‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’
१२ असार २०८३
•
८ मिनेट पाठ
‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’
कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा पाइला टेक्नु निकै चुनौतीपूर्ण मानिन्थ्यो। घरको चौघेरा, चुलो–चौको र परम्परागत भूमिकाभित्र सीमित गरिएका छोरीहरूका लागि खेलकुदमा भविष्य देख्नु सजिलो थिएन। खेल मैदानमा उनीहरूको उपस्थिति अपवादजस्तै थियो। राष्ट्रिय टोलीको जर्सी लगाउने सपना त झन टाढाको कुरा।




दक्षिण अफ्रिकाका महान् नेता नेल्सन मण्डेलाले भनेका थिए, ‘खेलकुदमा संसार परिवर्तन गर्ने शक्ति हुन्छ। यसमा मानिसहरूलाई एकताबद्ध गर्ने र जहाँ निराशा मात्र छ, त्यहाँ आशा जगाउने अद्भूत क्षमता हुन्छ।’

आज नेपालमा महिला क्रिकेटले यही परिवर्तनको कथा लेखिरहेका छन्। हिजो बेल्ना चौकामा सीमित हातहरूले आज आत्मविश्वासका साथ क्रिकेट मैदानमा ब्याट चलाइरहेका छन्। सटिक बलिङ गरिरहेका छन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराइरहेका छन्।

नेपाली महिला क्रिकेटको बढ्दो यात्रा केवल खेलकुदको उपलब्धि मात्र होइन, महिला सशक्तीकरणको एउटा सशक्त आधार पनि हो। यस परिवर्तनको उदाहरण हुनुहुन्छ राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी रचना चौधरी।

सुदूरपश्चिमको कैलाली जिल्लाको सुवर्णपुरबाट बुबासँगै अध्ययनका लागि पोखरा आएकी रचना अहिले कक्षा १२ मा अध्ययनरत छिन्। उनको क्रिकेट यात्रा योजनाबद्ध होइन, संयोगबाट सुरु भएको थियो। कक्षा ९ मा अध्ययनरत रहँदा १४ वर्षको उमेरमा किडासा फाउण्डेशनमार्फत क्रिकेटसँग जोडिएकी रचना रमाइलोका लागि खेल क्षेत्रमा आएकी थिइन्।

‘मलाई त्यतिबेला पढाइभन्दा खेल्न रमाइलो लाग्थ्यो। रमाइलोका लागि खेलेको खेलले नै मलाई पहिचान दियो। पछि क्रिकेट नै मेरो जीवनको हिस्सा बन्यो’, उनी सम्झिन्छन्।

मिस्त्री काम गर्ने बुबाको सङ्घर्षका बीच हुर्किएकी रचनाले त्यतिबेला क्रिकेटले आफ्नो जीवन नै बदलिदिन्छ भन्ने कल्पनासमेत गरेकी थिइनन्। तर निरन्तर अभ्यास, मिहेनत र समर्पणले उनलाई राष्ट्रिय टोलीसम्म पुर्यायो।

आज उनी नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय सम्झौताअन्तर्गत आबद्ध रहँदै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन्। मलेसियामा सम्पन्न आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने अवसरलाई उनी आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धिमध्ये एक मान्छिन्।

गण्डकी प्रदेशकी अर्की खेलाडी सिर्जना पौडेलको अनुभव पनि महिला सशक्तीकरणसँग जोडिएको छ। व्यावसायिक क्रिकेट खेल्दै मासिक पारिश्रमिक प्राप्त गरिरहेकी पौडेलका लागि क्रिकेट केवल खेल होइन, आत्मविश्वास आत्मनिर्भरता र स्वतन्त्रताको माध्यम हो।

उनी भन्छिन्, ‘जब म मैदानमा ब्याट समातेर उभिन्छु, मलाई लाग्छ यो केवल काठको टुक्रा होइन, मेरो आत्मविश्वासको आधार हो। हिजो ‘छोरी भएर घरभित्र बस’ भन्ने समाजले आज हाम्रो चौका र छक्कामा ताली बजाइरहेको छ।’

स्याङ्जाकी खेलाडी सिमाना केसीको अनुभवले पनि महिला क्रिकेटमा आएको परिवर्तनलाई पुष्टि गर्छ। सन् २०२० देखि क्रिकेट खेल्न थाल्नुभएकी केसी अहिले बिबिए अध्ययनसँगै सिनियर क्रिकेट टिममा सक्रिय छिन्।

आइसिसी यु १९ टोलीमा छनोट हुँदा निकै खुसी लागेको क्षणसँगै अहिले सिनियर टिममा रहेर हालै मात्र मलेसियामा भएको एसिया प्रिमियर कपको अनुभव बटुलेर फर्किएकी छिन्। राष्ट्रिय टिमबाट मासिक पारिश्रमिक बुझेर खेल्दै आएकी केसी भन्छिन्, ‘खेलकुद अब आत्मनिर्भर बन्ने माध्यम पनि बन्दै गएको छ, यसले आत्मविश्वास र सशक्तीकरण यात्रामा थप हौसला मिलेको छ।’

स्याङ्जाकै कुशुम गोदार पनि व्यावसायिक खेलमैदानमा छिन्। गण्डकी प्रदेशबाट पारिश्रमिक बुझेर खेल्दै आएकी गोदार यतिबेला नयाँ खेलाडीलाई प्रोत्साहन गर्न व्यस्त छिन्। इच्छाशक्ति र आत्मविश्वासका साथ आउन सके क्रिकेटले आफ्नो पहिचानसहित आत्मनिर्भरको बाटो समेत तय गर्ने धारणा राख्ने गोदारले  आत्मविश्वास बढ्दा जस्तै चुनौतीलाई पार लगाउनसक्ने क्षमता खेलबाट बटुलेको सुनाइन्।

नेपाल महिला क्रिकेटको यात्रालाई नजिकबाट नियालेकी नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले विगत र वर्तमानबीचको ठूलो अन्तर अनुभव गरिन्।

‘आज महिला क्रिकेटले जुन उचाइ प्राप्त गरेको छ, त्यसको यात्रा सहज थिएन। म क्रिकेटमा आउँदा महिलाको सहभागिता निकै न्यून थियो । क्रिकेट खेल्ने छोरीलाई समाजले सहज रूपमा स्वीकार्दैनथ्यो। ‘ब्याट र बल बोकेर केटाजस्तो हिँड्छे’ भन्ने टिप्पणीहरू सुन्नुपथ्र्यो,’ थापा सम्झिन्छन्। देशको पहिलो महिला राष्ट्रिय टोलीको कप्तानी गर्ने अवसरलाई नेपाली महिला क्रिकेटको इतिहासमा एउटा महत्वपूर्ण अध्यायको रुपमा लिएको उनको भनाइ छ।

गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले करिब डेढ दशकअघिको समय स्मरण गर्दै भने, ‘२०६८ सालतिर छोरीलाई क्रिकेट खेल्न पठाउन अभिभावकहरू तयार हुँदैनथे। ‘मेरो छोरीको जिम्मा कसले लिन्छ ?’ भन्ने प्रश्न बारम्बार आउँथ्यो। राष्ट्रिय प्रतियोगितामा पठाउन अभिभावकले स्वीकृति नदिदा निकै समस्या हुन्थ्यो। आज भने अवस्था फेरिएको छ। अभिभावकहरू आफैँ छोरीहरूलाई क्रिकेट प्रशिक्षणका लागि एकेडेमीमा पुर्याउन थालेका छन्।’ उनले नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला खेलाडीहरूलाई मासिक पारिश्रमिक उपलब्ध गराउन थालेपछि क्रिकेटप्रतिको आकर्षण पनि बढ्न थालेको बताए।

सिग्देलका अनुसार आज नेपालभर करिब ३० जिल्लामा महिला क्रिकेट गतिविधि सञ्चालन भइरहेको छ। झण्डै ४५० देखि ५०० जना महिला खेलाडी सक्रिय रूपमा क्रिकेटमा आबद्ध छन्।

प्रदेशस्तरमा करिब १५० जना खेलाडी प्रतिस्पर्धामा छन् भने राष्ट्रियस्तरमा करिब ३० महिला खेलाडीले नियमित रूपमा प्रतिनिधित्व गरिरहेका छन्। विभिन्न उमेर समूह र सिनियर तहमा सात प्रदेशका १४–१५ वटा टोली राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्।

पहिले क्रिकेट खेल्दा भविष्य देखिँदैन भन्ने धारणा बदलिदै अहिले खेलाडीहरूले खेललाई पेशाका रूपमा हेर्ने वातावरण बने पनि महिला क्रिकेटको विकासका लागि अझै पनि चुनौतीहरू बाँकी रहेको प्रशिक्षक दिपेश खत्रीको अनुभव छ।

‘देशका धेरै जिल्लामा महिलामैत्री खेल पूर्वाधारको अभाव छ। निजी क्षेत्रको लगानी र स्पोन्सरसिप पनि अपेक्षाकृत न्यून छ’, उनी भन्छन्, ‘सहरी क्षेत्रमा अवसर बढे पनि ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभाशाली छोरीहरू अझै अवसरबाट वञ्चित छन्। खेलाडीहरूको सामाजिक सुरक्षा र खेल जीवनपछिको रोजगारी सुनिश्चित गर्न स्पष्ट नीति आवश्यक छ।’

नेपाली महिला क्रिकेटको वर्तमान अवस्थालाई हेर्दा आफूलाई गर्व लाग्ने बताउछन् पूर्वराष्ट्रिय क्रिकेट कप्तान तथा नेपालमा महिला क्रिकेटका प्रणेता लेखबहादुर क्षेत्री। आज महिला क्रिकेटले प्राप्त गरेको सफलता एक दिनको उपलब्धि नभई दुई दशकभन्दा लामो सङ्घर्ष, धैर्य र समर्पणको परिणाम भएको उनको बुझाइ छ।

‘आज महिला क्रिकेट जुन स्थानमा पुगेको छ, त्यो सहजै प्राप्त भएको होइन, नेरी थापा, सीता राना मगर, रुबिना क्षेत्री, पूजा महतो, इन्दु बर्मालगायतका खेलाडीहरूले गरेको सङ्घर्ष, त्याग र समर्पणका कारण नेपाली महिला क्रिकेटले आज अन्तर्राष्ट्रियस्तरमा आफ्नो उपस्थिति बलियो बनाएको हो’, उनले भने।

नेपाली महिला क्रिकेटको इतिहास सम्झँदा सन् २००७ मा मलेसियाको जोहोरमा आयोजित पहिलो एसिसी महिला च्याम्पियनसिप विशेष महत्व रहेको क्षेत्री बताउछन्।

‘नेपालले पहिलोपटक अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर उपविजेता बन्न सफल भएको थिय। त्यो उपलब्धिले नेपाली महिला क्रिकेटको सम्भावना अन्तर्राष्ट्रिय समुदायसामु चिनाएको थियो।’ क्षेत्री सम्झन्छन्, ‘२०६१ सालतिर बाँकेको कोहलपुरमा महिला क्रिकेटका गतिविधि सुरु गर्दा खेलाडी जुटाउनै कठिन हुन्थ्यो। सामाजिक सोच, पूर्वाधारको अभाव र सीमित अवसरका बीच छोरीहरुले ठूलो सपना बोकेर मैदानमा आउँथे। उनीहरूको आत्मविश्वास र साहस देख्दा एक दिन महिला क्रिकेटले अवश्य सफलता पाउने विश्वास जाग्थ्यो।’

उनका अनुसार सन् २०१० देखि २०१५ सम्म महिला क्रिकेट लगभग ठप्पजस्तै भयो। प्रतियोगिता कम भए, खेलाडीहरू पलायन भए र विकासको गति सुस्तायो, यसले नयाँ खेलाडी उत्पादनमा समस्या भयो। सन् २०१७ पछि भने महिला क्रिकेटले पुनः नयाँ गति लिन थाल्यो।

राष्ट्रिय खेलकुद परिषद्, क्यान र विभिन्न सरोकारवालाको पहलमा प्रधानमन्त्री कपलगायतका राष्ट्रिय प्रतियोगिताले महिला क्रिकेटलाई पुनर्जीवित गर्यो। क्यानले महिला क्रिकेटलाई दीर्घकालीन दृष्टिकोणका साथ अगाडि बढाउन थालेपछि खेलाडी उत्पादन, प्रशिक्षण र अन्तर्राष्ट्रिय सहभागितामा उल्लेखनीय सुधार आएको उनको भनाइ छ।

आज नेपाली महिला क्रिकेटले यू–१९, एसिया कप हुँदै विश्व कपसम्मको यात्रा तय गरिसकेको छ। ‘हिजो अन्तरराष्ट्रिय प्रतियोगिता खेल्नु नै ठूलो उपलब्धि थियो, आज विश्वकप र एसिया कपमा प्रतिस्पर्धा गर्ने स्तरमा पुग्नु नेपाली महिला क्रिकेटको ऐतिहासिक फड्को हो,’ उनले महिला क्रिकेटको अर्को महत्वपूर्ण उपलब्धि आर्थिक आत्मनिर्भरता पनि भएको बताए। ‘एक समय खेलाडीहरूले आफ्नै खर्चमा खेल्नुपथ्र्यो।  

आज क्यानको केन्द्रीय र प्रदेशसम्झौतामा रहेर खेलाडीहरूले पारिश्रमिक पाउन थालेका छन्। यसले क्रिकेटलाई पेसागत रूपमा अघि बढाउने वातावरण बनाएको छ। सामान्य परिवारबाट आएका धेरै छोरीहरूले आज क्रिकेटमार्फत आफ्नो परिचय र भविष्य निर्माण गर्न तल्लिन छन्।’ यद्यपि चुनौतीहरू अझै बाँकी रहेको उनको भनाइ छ।

‘अहिले पनि धेरै जिल्लामा गुणस्तरीय मैदान, प्रशिक्षक, नियमित प्रतियोगिता र निजी क्षेत्रको लगानीको अभाव छ। ग्रामीण भेगका धेरै प्रतिभाशाली छोरीहरू अवसरको पहुँचभन्दा बाहिर छन्। उनीहरूलाई पहिचान गरी राष्ट्रिय प्रणालीमा जोड्नु आवश्यक छ,’ उनले जोड दिए।

आगामी अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै क्षेत्रीले अहिलेदेखि नै तयारीमा जुट्नुपर्ने आवश्यकता औँल्याए। ‘नेपालले अब सहभागिता मात्र होइन, प्रतिस्पर्धात्मक सफलता हासिल गर्ने लक्ष्य राख्नुपर्छ। त्यसका लागि जिल्ला र प्रदेशस्तरबाट प्रतिभा पहिचान, नियमित प्रतियोगिता, वैज्ञानिक प्रशिक्षण र दीर्घकालीन योजना आवश्यक छ। आज लगानी गरिएका किशोरी खेलाडीहरू नै भोलि नेपालको अन्तर्राष्ट्रिय सफलताका आधार बन्नेछन्।’

एउटा कठिन यात्राबाट आफ्नो गौरवमय पहिचान बनाउन सफल महिला खेलाडीको प्रत्येक ब्याटको प्रहारसँगै उनीहरुको आत्मविश्वास अझ बलियो बन्दै गएको छ। यही आत्मविश्वास, सङ्घर्ष र सफलताको यात्राले समतामूलक, समावेशी र सशक्तीकरणको आधार निर्माण गरिरहेको छ।
अर्को समाचार
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
२६ मिनेट अघि
•
१ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
नेपालगन्ज। धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्। नेपालगन्जमा शनिबार भएको म्याराथनको १२ औं संस्कर २ घण्टा २० मिनेट २५ सेकेण्डमा ४२ किलो मिटर दुरी पार गर्दै उनले उपाधि हात पारेका हुन्।




उपाधि जितेसँगै केन्याली धावक मुरियुकीले दुई लाख रुपैयाँ प्राप्त गरे। म्याराथनमा २ घण्टा २२ मिनेट ५८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेका कुलबहादुर बस्नेत दोस्रो स्थानमा आएका छन्। उनले एक लाख रुपैयाँ प्राप्त गरे। यसैगरी २ घण्टा २४ मिनेट २९ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएका कृष्णबहादुर परियारले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।

हाफ म्याराथनको महिलातर्फ राज्यलक्ष्मी रावतले उपाधि जितिन्। उनले नगद ५५ हजार प्राप्त गरिन्। उनले २१ किलोमिटर दुरिलाई १ घण्टा २७ मिनेट ३६ सेकेण्टमा पार गरेकी थिइन्। हाफ म्याराथनमै दोस्रो भएकी सम्झना लिम्बु र तेस्रो स्थानमा आएकी सरस्वती भट्टराईले क्रमशः नगद ३० र १५ हजार प्राप्त गरेका छन्।

निर्धारित दुरिलाई दुबै जनाले क्रमशः १ घण्टा २८ मिनेट ३० सेकेन्ट र १ घण्टा ३० मिनेट ३७ सेकेन्टमा पार गरेका थिए। विजेतालाई नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरी, मिस नेपाल दिपमाला ढकाल, के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाजेड लगायतले पुरस्कृत गरे।

धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि जितेका केन्याली धावक जुलियस मुरियुकी। तस्बिरः नागरिक 
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस