अर्को तिहार पटकारहित मनाउने कि ?
२६ कार्तिक २०८३
•
८ मिनेट पाठ
अर्को तिहार पटकारहित मनाउने कि ?
वर्षभरि प्रतीक्षा गरेर कुरेको तिहार आयो, उज्यालो ल्यायो । घरघरमा झिलिमिली बत्ती बले, ढोकाढोकामा सयपत्री र मखमलीका माला सजिए।




गाउँ–सहरभरि फूलको बासना फैलिएको छ। बालबालिकादेखि वृद्धसम्म सबैको अनुहारमा खुसी छ। नेपालीको दोस्रो ठूलो पर्व तिहार केबल एउटा चाड मात्र होइन, यो हाम्रो संस्कृति, सभ्यता र मानवताको जीवन्त प्रतिविम्ब हो।

यस वर्षको तिहार हामीबाट बिदा भएर गइसक्यो तर यसले छोडेका केही तीता अनुभव र गम्भीर प्रश्न भने अझै हाम्रासामु छन्

तिहारलाई हामी किन अरू चाडभन्दा फरक र विशिष्ट मान्छौँ ? किनकी यो पर्वले मानिसलाई मात्र होइन, मानिससँगै बाँच्ने अन्य सबै पशु प्राणीलाई पनि समान रूपमा सम्मान गर्छ।

काग तिहारमा हामी कागलाई बोलाएर भात खुवाउँछौँ, किनकि कागलाई यमराजको दूत मानिन्छ। उसले लगाएको कुन तिर्ने प्रयत्न गर्छौं।

कुकुर तिहारमा कुकुरलाई माला, टीका लगाएर मीठो खुवाएर पूजा गर्छौं किनकि कुकुर हाम्रो वफादार साथी र यमराजको अर्को दूत हो।

गाई तिहार र गोरु तिहारमा गाई, गोरुलाई लक्ष्मीको प्रतीक मानेर पूजा गर्छौं। लक्ष्मीपूजामा ऐश्वर्य, सम्पन्नता र धनकी देवीको आह्वान गर्छौं। भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गरेर एकअर्काको सम्मान गर्छन्।

यसको मूल सन्देश हो—सबै जीवप्रति प्रेम, करुणा र सहअस्तित्व । प्रकृतिका सबै प्राणीलाई सम्मान गर्नुपर्छ भन्ने यो सन्देशकै कारण तिहारलाई विश्वकै सबैभन्दा मानवीय पर्वहरूमध्ये एक भनिन्छ।

तर यही उज्यालोको पर्व, यही सम्मानको पर्व विगत केही दशकदेखि पटका वा आतसबाजीको ठूलो आवाज, धुवाँ र जोखिमले गर्दा अभिशापमा परिणत हुँदै गएको छ।

हामी कागलाई पूजा गर्ने दिनमै कागलाई भगाउँछौँ। कुकुरलाई माला लगाउने दिनमै कुकुरलाई डरले थरथर काम्ने बनाउँछौँ। गाईलाई लक्ष्मी भनेर पूजा गर्ने हामी त्यही गाईलाई पटकाको आवाजले आतङ्कित तुल्याइरहेका त छैनौँ ? तिहारमा पटका पड्काउनु हाम्रो मौलिक परम्परा होइन।

हाम्रा बाजेबज्यैको पालामा तिहारमा दियो बाल्ने, देउसी–भैलो खेल्ने, सेलरोटी खाने, म्हःपूजा गर्ने, भाइटीका लगाउने र फूलमाला सजाउने चलन थियो।

पटका त आयातित र व्यापारिक स्वार्थ बोकेको संस्कृति हो। हामीले त्यसलाई आफ्नो मौलिक पर्वको अङ्ग ठान्न थालेका छौँ, यो ठूलो भ्रम र विचलन हो।

पटकाको कारण ठूलो अर्थराशि एकातिर विदेशिएको छ भने अर्कोतिर धनजनको ठूलो नोक्सान भइरहेको छ। ठाउँठाउँमा आगलागी, बस्ती विनाश, मृत्युवरणजस्ता घटना हरेक वर्ष दोहोरिरहेका छन्।

छिमेकीले पटका पटकाउने क्रममा आकाशतिर उडाएको पटका कहाँनेर कसको के नोक्सान गर्ने हो भनेर डराउनुपर्ने अवस्था रहिरहन्छ। पटकाकै कारण कुकुरहरू हराएको, डरले लुकेको र खाना नखाएको समाचार आए।

काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) दिउँसोमै १४३ पुगेर अस्वस्थकर भएको समाचार आयो। पर्सामा एक जना बालकको पेटमा पटकाको टुक्रा छिरेर घाइते भई ज्यान गुमाएको समाचारले हामीलाई झस्कायो।

प्रहरीले विस्फोटक पदार्थसम्बन्धी कानुनअन्तर्गत पटकाको अवैध ओसारपसार र प्रयोगमा कडाइ गर्दै सजायको व्यवस्था भएको स्मरण गरायो, तर कार्यान्वयन कमजोर रह्यो।

पटकाको आवाज र झिरझिरले कोही कसैलाई रमाइलो लाग्ला, तर पशुपक्षी, वातावरण र कमजोर मानिसलाई के हुन्छ भन्ने विषयमा हामीले कहिल्यै गम्भीर रूपमा सोचेका छौँ ?

काग र चराचुरुङ्गीको कुरा गरौँ। काग तिहारको दिन बिहानै कागलाई बोलाउने चलन छ। काग आयो भने शुभ मानिन्छ। तर तिहार सुरु हुनुभन्दा एक हप्ताअघिदेखि नै पटका पड्कन थाल्छ।

काग मात्र होइन, परेवा, मलेवा, भँगेरा, ढुकुर, सुगा, कोइली र अन्य सबै चराचुरुङ्गी पटकाको आवाज सुन्नासाथ डराएर नजिकको जङ्गलतिर भौँतारिन थाल्छन्। उनीहरूले आफ्नो गुँड छोड्छन्। गुँडमा भएका बच्चा भोकभोकै मर्छन्।

कतिपय चरा डरले रूखबाट खसेर मर्छन्। कतिपयले दिशा बिर्सेर टाढा पुग्छन् र फेरि आफ्नो बासमा फर्कन सक्दैनन्। वैज्ञानिक अध्ययन भन्छन्, चराको कान अत्यन्तै संवेदनशील हुन्छ।

उच्च डेसिबलको आवाजले उनीहरूको श्रवणशक्तिमा असर पर्छ। एउटा सामान्य पटकाको आवाज १२० देखि १६० डेसिबल वा त्यसभन्दा बढी हुन्छ।

अर्थात् हामीले रमाइलोका लागि पड्काएको एउटा पटकाले चराको कानलाई गम्भीर क्षति पुर्‍याउन सक्छ। के हामीले कहिल्यै यो सोचेका छौँ ?

दोस्रो, कुकुरको कुरा गरौँ। कुकुर तिहार हाम्रो सबैभन्दा भावुक पर्व हो। कुकुरलाई हामी बफादार साथी मान्छौँ। तर तिहारको राति त्यही कुकुरको हालत के हुन्छ ?कुकुरको श्रवणशक्ति मानिसको भन्दा धेरै बढी हुन्छ।

उनीहरूले ४०–६० हजार हर्जसम्मको आवाज सुन्न सक्छन्, जबकी मानिसले करिब २० हजार हर्जसम्म मात्र। हामीलाई ठूलो लाग्ने आवाज कुकुरलाई बम पड्के जस्तै लाग्छ।

कुकुरमा दुखाइको सीमा करिब ९५ डेसिबल आसपास मानिन्छ, जबकी पटका १४०–१९० डेसिबलसम्म पुग्छ। त्यसैले तिहारमा कुकुरहरू डराएर घरको कुनामा, खाटमुनि, नालीमा, बाथरुममा लुकेर बस्छन्। खाना खान सक्दैनन्। पानी पिउन सक्दैनन्। बाहिर निस्कन सक्दैनन्।

काठमाडौं, पोखरा, चितवन, विराटनगर, जनकपुर, नेपालगञ्ज जस्ता ठूला सहरमा हरेक तिहारमा सयौँ कुकुर हराउँछन्। डरले भागेका कुकुरलाई गाडीले हान्छ। कतिपय कुकुर डरले मुटुको धड्कन बढेर वा तनावले मर्छन्।

पशु चिकित्सक भन्छन्, तिहारको समयमा कुकुरमा एन्जाइटी, डर, भोक नलाग्ने, झाडा लाग्ने जस्ता समस्या अत्यधिक बढ्छ। हामीले माला लगाएर पूजा गरेको कुकुर राति थरथर कामिरहेको हुन्छ भने त्यो पूजाको के अर्थ ? विचार गरौँ !

अब गाई, गोरु र अन्य घरपालुवा पशुको कुरा गरौँ। गाई तिहारमा हामी गाईलाई लक्ष्मी मानेर पूजा गर्छौं। तर पटकाको आवाजले बाच्छाबाच्छी डराएर थरथर काप्छन्।

दुहुनो गाई हो भने दूध दिन छोड्छिन्, गर्भवती गाईको गर्भ तुहिने खतरा हुन्छ। गोरु डराएर डोरी चुँडाएर भाग्छ। बाख्रा, भैँसी, कुखुरा सबै आतङ्कित हुन्छन्। किसान भन्छन्, तिहारको समयमा पशुले घाँस खान छोड्छ, दूध दिन छोड्छ। एकोहोरो टोलाइरहन्छ । यस अवधिमा वन्यजन्तुको कुरा गरौँ।

नेपालको तराई र पहाडका धेरै बस्ती जंगलको नजिक छन्। तिहारमा पड्काइने पटकाको आवाज जङ्गलभित्रसम्म पुग्छ। त्यसको कर्कश र डरलाग्दो आवाजले बाँदर, मृग, चितुवा, हात्तीजस्ता वन्यजन्तु आतङ्कित हुन्छन् र सुरक्षाको लागि बस्तीतिर पस्छन्।

यसले मानव–वन्यजन्तु द्वन्द्व बढाउँछ। कतिपय ठाउँमा त पटकाकै कारण जंगलमा आगलागी भएको समाचार पनि आएका छन्।

पटकाले पशुपक्षीलाई मात्र होइन, मानिसलाई पनि छोडेको छैन। हरेक वर्ष तिहारमा पटकाले गर्दा आगलागी हुन्छ। बालबालिकाको हात जलेको, आँखा फुटेको, कानको जाली फुटेको समाचार आउँछन्।

कतिपयले ज्यानै गुमाएका छन्। हरेक वर्ष पटकाकै कारण सहर–बजार र बस्तीमा आगलागीको घटना हुन्छ। यसकै कारण दर्जनौँ बालबालिका जलनमा पर्छन् र अस्पताल पुग्छन्।

के यस्तो रमाइलो रमाइलो हो ? जसले कसैको घर उजाड्छ, कसैको भविष्य अन्धकार बनाउँछ, त्यसलाई रमाइलो भन्न मिल्छ ? 

तिहारको बेला नजिकको अस्पतालको आकस्मिक वार्डमा पुग्नुस् त पटकाको करामत बुझ्न सघाउ पुग्छ। बालबालिका, वृद्धवृद्धा, महिला र श्वासप्रश्वासका बिरामी सबैभन्दा बढी प्रभावित हुन्छन्।

यसबाट हुने वातावरणीय प्रदूषणको के कुरा गर्नु ? पटका पड्काउँदा निस्कने धुवाँमा सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड जस्ता विषाक्त ग्यास हुन्छन्। यी ग्यासले हावालाई प्रदूषित बनाउँछन्।

साथै पिएम २.५ र पिएम १० जस्ता सूक्ष्म कणहरू बढ्छन्, जसले आँखा पोल्ने, छाला चिलाउने, दम, खोकी र श्वासप्रश्वासका समस्या निम्त्याउँछन्।

विभिन्न अध्ययनले तिहार अवधिमा वायु प्रदूषणको स्तर बढ्ने देखाएका छन्। तिहारको अवधिमा यसैका कारण आँखा पोल्ने, छाला चिलाउनेजस्ता समस्याको साथै दम, खोकी देखिन्छ, चिकित्सकहरू बताउँछन्।

यसको समाधान के छ ? यो हाम्रो संस्कृतिको अङ्ग नभएको, यसबाट हानिनोक्सानी नै ज्यादा हुने भएकोले पहिले त हामी आफैँले पटका नकिन्ने, नपड्काउने प्रण गर्नुपर्छ।

आफ्ना छोराछोरीलाई पटका किनिदिनुको सट्टा दियो, फूलमाला, फलफूल किनिदिऔँ। उनीहरूलाई पटकाले पशुपक्षी र प्रकृतिलाई पीडा हुन्छ भनेर बुझाऔँ। रमाइलो गर्न पटका नै चाहिँदैन भन्ने कुरा सिकाऔँ।

दियो बालेर, देउसी–भैलो खेलेर, आफन्तसँग बसेर पनि तिहार मनाउन सकिन्छ। हिजो हाम्रा अग्रज र पुर्खाहरूले त्यसै गरेर तिहार मनाए।

यसका लागि सामाजिक तहबाटै सतर्कता अपनाउन वडा, टोल, क्लब, विद्यालयले पटकामुक्त तिहार अभियान चलाउनुपर्छ। 

यसबाट हुने नोक्सानीको बारे सचेतना कार्यक्रम गर्नुपर्छ। घरपालुवा जनावरलाई तिहारको बेला घर–गोठभित्रै राख्ने, तिनलाई माया गरेर सम्हाल्ने काम गर्नुपर्छ।

अन्तमा सरकारी तहबाट यसको उत्पादन, बिक्री र प्रयोगमा कडाइ गर्नुपर्छ। नेपालमा विस्फोटक पदार्थसम्बन्धी कानुनले अवैध पटकाको ओसारपसार, भण्डारण र प्रयोगमा तीन वर्षसम्म कैद र जरिवानाको व्यवस्था गरेको छ।

भारतका दिल्ली–एनसीआरलगायत ठाउँमा पटकामा कडाइ र सीमित अनुमति मात्र दिइएको छ। कुनै एउटा सहर वा नगरपालिका वा महानगरपालिकामा मात्र होइन देशभरि पटका निषेध गरी उल्लङ्घन गर्नेलाई जरिवाना गर्ने व्यवस्था गर्नुपर्छ।

यसका लागि प्रहरीको सतर्कता र नागरिकको सहयोग दुवै आवश्यक पर्दछ। तिहार भनेको उज्यालोको पर्व हो।

अन्धकारलाई हटाएर उज्यालो फैलाउने पर्व हो तर पटकाको धुवाँ र आवाजले तिहारलाई अन्धकारमय बनाइरहेको छ। हामीले तिहारको मौलिकतालाई फर्काउनुपर्छ। कागलाई माया गर्ने, कुकुरलाई सम्मान गर्ने, गाईलाई लक्ष्मी मान्ने हाम्रो संस्कृतिलाई जोगाउनुपर्छ।

अन्त्यमा, एउटा कुरा स्मरण गरौँ। हामीले पूजा गर्ने पशुपक्षी बोल्न सक्दैनन्। उनीहरूले आफ्नो पीडा व्यक्त गर्न सक्दैनन्। उनीहरूको पीडा बुझ्ने जिम्मेवारी हाम्रो हो।

पटका मनोरञ्जनको साधन होइन, अपितु यो हरेक दृष्टिकोणले अभिशाप हो । यस वर्षको तिहार त बिदा भइहाल्यो, जे–जति नोक्सान पटकाले गर्‍यो तपाईं–हाम्रोसामु छँदैछ।

अब अर्को वर्षदेखि पटकामुक्त तिहार मनाउन पाइयोस्। यसका लागि के के नियम कानुन चाहिन्छ अहिलेदेखि नै तयार पार्दै विकृति, विसङ्गति एवं अभिशापमुक्त तिहारको कल्पना गरौँ।

यसो गर्यौँ भने नै साँचो तिहार हुनेछ, यसैबाट हाम्रो संस्कृतिको रक्षा हुनेछ। हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ। रासस
अर्को समाचार
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
३९ मिनेट अघि
•
१ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
काठमाडौं। जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रतिबद्धतासहित ‘काठमाडौं जलवायु घोषणा, २०८३’ जारी गरेको छ।




जलवायु न्याय, समावेशी विकास र उत्थानशील सहर निर्माणलाई केन्द्रमा राखेर महानगरपालिकाले आइतबार एक सातादेखि सञ्चालन भइरहेको काठमाडौं जलवायु कार्य सप्ताहको समापनका अवसरमा उक्त घोषणा सार्वजनिक गरेको हो।

मंसिर ७ देखि १३ गतेसम्म आयोजित सप्ताहबाट प्राप्त ज्ञान, अनुभव, सुझाव र सिकाइलाई कार्यान्वयनमा रूपान्तरण गर्ने उद्देश्यले घोषणा जारी गरिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन्।

घोषणामा जलवायु परिवर्तन मानव सभ्यताको साझा चुनौती भएको उल्लेख गर्दै यसको सामना गर्न स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य, समन्वय र समावेशी सहभागिता आवश्यक रहेको औँल्याइएको छ।

जलवायु न्यायको सिद्धान्त आत्मसात् गर्दै विकसित राष्ट्रको जिम्मेवारी तथा विकासशील राष्ट्र र जोखिममा रहेका समुदायका आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

घोषणापत्रले सात क्षेत्रमा प्रतिबद्धता जनाएको छ। यी प्रतिविद्धतामा, पहिलो, जलवायु परिवर्तनलाई साझा चुनौतीका रूपमा स्वीकार गर्दै साझा समाधानको प्रयास गर्ने रहेको छ भने दोस्रोमा जलवायु परिवर्तनसम्बन्धी विषयलाई नयाँ पुस्ताको सरोकार बनाउने विषय समावेश छ।

यसैगरी, तेस्रोमा  प्रकृतिमैत्री विकास र प्रकृतिमा आधारित समाधानलाई प्राथमिकता दिने तथा चौथोमा , काठमाडौं उपत्यकाको विशिष्ट पहिचान संरक्षण गर्दै जलवायु उत्थानशील सहर निर्माण गर्ने विषय समावेश छ।

यसैगरी पाँचौँ प्रतिविद्धतामा जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रममा नागरिक तथा समुदायको सहभागिता बढाउने र  छैटौँमा जलवायु न्यायको केन्द्रमा नागरिक र जोखिममा रहेका समुदायलाई राख्ने विषय समावेश छ। सातौँ तथा अन्तीम वुदामा प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने कुरा समेटिएको छ।

महानगरपालिकाले विद्यालय तहदेखि नै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन र दिगो विकाससम्बन्धी विषयलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने जनाएको छ।

बालबालिका, युवा तथा नयाँ पुस्तालाई जलवायु परिवर्तनका असर र समाधानका विषयमा सचेत बनाउँदै निर्णय प्रक्रियामा समेत सक्रिय सहभागी गराउने घोषणा गरिएको छ।

त्यस्तै, विकासका नाममा प्रकृति, नदी, खोला, वन, सिमसार, खुला क्षेत्र र जैविक विविधतामाथि पर्ने दबाब घटाउन रैथाने ज्ञान, स्थानीय सीप र वैज्ञानिक अनुसन्धानलाई विकास आयोजनासँग जोड्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

विकासका हरेक योजना तथा आयोजनामा जलवायु जोखिम मूल्याङ्कन, वातावरणीय संवेदनशीलता र दीर्घकालीन प्रभावलाई अनिवार्य रूपमा समेटिने घोषणामा उल्लेख छ।

काठमाडौं उपत्यकाको भौगोलिक बनावट, वन तथा जलाधार क्षेत्र, परम्परागत पानीका स्रोत र नदी सभ्यतासहितको विशिष्ट पहिचान संरक्षण गर्दै जलवायु उत्थानशील सहर निर्माण गर्ने प्रतिबद्धता पनि गरिएको छ।

यसका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयन, वायु प्रदूषण नियन्त्रण, आकाशे पानी तथा वर्षाको पानी सङ्कलन, रिचार्ज काठमाडौं अभियान, नदी तथा खोलाको पुनर्जीवन र हरित क्षेत्र विस्तारलाई प्राथमिकता दिइनेछ।

हिटी, पोखरी, राजकुलो तथा सांस्कृतिक सम्पदाको संरक्षण र सफा टेम्पो तथा बिजुली बसजस्ता विद्युतीय सार्वजनिक यातायातको प्रवद्र्धन पनि घोषणामा समेटिएको छ।

जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रमलाई सम्मेलन र नीतिमा मात्र सीमित नराखी नागरिकको दैनिक जीवनसँग जोड्ने महानगरको प्रतिबद्धता छ। सहरी नीति, योजना, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा स्वच्छ ऊर्जा, ऊर्जा दक्षता, फोहोरमैला व्यवस्थापन, मिथेन उत्सर्जन न्यूनीकरण, सार्वजनिक यातायात, हरित पूर्वाधार, पानीको मितव्ययी उपयोग र दिगो उपभोगलाई प्राथमिकता दिइनेछ। विपद् आउनुअघि तयारी गर्ने, जोखिम घटाउने र क्षति भएपछि पुनःस्थापना गर्ने क्षमता पनि संस्थागत गरिनेछ।

घोषणाले जलवायु न्यायको केन्द्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदाय, अनौपचारिक बस्तीका बासिन्दा तथा जलवायु जोखिममा रहेका अन्य समूहलाई राखेको छ।

स्थानीय ज्ञान, परम्परागत सीप, रैथाने खाना र दिगो खाद्य प्रणालीलाई वैज्ञानिक अनुसन्धानसँग जोड्दै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ। जलवायु सुरक्षा सुविधा नभई प्रत्येक नागरिकको अधिकारका रूपमा स्थापित गर्ने घोषणामा उल्लेख छ।

घोषणा सार्वजनिक गर्दै कार्यवाहक प्रमुख डंगोलले जलवायु सप्ताहबाट प्राप्त ज्ञान, अनुभव र सुझावलाई कार्यान्वयनमा रूपान्तरण गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताइन्।

उनले जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण गर्दै काठमाडौंलाई उत्थानशील सहर बनाउने अभियानमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।

‘जलवायु परिवर्तन मानव सभ्यताको साझा चुनौती भएकाले स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य, समन्वय र समावेशी सहभागिता सुनिश्चित गर्दै जलवायु न्यायको सिद्धान्त आत्मसात् गर्नेछौँ,’ उनले भनिन्।

जलवायु सप्ताहमा उठेका विषय, छलफल र निष्कर्षलाई कार्ययोजना, समयसीमा, जिम्मेवार निकाय र मापनयोग्य उपलब्धिसहित कार्यान्वयनमा लैजाने महानगरपालिकाले जनाएको छ।

यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था, निजी क्षेत्र, प्राज्ञिक तथा अनुसन्धान संस्था र समुदायबीच दीर्घकालीन साझेदारी तथा सहकार्य संयन्त्र विकास गरिनेछ। जलवायु वित्त, प्रविधि र ज्ञानमा स्थानीय तहको पहुँच विस्तार गर्दै पारदर्शी अनुगमन, नियमित समीक्षा र सार्वजनिक जवाफदेहिताको व्यवस्था गर्ने प्रतिबद्धता पनि घोषणामा गरिएको छ।

घोषणापत्रमा प्रतिबद्धता कार्यान्वयन गर्नु साझा दायित्व भएको उल्लेख गर्दै बहुक्षेत्रीय समन्वय, संस्थागत साझेदारी, स्रोत परिचालन र नियमित अनुगमनमार्फत काठमाडौं जलवायु घोषणा, २०८३ कार्यान्वयन गर्ने सङ्कल्प व्यक्त गरिएको छ।
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
यो पनि पढौँ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस