
मुम्बई, पुस ३ (एजेन्सी)- अभिनेता अभिषेक बच्चनले 'धुम ३' को आधा काम सकिएको जानकारी दिएका छन्। 'धुम ३ को ५० प्रतिशत काम सकिएको छ, हामी भर्खरै अमेरिकामा काम सकाएर आएका हौं, अब मुम्बईमा इनडोरको काम हुनेछ,' फिल्म 'धुम'का अघिल्ला दुवै शृंखलामा अभिनय गरिसकेका अभिषेकले आइतबार बिग स्टार इन्टरटेनमेन्ट अवार्ड समारोहमा भने।
'धुम ३'की एक अभिनेत्री क्याटि्रना कैफले पनि यसबारे चर्चा गरिन्। 'अहिले हामी आमिर खानसँग सुटिङ गरिरहेका छौं, फेब्रुअरीमा म ऋत्विक रोशनसँग अर्कै फिल्मको सुटिङमा हुनेछ, उक्त फिल्म पनि एक्सन हुनेछ, तर रोमान्टिक पनि छ,' क्याटि्रनाले भनिन्।
अघिल्ला दुई 'धुम'का लेखक विजयकृष्ण आचार्यको निर्देशन रहेको 'धुम ३'मा आमिर खान नकारात्मक भूमिकामा छन् भने अभिषेक, उदय चोपडा र ज्याकी श्राफको पनि मुख्य भूमिका छ। फिल्मको रिलिज डेट २०१३ को डिसेम्बर तोकिएको छ।