मुम्बई, फागुन १६ (एजेन्सी)- डर्टी पिक्चर्स चलचित्र सुपर हिट भएपछि त्यसकी नायिका विद्या बालनका प्रशंसकको सङ्ख्या पनि ह्वात्तै बढेको थियो। त्यसबाट उनी निकै खुसी पनि देखिएकी थिइन्। तर उनको यही लोकप्रियता नै अहिले निल्नु न ओकल्नु हुन पुगेको छ। अहिले विद्या बालन निकै डराएकी छिन्। यो डरका कारण एक व्यक्तिले उनलाई पछ्याउनु रहेको छ। उनले अचेल आफूलाई कसैले पछ्याइरहेको अनुभव गर्न थालेकी छिन्। उनी कुनै चलचित्रको सेटमा हुँदा त्यो व्यक्ति उनीसँग भेट्ने गर्छ। त्यही मान्छे उनको अपार्टमेन्टमा पनि देखिने गर्छ। विद्याको नजिकका मान्छेको विश्वास गर्ने हो भने एक दिन सुटिङका बेला उक्त व्यक्तिले विद्यासँग भेटेर भलाकुसारीसमेत गरेको थियो।
त्यस घटनापछि विद्याको अपार्टमेन्टको सुरक्षा पनि बढाइएको छ। त्यसबाहेक उनलाई सतर्क पनि गराइएको छ। त्यही सतर्कताका कारण हालै एक शङ्कास्पद व्यक्ति पक्राउ परेको छ।