
काठमाडौं, मंसिर १४ (नागरिक) - बलिउडमा स्थापित पाकिस्तानी गायक तथा अभिनेता आतिफ असलमले राजधानीको दशरथ रंगशालामा एकल कन्सर्ट गर्ने भएका छन्। शुक्रबार कन्सर्ट गर्न उनी काठमाडौं आउने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइयो।
आतिफले शुक्रबार दुई घन्टा कन्सर्ट गर्ने र शनिबार नै फर्किने आयोजक ओडिसी इन्टरटेनमेन्टका सीमान्त गुरुङले बताए। 'उनी दुबईको कन्सर्ट सिध्याएर काठमाडौं आउने भएका हुन्। व्यस्तताका कारण यसपटक उनले घुमघाम गर्न पाउने छैनन्,' उनले भने। उपेन्द्र एन्ड फ्रेन्ड्स नामक नेपाली समूहले समेत कन्सर्टमा आफ्नो प्रस्तुति दिनेछन्।
२९ वर्षीय आतिफसहित कन्सर्टका लागि १० जनाको समूह आउँदैछन् र कन्सर्टको लागि १६ सय प्रहरी र ५ सय निजी सुरक्षाकर्मी खटिने आयोजकले जानकारी गरायो। यसपटक स्टेजको निर्माण नेपाली प्राविधिकले गर्नेछन्।
कन्सर्टमा एक हजार र १५ सय रुपैयाँका टिकट बेचिनेछ। दर्शकलाई कार्यक्रम स्थलमा दिउँसो ४ बजे प्रवेश दिइने आयोजकले जनाएको छ। आतिफले साँझ ६ बजेपछि कन्सर्ट सुरु गर्नेछन्।
उनको 'दुरी', 'ओ लम्हे', 'पहेली नजर मे', 'ओ मेरे खुदा', 'तेरे लिए' र 'आदत' लगायतका गीतहरु चर्चामा छन्। 'जलपरी', 'दुरी' र 'मेरी कहानी' लगायत एल्बम रिलिज गरिसकेका उनले 'कलियुग', 'जहेर', 'रेस', 'किस्मत कनेक्सन' र 'प्रिन्स' लगायत फिल्मका गीतहरुमा स्वर दिएका छन्।
ओडिसी ग्रुपले यसअघि २०६७ सालमा क्यानडेली गायक ब्रायन एडम्स र २०६८ सालमा डेनिस ब्यान्ड एमएलटिआरलाई काठमाडौंमा ल्याएका थिए। ब्रायनको कार्यक्रममा ३० हजार र एमएलटिआरको कन्सर्टमा १५ हजार दर्शक आएको आयोजकको दाबी छ ।