रञ्जुश्री पराजुली
नारी र पुरुष रथका दुई पाङ्ग्र ाहुन् । जसरी एउटा पाङ्ग्राले मात्र रथ चल्न सक्दैन त्यसै गरी यिनीहरूमघ्ये एउटाले मात्र गार्हस्थ जीवन सुचारु रूपले चल्न सक्दैन । यो कुरा हामी सबैलाई थाहा भएकै हो । हामी भन्नाले नेपाली समाजमा स्त्री र पुरुष दुवैलाई थाहा भएको कुरा हो। तर यो कुरा हाम्रो समाजम ाखाली सिद्धान्तको रूपमा मात्र छ, प्रयोगको रूपमा छैन,किनभने हाम्रो समाजले अझ पनि नारीको स्थान घरभित्र नै सीमित राखेको छ।
लोग्ने ,स्वास्नी दुवै उत्तिकै शिक्षित,पैसा कमाउने भएता पनि लोग्नेले स्वास्नीलाई यहाँ दबाउनै खोज्दछ र प्रायः स्वास्नी मान्छे दबिएकै पनि छन्,तर यस्तो कुरा यहाँ आएर मैले देखिनँ ।यहाँको समाजमा लोग्ने र स्वास्नीको स्थान उत्तिकै छ। यहाँका लोग्नेहरू स्वास्नीलाई समान दृष्टि र समान व्यवहार गर्दछन् ।
एकपटक हामी बेलायतको एउटा सम्पन्न परिवारद्वारा बेलुकीको खानाका लागि निम्त्याइएका थियौं । बेलुकी छ बजे हामी गयौं ।उनीहरूको घर शहरबाट केहि पर रहेछ । ढोकाको घण्टी बज्नेबित्तिकै लोग्नेले ढोका खोल्यो ।शिष्टतासाथ उसले हामीलाई अनि मेरो कोट खोल्नमा उसले मद्दत गर्यो । मलाई त अचम्म लाग्यो किनकि ऊ त धेरै ठूलो मान प्राप्त गरेको ब्यक्ति थियो ।उसले मेरो कोट फुकाल्न मद्दत गर्यो । मलाई त कस्तो लाज पनि लाग्यो तर पछि थाहा पाएँ, त्यसमा लाज मान्न पर्ने कारण नै रहेनछ । किनकि त्यो त त्यहाँको चलन नै रहेछ । जे कुरामा पनि स्वास्नी मान्छेलाई पहिला मौका दिदा रहेछन् । लोग्ने र स्वास्नी मोटरमा चढ्न लाग्दा पनि लोग्नेले स्वास्नीलाई ढोका खोलेर पहिला बस्न दिने अनि आफू पस्ने । त्यस दिन बेलुकीको खानपिन पनि राम्रो थियो । साँच्चि भन्ने हो भने काइदा कद्दर यति थियो कि त्यो काइदामा चल्न त मलाई मुस्किलै परयो किनकि खानाभन्दा अगाडि खाने चिज खाँदा नै मैले गल्ती चक्कु प्रयोग गरे । खाना खाइसकेपछि लोग्नेले स्वास्निलाई भन्यो– “प्यारी, तिमी पाहुनालाई लिएर बस्ने कोठामा जाऊ । म पनि भाडा माझेर आउँछु ।
“हुन्छ तर धेरै बेर नलगाऊ, पाहुनालाई झर्को लाग्न सक्छ” भनेर स्वास्नीले भनी । लोग्नेलाई खाने कोठामा छाडेर हामी बस्ने कोठामा आयौं । उनीहरूको दुईवटा केटाकेटी रहेछन्, छोरी छ वर्ष कि र छोरा त सानै, सोफामा निदाइसकेको थियोे । किनकि त्यसबेला बच्चाहरूको सुत्ने बेला भइसकेको थियो । स्वास्नीले लोग्नेलाई बोलाउदै भनी – प्रिय,कृपया तिमी केटाकेटीलाई सुताएर आउछौ ? लोग्नेले “हुन्छ” भन्यो।
म त सुनिरहेकी थिएँ, अचम्म लाग्यो, लोग्नेस्वास्नी कति समान छन् । लोग्नेलाई ‘म लोग्ने हुँ त्यसले भनेको मान्न हुन्न’ भन्ने हाम्रो समाजमा जस्तो घमण्ड छैन। यी दुईको बिचमा यदि त्यो घमण्ड देखा पर्यो भने उनीहरूको सम्बन्ध पनि त टुङ्गिन्छ । उनीहरूको जीवनमा जीवनभर तराजुको दुवै भाग समान रहन पनि हाम्रो जस्तो एउटा अतिमाथि अनि अर्को अति तल हैन । लोग्नेस्वास्नीका बिचको यस्तो व्यवहार मैले योभन्दा पहिला कहिल्यै देखेकी थिइनँ ।उनीहरूको बिचमा लोग्नेले धनकमाएर ल्याउने र धन कमाएर ल्याउनेबित्तिकै लोग्ने कुर्लेर बस्ने र स्वास्नी लुरुलुरु घरको काम गर्ने हैन । स्वास्नीलोग्नेको कमाइमा नै चैन गर्छे अनि आर्थिक अवस्था कम छ भने र बच्चाहरूको झमेला छैन भने ऊ पनि काम गरेर पैसा कमाउछे अनि दुवै मिलेर रमाइलो जीवन बिताउँछन् । यहा नारीहरू स्वतन्त्र छन् ।उनीहरूमादबाब छैन । यसैले गर्दा उनीहरूले जान्ने मौका पनि पाएका छन् ।काम गरेर खान यहाँका नारीहरूलाई लाजलाग्दो रहेनछ । प्रायःजसो पसलको काम नारीहरूले गर्दा रहेछन् । अलि पढेलेखेका चाहिँ अफिसको काम गर्दा रहेछन् ।बेलायतमा कानुनले नै लोग्ने मान्छे र स्वास्नी मान्छे मानिसलाई समान अधिकार दिएको छ । दुवैले उस्तै काम गर्न पाउँछन् । जस्तै भनौं पहिले नारीलाई अधिकार दिनुभन्दा अगाडि एउटै काम पुरुषले र नारीले गरेको छ भने पुरुषले नारीले भन्दा बढ्ता तलब पाउँद्थ्यो अब त्यो छैन दुवै समान छन् । अब नारी पनि कारखानाहरूमा पुरुषसरह काम गर्छन् ।
हामी त्यो साझ खान गएको लोग्ने , स्वास्नी दुवै उच्च ओहदामा जागीरे थिए। उनीहरू एक अर्कामाथिको व्यवहार समान थियो । त्यसैले गर्दा उनीहरूको पारिवारिक जीवनपनि सुचारु रूपले चलिरहेको थियो । यहाँका स्वास्नीमान्छेहरू हामीजस्तो कठिनाइ सहेर बस्दा रहेनछन् । हाम्रो समाजमा कति कठिन छ, सब कुरा सहेर बस्दछन ।“ल तेरो घर तै बस,म हिँडे” भनेर जसरी बेलायती नारीहरू लोग्ने छोड्छन। त्यसको विपरीत नेपाली नारीहरू सहेर बस्छन् । नेपालमा पनि आजभोलि केही मात्रामा नारीहरू स्वतन्त्र भएका देखिन्छन् । तर पनि धेरै त आजको बिसौ शताब्दीमा पनि पतिदेवलाई शिरोपर गरेर बसेका छन् ।
बेलायतमा बालबिवाह हुदै हुदैन । यहाँका केटीहरू १६ वर्ष पुगेपछि विवाहको लागि कानुनी तवरले स्वतन्त्र हुनेछन् । विधवाविवाह यहाँ प्रशस्त छ अनि एउटी नारीले उसलाई लोग्ने मन परेन भने जतिचोटि पनि सम्बन्धविच्छेद गर्दै अर्कोसँग विवाह गर्न पाउँछे । एकचोटि सम्बन्ध विच्छेद गरेको लोग्ने स्वास्नी दुवैको मन्जुर भएमा फेरि विवाह गर्न सक्छन् ।
डेबिट र मेरी भन्ने एक जोडी हाम्रा साथी थिए। उनीहरू कहाँ गएर हामी बस्ने खाने गर्द्थ्यौ त्यस्तै उनीहरू हामीकहाँ । उनीहरू असाध्यै असल थिए। हामी उनीहरू बसेको सहर छोडेर अन्तै बस्न गए तापनि हामी उनीहरूसँग भेटघाट गरिरहन्थौ । डेबिट धार्मिक चरित्र भएको व्यक्ति थियो । डेबिडसँग विवाह गर्नुभन्दा अगाडि मेरी विधवा थिई । मेरी एउटी बिधवा स्वास्नी मान्छे हो भन्ने कुरा उनीहरूको इलाकामा सबैलाई थाहा थिया । तर पनि डेबिट र मेरी सानदार तरीकाले रजिस्टर अफिसमा गएर विवाह गरे अनि होटलमा साथीभाइलाई भोज दिए । हामी पनि गयौं, बडो रमाइलो भयो । मेरी र डेबिड बित्दै गएका दाम्प्त्य जीवन देख्दा मलाई असाध्यै खुशी लाग्यो । किनकि उसको अघिल्लो लोग्ने मोटर दुर्घटनामा मरेको रहेछ । यदि मेरीले डेबिड जस्तो सहृदयी व्यक्ति नभेट्टाएको भए उसका यौवनका दिनहरू त्यस्तै दुःखमय भएर बित्ने थिए । उनीहरूले हामीलाई मेरीको पहिलेका विवाहका तस्वीरहरू पनि देखाए। डेबिटले ती तस्वीरहरूमा भएका व्यक्तिहरू चिनाउदै देखायो। मेरीको बितिसकेको लोग्नेको तस्वीरलाई ऊ “मेरीको पहिलो लोग्ने’ भनेर चिनाउँदथ्यो । के हाम्रो नेपाली समाजमा पनि यस्तो सक्ला ? मलाई त शङ्कै लाग्छ । यहाँका व्यक्तिहरू अगाडि बढ्न खोजे पनि समाजदेखि डराएर उठ्न सक्दैनन् । यो कुरा एक त हाम्रो हिन्दू धर्मले दिदैन, अर्को संस्कारले पनि यो पर्दा हटाउनमा बाधा पुर्याउछ।