काठमाडौं वैशाख ५ (नागरिक)- दुई चल्तीका हिरोइन रेखा थापा र झरना थापाको प्रतिस्पर्धी यो महिना पर्दाबाट बाहिर आयो। अभिनेत्रीबाट निर्माता बनेका यी दुईको कसको फिल्म पहिले चल्ने भन्ने प्रतिस्पर्धा बल्ल सकिएको छ। रेखाले निर्माण गरेको ´हिम्मत´ र झरनाको फिल्म ´तकदिर´ राजधानीमा प्रदर्शनको तयारीमा छन्। दुई वर्ष अघि नै बनेका फिल्म राजधानीमा चलाउने हिरोइनको प्रतिस्पर्धा एक महिना अघि सुरु भयो। यो शुक्रबारबाट ´हिम्मत´ लाग्ने भएपछि अब हिरोइनको ´हल युद्ध´ समाप्त भएको छ।
रेखा र झरना दुवैका फिल्मका निर्देशक दीपक श्रेष्ठ हुन् र हिरो विराज भट्ट। दुवै हिरोइनका पति फिल्म व्यवसायमा अनुभवी मानिन्छन्।
शुक्रबार काठमाडौंको गंगा हल समूहबाट ´हिम्मत´ चल्ने छ। विश्वज्योतीमा अहिले चलिरहेको फिल्म ´हाम्रो मिलन कहिले हुन्छ´ पछि अर्को हप्ताबाट यहाँ पनि ´हिम्मत´ आउनेछ। झरनाको फिल्म ´तकदिर´ ले भने ´हिम्मत´ पछि पालो पाउनेछ। ´हिम्मत´ पछि रेखाले बनाएको फिल्म ´किस्मत´ भने गएको वैशाखमै राजधानीमा चलिसकेको छ।