
मुम्बई, जेठ १५ (एजेन्सी)- बलिउड अभिनेता शाहरुख खानले केही दिनअघि आफूले मुम्बईको वानखेडे स्टेडियममा त्यहाँका सुरक्षा गार्ड र मुम्बई क्रिकेट सङ्घका पदाधिकारीप्रति गरेको खराब व्यवहारका लागि क्षमा मागेका छन्।
आइपिएल ५ को आइतबार राति भएको फाइनल खेलमा आफ्नो टिम कोलकता नाइटराइडर्सले चेन्नई सुपर किङ्ग्सलाई हराएर उपाधि जितेको खुसियाली मनाउने क्रममा शाहरुखले भने- म आफ्नो त्यो खराब व्यवहारका लागि सबैसँग क्षमा माग्न चाहन्छु।
पत्नी गौरी खान, छोरी र अन्य केटाकेटीसाथ स्टेडियममा उपस्थित भएका खानले जितपछि मैदानमै गएर खेलाडीलाई बधाई दिएका थिए। चार वर्षसम्मको असफलतापछि कोलकता नाइटराइडर्सले पहिलो पटक आइपिएल उपाधि जितेको हो। यसका साथै उपाधिको ह्याट्रिक गर्ने चेन्नईको सपना भने पूरा हुन सकेन।
केही दिनअघि मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा मुम्बईमाथि जित हासिल गरेपछि खुसियाली मनाउन स्टेडियमभित्र प्रवेश गर्न खोजेका शाहरुखलाई त्यहाँका सुरक्षाकर्मीले रोकेपछि विवाद उत्पन्न भएको थियो। त्यही क्रममा शाहरुखले सुरक्षाकर्मी र मुम्बई क्रिकेट सङ्घका पदाधिकारीसँग दुर्व्यवहार गरेका थिए।
त्यसपछि मुम्बई क्रिकेट सङ्घले उनीमाथि पाँच वर्षका लागि वानखेडे स्टेडियममा प्रवेश गर्नबाट प्रतिबन्ध लगाएको थियो। सङ्घले उनलाई क्षमा मागे उक्त प्रतिबन्ध हटाउने बताए पनि शाहरुखले क्षमा माग्न अस्वीकार गर्दै आएका थिए।
