम्प आयो । राजा हेर्न म पनि वेपत्ताले कुँदे । फुच्चे जमाल अमिताभ बच्चन हेर्न दौडिए झैं म वीरेन्द्र हेर्न दौडिएको थिएँ । तर बच्चाको त्यो भीडमा वीरेन्द्रको नङसम्म पनि देखिएन' गणतन्त्रको नाराले राजधानी थर्काएर राजकाज मुद्धा झेलेका गगन दीवंगत राजाको स्मृतिमा हराए । स्मृतिबाट फर्किएपछि भने 'वीरेन्द्रको आकस्मिक भ्रमणले हामीलाई फाइदा भयो । झुर हालतको स्कूलको ट्वाइलेट केही दिनमै राम्रो बन्यो ।'
***
अमिताभ बच्चनले भनेजस्तै 'स्लमडग मिलेनियर' भारतको गरिबी बेच्ने फिल्म हो भन्ने प्रश्नले उनलाई पर्खिरहेको थियो । 'मलाई त्यस्तो लागेन । भारतमा नभएको झुपडी र गरिबी देखाएको हो र भारतीय निर्देशककै फिल्ममै पनि यस्तो गरिबी देखिएकै हो' उनले भने र थपे- 'निर्देशकले केही ठाउँमा गरिबीको पनि 'रोमान्टीसाइज' गर्छ । तर त्यो उसको कला र अभिव्यक्तिको कुरा हो ।'
बेलायती ड्यानी बोयलको सट्टा कुनै भारतीयले यो फिल्म बनाएको भए चाहिँ के हुन्थ्यो फिल्म संसारभर हिट हुन्थ्यो आठ ओस्कर पाउँथ्यो? 'यो चाहिँ भन्न सकिन्न है' एकछिन रोकिएर उनले थपे 'नपाउन सक्थ्यो।' किन? 'लगान पनि यत्तिकै राम्रो थियो तर पाएन ।'
जीवनको कुनै घुम्तीमा राजनीतिको कुनै चौतारिमा कुनै 'जमाल मलिक' गगन थापासँग ठोक्यिो कि? 'ठ्याक्कै त्यस्तै त होइन तर मिल्दोजुल्दो भेटेको छु ।' तीन वर्षजति अघि एउटा साथीको घरमा भेटिएको काम गर्ने केटो 'राजु खड्का' उनलाई त्यस्तै लाग्यो । 'राजु दुईपटक एसएलसी फेल भयो तर सद्धाम हुसैन किन मारियो भन्ने कुराको समेत उसको आफ्नै व्याख्या छ' सुनसरीको सुकुम्वासी वस्तीबाट उछिट्टिएर काठमाडौं आइपुगेको राजु नभेटिएको ६ महिनाजति भयो । 'उसँग ज्ञान छ तर अंग्रेजी भाषा र गणितका सुत्र उ जान्दैन । त्यही भएर एसएलसीमा फेल हुन्छ यसको अर्थ उ अज्ञानी भन्ने होइन' यो प्रकरणको अन्त्य यसरी भयो ।
र, निस्कर्ष यस्तो निस्कियो- 'सुकुम्वासी समस्याका विषयमा अहिलेसम्म भएको राजनीतिले तिनलाई जहाँको त्यही राख्ने प्रयास गर् यो' विद्वानहरु यसलाई 'राजनीतिको सुकुम्वासीकरण' भन्छन् ।
***
फिल्म रिलिज भएलगत्तै 'स्लमडग' शब्दले आफ्नो अपमान गरेको भन्दै भारतका ५६ झुपडीका बासिन्दाले गरेको आन्दालनलाई ओस्कर विजयले कसरी ढपक्कै ढाक्यो गगनलाई थाहा छैन । पालोमा अर्को प्रश्न बाँकी छ । प्रगति गर्न गरिबलाई चिट्ठै पर्नुपर्छ जमाल मलिकलाई जस्तै? र यदि सफलताको बाटो यही हो भने पनि के यो सबैलाई पर्ला? 'फिल्मलाई यस्तो गम्भिर राजनीतिक हिसाबले हेर्नु ठीक नहोला' पहिले उनले प्रश्नलाई नरम बनाए अनि बोल्न थाले- 'पुँजीवादमा संभव छ । साँझ धनी हुने आशमा हरेक बिहान एउटा अमेरिकीले चिट्ठाको टिकट किन्छ' धनी भनेकाको त यो हाल छ गरिबको के हाला सभासद्ज्यू ?
त्यसोभए धनी बन्नका लागि भोलीदेखि सबै नेपालीले 'च्याँखे दाउ' को भर पर्ने? उनको जवाफ छ 'स्लमडगको हिरोलाई चिट्ठाले मौका दिन्छ तर सफलता ज्ञानले दिलाउँछ।'