काठमाडौं, चैत २७ (नागरिक) - काठमाडौंमा थि्रडी प्रविधिमा चलिरहेको 'टाइटानिक' फिल्ममा अभिनेत्री केट विन्सलेटको नग्नदृश्य समावेश छैन। तर, उक्त दृश्य नेपालको सेन्सर बोर्डले हटाउन लगाएको भने होइन। 'हामीले त्यो दृश्य हटाएकै प्रिन्ट पाएका हौं। त्यसैले सेन्सरको सामना गर्नै परेन,' नेपालमा फिल्मको प्रदर्शन र वितरण गर्ने कम्पनी क्युएफएक्सका प्रबन्धक वसन्त मानन्धरले बताए। नेपालमा यो फिल्मलाई सेन्सर बोर्डले 'युनिभर्सल' सर्टिफिकेट दिएको छ। उता भारतीय दर्शकले भने उक्त दृश्यलाई थि्रडीमा हेर्न पाएका छन्। १५ वर्षअघि 'टाइटानिक' रिलिज गर्दा त्यहाँको सेन्सर बोर्डले कैची चलाएको दृश्य पुनः रिलिजका क्रममा भने हटाइएको छैन। जेम्स क्यामेरन निर्देशित फिल्म 'टाइटानिक' कुनै दृश्य नकाटी चलिरहेको फिल्मको भारत वितरक फक्स स्टार स्टुडियोले जनाएको छ। भारतको 'सेन्सर बोर्ड'ले समाजको 'पाचनशक्ति' बढेको तथ्य स्विकारेको मान्न सकिन्छ यसलाई।
फिल्मका पात्र ज्याक (लियोनार्दो डि क्याप्रियो)ले रोस (केट विन्सलेट)को चित्र बनाउने सिलसिलामा नग्न दृश्य आउने हो। काठमाडौंका हलमा चलेको प्रिन्टबाट केटको नग्न दृश्य भएको सट नै गायब छ।
यो फिल्म भारतमा अंग्रेजीका साथै हिन्दी, तामिल र तेलुगु सहित २५० प्रिन्ट थि्रडी र ५० प्रिन्ट टुडीमा चलाइएको छ।