अरुणबहादुर खत्री ‘नदी’
कुनै एक गाउँमा आमा र छोरा बस्थे । छोराको नाम हेमन्त थियो । हेमन्तको बाबु नरबहादुरको हेमन्त सानै छदा क्यान्सर रोगबाट मृत्यु भएको थियो । हेमन्तकोे बाबुको मृत्यु भएपछि हेमन्तकोे आमा हरिमायाले छोरालाई हुर्काएर कसरी ठूलो मान्छे बनाउने होला भनेर सोचिन् । हेमन्तको बाबु नरबहादुरको नाममा रहेको एक रोपनी जग्गामा तरकारी रोपेर जीविका चलाउनु पर्ला भनिन् ।हरिमायाले आफ्नो बारीमा फलेको साग, मुला र फर्सीको मुन्टा डोकोमा बोकेर बजारमा बेच्न लैजाने गर्थिन् । हेमन्त पढाइमा एकदमै मेहनती थियो । हेमन्तको शील स्वभाव पनि असाध्यै राम्रो थियो । हेमन्त अल्छी कहिल्यै गर्दैनथ्यो । आफूले गर्नुपर्ने काम गरेरै सक्थ्यो । हेमन्तले आफ्नो घरमा एउटा सुगा फलामको खोर बनाएर पालेको थियो । सुगालाई बिहानबेलुका दूधभात लगेर आफैले खान दिन्थ्यो । सुगाले उसलाई बाबु भनेर बोलाउने गर्दथ्यो । सुगासँग उसको आमा र ऊ बिहान उठ्नेबित्तिकै बोल्ने गर्दथ्यो । हेमन्तको आमालाई देख्नेबित्तिकै सुगाले आमा भनेर बोलाउँदथ्यो । सुगा पालेको डेढ वर्षमा खोरको ढोका आफैले खोलेर उडेर कता पुग्यो कता । सुगा उडेर बेपत्ता भएपछि हेमन्त निकै रोयो मेरो सुगा कहाँ गयो होला भनेर । एक हप्तासम्म पनि सुगा फर्केर नआएपछि सुगाको खोर त रित्तो राख्नु भएन भनेर अर्को सुगा ल्याएर पाल्न थाल्यो ।
हेमन्तको आमाले निकै परिश्रम गरेर आफ्नै बारीमा तरकारी लगाएर फलाउने गर्थिन् । हेमन्त घर नजिकैको सरकारी विद्यालयमा पढ्न जान्थ्योे । सरकारी विद्यालयमा उसले मेहनत गरेर पढ्दथ्यो । आफूले नजानेको कुरा गुरुहरूलाई सोध्ने गर्दथ्यो । विद्यालयमा दिएको गृहकार्य घरमा गएर गर्दथ्यो । उसको पढाइ राम्रै थियो । उसको आमाले तरकारी रोप्नु हुँदा आमालाई सघाउन पनि जाने गर्दथ्यो । तरकारी रोपेर हरिमायाले छोरालाई पढाएर हुर्काउन सकिन् । छोराले राम्ररी पढ्दै गएर बाह्र कक्षा उत्तीर्ण गरेपछि सरकारी जागीर खाने इच्छा भएकोले लोकसेवा आयोगको तयारी गर्न थाल्यो ।लोकसेवा आयोगको तयारी गरेर नासु पदको विज्ञापन निस्केको थाहा पाउनेबित्तिकै दरखास्त दियो र लिखित परीक्षामा नाम निकाल्न सफल भयो । लिखित परीक्षामा नाम निस्केपछि अन्तर्वार्ताका लागि तयारी गरयो । अन्तर्वार्तामा पनि नाम निकालेर सरकारी जागीर खादैं डिप्लोमा पढ्दै गयो । डिप्लोमा पनि राम्ररी पढ्न सकेर उत्तीर्ण गरेर शाखा अधिकृत पदको तयारी गरयो । मेहनतसाथ पढेर शाखा अधिकृत पदको विज्ञापन निस्केपछि दरखास्त फाराम दियो र परीक्षामा नाम निकाल्न सफल भयो । उसको परिश्रम देखेर डोकामा साग बेच्दै हिँड्ने आमाको मन साह्रै प्रसन्न भयो । मेरो छोरालाई मैले दुःख गरेर पढाएर मेरो छोरोले सरकारी जागीर खान पायो । यसमा म साह्रै खुसी छु भनेर आमाले आफ्ना छिमेकीहरुलाई सुनाइन् । छिमेकीहरूले तपाईको छोरालाई हामी बधाई दिन्छौ भविष्यमा अझैं राम्रो प्रगति हुन सकोस् भन्ने कामना गर्दछौं भने ।