पर्यटकीय क्षेत्र लेकसाइड कहिले कुन त कहिले कुन रुपमा रमाउँछ। फरक समय र परिस्थितिमा फरक स्वादमा रमाउने लेकसाइड विहीबारदेखि शब्दशक्ति उत्सवको रुपमा रमाउन सुरु गरेको छ, जहाँ शब्द र व्यवस्थामाथि तात्तातो बहस चल्दैछ। फेवाताल किनारको बाराहीघाट मैदानमा शब्द फुराइँदैछ, राजनीतिमाथि बहस हुँदैछ, समाज, अर्थतन्त्र, लोकतन्त्रमाथि टिप्पणी गरिँदैछ।
सुर्य नेपाल गाथा नेपाल लिटरचेर फेस्टिभलको एघारौं संस्करण विहीबारबाट फेवाताल किनारको बाराहीघाट मैदानमा सुरु भएको छ। आयोजक संस्था बुकवर्म फाउन्डेसनलले आयोजना गरेको यो फेस्टिभलको ११ औं संस्करण हो। त्यही जमघटमा तातो र ताजा बहस गर्नका लागि अर्थशास्त्री, राजनीतिशास्त्री, लेखक, पत्रकार, उद्यमी सहित कलाकार, गजलकार, लेखक लगायतका उपस्थित भईसकेका छन।
फेस्टिभल आगामि सोमबारसम्म चल्नेछ। सुर्य नेपाल प्रालिको उपक्रम सुर्य नेपाल गाथाको मुख्य सहयोगमा यस वर्षको फेस्टिभल आयोजना गरिएको हो। फेस्टिभलका अघिल्ला संस्करण झैं यसवर्ष पनि देशविदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहने आयोजकले बताएको छ । फेस्टिभलमा ५५ भन्दा बढी सेसन, सांगीतिक साँझ पनि हुने आयोजकले बताएको छ। फेस्टिभलमा पोखरा क्षेत्रका ठूलो आकारमा साहित्यानुरागी भेला हुने आयोजकको आँकलन छ।
फेस्टिभलको उद्घाटन मन्तव्य दिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महोत्सवले पोखराको पहिचान फराकिलो बनाउन सघाएको बताए। उनले अनुभव, ज्ञान, सीप बाड्ने अवसर यो फेस्टिभलले दिलाएको पनि बताए। पोखरालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन पनि यो महोत्सवले सघाएको उनको भनाई छ। पोखरामा भएको यो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक आउने हुँदा यसले आर्थिक गतिविधि बढाउन पनि सघाउने मुख्यमन्त्री पाण्डेको भनाई छ।
फेस्टिभलमा ‘संविधान र सुशासन’ विषयमा विद्वत्प्रवचन दिँदै पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठले बारम्बार संविधान फेरिएपनि त्यसका पात्र नफेरिँदा जनताको अवस्था फेरिन नसकेको बताए। ‘संविधान बेलाबेला फेरिएको छ, संशोधन पनि भईरहेको छ तर, जनताले सुशासन पाए नपाएको भन्न सकिएन,’ उनले भने, ‘संविधानलाई जनजीविकामा बदल्न सकिएन।’ उनले जनतामा हक अधिकारको चेत बढेपनि जिम्मेवारीपन घटेको टिप्पणी गरे। बिलौलिया अर्थतन्त्र हावी भएको पनि श्रेष्ठको भनाई थिया। त्यस्तै कानुन लागु गर्दा पनि भेदभाव गरिएको उनले बताए।
‘बलिया बांगाले आफुलाई व्यवस्थापन गर्न जाने, तर, सबैलाई त्यो अवस्था छैन,’ उनले भने, ‘बनेको कानुनको लाभ जनताले लिन सक्नुपर्ने हो। बलिया बांगा छन् भने उम्केर जान्छन्, माफि पाएर जान्छन्। लाटा सोझा छन् भने मात्रै जेल जान्छन्। अरु भए हिरासतमा जान्छन्, धनी मान्छे अस्पतालमा जान्छन्।’ उनले संविधान बनाउने प्रक्रियामा पनि जनताको कति सक्रियता थियो त भन्ने प्रश्न उठेको पनि बताए।
उनले भने, ‘जनताले चुनेर पठाएका ९० प्रतिशत प्रतिनिधिको अनुमोदनमा यो संविधान आएको हो। तर अनुमोदित गर्ने कतिले संविधान पढे होलान् ? बुझ्न त बुझे होलान् ? कति प्रतिनिधि ल्याप्चेवाला छन्, हाम्रो संविधान विद्यावारिधि गरेकाले पनि बुझ्दैनन्। त्यसकारण यो संविधानलाई जनताको सक्कली संविधान बनाउन जनताको सहभागिता, समझदारी र सुझबुझ बढाउनुपथ्र्यो । जनतालाई अवसर दिनुपथ्र्यो, विभिन्न माध्यमले बुझाउनुपथ्र्यो। संविधानलाई प्रयोग गरी लाभ लिन प्रेरित गरिनुपथ्र्यो। संविधानका अप्ठ्यारा कुरालाई भन्ने मौका दिनुप¥थ्यो।’
फेवाताल किनारमा महोत्सव चलिरहँदा श्रेष्ठले त्यही फेवातालको अवस्थाबारे पनि उनले टिप्पणी गरे। ‘भदौरेको काखसम्मको फेवाताल कहाँ पु¥यायौं? फेवाताल हेर्दाहेर्दै घटेको छ। स्थानीय तहमा अधिकार गयो की डोजर पुग्यो,’ उनले भने, ‘हामीसँग अधिकार पनि छ। तर त्यसको उपयोग हुन सकेन। सुशासनमा गम्भिरता हुन सकेन। सार्वजनिक सम्पत्तिमाथि लुट हुँदा पनि रोक्ने निकायले काम गरेको छैन।’ उनले साहित्यकारले जीवन र संविधान जोड्न सक्नुपर्ने पनि बताए। भिन्न क्षमता, व्यक्तिदेखि बालबालिकाको अधिकार र संविधानबारे पनि बहस हुनुपर्ने उनले बताए।
फेस्टिभलमा विद्वत्प्रवचन दिँदै पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठ। पहिलो दिन वात्स्यायन एन्ड बाब्र्स भोल्युम टू पुस्तक विमोचन एवं कार्टुन प्रदर्शनी गरिएको थियो। त्यस्तै गोर्खा वुमनः एन इको इन द स्टोरी प्रदर्शनी पनि फेस्टिभलका अवसरमा गरिएको थियो। यस वर्ष फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियसः द ट्रायम्फ एन्ड ट्र्याजिडी अफ जे रबर्ट ओपनहाइमर’का सहलेखक काई बर्डको सहभागिता हुँदैछ। उनको यस पुस्तकले विश्वप्रसिद्ध ‘पुलिट्जर प्राइज’ समेत जितेको थियो। उनको यस पुस्तकमा आधारित ओपनहाइमर चलचित्र बनेको छ। क्रिस्टोफर नोलनले निर्देशन गरेको यो चलचित्र सन् २०२३ को बक्स अफिसमा ब्लकबस्टर समेत बनेको थियो। ९६ औं अस्कर अवार्डमा यो फिल्म १३ विधामा मनोनीत भएको छ।
त्यस्तै पप्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि फेस्टिभलमा आउँदै छिन्। उनको पुस्तक एभ्रिथिङ द लाइट टचेजका बारेमा उनले फेस्टिभलमा चर्चा गर्नेछिन्। उनको यस पुस्तकले सन् २०२३ मा उत्कृष्ट आख्यानका लागि ‘सुशीलादेवी अवार्ड’ पाएको थियो। विश्वप्रसिद्ध समालोचक एवं उपन्यासकार चन्द्रहास चौधरी पनि फेस्टिभलमा आउँदै छन। उनले क्लाउड्स र अर्जी द ड्वार्फ पुस्तक लेखेका छन्। उनको अर्जी द ड्वार्फ पुस्तक ‘कमनवेल्थ फस्ट बुक प्राइज’ का लागि सर्टलिस्ट समेत भएको थियो।
सन् २०११ मा काठमाडौंको झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्रांगणबाट सुरु भएको फेस्टिभल एघारौं संस्करणसम्म आइपुगेको नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले बताए। यस्ता फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवं सरोकारवालालाई जवाफदेही बनाउन सघाउने उनको भनाइ छ। साथै सचेत समाज निर्माणमा पनि यसले विशेष भूमिका निर्वाह गर्ने उनले बताए।
उनले आगामि दिनमा पनि यो महोत्सवलाई पोखरामा निरन्तर गरिरहने बचन दिए। ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको उनको भनाई छ।
सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गराएको करिब साढे ३ महिना हुन लाग्यो। सामाजिक सद्भाव बिगार्नमा भूमिका खेलेको भन्दै गत कात्तिक २७ गतेदेखि नेपालमा टिकटकलाई सरकारलाई बन्द गराएको हो।
टिकटक बन्दको विरुद्धको मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो। सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दा अझै विचाराधीन छ तर, केही समय अघि टिकटकले नै पत्र लेख्दै सरकारी सर्त मान्न तयार रहेको बताएको छ। टिकटक बन्द गर्ने सरकारको निर्णयलाई केहीले समर्थन जनाएका छन् भने केहीले सरकारको निर्णयको विरोध गरेका छन्।
मानव अधिकारको प्रवर्द्धन र संरक्षणमा केन्द्रित अधिकारकर्मी सन्तोष सिग्देलले नेपालमा टिकटक बन्द गर्नु नेपाली कानुनले गरेको व्यवस्थाभन्दा बाहिरको विषयवस्तु भएको बताए। नेपाल लिटरेचर फेस्टिभलको ‘संकटमा अभिव्यक्ति स्वतन्त्रता’ विषयक सत्रमा अधिकारकर्मी सिग्देलले भने, ‘अभिव्यक्तिलाई नियमन गरेपनि प्लेटफर्म नै बन्द गर्ने कुनै कानुन छैन।’
‘अहिले जसरी अभिव्यक्तिको साधनको रुपमा प्लेटफर्म, वेबसाइट बन्न गरिन्छन्। त्यो चाहिँ नेपाली कानुनले गरेभन्दा बाहिरको विषयवस्तु हो। अभिव्यक्तिलाई नियमन गर्न पाइयो। तर, प्लेटफर्मलाई पुरै बन्द गर्न पाइएन। त्यो चाहिँ व्यवस्था छैन,’ उनले भने, ‘टिकटकको कुरा गर्ने हो भने हामी प्लेटफर्मलाई नियमन गरिरहेका छौं कि अभिव्यक्तिलाई नियमन गरिराखेका छौं भन्ने प्रश्न आउँछ ।’ कानुनले अभिव्यक्तिलाई नियमन गर्न नियम बनाएको छ। तर, नेपालमा अहिलेसम्म प्लेटफर्मलाई नै कसरी नियमन गर्ने भन्नेबारे कानुन छैन।’
मिडिया विज्ञ कुन्दन अर्याल टिकटकलाई प्रतिबन्ध लगाउँदा गरिएको तर्क संविधान र कानुन अनुरूप नरहेको बताउँछन्। ‘टिकटकलाई प्रतिबन्ध लगाउँदा जुन तर्क दिइएको छ। जुन तर्क हाम्रो संविधान र कानुनले सर्पोट गर्दैन। अदालतमा गएर अड्किएको छ,’ उनले भने। टिकटकलाई खुला नगरी सुखै नहुने अर्यालको तर्क थियो।
‘यसलाई ओपन नगरी सुखै छैन। जति ठाउँमा ब्यान्ड भएको छ। यो कुनै प्रजातन्त्रका मानकहरु राम्रो भएको ठाउँमा ब्यान्ड भएको होइन। हामीले त्यस्तो देशको उदाहरण दिनु हुँदैन,’ उनले भने।
टिकटक प्लेटफर्म मार्फत पहिचान बनाएकी अन्जनाकुमारी अर्यालले टिकटक बन्दपछि व्यापारमा कमी आएको बताइन्। ‘भर्खर व्यापार सुरु गरेको थिएँ । अचानक टिकटक बन्द भएपछि दुई तिन दिन खिन्न भएकी थिए। पछि अरु प्लेटफर्म पनि प्रयोग गरें,’ उनले भनिन्, ‘टिकटक जस्तो फ्लो चाहिँ हुँदैन । हामीले टिकटकमा भिडियो राख्दाखेरि जसरी अर्डर आउँथ्यो नि त्यो चाहिँ कमै छ ।’ प्लेटफर्म आफूले जस्तो प्रयोग गर्यो त्यस्तै हुने अर्यालले सुनाइन्। ‘आफूले राम्रो गर्यो भने राम्रो पाइन्छ। टिकटक राम्रो पनि छ नराम्रो पनि छ,’ उनले भनिन्।
जहाँनिर बहुलवाद हुँदैन, त्यहाँ अभिव्यक्ति स्वतन्त्रता हुँदैन
प्राज्ञिक तथा मिडिया विज्ञ अर्यालले बहुलवाद र विचार नभएको ठाउँमा अभिव्यक्ति स्वतन्त्रता नहुने गरेको बताए। ‘जहाँनिर बहुलवाद हुँदैन। जहाँ विचार नै धेरै किसिमका आउँदैनन्। त्यो नै अभिव्यक्ति स्वतन्त्रता नभएको अवस्था हो। विचार सबैले राख्न पाएका छन् कि छैन तथा कसैले अभिव्यक्त गर्दा परिणाम घातक हुन्छ भनेर हरदम सोचिरहनु परेको छ कि छैन। त्यो नभएको भए त्यो अवस्थामा अभिव्यक्ति स्वतन्त्रता भएको अवस्था हो,’ उनले भने।
पत्रकारिताले अभिव्यक्ति स्वतन्त्रता मापन गर्न सकिने अर्यालले सुनाए। ‘अभिव्यक्ति स्वतन्त्रता सामान्यता पत्रकारिता यसको क्षेत्र हो। अभिव्यक्ति स्वतन्त्रता मापन गर्दा मिडिया कस्तो छ? त्यसमा कस्तो कुरा आएको छ। कसरी लेखिराखेको छ। छलफल कसरी गरिराखेको छ, हेर्ने ठाउँ एउटा त्यो हो,’ उनले भने, ‘कुनै पनि कुरा अभिव्यक्त गरिसकेपछि त्यसको परिणाम कस्तो हुन्छ भन्ने कुरामा धेरै चिन्ता नगर्नु अवस्था जतिखेर आउँछ। त्यतिखेरि प्रेस स्वतन्त्रता त्यही आधारमा मापन गर्न सक्छौँ।’
प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रताको एउटा पाटो मात्र भएको अधिकारकर्मी सिग्देलले बताए। ‘प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रताको एउटा पाटो मात्र हो। भूषण दाहालले व्यवस्था परिवर्तनपछि पनि गोरखापत्र, रासस, रेडियो नेपाल परिमार्जन नभएको बताए।
‘पञ्चायतकलामा गोरखापत्र, रेडियो नेपाल, रासस सरकार चलाएको छ। व्यवस्था परिवर्तन गरिसकेपछि ती टुल्सहरुलाई परिमार्जन गरेनौं नि। अहिले पनि सरकारकै मुखपत्र हुन्। त्यसैले गर्दा पनि आँखामा बालुका छर्ने काम नगरौं,’ उनले भने।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...