
मुम्बई, चैत १५ (एजेन्सी)- बलिउड अभिनेता अक्षय कुमार आफ्नो तन्दुरुस्तीको जस चाँडै सुत्ने र चाँडै उठ्ने दैनिकीलाई दिन्छन्। स्वास्थ्यको मामिलामा हजुरआमाको सल्लाह पनि मान्दै आएको उनको कथन छ।
'हजुरआमाले हरेक दिन दुई चम्चा घ्यु खानुहुन्थ्यो, मैले पनि त्यसै गर्छु, यसले शरीर, हड्डी र जोर्नीलाई फाइदा हुन्छ, घ्युले मोटाउँछ भन्ने भनाइ गलत हो, तर नियमित व्यायाम चाहिन्छ,' अक्षयले भने।
जिम गएर व्यायाम गर्दा शरीर दुख्नेहरुका लागि अक्षयको सल्लाह छ, 'व्यायाम गर्नुअघि शरीर तताउन वार्म गर्नुपर्छ र व्यायामपछि शरीरलाई सेलाउन दिनु पर्छ। पाउडर र कृत्रिम प्रोटिन खाएर छोटो समयमा ज्यान बनाउन खोज्नु पनि गलत हो।'
४७ वर्षीय अक्षय पार्टीमा समय खेर फाल्दैनन्, 'पार्टी गएँ भने मुख देखाएर फर्किहाल्छु।' उनको दैनिकी बिहान साढे ४ बजे सुरु हुन्छ र बेलुकीको खाना उनी साँझ साढे ६ मै खाइसक्छन्। उनी राति ९ बजे गहिरो निद्रामा डुब्छन्। 'पत्नी टि्वंकल र म दुवै चाँडै सुत्ने गर्छौं, धेरै हिरोइनसँग उनीहरुको इच्छा विपरीत बिहान ५ बजे नै फोटो सुट गरेको छु,' अक्षयले भने, 'आयुर्वेद र एलोपेथी दुवैले बेलुकीको खाना ७ बजेसम्म खानुपर्ने सुझाव दिन्छ।'