सन्तोष रिमाल, काठमाडौं- आइतबार बिहान रेजिना उप्रेतीको अनुहारमा गजबको भाव थियो, उत्साह र थकाई आधा-आधा। थापाथली प्रसुति गृहपछाडिपट्टिको बागमती किनारमा ´सभ्यता´ को गन्ध जति चर्को थियो, त्योभन्दा प्रगाढ उत्साह रेजिनाको मुहारमा थियो। ´हिजो मिनभवनसम्म पुगेकी थिएँ, आज त शंखमूल पुगेर आएँ´ घोडाबाट ओर्लिँदै रेजिनाले भनिन्। पाँच दिन भयो, बाग्मति किनारमा रेजिनाले घोडा चढेको। वरिपरि काठको बार हालिएको बलौटे बगरभित्र रेजिना छिन्, बाहिरपट्टि शोभित बस्नेत।आज यिनी यहाँ रेजिनाको प्रगति हेर्न आएका हुन्। ´आज मैले क्यान्टर गरेको,´ घोडाबाट झर्दा रेजिना उप्रेती प्रफुल्ल देखिइन्। पाँच दिनमै घोडा दौडाउन सक्ने भएकोमा उनी मख्ख छिन्। ´अब यसमा प्राक्टिस गर्ने- टेक इट इजी´ रेजिनाका प्रशिक्षक नीरज केसीले भने। घोडा अघिल्लोभन्दा अलि ठूलो थियो। पछि थाहा भयो, यो घोडाको नाम नै ´टेक इट इजी´ रहेछ। ´धेरैलाई घोडा दौडाउन एक महिना लाग्छ, रेजिनाले पाँच दिनमै सिकिन्´ वाइन्ड हर्स राइडिङ स्टेबलका सञ्चालक नीरजले भने।
´घोडा चढ्ने लड्छ´ यो उखान रेजिनाले घोडा नदेख्दै सुनेकी थिइन्। तर, उनलाई अहिले त्यस्तो लाग्दैन। किनभने, पाँच दिन भइसक्यो, उनी एकपटक पनि लडेकी छैनन्। सुरुमा घोडाको छेउ पर्न नै उनलाई डर लाग्थ्यो। तर, अहिले त्यस्तो लाग्दैन- ´घोडा र स्कुटर उस्तै रहेछ, चलाउन जाने लडिँदैन।´क्यान्टर´ भन्यो भने घोडा छिटो दौडिन्छ´ उनले सिकेको कुरा सुनाइन्। बिहान आठ बजे घोडा चढेर शहर घुमेकी रेजिनाको तालीम नौ बजेपछि पनि जारी रह्यो। ´आजलाई यत्ति, अर्को क्लाइन्ट लाइनमा छन्,´ एकैछिनमा प्रशिक्षक केसीले भने। ´घोडा चाँडो चढ्न घोडचढीको स्वभाव र जनावर बुझ्ने हुनुपर्छ´ उनले हिरोइनको प्रशंसामा थपे।
खुब थाकियो। २५ गतेसम्म पर्फेक्ट हर्स राइडर बन्नुछ,´ रेजिनाले भनिन्। प्रायः अरबी घोडाजस्ता ज्यान भएका हिरोहरूले पर्दामा घोडा दौडाएको देखिन्छ। र, हिरोइनको भागमा हिरोले उद्दार गरिसकेपछि घोडाको अघिल्तिर बस्नुमै सीमित हुन्छ। भुँईबाट उठाएर हिरोइनलाई घोडा चढाउने काम पनि हिरोले नै गरिदिन्छन्। ´शक्ति फिल्ममा यस्तै सिन थियो´ रेजिनाले सम्झिइन्। रमित ढुंगानाले रेजिनाको उद्दार गरेर घोडामा राखेर लैजाने। ´म त घोडा देख्नेबित्तिकै डराएँ´ यो विगतको कुरा थियो।
यसपटक यिनको भागमा घोडा दौडाउने भूमिका परेको छ। शोभितको फिल्म ´चिनो´ मा चार जना घोडचढी छन्, विराज भट्ट, रमित ढुंगाना, जयकिशन बस्नेत र रेजिना उप्रेती। यसैले यसैले रेजिनाको प्रगति हेर्न निर्देशक शोभित स्पटमा हाजिर भएका हुन्। ´शक्तिमा रेजिना घोडासँग डराएका कारण निकै समस्या भएको थियो। त्यसैले अहिले पहिले नै घोडचढी सिक्न लगाएको´ शोभितले भने।
´चिनोमा मेरो भूमिका निकै तगडा छ क्या ! त्यही भएर यत्रो मिहिनेत गरेको´ रेजिनाले थपिन्। ´हाम्रा धेरै कलाकार घोडा चढ्न सक्दैनन्, ड्रममाथि राखेर हल्लाई घोडा चढेको जस्तो देखाउन खोजिन्छ´ रेजिनाले हल्का अरुका कुरा गरिन्। र, तुरुन्तै आफ्नै कुरा गरिन्- ´यसपाली घोडाको मात्र होइन, फिल्मकै लगाम पनि मेरो हातमा छ।´