कर्णालीको उच्च सम्भावना बोकेको जिल्ला जुम्लामा निर्माणाधीन सबैजसो खेल पूर्वाधार योजनाहरू अलपत्र अवस्थामा पुगेका छन्। कतै बजेट अभाव, कतै जग्गा विवाद, कतै ठेकेदारको ढिलासुस्ती। यी समस्याले जुम्लाको खेल क्षेत्र मर्माहत भएको छ। पूर्वाधार अभावकै कारण खेलाडीहरूले मैदानको सट्टा डाँडापाखा र सडक किनारलाई अभ्यास स्थल बनाउँदै आएका छन्।
ट्रेनिङ सेन्टरमै तगारो : ३ करोड सकियो, योजना रोकियो
जुम्लाको पातारासी गाउँपालिका-३ मा निर्माणाधीन ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर’को मैदान सम्याउने काममा ३ करोड रुपैयाँ खर्च भइसकेको छ। तर, जग्गा विवादका कारण परियोजना नै अन्योलमा परेको छ। गत आर्थिक वर्षमा विनियोजित ५ करोड ६६ लाख ५० हजार रुपैयाँ समेत खर्च नहुँदै फ्रिज भएको छ। खेल पूर्वाधार विकासका नाममा थालिएको यो परियोजना कागजमै सीमित बन्ने हो कि भन्ने चिन्ता स्थानीयमा बढ्दै गएको छ। हाइ अल्टिच्युट मैदानमा भलिबल, फुटबल, कराते, बक्सिङ, तेक्वान्दो, बास्केट बल, एथलेटिक्सलगायत दुई दर्जन बढीका खेल मैदान निर्माण गरिने डिपिआरमा उल्लेख गरिएको छ ।
त्यसैगरी स्विमिङ पुल, लैङ्गिकमैत्री छात्रावास, सुरक्षागार्ड, पाहुनाघर, टिकट काउन्टरसमेत निर्माण गरिने भनिएको छ ।संरचना निर्माणपछि यहाँ प्रशिक्षण मात्र हुने छैन उच्च हिमाली भेकको अवलोकन, विशुद्ध हावापानी, अर्गानिक खानासहित विशेष आतिथ्यता पनि प्राप्त हुने छ। खेल पर्यटन प्रवर्द्धन लौठचौरसँग जोडिएको विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने ठाउँ छुमचौर ज्युला, सर्वाधिक महँगो जडीबुटी यार्सागुम्बा, पातारासी हिमालको भ्यू, तिलानदीको आकर्षणले पनि यो ट्रेनिङ सेन्टर देशी तथा विदेशी खेलाडीको प्रमुख गन्तव्य बन्ने छ ।
रंगशालारंगशाला निर्माणमा ठेकेदारको सुस्तता
जुम्लाको चन्दननाथ नगरपालिका-५, राजसिममा निर्माणाधीन रंगशालाको काम पनि चरम ढिलाइमा परेको छ। सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत ४० करोड ६२ लाख लागतमा निर्माण हुन लागेको एथलेटिक्स ट्र्याकसहितको स्टेडियमको जिम्मा ‘कवीन्द्र निर्माण सेवा’ले लिएको थियो। तर, भदौ १९ मा सम्झौता अवधि सकिँदासम्म ७० प्रतिशत मात्र भौतिक प्रगति भएको छ। रंगशालाको पर्खाइमा अभ्यासरत खेलाडीहरू वर्षौंदेखि अस्थायी अभ्यास स्थलमा सीमित छन्। रंगशालामा ८५ मिटर लामो प्याराफिट निर्माण हुनेछ। तल ग्राउण्डमा शौचालय, बाथरुम, माथि सटर र त्यसमाथि प्याराफिट निर्माण हुनेछ।रंगशालाको लम्बाई १ सय ३० मिटर र चौडाइ ५५ मिटर रहेन उल्लेख छ।
प्याराफिट
छ वर्षदेखि अधुरो प्याराफिट
जिल्ला खेलकुद विकास समितिको कार्यालय छेउमै रहेको भलिबल कोर्टको प्याराफिट पनि विगत ६ वर्षदेखि अधुरै छ। २०७६/०७७ मा सुरु भएको यस योजनाका लागि पहिलो दुई वर्षमा मात्र ४५ लाख रुपैयाँ बजेट आयो। अनुमानित लागत १ करोड ९० लाख रुपैयाँ भए पनि पछिल्ला वर्षमा बजेट नै विनियोजन नहुँदा काम ठप्प छ। संरचना अधुरो हुँदा प्रतियोगिता त परै जाओस्, सामान्य अभ्यास पनि प्रभावित बनेको छ। जुम्ला विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया र राष्ट्रिय धाविका सुनमाया बुढाको जिल्ला हो। तर, यही जिल्लामा खेलाडीहरूले अभ्यास गर्न डाँडापाखा रोज्नुपर्ने बाध्यता हुनु विडम्बनापूर्ण दृश्य हो। 'हामीलाई चाहिने त केवल एकथान ट्रयाक हो, त्यो पनि राज्य दिन सक्दैन भने हामी के अपेक्षा गर्ने?' स्थानीय एक धावकको प्रश्न राज्यको उदासिनतामाथिको आरोप हो।
भोलिका च्याम्पियनहरू आज निराश छन्
पूर्वाधारको अभावले गर्दा जुम्लाका युवा खेलाडीहरू निराश हुँदै गएका छन्। अभ्यास, प्रतियोगिता र तालिमका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले गम्भीरता नदेखाउँदा ग्रामीण क्षेत्रका प्रतिभा ओझेलमा पर्ने खतरा थपिएको छ।खेल क्षेत्रमा ‘गुणस्तरीय पूर्वाधार विकास’को नारालाई व्यवहारमा रूपान्तरण नगरेसम्म जुम्लाजस्ता सम्भावनायुक्त जिल्लाहरूबाट प्रतिभा पलाउन सक्दैनन्। घोषणामै सीमित योजनाहरू, राजनीतिक हस्तक्षेप, अनियमितता र अकर्मण्यता अन्त्य नगरेसम्म खेल पूर्वाधार केवल कागजी सपना बन्छ। राज्यले अब परिणाममुखी उत्तरदायित्व लिन आवश्यक छ।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...