मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
बेलबारी नगरपालिका-११ स्थित लक्ष्मीमार्गको डाँगिहाट रंगशालामा पुस ४ देखि १० गतेसम्म हुन लागेको प्रतियोगिताबारे आयोजक डाँगिहाट युथ क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हो। क्लबका अध्यक्ष विक्रम बान्तवा राईले बेलबारी क्षेत्रको पहिचान विभिन्न क्षेत्रबाट भइरहँदा खेलकुदबाट पनि अझ व्यापक गर्न गोल्डकपको आयोजना गरिएको बताए। उनले यस क्षेत्र विभिन्न जातजाति, भाषाभाषी, धर्मसंस्कृतिको संगमस्थल रहेको हुँदा यसको आफ्नै छुट्टै महत्व र स्थान रहे पनि खेल क्षेत्रबाट अझ विशेष बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको प्रस्ट्याए।
प्रतियोगिता सुगम ठाउँमा गर्न जति सजिलो र सहज छ, त्योभन्दा पनि गाह्रो मोफसलको पनि यस्तो गाउँ झन् मोफसलमा कति गाह्रो र समस्याले गरेका छौं, अध्यक्ष बान्तवाले भने, ‘सुगम ठाउँमा हुने प्रतियोगितालाई प्रायोजक र आर्थिक सहयोग सबैतिरबाट जुट्छ। तर, सहरभन्दा बाहिर गाउँमा गरिने प्रतियोगितालाई प्रायोजन गर्न खोज्दैनन्। जसका कारण प्रतियोगिता भनेजस्तो गर्न सकिँदैन। हामीलाई यस क्षेत्रबाट विदेश जानुभएकाले र यहाँका स्थानीयवासी, व्यापारी र नगरपालिकाले सहयोग गर्दै आउनुभएको हुँदा आर्थिक समस्याकाबीच एउटा भव्य र सभ्य तरिकाले गोल्डकपको ९ औं संस्करणसम्म आइपुगेका छौं।’
प्रतियोगिताले निरन्तरता पाउनु हाम्रो आर्थिक गतिविधि पारदर्शिता पनि हो भन्ने लाग्छ, अध्यक्ष बान्तवाले भने। युवा वर्गलाई खेलकुद क्षेत्रमा आकर्षित गर्दै एउटा राम्रो खेलाडी उत्पादन गर्नुका साथै सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने विश्वासका साथ प्रतियोगिता गर्न लागेको उनले बताए। यो मैदानमा दैनिक १ सय जनाले प्रशिक्षण गर्दै आएका छन्।
प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहेको छ। आयोजक डाँगिहाट युथ क्लब, सिरहाको सलहेश युवा क्लब, काठमाडौंको विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौंको थ्रीस्टार क्लब, काठमाडौंकै प्लानिङ ब्वाइज क्लब, झापाको रेडस्टार क्लब, भोजपुरको भोजपुर जिल्ला फुटबल संघ र भारतको मिक्स क्लब खार्साङले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै व्यक्तिगततर्फ सर्वोत्कृष्ट खेलाडीले ५१ हजार, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र मिडफिल्डरले जनही १७ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगिता आयोजना गर्दा करिब ७६ लाख १ हजार रुपैयाँ आम्दानी हुने र ७२ लाख ७४ हजार अनुमानित खर्च रहेको आयोजकले जनाएको छ।
प्रतियोगिता रनिङ शिल्ड भएकाले एक पटक झापा र एक पटक काठमाडौंको प्लानिङ ब्वाइज क्लबले लगिसकेका छन्। गतवर्ष काठमाडौंको प्लानिङ ब्वाइज क्लब र सिरहाको सलहेश युवा क्लबबीच भएको फाइनल खेलमा प्लानिङ क्लबले उपाधि जितेको थियो।
१० मिनेट अघि
•
१ मिनेट पाठ