वीरेन्द्रनगरमा जारी १९ वर्षमुनीको महिला राष्ट्रिय क्रिकेटको उपाधि भिडन्त मधेस र सुदूरपश्चिम प्रदेशबीच पक्का भएको छ । समूह चरणको अन्तिम खेलमा मधेसलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले पुनः फाइनलमा मधेसलाई नै प्रतिष्पर्धीका रुपमा पाएको हो ।
आइतबार नै भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कर्णालीलाई हराउँदै फाइनल पुग्ने झिनो सम्भावना कायमै राखेको गण्डकी भने मधेसमाथि सुदूरपश्चिमले जित निकालेसँगै निराश हुन पुगेको छ । अघिल्ला ६ खेलमा अपराजित रहँदै आएको मधेस प्रतियोगिताकै पहिलो हार व्यहोर्ने क्रममा सुदूरपश्चिमविरुद्धको खेलमा स्तब्ध भएपनि उपाधि दाबेदारका रुपमा फाइनल पुगेको हो ।
कालुङचोक मैदानमा ११८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमका ओपनर सावित्री धामी र करुणा विष्टले ८ ओभरसम्म टिकेर ६८ रनको उत्कृष्ट साझेदारी गर्दै जितका लागि बलियो जग बसाले । २४ रनको व्यक्तिगत स्कोरमा सावित्री धामी सुष्मिताकुमारी यादवबाट बोल्ड भएको केहिबेरपछि नै करुणा रन आउट हुँदा मधेसतर्फ ढल्किएको खेललाई रश्मी सुनारले १५ र रविना धामीले १८ रन बटुल्दै आफ्नो पोल्टामा पारे ।
३० बलको सामना गरेकी करुणाले १७० को स्ट्राइक रेटमा ९ चौकासहित ५१ रनको आक्रामक पारी खेलिन । त्यसअघि पहिला ब्याटिङ गरेको मधेसका लागि सना प्रविन र प्रतिमा साहको समान २३–२३ रनको मद्दतमा ११७ को योगफल खडा गर्यो । मधेसका लागि आरती महतो र शिवानी साहले समान १०–१० रन जोडे ।
आइतबारनै भएको अर्को खेलमा गण्डकीले घरेलु टोली कर्णालीमाथि ८ विकेटको फराकिलो जीत निकाल्यो । घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले २० ओभरको खेलमा ४ विकेट गुमाउँदै जम्मा ९६ रन जोड्यो । कप्तान तिर्सना विश्वकर्मा १ रनले अर्धशतक बनाउनबाट चुकिन् ।
ओपनर सोविका शाही शून्यमै आउट भएपनि तिर्सनाले ६२ रनको सामना गर्दै एक छक्का र छ चौकाको मद्दतमा नटआउट ४९ रन बनाइन् । दोश्रो क्रमकी शिखा दुवाडीले १७ रन जोडिन् । बलिङतर्फ गण्डकीकी निरु जीटीले दुई विकेट झार्दा यशोदा भुजेल र जेनिशा शर्माको नाममा एक–एक विकेट रह्यो ।
९७ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकीका ओपनर श्रेया शाह तीन र ज्योत्सिनीका मरासिनीले १३ रनमा आउट भएपछि तेश्रो र चौथो क्रममा ब्याटरले नटआउट रहँदै गण्डकीको इनिङ्स सम्हाले । चन्द्रमाया बरालले ५ चौकासहित ३७ बलमा ३९ र दीपिका सापकोटाले पनि ५ चौकासहित २९ बलमा ३२ रन जोड्दै गण्डकीलाई सहज जित दिलाए ।
समूह चरणको अन्तिम खेलमा लुम्बिनीले कोशीलाई जम्मा ४८ रनको लक्ष्य दिएको थियो । १६ रन अतिरिक्त पाएको लुम्बिनीका कुनैपनि ब्याटरले दोहोरो अंक छुन सकेनन् भने ४ ब्याटर शून्यमै फर्किए ।
४८ रनको झिने लक्ष्य पछ्याएको कोशीका टीका शाहले ८, पूर्णिमा राजवंशी र प्रिन्सा राना मगरले समान १० दश रन बनाउँदा खुशीकुमारी राजवंशीले नटआउट ११ रन जोडिन् । कोशीको जीतमा ११ अतिरिक्त रह्यो ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ।
सुपर फोरअन्तर्गत शुक्रबार भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ६९ रनले पराजित गर्दै एपीएफ र बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरले फाइनलमा स्थान बनाएका हुन्। जारी प्रतियोगितामा अपराजित रहेको एपीएफको सुपर फोरमा ६ अंक रह्यो भने सुदूरले २ अंकमात्र जोड्यो। आर्मी र बागमतीसँग समान २ अंक भएपनि रनरेटमा अघि रहँदै सुदूरले उपाधि यात्रा तय गरेको हो।
एपीएफ र सुदूरपश्चिम समूह ए बाट तथा आर्मी र बागमती प्रदेश समूह बीबाट सुपर फोरमा पुगेका थिए। सुपर फोरमा बागमती जितविहीन भयो भने समूहचरणमा बागमतीसँग बेहोरोको हार सुपर फोरमा आर्मीका लागि घातक बन्यो। बिहीबार भएको खेलमा एपीएफले बागमतीलाई र आर्मीले सुदूरपश्चिमलाई हराएका थिए।
धनगढीको फाप्ला क्रिकेट मैदानमा हुस्सुका कारण १७ ओभरमा छोट्याइएको खेलमा एपीएफले दिएको ११६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमात्र बनाउन सक्यो। राधिका पुजाराले १७ र क्याप्टेन लक्ष्मी साउदले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।
एपीएफका लागि रेखा रावलले ४, सबनम राईले २ र इन्दु बर्माले एक विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित १७ ओभरमा ३ विकेट गुमाउँदै ११५ रन बनाएको थियो। उसका लागि राजमती ऐरीले ३५ र कविता जोशीले नटआउट ३४ रन बनाइन्। क्याप्टेन इन्दु बर्मा १८ रनमा नटआउट रहिन्।
अर्को खेलमा सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा ८२ रनमा अलआउट भयो। यशोदा बिष्टले ३० र हेलिशा गुरुङले २३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन्। सुदूरले १५ रन अतिरिक्त दिएको थियो।
बागमतीलाई सस्तैमा समेट्न कविता कुँवर र करिष्मा थापाले समान २ तथा आशिका महरा र रितु कनौडियाले समान एक विकेट लिए।
पहिला ब्याटिङ गरेको सुदूरले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११२ रनको योगफल तयार पारेको थियो। सुदूरका लागि रितु कनौडियाले ३४ रन बनाइन्। बागमतीका बलरले ३२ रन अतिरिक्त दिएका थिए।
मनिषा उपाध्याय र सोनु खड्काले समान ३ विकेट लिएपनि बागमतीको हार भने टार्न सकेनन्।