‘भोका सपनाहरू’ को प्रवृत्तिगत वैशिष्टय
०२ फागुन २०८१
•
१५ मिनेट पाठ
‘भोका सपनाहरू’ को प्रवृत्तिगत वैशिष्टय
होमशंकर बास्तोला साहित्यिक वृत्तमा सिर्जना, सम्पादन र सङ्गठनका माध्यमबाट क्रियाशील र स्थापित छन्। उनको खास साधना क्षेत्र सिर्जना नै हो। सिर्जनात्मक लेखनका हिसाबले उनी कथाकार व्यक्तित्वले सुपरिचित छन्। ‘आँसुका झरनाहरू’ कथासङ्ग्रह (२०५८) बाट उनले साहित्यिक यात्रामा सार्वजनिक उपस्थिति देखाएका छन्।




स्नातक तहमा अध्ययनरत छँदा शैक्षिक उपाधिको प्रयोजनार्थ सिर्जनापत्र तयार गर्ने क्रममा उनले केही कथा लेखे। यो आफ्नो जीवनसँग प्रत्यक्ष–अप्रत्यक्ष गाँसिएका घटना, प्रसङ्गको आख्यानात्मक पुन: सिर्जनाको स्तुत्य प्रयत्न थियो। त्यसयता देशको द्वन्द्वग्रस्त सामाजिक, राजनीतिक मनोदशाको सुन्दर चित्रण गरी लेखिएका १२ कथाको सँगालो ‘बन्दुकको छाया’ कथासङ्ग्रह (२०६७) ले उनलाई नेपाली आख्यान परम्परामा सार्वजनिक परिचय प्रदान गर्‍यो। कथाको समानान्तर उनका दर्जनौं फुटकर लघुकथाहरू पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्।

उनका कथामा समाजको द्वन्द्वशील चरित्र र मनोदशाको सुन्दर प्रस्तुति पाइन्छ। पात्रले भोग्नुपरेका अनेक विषम परिस्थितिका माध्यमबाट उनी युगीन यथार्थको उद्घाटन गर्छन्। हाम्रो समाजले ठुलो राजनीतिक परिवर्तनको परिघटनाहरू देख्यो, भोग्यो तर राज्यको चरित्रमा कुनै भिन्नता देखिएन। उनको गुनासो, असन्तुष्टि यसैमा हो। दश वर्षको द्वन्द्वग्रस्त राजनीतिक परिघटनाले राष्ट्रिय जीवनमा पारेको प्रभाव र असरप्रति उनी आलोचनात्मक देखिन्छन्।

आधुनिक सूचना प्रविधिले जीवनमा चहक त थपियो तर यसको आडमा मौलाएको उपभोक्तावादी संस्कृतिको विकृत पाटाको यथार्थ उद्घाटन पनि उनको कथाको सरोकार विषय हो। पितृसत्तात्मक सोचले नेपाली महिलाहरू पारम्परिक परिस्थितिबाट माथि उठ्न नसकेको तितो यथार्थ पनि उनको कथाको कथ्य विषय बनेको पाइन्छ।

पेशागत हिसाबले उनी निजामती कर्मचारी हुन्। आफ्नो पेशागत जीवनको उतारचढावबाट आर्जन गरिएको व्यक्तिगत अनूभूति र अनुभव पनि उनले आफ्नो कथामा साधरणीकरण गरेर प्रस्तुत गरेका छन्। आफ्नो विचार सम्प्रेषणका लागि उनी कथामा मात्रै खुम्चिएका छैनन्। शब्दको गेयताको परीक्षण क्रममा उनले गजल पनि लेखेका छन्/लेख्दै छन्। ‘घाम हराएको दिन’ गजलसङ्ग्रह (२०६१) मा उनको कथाकार व्यक्तित्वले आकार पाउँदै गर्दाको समयमा लेखिएका ६६ गजल समेटिएका छन्। उनी गजलमा आम गजलकारभन्दा भिन्न देखिन्छन्। अर्थात् यस कृतिमा सङ्गृहीत गजलका गेयता रतिरागात्मक, वैयक्तिक प्रेमानुभूतिका लागि नभएर राष्ट्रिय जीवन, राष्ट्रियता, सामाजिक–पारिवारिक सम्बन्धका अनेकौँ आयाम खोतल्नमा केन्द्रित छन्।

पछिल्लो समय उनी साहित्यिक पत्रकारिताका माध्यमबाट आम सर्जक र पाठकसँग प्रत्यक्ष जोडिन पुगेका छन्। डेढ दशक लामो साहित्यिक पत्रकारिताका क्रममा ‘अन्तर्बोध’ साहित्यिक त्रैमासिक पत्रिकासँग सम्बद्ध रहेर तथा साङ्गठानिक नेतृत्व तहबाट पनि क्रियाशीलता देखाइरहेका छन्। यसका साथै प्रागतिशील लेखक संघ नेपाल, जनसाहित्यिक मञ्च नेपाल लगायतका संस्थाको केन्द्रीय नेतृत्व तहमा रहेर प्रगतिशील वैचारिकी सहितको सिर्जनात्मक अभियानमा पनि बल पुर्‍याइरहेका छन्।

यसबाहेक उनले ‘हिमाल पहाडका कथा’ (२०७१) कथाकृतिको सम्पादन–प्रकाशनसहित आफ्नो सम्पादन कलाको नमुना प्रस्तुत गरेका छन्। यस कृतिमा समेटिएको सम्पादकीय लेखले उनको समालोचनात्मक सामर्थ्यको पनि राम्रो परिचय प्रस्तुत गरेको छ। पछिल्लो कथासङ्ग्रह प्रकाशनको तयारीमा रहेका उनको चाैथो सिर्जनात्मक कृतिका रूपमा ‘भोका सपनाहरू’ (२०७८) बाट उनको कवि व्यक्तित्व पनि उच्च रूपमा झल्किएको छ।

२. ‘भोका सपनाहरू’ कृतिको प्रवृत्तिगत वैशिष्टय

समाज र जीवनको सूक्ष्म अन्तः सम्बन्धको प्रतिबिम्बनका अनेकौँ कलामाध्यमहरू छन्। तीमध्ये कविता भाषिक सामथ्र्य र व्यञ्चना शक्तिको हिसाबले सबैभन्दा भिन्न र विशेष र साहित्यिक विधा हो। कवितामा पनि अन्य साहित्यिक विधामा झैँ व्यक्तिसत्ताको केन्द्रीयतामा समाज र जीवनको अनुभूति, भोगाइ र कल्पनाको प्रस्तुति हुन्छ तर त्यसको भाषिक विधान, व्यञ्जनाकला विशिष्ट हुन्छ।

खासगरी गद्य कवितामा बिम्बात्मक कथनसूत्रद्वारा अनुभूतिको विराट आयाम प्रस्तुत गरिन्छ। कवि समाजको एउटा अङ्ग/सदस्य भएकाले कविको सिर्जना अर्थात् कविता स्वतः समाजको उत्पादन हो। यस दृष्टिले कविता सिर्जनामा समकालीन समाज नै उत्प्रेरक तत्त्व हुन जान्छ।

सिर्जनामा सर्जकको चिन्तन वा चेतनाको प्रस्तुति हुन्छ। समाजप्रति लेखकको दायित्व वा वैचारिक जिम्मेवारी कुन हदसम्म हुन्छ भन्ने कुरा उसको विश्वदृष्टिकोणबाट स्पष्ट हुन्छ। होमशंकरजी समाजको प्रगतिशील रूपान्तरणका लागि प्रतिबद्ध वैचारिक स्रष्टा हुन्। उनका कथा, गजलमा प्रगतिशील विचारधारात्मक मत अभिव्यक्त भएको पाइन्छ। समस्या कथनको अँध्यारो पाटो मात्र होइन समाधानको उज्यालो आशावादिता उनको वैचारिक प्रवृत्ति भएकाले यस सङ्ग्रहका कविताहरू यस दृष्टिबाट पठनयोग्य र समीक्ष्य बन्न पुगेका छन्।

यस कविताकृतिमा ३४ कविता सङ्गृहीत छन्। दुई दशकयताका राष्ट्रिय जीवनका उतारचढाव, यसले नेपाली जनजीवनमा पारेको प्रभाव र असरप्रति कवितामा चिन्ता र चासो व्यक्त भएको छ। राज्य राष्ट्रियताको मामिलामा चुक्दै गएको छ। जनता आफ्नो निर्णय आफैं गर्न सक्ने स्वाधीन मानसिकतामा छैनन्। युवाहरू श्रम बेच्न बिदेशिन बाध्य छन्। मूलतः यही विद्रुपतालाई उनको यस कवितासङ्ग्रहको शीर्षकले नै व्यञ्जित गरेको छ। यसमा यथार्थको अङ्कन र व्यङ्ग्यको पुट पनि छ।

यस सङ्ग्रहका कवितामा मूलतः जनसाधारणको अभाव, गरिबीको चित्र, शासन–यन्त्रको चरित्र र जनजीविकाप्रतिको संवेदनहीनता मात्र होइन, द्वन्द्वग्रस्त राजनीतिक–सामाजिक परिदृश्य, राष्ट्रियता र स्वाधीनताप्रतिको अनुराग, जीवनबोधी प्रगतिशील जीवनदृष्टिको पक्षपोषण गरिएका छन्। कवितामा कविले यिनै विषयवस्तुमा केन्द्रित रहेर वैचारिक साक्ष्य प्रस्तुत गरेका छन्।

२.१ अभाव गरिबीजन्य मानवीय विवशता

जनसाधारणको परिवर्तनकामी चेतनाका कारण मुलुक गणतन्त्रमा प्रवेश गरेको छ। देशमा जनताको प्रतिनिधिमूलक संघीय प्रणालीको अभ्यास चलिरहेको छ तर जनताको जीवनस्तरमा खासै परिवर्तन आउन सकेको छैन। यस सङ्ग्रहमा सङ्गृहीत अभाव, त्रिशुलीमा गिट्टी कुट्नेहरू, कैसाङ र तिनपाने, ओडारे माइलाका भोका सपनाहरू, तमसुक, सपना र तिम्रो तस्बिर, म सपना देखिरहेछु, खोसिएको खुसी र जिन्दगी शीर्षकका कवितामा अभाव, गरिबीले पिल्सिएका पात्रहरूको जीवन भोगाइको कारुणिक चित्र प्रस्तुत गरिएको छ।

अभावकै कारण नेपाली युवाहरू श्रम बेच्न विदेशको गल्लीमा भौतारिनुपरेको, घरपरिवार चलाउन छोरीसहित आमाले गिट्टी कुट्नुपरेको, अभावजन्य दुःख बिर्सन मदिराको मातमा जीवनलाई बर्बाद बनाउनुपरेको, गाउँघरमा सामान्तवाद जीवितै रहेको र यसकै कारण अभावको जीवन जिउन बाध्य भएका पात्र र तिनका भग्न मनोदशाको प्रस्तुति यी कविताहरूमा छन्।

साक्ष्य: १

कहिले ओभाउलान् त?

पसिनाले भिजेका हात

कहिले सुक्लान् त?

जिलजिल उठेका फोकाहरू  

तर हामीसँग त

मुहार फेर्ने एउटा नक्कली सपना छ

विद्रोहले उडाउने एउटा नक्कली पखेटा छ

जुन पखेटाबाट उड्दा उड्दै

आफ्नै चाउरिएको अनुहारमा

सत्ताको इन्जेक्सन लगाएर

हृष्टपुष्ट देखिनु सिवाय

खै के देखिरहेछ र यहाँ?

(त्रिशुलीमा गिट्टी कुट्नेहरू)

गरिबदीनहिनहरूले देख्ने सपना नै नक्कली, उनीहरूको स्वतन्त्रताको चाहना नै नक्कली र उनीहरूका आशा, अपेक्षा अधुरो रहेको कुराको साक्ष्य ‘ओडारे माइलाका भोका सपनाहरू’ कवितामा यसरी प्रस्तुत गरिएको छ:

साक्ष्य: २

ढाकरले रित्तिएको बैँस

घामले पोलेर उग्लिएको रूप

अनुभूतिका मसिना तरङ्ग

गाग्राको पानी छचल्किएर पोखिएझैँ

ओडारे माइलाका आशाहरू

बगिरहेछन् तलतल दुधकोसीको पानीमा

(ओडारे माइलाका भोका सपनाहरू)

गाउँघर शून्य बनाएर विदेशी मरुभूमिमा कामको खोजीमा बिदेशिन बाध्य नेपाली युवाको कथाव्यथालाई ‘तमसुक’ शीर्षकको कवितामा यसरी प्रस्तुत गरिएको छ:

साक्ष्य: ३

तिमीले खनेको कोदालोको डोब

हरियै फुलेको बगैँचा

लहलह उम्रेका फूलका कोपिला

र साहुको तमसुक

तिमीलाई पर्खिरहेछन् 

सायद,

तिमी मरुभूमिको मेसिनमा

मेसिन झैँ चल्दै हौला

ल्याप्चे तमसुकको ऋण तिर्न

(तमसुक)

२.२ शासन यन्त्रको चरित्र र मानवीय संवेदनहीनता

सत्ताको चरित्र दमनकारी हुन्छ। आफू सत्तामा टिकिरहन जनतामाथि शासकीय अहम् लाद्दै ऊ शक्तिको दुरूपयोग गर्न उद्यत हुन्छ। पञ्चायत व्यवस्था यसै कारण ढल्यो। निरङ्कुश राजतन्त्रको जरोकिलो उखेलिनुको कारण यही थियो। जनजीविका, राष्ट्रियताको मुद्दा अहिले पनि पेचिलो बनेको छ। यस सङ्ग्रहका केही कवितामा शासन यन्त्रणाविरुद्ध भएको आन्दोलनको तस्बिर प्रस्तुत गरिएको छ।

साक्ष्य: ४

तिम्रो क्रूरता सहन नसकेर

एकमुठी श्वास र आशा बोकेर

नाङ्गा हातहरू उठाउँदै उठाउँदै

आवाजहरू ओकल्दै सडकमा हल्लिदा

सङ्गिनका धाराहरू रोप्यौं हाम्रो छातीमा  

र बगायौ–

पानी नभएको सहरमा रगत।

(जन्जिर र पर्खालहरू)

देशको पछिल्लो राजनीतिक परिदृश्य पनि सुधारिएको छैन। देश सञ्चालन गर्ने शासकहरू जनजीविकाप्रति जवाफदेही र संवेदनशील नभएको वर्तमान परिस्थितिलाई कवि यसरी चित्रण गर्छन्:

साश्य: ५

हामीले इतिहासका पानामा

इतिहास लेखेर भुल गर्‍यौँ

आज तिमीले हाम्रो इतिहास खोस्यौ

उदाइरहेको बिहानी खोस्यौ

अचेल हामी दिन माग्छौँ

तिमी रात माग्छौ

हामी घाम माग्छाैं

तिमी दाम माग्छौ।

(होसियार)

शासकलाई अझै भोक छ, तिर्खा छ शक्तिको वैभवको। हाम्रो स्वप्नमाथि सत्ताको हालीमुहाली चलेको छ। हामी हाम्रो आशाको, भरोसाको फूलबारी उजाड हुँदै गएको दृश्य हेर्न विवश छौँ। कवि यस सन्दर्भमा भन्छन्:

साक्ष्य: ६

बगैँचामा  रोपेका फूलहरू

भत्कन लागेको पर्खाल वरिपरि

फूलका आकृति र हाँगाका प्रतिबिम्बहरू

भाँचिएर जमिनमा सोत्तर

तुफान/आँधी वा हुरी

कसले भत्कायो बगैँचाका फूल र बोट?

(फूलहरू)

सहर र गाउँबिच अवसरको, अधिकारको विभेद छ। मान्छे आफ्नो स्वार्थमा मानवीय गरिमा बिर्सन्छन् -मानवीय संवेदनहीनताको कुरूप पाटो पनि उनको कविताको सरोकार विषय हो। उनी लेख्छन्: 

साक्ष्य: ७

बदनाम दृश्यका श्रृङ्खला

पानीका सिर्काले छ्यापेर

बितिरहेछ समय त्रासदपूर्ण

जब ब्युँझन्छन् घामका रेखाहरू

इमानको ब्रिफकेस बोकेर

दौडन्छ समय

आफ्नो अनुहारको अस्तित्व देखाउन

निमुखा जनताको अनुहार छेउ

तसर्थ यो सहर

इमानको हो वा बेइमानको?

(यो सहरमा)

निरङ्कुश सत्ता विरुद्धको सङ्घर्ष, मान्छेमान्छेबिचको स्वार्थजन्य सम्बन्धले जन्माएको तिक्तता र मानवीय संवेदनहीनतालाई खोसिएको खुसी, जन्जिर र पर्खालहरू, सालिक, सहिद र स्वतन्त्रता, सडक शीर्षकका कविताले संबोधन गरेको छ।

२.३ द्वन्द्वग्रस्त राजनीतिक परिवेश र जन साधारणको आहत मानसिकता

मुलुक दश वर्ष लामो राजनीतिक द्वन्द्वको भुमरीमा फस्यो। यसले नेपाली समाज र जनमानसमा सकारात्मक परिवर्तन त ल्यायो तर यसको नकारात्मक पाटो पनि उत्तिकै चहर्‍याउने खालको छ। द्वन्द्वको घाउमा अझै खाटा लागेको छैन। छोराछोरी गुमाएका आमाबुबा वा आमाबुबा गुमाएमा छोराछोरी, नागरिक गुमाएको देश अहिले पनि सन्तप्त छ।

यस सङ्ग्रहका कवितामा यी परिघटनाको दृश्य अङ्कन गरिएको छ। यस दृष्टिबाट ‘आमाका पीडा’, ‘नानीहरूप्रति समवेदना’, ‘आमाको दुखेको छाती’, ‘ओ मृत्यु! बाँच्न दे’, ‘मान्छेहरू’, ‘सडकमा पल्टेको मेरा लास’ शीर्षकका कविताहरू उल्लेखनीय छन्। ‘आमाको पीडा’ कवितामा द्वन्द्वले आहत आमाको कारुणिक मानसिकता यसरी प्रस्तुत गरिएको छ:

साक्ष्य: ८

तिम्रो कोख रित्तिएर

मुटु धेरै दुखेको छ

आजभोलि सिउँदोमा रातो धर्का

मेटिएर हाँसोको अनुभूति छैन

भर्मराउँदो जवानी चुँडिएर

बिरक्तिएर रोएको म हेरिरहेको छु  

तर के गर्नु र आमा

मसँग बुद्धको औषधि छैन।

(आमाको पीडा)

यहाँ ‘बुद्धको औषधि’ बिम्बात्मक कथनबाट देशको द्वन्द्वग्रस्त राजनीतिक घटनाक्रमको संकेत गरिएको छ।

‘ओ मृत्यु! बाँच्न दे’ शीर्षकको कवितामा जनसाधारणको बाँच्न पाउनुपर्ने अधिकार खोसिएकोमा मृत्युरूपी क्रूरतामाथि व्यङ्ग्य गरिएको छ:

साक्ष्य: ९

ओ मृत्यु!

आत्मघाती बम बोकाएर

बस दुर्घटना वा प्लेन एक्सिडेन्ट

भोकमरी वा महामारीमा

तिखा नङ्ग्रा फिँजाएर

मारिस् अर्ध जिन्दगीमै

(ओ मृत्यु! भो अब बाँच्न दे)

मृत्यु सर्वत्र व्याप्त छ। महामाारीको रूपमा मानवीय सङ्कट निम्तिएको र त्यसबाट बाँच्ने चाह मान्छेमा बलवती बनेको यथार्थको उद्घाटन गरिएको छ माथिको साक्ष्यमा।

२.४ जीवनबोध र वैचारिक आस्थाप्रतिको प्रतिबद्धता

राजनीतिक, सांस्कृतिक जीवनमा विचलन छ। समाजको बदलिँदो चरित्रको चित्राङ्कन गर्नु मात्र लेखकको दायित्व होइन। विचारले समाजलाई डोर्‍याउन सक्नुपर्छ। होमशंकरजी जीवनको पक्षमा बोल्ने लेखक हुन्। उनी आशावादी यात्रा रुचाउँछन्। उज्यालोको गायन उनको कविताको मूल स्वर हो।

समाज रूपान्तरणका लागि जीवनबोधी वैचारिकीको पक्षमा उनी उभिएका छन्। यस सङ्ग्रहका आऊ हाम्रो यात्रामा, मलम खोजिरहेछु, हिमाल, पहाड भत्कन्न, शोक धुन र भविष्यका सपनाहरू, दुधकोसी हुँदै यात्रामा, एक चिम्टी सिन्दुरजस्ता कवितामा जीवनबोधी स्वर टड्कारो छ।

प्रगतिवादी जीवनदृष्टिले यी कविता उज्यालिएका छन्। ‘विश्वास भत्किएको बेला’ शीर्षकको कवितामा आस्थाको क्षयप्रति चिन्ता व्यक्त गरिएको छ। यही चिन्ताको बिच उनी नयाँ यात्राप्रति प्रतिबद्ध छन्। ‘आऊ हाम्रो यात्रामा’ शीर्षकको कवितामा उनी भन्छन्:

साक्ष्य: १०

तर मित्र-

तिमीहरूले हाम्रो यात्रा बुझेनौ

हामी फूलबारीमा फूल चुँडेर काँडा रोप्दैनौँ

बोटहरू गिँडेर झारहरू रोप्दैनौँ

हामी प्रत्येक माटोका बगैँचाहरूमा

बिउहरू छरेर भोका पेटहरू भर्न चाहन्छौँ

बत्तीहरू बालेर बस्तीहरू उज्यालो पार्न चाहन्छौँ

तसर्थ, मित्रहरू

आऊ हाम्रो यात्रामा सरिक हुन

(आऊ हाम्रो यात्रामा)

साक्ष्य: ११

घाम लागेर पग्लिएका हिमालका ढिस्काहरू

टल्केर कालो माटो र चट्टानहरू देखिए पनि

पानीका थोपाहरू हावामा तप्पतप्प झरेपछि

घाम अस्ताउनु अघि वा झुल्किएपछि

हिमाल टल्किरहन्छ सधैँसधैँ

माटोको पहिचानमा उभिएका चुचुराहरू

आस्थाको पहाड भएर ब्युँझिरहन्छन् 

रुवाका टुक्राझैँ फुर्रफुर्र झरेर

टल्किरहन्छ घामको प्रकाशमा सेतैसेतै

(हिमाल)

यस कवितामा हिमालको दुरूह/कष्टकर स्वरूप होइन यसको दृढता, यसले दिने उत्साहको महिमा वर्णन गरिएको छ। घाम उदाउँदा वा अस्ताउँदा पनि टल्कनुले जीवनको अग्रगामी यात्रालाई सङ्केत गरिएको छ। वैचारिक प्रतिबद्धतामा कवि कति इमानदार छन्,  एउटा साक्ष्य :

साक्ष्य: १२

तिमीहरू कति पड्काउँछौ

पड्काऊ केही छैन

तिम्रो त्यो जाबो आवाजले

अहँ मलाई केही गर्दैन

मेरो सगरमाथा ढल्दैन

म भत्कन्न

अग्ला शिखर भत्कदैन

र पहाड ढल्दैन ।

(पहाड भत्कन्न)

उनी भविष्यप्रति आशावादी छन्। भोलिका दिनहरू न्याय, समानताका दिनहरू हुनेछन्। उनी यस सन्दर्भमा भन्छन्:

साक्ष्य: १३

अब हरेक साँझ र बिहानीसँग

माग्नु छ  खुसी

र, हेर्नु छ-

नानीका भविष्यका सपनाहरू

समयको मिर्मिरे आवाजसँगै

पिउनु छ न्यानो घामको ताप।  

(शोकधुन र भविष्यका सपनाहरू)

सङ्ग्रहका केही कवितामा  उल्लिखित मूल प्रवृत्तिभन्दा भिन्न स्वार्थी र अवसरवादी चरित्रका मान्छेप्रति घृणाभाव मुखर भएको छ। यस दृष्टिले ‘साँपहरू’ र ‘बुढो पिपलको रुख’ शीर्षकका कविता उल्लेखनीय छन्।

त्यसैगरी ‘तिम्रो साथ’ शीर्षकको कवितामा प्रेमिल अनुभूति समेटिको छ भने ‘माटोको माया’मा राट्रिय स्वाधीनताप्रतिको अगाघ प्रेम अभिव्यक्त भएको छ।

समग्र कवितामा आम नेपाली जनताको जीवन भोगाइको चित्र उतारिएको छ। देशको समकालीन उकुसमुकुसपूर्ण राजनीतिक परिदृश्यको अङ्कन गरिएको छ र नेपाली संस्कृतिको गायन छ।

३. कृतिमा अन्तर्निहित शिल्पगत वैशिष्ट्य

यस सङ्ग्रहमा ३४ प्रतिकात्मक शीर्षकका कविता समेटिएका छन्। कविता लघु आयामिक संरचनाका छन्। आम मान्छेका दैनान्दिन समस्या र राष्ट्रिय जीवनका घटनाक्रमहरूलाई नै कथ्य विषय बनाई कवि स्वयम् भोक्ता र दृष्टा बनेर अभिव्यक्ति दिइएको छ।

आफ्नो मानसमा अनुभूत यथार्थको बोधलाई मौलिक ढाँचामा प्रस्तुत गर्ने क्रममा कविले छनोट गरेको भाषा सरल र सहज भए पनि त्यसलाई सार्थक विचलन सहित बिम्बात्मक/प्रतीकात्मक बनाउने प्रयास गरिएको छ। क्रूर सपना, नक्कली सपना, सत्ताको इन्जेक्सन, माटोको मृत्यु, सपनाका बिउ, सपनाको नयाँ घाम, भोका सपना, काकाकुल सहर, इमानको ब्रिफकेस, शब्दको घाउ, आशातीत सपना, क्रूरताको पर्खालजस्ता बिम्बको संयोजनले आशा, भरोसा टुट्दै गएको, राजकीय उत्पीडनमा परेका जनसाधारणको भग्न मनोदशाको कलात्मक अभिव्यक्तिले यस सङ्ग्रहका कविताका शिल्प बुनोट अपेक्षाकृत सरल, बोधगम्य बन्न पुगेको छ।

स्वतन्त्रताको बाधक पर्खाल, काँढेतार, जन्जिरजस्ता प्रतीक वा श्रमशील जीवनको साक्ष्य खडा गर्ने हलो–जुवा, मार्तल, कोदालो, ढाकर, तोक्मा अथवा प्रतिरोधी चेतनाको सङ्केतक बन्चरो, खुकुरीजस्ता प्रतीक विन्यासले कवितामा भन्न खोजिएको कुरा सरल सहज बन्न पुगेको छ।

सङ्ग्रहमा कविता कथनका लागि छनौट गरिएका सरल वाक्य ढाँचा र पदहरूको नियमित आवृत्तिले कवितामा अन्तर्लयात्मक ध्वनि गुन्जिएको तथा प्रकृतिको मानवीकरणले राष्ट्रिय, मानवीय परिवेशको सुन्दर चित्र निर्माण भएको छ।

४. निष्कर्ष

होमशंकरजीको सिर्जनायात्रामा गजलपछि कविता (काव्य) विधाको यो दोस्रो कृति हो। कथा उनको सिर्जनायात्राको प्रिय विधा भए पनि कवितामा देशको समस्याको एजेन्डालाई सम्बोधन गर्ने उहाँको प्रयास प्रशंसनीय छ। कालिक परिवेशका दृष्टिले यी कविताहरूले दुई दशक यताको राष्ट्रिय जीवनका अनेकौँ उतारचढावको साक्ष्य खडा गरेको छ।

प्रवृत्तिगत हिसाबले उनी सर्वसाधारणको अभाव, गरिबी र मानवीय विवशताप्रति सहानुभूति राख्ने कवि हुन्। ओडारे माइला, कैसाङ जस्ता निम्न वर्गीय पात्रहरूको जीवनको भग्न तस्बिर उनका कवितामा अङ्कित छन्।

त्यसैगरी उनी शासन यन्त्रको चरित्र र मानवीय संवेदनाहीनताप्रति संवेदनशील छन्। सत्ताको चरित्र हिजो पनि र आज पनि उस्तै हुनु उनको दृष्टिमा बिडम्बनापूर्ण कुरा हो। देशले भोगेको दस वर्ष लामो राजनीतिक द्वन्द्व र त्यसले निम्त्याएको दुःखद परिणतिप्रति उनी आलोचनात्मक छन्।

शासक र विद्रोहीबाट सडकमा, बस्तीमा मान्छेहरू आहत र आतङ्कित बन्नुपरेको यथार्थ उनका कविताको सरोकार विषय हुन्। प्रगतिशील वैचारिकीप्रति उनी प्रतिबद्ध देखिन्छन्। न्याय, समानता, स्वतन्त्रता मान्छेको लागि प्रिय हुन्छ। त्यसलाई कविता मार्फत अभिव्यक्ति दिने उनको प्रयास स्तुत्य छ। केही कवितामा राष्ट्रिय स्वाधीनताको स्वर उरालिएका छन् भने केही कविताका मानवीय स्वार्थको कुरूप चित्र तथा केही कवितामा प्रेमिल सन्दर्भको पनि प्रस्तुति छ।

शिल्पका हिसाबले उनका कविता सरल, सहज नै देखिन्छन् तापनि भन्न खोजिएको मूल कुरालाई सपाट ढङ्गले राखिनुले विचार र चिन्तनको संयोजनमा केही फरक देखिन्छन्। यो कमजोरी कविता नै लेखेर सच्याउने हो। उनको आगामी काव्ययात्रा सफल र सार्थक हुने कुरामा विश्वास गर्न सकिन्छ।

- आर. एम. डङ्गोल
अर्को समाचार
सरकारको नीति तथा कार्यक्रम पारित
२९ वैशाख २०८२
•
५ मिनेट पाठ
सरकारको नीति तथा कार्यक्रम पारित
सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रियसभाबाट आइतबार पारित भएको छ।




दुवै सभाका बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरे। उनले नीति तथा कार्यक्रमले मुलुकमा सुशासन कायम र तीव्र आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको दाबीसमेत गरे।

वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको एक सय ५५ बुँदे नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन र अन्य प्रतिवेदन अध्ययन गरेर तयार पारिएकाले यसको कार्यान्वयनले सुशासनमा महत्त्वपूर्ण योगदान मिल्ने बताए। उनले देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा अघि बढाउन विभिन्न नयाँ नीति अघि सारेको पनि बताए।

उनले उद्यमशीलता विकास, उत्पादन, उत्पादकत्व वृद्धि, रोजगारी सिर्जनामा केन्द्रित र तीन तहका सरकारबिचको समन्वयमा कृषिको व्यवसायीकरण र पूर्वाधार निर्माण गर्ने नीति प्रस्ताव गरिएकाले यसबाट आर्थिक गतिविधि बढ्ने बताए।

विकास कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहबिच दोहोरोपन हटाउन एकीकृत परियोजना बैंक प्रणाली लागु गर्ने प्रस्तावित नीति विगतभन्दा नयाँ भएको उनको भनाइ थियो। ‘एउटा सरकारको ठाउँमा अर्को सरकार निर्माण हुनु, अघिल्लो समीकरणलाई नयाँ समीकरणले विस्थापित गर्नु भनेको राजनीति र नीति–कार्यक्रमको कोर्स करेक्सन वा परिवर्तन पनि हो,’ उनले भने।

फेरिएको ‘कोर्स’ बमोजिम हटाइएका नीति वा कार्यक्रम हेरी ‘पहिलेको खै त ?’ भन्ने प्रश्नलाई पनि यसै सन्दर्भमा लिन उनले प्रतिपक्षलाई सुझाए।

विकासको ढाँचा, गति र संस्कृति फेर्ने यो नीति तथा कार्यक्रममा नयाँ अवधारणा भएको प्रधानमन्त्रीले बताए। सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन गर्ने र त्रुटिपूर्ण परियोजना खारेजसमेत गर्ने नीति पनि नयाँ भएको उनले सुनाए। कुनै पनि फिल्डमा उद्यमशीलता सुरु गर्दा ‘व्यवसाय सुरु गरेदेखि बजारसम्मको चक्र’ अर्थात्, ‘व्यवसायको इकोसिस्टम’ ख्याल गर्नुपर्ने नीति पनि नयाँ भएको उनको भनाइ थियो।

‘कृषि तथा वन, सूचना तथा प्रविधि, पर्यटन, ऊर्जा, उद्योग र भौतिक पूर्वाधार’लाई नीति–कार्यक्रममा लगानीको मुख्य क्षेत्र तोकिएको छ। स्टार्टअपका कार्यक्रमको फोकस–विधाका हिसाबले जुनसुकै हुनसक्ने र पुस्ताको हिसाबले आजको तन्नेरी पुस्ता– ‘जेन–जी’ पुस्तामा केन्द्रित हुने नीति अघि सारिएको छ,’ प्रधानमन्त्रीले भने।

स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गर्ने, स्नातक तहभन्दा माथिका विद्यार्थीलाई विभिन्न अनुसन्धान संस्थामा आबद्ध गर्ने, हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी ‘कमाउँदै–पढ्दै’ को नीति लागु गर्ने नीति सरकारले लिएको उनले बताए।

विद्यमान शिक्षापद्धतिलाई आधुनिक, विज्ञान–प्रविधिमैत्री र अनुसन्धान–अन्वेषण लक्षित बनाइने र विद्यालय शिक्षामा ग्रेडिङ प्रणाली लागु गरी सुधार गर्ने नीति सरकारले लिएको उनको भनाइ थियो। ‘शिक्षक बैंक स्थापना, थिंक ट्यांक संस्थाहरूको समन्वय तथा सञ्चालन र उद्यमशीलताको माध्यमद्वारा आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जनका अवसर वृद्धि गर्ने नीति निःसन्देह नयाँ हो,’ प्रधानमन्त्रीले भने। जनसंख्या, भूगोल र रोगको भारका आधारमा नयाँ स्वास्थ्य प्रणालीको प्रस्तावले स्वास्थ्य सेवालाई सुलभ र पहुँचयोग्य तुल्याउने उनले बताए।

यसले स्वास्थ्य पूर्वाधार विस्तारसँगै सेवा प्रदायक अस्पताल–चिकित्सक, स्वास्थ्य जनशक्ति, उपकरण र सेवाग्राहीबिच रहेको असन्तुलन हटाउने प्रधानमन्त्रीको भनाइ छ। सबै सार्वजनिक अस्पताललाई एकीकृत अनलाइन सेवामा आबद्ध गर्ने, स्वास्थ्य सम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमलाई एकीकृत स्वास्थ्य बिमा प्रणालीमा आबद्ध गर्ने नीतिले पुनर्संरचना गरिने स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउने प्रधानमन्त्रीको भनाइ छ।

सार्वजनिक सेवालाई प्रभावकारी बनाउन ‘फेस लेस सेवा’को प्रक्रियालाई विस्तार गर्न नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरणका रूपमा विकास गर्ने र सम्भव भएसम्म सबै सेवा अनलाइन गर्ने नीति लिइएको उनले बताए।

सहकारी नीतिको पुनरावलोकन गरी सहकारी क्षेत्रका समस्याहरू समाधान गरिने विषय उल्लेख भएको बताउँदै प्रधानमन्त्री ओलीले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरण मार्फत कोष स्थापना गरिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको जानकारी गराए। वनलाई रोजगारी, उत्पादन, राष्ट्रिय पुँजी निर्माणको स्रोत बनाउने सम्बन्धमा सामुदायिक वनको व्यवस्थापन सुदृढ गर्दै वन आधारित स्रोतको उचित उपयोग गरिने उनले बताए। भौतिक पूर्वाधार र पर्यटनको क्षेत्रमा परिणाम दिने कार्यक्रमको विषय यस नीति तथा कार्यक्रममा समेटिएको उनको भनाइ थियो।  

‘हामीले नीति बनाउँदा तोकिएको समयमा विकास आयोजनाहरू सक्ने गरी बनाउनुपर्छ। यस नीति तथा कार्यक्रम देशभित्रै उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्नतर्फ उन्मुख छ,’ उनले बताए।

प्रधानमन्त्रीको भनाइपछि प्रतिपक्षका ३० जना सांसदले स्पष्टीकरण सोधेका थिए। सत्तापक्षका सांसदलाई स्पष्टीकरण सोध्ने अधिकार नदिएको स्रोतले बताएको छ। विगतमा सत्तापक्षका सांसदले पनि प्रधामन्त्रीलाई स्पष्टीकरण सोधेका उदाहरण छन्।

मुख्य गरी प्रतिनिधिसभामा कांग्रेसका सांसदहरूले नीति तथा कार्यक्रमका केही विषयमा असहमति जनाएका थिए। स्पष्टीकरण कार्यक्रमपछि प्रतिपक्षले नीति तथा कार्यक्रममाथि राखेका ३७ वटा संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरियो। कुनै पनि प्रस्ताव पारित हुन सकेनन्।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा पाँच दिन र राष्ट्रियसभामा दुई दिन छलफल भएको थियो। नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा वैशाख २२, २३, २४, २५, २६ र २८ गते छलफल भएको थियो। भने राष्ट्रिय सभामा वैशाख २२ र २३ गते छलफल भएको थियो। छलफलमा उठेका विषयमा प्रधानमन्त्री ओलीले दुवै सदनका छुट्टाछुट्टै बैठकमा जवाफ दिएका थिए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस