पुयर्टो रिको असार २३ एपी- क्यान्स र ओस्कर विजेता अभिनेता बेनिसियो डेल टोरोले पुयर्टो रिकोस्थित एक बन्दीगृहका कैदी भेटेका छन् । पुयर्टो रिकोमा जन्मिएका डेल टोरोले सोमबार भेटेका कैदी सामान्य होइनन्, कलाकार हुन् ।बायामोन क्षेत्रीय जेलका यी कैदीले जेलमै नाटक समूह बनाएका छन् । सोमबार डेल टोरो पुग्दा यी कैदीले उनको सम्मानमा एउटा सानो प्रस्तुति पनि दिएका छन् । समूहका तीस सदस्यसँग टोरोले आफ्नो अभिनयको अनुभव सुनाएका थिए । ‘सबैले दोस्रो मौका पाउनुपर्छ’ जेलबाट फर्केपछि टोरोले भने । ‘टोरोजस्तो प्रसिद्ध कलाकारलाई भेट्न पाउनु गौरवको कुरा हो’ नाटक समूहका कार्लोस बेइज फिगुयराले भने ।
ल्याटिन अमेरिकी क्रान्तिकारी नेता चे ग्वेभाराको जीवनीमा आधारित फिल्म ‘चे’का लागि टोरोले क्यान्स फिल्म महोत्सवममा उत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए । यस्तै हलिउडको फिल्म ‘ट्राफिक’ बाट उनले सहअभिनेताको ओस्कर पनि जितेका थिए ।