पूर्वाधारले पनि खोज्दैछन् राज्य: व्यवस्था फेरियो, नेतृत्व फेरियो, नागरिकको दुःख फेरिएन
०१ भदौ २०८३
•
५ मिनेट पाठ
पूर्वाधारले पनि खोज्दैछन् राज्य: व्यवस्था फेरियो, नेतृत्व फेरियो, नागरिकको दुःख फेरिएन
मुलुकमा पटक–पटक राजनीतिक व्यवस्था फेरिए । सरकार बदलिए, नेतृत्व फेरियो र विकासका नाममा नयाँ–नयाँ प्रतिबद्धता पनि दोहोरिए । तर रौतहट र सर्लाहीका नदी किनारका नागरिकको दैनिकी भने वर्षौंदेखि उस्तै छ ।




वर्षौंअघि शिलान्यास भएका करोडौं रुपैयाँका पुल निर्माण सम्पन्न नहुँदा हजारौं नागरिक आज पनि जोखिम मोलेर डुङ्गाबाट नदी वारपार गर्न बाध्य छन् । रौतहट–सर्लाही जोड्ने महत्वपूर्ण मार्गमा निर्माणाधीन टिकुलिया घाटस्थित लालबकैया नदी पुल, दुर्गा भगवती गाउँपालिका–५ बडहर्वास्थित बागमती नदी पुल र सोही गाउँपालिका–१ गंगापिपरास्थित बागमती नदी पुल विकास निर्माणमा देखिएको चरम ढिलासुस्तीका उदाहरण बनेका छन् ।

यी पुल समयमै निर्माण सम्पन्न भएको भए रौतहट र सर्लाहीबीचको आवागमन सहज हुनुका साथै कृषि, व्यापार, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा समेत सकारात्मक प्रभाव पर्ने थियो । तर वर्षौंसम्म आयोजना अलपत्र हुँदा राज्यको करोडौं लगानी निष्फल बनेको भन्दै स्थानीय आक्रोशित छन् ।

१५ वर्षदेखि अलपत्र टिकुलिया पुल

गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा लालबकैया नदीमाथि निर्माण सुरु भएको पुल १५ वर्ष बितिसक्दा पनि पूर्ण हुन सकेको छैन ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ असार २९ गते शिलान्यास गरेको उक्त पुल निर्माणका लागि १४ करोड ९३ लाख २७ हजार रुपैयाँमा पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । सम्झौताअनुसार २०७५ असार २५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयभित्र काम पूरा भएन र आयोजना लामो समय अलपत्र रह्यो ।

स्थानीयको निरन्तर दबाबपछि बाँकी काम सम्पन्न गर्न २०८० असोज ९ गते आजाद–दिपु जेभीसँग २७ करोड ६६ लाख रुपैयाँमा पुनः सम्झौता गरिएको थियो । सम्झौताअनुसार २०८१ चैत १ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि बजेट अभाव तथा प्राविधिक कारणले कामले अपेक्षित गति लिन सकेको छैन ।

पुल नबन्दा गौर र ईशनाथ नगरपालिकाका स्थानीय वर्षायाममा भारतीय सहरको बाटो हुँदै सदरमुकाम आवतजावत गर्न बाध्य छन् । बकैया नदीमा बाढी आएको समयमा भने डुङ्गाको सहारामा नदी तर्नुपर्ने अवस्था रहेको गौर–३ टिकुलियाका पासपत राय यादवले बताए ।

उनका अनुसार वृद्धवृद्धा, बालबालिका, विद्यार्थी, बिरामी तथा सुत्केरी महिलाका लागि नदी वारपार गर्नु झनै जोखिमपूर्ण हुन्छ ।

टिकुलिया घाटमा २०७५ सालमा डुङ्गा पल्टिँदा पाँच जनाको मृत्यु भएको घटना अझै स्थानीयको स्मृतिमा ताजा छ । अहिले बाहिरी व्यक्तिले नदी पार गर्दा प्रतिव्यक्ति ३० रुपैयाँ तिर्नुपर्ने भए पनि गौर र ईशनाथ नगरपालिकाका स्थानीयलाई यस वर्ष निःशुल्क डुङ्गा सेवा दिइएको डुङ्गा चालक पतिराम सहनीले बताए ।

बाढीले स्पान बगाएपछि गंगापिपरा पुल ठप्प

रौतहट–सर्लाही जोड्ने हुलाकी सडकअन्तर्गत दुर्गा भगवती गाउँपालिका–५ बडहर्वा र वडा नं. १ गंगापिपरा जोड्ने बागमती नदी पुलको अवस्था पनि उस्तै छ ।

२०७३ असार २८ गते करिब ८६ करोड ३७ लाख ९ हजार रुपैयाँमा टुण्डी–रसुवा–पप्पु जेभीसँग ठेक्का सम्झौता भएको यो पुल पटक–पटक म्याद थपिँदा पनि पूर्ण हुन सकेको छैन । पछिल्लो पटक २०८३ कात्तिक १३ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पुलको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको थियो । तर २०८१ असोजको बाढीले पुलको एउटा स्पान बगाउनुका साथै फाउन्डेसनमा समेत क्षति पुर्‍याएपछि निर्माण कार्य ठप्प भएको मत्सरीका वीरेन्द्र मिश्रले बताए ।

माटो परीक्षण तथा डिजाइन पुनरावलोकनका कारण काम प्रभावित भएको निर्माण पक्षको भनाइ छ । तर स्थानीय भने राज्यका सम्बन्धित निकायबाट आवश्यक तदारुकता नदेखिएको आरोप लगाउँछन् ।

पुल निर्माण पूरा नहुँदा दैनिक एक हजारभन्दा बढी नागरिक जोखिम मोलेर नदी पार गर्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ । यसको प्रत्यक्ष असर व्यापार, शिक्षा, स्वास्थ्य उपचार, रोजगारी तथा दैनिक आवागमनमा परेको छ ।

बडहर्वा पुल : शिलान्यास पुरानो, समस्या उस्तै

हुलाकी राजमार्गअन्तर्गत दुर्गा भगवती गाउँपालिका–५ बडहर्वास्थित बागमती नदीको पुल पनि वर्षौंदेखि अधुरै छ ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले २०६६ सालमा शिलान्यास गरेको उक्त पुलका स्पान निर्माण भए पनि बाँकी कामले अपेक्षित गति लिन सकेको छैन ।

वर्षौंअघि शिलान्यास भएको पुलमा राज्यको ठूलो लगानी भइसकेको छ । तर सर्वसाधारणले त्यसको प्रत्यक्ष लाभ लिन पाएका छैनन् । वर्षायाममा नदी वारपार गर्दा जोखिम मोल्नुपर्ने बाध्यता कायमै रहेपछि स्थानीयमा निराशा र आक्रोश बढ्दै गएको छ ।

शिलान्यास गर्ने सरकार फेरिए, मन्त्री फेरिए, नेताहरूको अवस्था फेरियो, तर पुल पर्खिरहेका नागरिकको दुःख किन फेरिएन भन्दै नागरिकले सधैँ एकै प्रश्न गर्ने गरेका छन् ।  

एउटै आयोजनामा वर्षौंसम्म पटक–पटक म्याद थपिनु, लागत बढ्दै जानु र नागरिकले अझै डुङ्गाकै सहारा लिनुपर्ने अवस्था विकास निर्माणमा रहेको कमजोरीको स्पष्ट संकेत भएको स्थानीयको भनाइ छ ।

पुल निर्माणमा ढिलाइ हुँदा राज्यको लागत मात्र बढ्दैन, यसको प्रत्यक्ष मूल्य नागरिकले दैनिक रूपमा चुकाउनुपर्छ । वर्षायाममा नदीको बहाव बढ्दा जोखिम झनै गम्भीर बन्छ । आपत्कालीन अवस्थामा बिरामीलाई अस्पताल पुर्‍याउन, विद्यार्थीलाई विद्यालय जान तथा किसानलाई आफ्नो उत्पादन बजारसम्म लैजानसमेत समस्या हुने गरेको स्थानीय बताउँछन् ।

स्थानीयवासी, जनप्रतिनिधि तथा नागरिक समाजले तीनै पुल निर्माणका लागि आवश्यक बजेट तत्काल सुनिश्चित गरी कामलाई युद्धस्तरमा अघि बढाउन सम्बन्धित मन्त्रालय तथा सडक विभागसँग माग गरेका छन् । पटक–पटक म्याद थपेर पनि निर्माणले गति नलिए आन्दोलनमा उत्रिने चेतावनीसमेत उनीहरूले दिएका छन् ।

समयमै पुल निर्माण सम्पन्न भए रौतहट, सर्लाहीसहित मधेसका विभिन्न जिल्लाबीचको आवागमन सहज हुने, स्थानीय उत्पादनको बजार विस्तार हुने र व्यापारिक गतिविधिले गति लिने अपेक्षा गरिएको छ ।

राजनीतिक नेतृत्वका लागि शिलान्यास, भाषण र प्रतिबद्धता उपलब्धिको विषय बन्न सक्छन् । तर नदी किनारमा वर्षौंदेखि डुङ्गामा जीवनको जोखिम मोलेर यात्रा गरिरहेका नागरिकका लागि उपलब्धि भनेको सुरक्षित र सञ्चालनयोग्य पुलको सुनिश्चितता हो ।

रौतहट र सर्लाहीका नागरिक अब आश्वासन होइन, शिलान्यासको पत्थर होइन, आफ्नै आँखाअगाडि बनेको पुलमा विकास देख्न चाहन्छन् । दुर्गा भगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरुण साहले भने, “अब नागरिकलाई भाषण होइन, बनेको पुल चाहिएको छ ।”
अर्को समाचार
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
१५ मिनेट अघि
•
१ मिनेट पाठ
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
कास्की,  पोखरा महानगरपालिका-२९ नौबिसेटोलमा शनिबार बिहानैदेखि परम्परागत दाइँको रौनक छाएको थियो।




धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल छान्दै थिए।

खेतका कान्लामा बसेर परम्परागत रूपमा धान थन्क्याउने नेपालको कृषि कार्यको दृश्य विदेशी पर्यटकले रमाइलो मानेर हेरिरहेका थिए। ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा नौबिसेटोलमा तेस्रो संस्करणको दाइँ महोत्सव आयोजना गरिएको थियो।

संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि गरिएको महोत्सवमा विदेशी पर्यटकले नेपाली धान थन्क्याउने परम्परा नजिकबाट नियाल्ने अवसर पाए। हिमालको पृष्ठभूमिमा धान चुट्ने र गोरु धपाउने दृश्य उनीहरूका लागि नौलो अनुभव बनेको थियो। केही पर्यटक आफैँ दाइँमा सहभागी भएर रमाएका थिए।

इङ्ल्यान्डका पर्यटक मार्कले गोरु धपाउन सुरु गरे भने उनलाई अन्य पर्यटकले पनि साथ दिए। पदयात्राका लागि नेपाल आएका मार्कले दाइँ महोत्सवमा सहभागी हुन पाउँदा खुसी लागेको बताए।

“म दुई हप्ताका लागि नेपाल आएको हुँ। पदयात्रामा जाने योजना छ। हिमालको पृष्ठभूमिमा धानको महोत्सवमा सहभागी भएर गोरु धपाउने काम मेरा लागि पहिलो अनुभव हो। म खुसी भएँ। स्वदेश फर्किएर साथीहरूलाई यसबारे सुनाउनेछु”, उनले भने।

दुई महिनाका लागि अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न आएकी जापानी पर्यटक हितुमीले पनि दाइँ महोत्सवमा सहभागी हुँदा उत्साहित भएको बताइन्। गोरु धपाउने अनुभव रमाइलो लागे पनि धान चुट्ने तरिका भने आफूलाई कठिन लागेको उनको भनाइ थियो। “मैले गोरु धपाएँ, राम्रो लाग्यो तर धान चुट्न सकिनँ, अग्लो हुँदोरहेछ। नेपालको कृषि गर्ने तरिका रमाइलो रहेछ”, उनले भनिन्।

चिनियाँ पर्यटक सन्देशले चीनमा पनि परम्परागत रूपमा यसैगरी खेती गर्ने गरिएको बताए। धान रोप्ने र थन्क्याउने तरिका नेपाल र चीनमा उस्तै रहेको उल्लेख गर्दै उनले आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउनुपर्ने बताए।

“आजभोलि धेरै विकास भएको छ, ट्रयाक्टर र मेसिन आएका छन्। अबका बच्चाबच्चीलाई धान कसरी आउँछ भन्ने कुरा सिकाउनुपर्छ”, उनले भने।

पोखरामा बढ्दो सहरीकरण र बदलिँदो जीवनशैलीसँगै लोप हुँदै गएको परम्परागत कृषि प्रणाली नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो। महोत्सवमा स्थानीवासी, विभिन्न विद्यालयका विद्यार्थी, बालबालिका लगायतको उपस्थिति थियो। 

महोत्सवका संयोजक एवं पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिराम अधिकारीले महोत्सवले परम्परागत खेती प्रणालीको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण र किसानलाई आफ्नो पेसाप्रति प्रोत्साहित गर्न सहयोग पुगेको बताए।

“यसबाट आन्तरिक तथा बाह्य पर्यटकको गतिविधि बढाउनुका साथै कृषि पर्यटनको विकासमा समेत योगदान पुग्ने विश्वास लिएका छौँँ”, अधिकारीले भने।

पोखरा महानगर प्रमुख धनराज आचार्यले पर्यटन प्रवर्द्धन होटलमा स्वदेशी तथा विदेशी पर्यटक ल्याएर राख्ने विषयमा मात्र सीमित नहुने बताए। पोखराको प्रकृति, संस्कृति र मौलिक परम्परालाई पर्यटकसमक्ष प्रस्तुत गर्नु पनि पर्यटन विकासको महत्त्वपूर्ण पक्ष भएको उनको भनाइ थियो।

“पोखरा प्रकृति, संस्कृति र साहसिक गतिविधिमा धनी सहर हो। हाम्रा आफ्नै मौलिक संस्कृति र परम्परा छन्। नयाँ पुस्ता, देशका विभिन्न भागबाट आउने नेपाली दाजुभाइ तथा विदेशी पाहुनालाई आफ्नो संस्कृति पस्कनुपर्छ भनेर विगत लामो समयदेखि विभिन्न महोत्सव गर्दै आएका छौँ”, उनले भने।

केही दिनअघि लेकसाइडमा गाईपूजा र कुकुरपूजाका गतिविधिमार्फत पनि विदेशी पर्यटकलाई नेपाली संस्कृति र प्रकृतिसँगको सम्बन्धबारे जानकारी गराइएको उनले बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले परम्परागत कृषि संस्कृति, ग्रामीण जीवनशैली र स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए।

“असारमा रोपाइँ महोत्सवमा सहभागी भएका पर्यटकले धान कसरी भित्र्याइन्छ भनेर चासो राख्न थालेपछि दाइँ महोत्सव सुरु गरेका हौँ। कृषिको आधुनिकीकरण बढ्दै गएको अहिलेको समयमा हलगोरु खोजेर परम्परागत विधिबाट दाइँ गर्दै पुरानो कृषि प्रणालीलाई जीवन्त राख्ने र पर्यटक आकर्षित गर्ने प्रयास गरेका छौँ”, उनले भने।

महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले सहरीकरण र बदलिँदो जीवनशैलीका कारण ओझेलमा पर्दै गएको परम्परागत कृषि प्रणालीको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न महोत्सवले सहयोग पुगेको बताए। 

महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण र कृषकलाई आफ्नो पेसाप्रति प्रोत्साहित गर्दै कृषि पर्यटनको विकासमा योगदान पुर्‍याउने उनको भनाइ थियो।

महोत्सवमा धान चुट्ने, दँदेरी, गुन्द्री बुन्ने र लठ्ठो तान्ने प्रतियोगिता सञ्चालन गरिएको थियो। साथै, धेरै धान उत्पादन गर्ने उत्कृष्ट किसानलाई सम्मानसमेत गरिएको थियो।
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
यो पनि पढौँ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस