अछामका विनोद शाही हत्या घटनामा उच्च अदालतद्वारा ६ जनालाई जन्म कैदको सजाय
०९ असार २०८३
•
३ मिनेट पाठ
अछामका विनोद शाही हत्या घटनामा उच्च अदालतद्वारा ६ जनालाई जन्म कैदको सजाय
चार वर्षअघि स्थानीय निर्वाचनका बेला अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाहीको हत्या भएको घटनामा उच्च अदालत दिपायलले ६ जनालाई जन्म कैद सजाय सुनाएको छ। चर्चित विनोद शाही हत्या प्रकरणमा जिल्ला अदालतको फैसला उल्टाउँदै ६ जनालाई जन्म कैदको सजाय गर्ने फैसला भएको हो।




उच्च अदालतका मुख्य न्यायाधीश दिनेशप्रसाद यादव र पुनम सिंह चन्दको संयुक्त इजलासले सोमबार विनोद शाही हत्या घटनामा ६ जनालाई अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम जन्म कैद सजाय हुने फैसला गरेको अदालतका प्रवक्ता नरबहादुर नेगीले बताएका छन्।

शाहीको हत्याको घटनामा जिल्ला अदालत अछामले प्रतिवादी १० जनालाई २०८२ साल कात्तिक २१ गते सफाइ दिने फैसला सुनाएको थियो।  

जिल्ला अदालतको फैसलापछि २०८२ पुस २९ गते १० जनाविरुद्ध उच्च अदालत दिपायलमा पुनरावेदन दर्ता गरिएको थियो।

प्रतिवादीमध्ये सज्जन शाही, महेन्द्र शाही, वीरेन्द्र शाही, देवेन्द्र शाही, पृथ्वी शाही र अक्कल शाहीलाई जन्म कैदको सजाय सुनाइएको उनले बताए। उनीहरूलाई जनही १ लाखका दरले पीडितलाई क्षतिपूर्ति पनि भराउन आदेश भएको छ। सज्जन शाही नेपाली कांग्रेसका नगर सभापति समेत हुन्।

अन्य चार जना प्रतिवादी पानमति बम शाही, द्रोपती शाही, कर्णबहादुर शाही र शान्तिकुमारी शाहीले भने उच्च अदालतबाट पनि सफाइ पाएका छन्। उनीहरूको हकमा जिल्लाकै निर्णय सदर हुने ठहर गरिएको उनले बताए।

जिल्लाको फैसलापछि पुर्पक्षका लागि थुनामा रहेका ५ जना समेत रिहा भएका थिए। उच्च अदालतमा पुनरावेदन गरिएपछि प्रतिवादी १० जनाले अदालतले खोजेको बेला उपस्थित हुने गरी हाजिरी तारेखमा नबस्ने सुविधा लिएको प्रवक्ता नेगीले बताए।

घटना के थियो?

३० वैशाख २०७९ को स्थानीय तह चुनावको दिन पञ्चदेवल विनायक नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबिच झडप भएको थियो। निर्वाचन स्थल नजिक भएको झडप त्यत्तिकैमा साम्य भएन। घर फर्केपछि पनि दुई समूहबिच कुटपिट र सामूहिक झडप हुने क्रम चल्यो। प्रहरी प्रशासनलाई छलफल गराएर मिलाउन भन्दा पनि गम्भीर रूपमा नलिएको स्थानीयको गुनासो छ।

दुई सातापछि जेठ १६ गते बिनायक बजारमा गंगा शाहीमाथि कुटपिट भएपछि घटनाले पुन: उग्र रूप लियो। बिनायक बजारमा दुवै समूह बिच झडप हुन्छ। जेठ १७ गते विनोदका भाइ नाता पर्ने  १० वर्षीय श्यामबहादुर शाहीमाथि कुटपिट भएको भन्दै नेकपा एमालेका समर्थकको समूह गएर नेपाली कांग्रेसका कार्यकर्ता सुरत शाही लगायतलाई कुटपिट गर्छन्। कुटपिट खाने पक्षको समूहले प्रहरीमा उजुरी दिएपछि त्यही साँझ प्रहरीको टोली पक्राउ गर्न गाउँमा पुग्छ।

प्रहरी पक्राउ गर्न आएपछि एमालेका कार्यकर्ताले अवरोध गर्न खोज्दा झडप भएको थियो। प्रहरीसँगको झडप हुँदा नेकपा एमाले समर्थक लगायत गाउँका सबै युवाहरू भागाभाग भएर फरार हुन्छन्। १८ गते घरबाट भागेका युवाहरू मोबाइल समेत स्विचअफ गरेर सम्पर्कविहीन हुन्छन्। दुई/तीन दिनसम्म सबै सकुशल सम्पर्कमा आए पनि विनोद सम्पर्कमा आउँदैनन्। जेठ २१ गते घर नजिकैको जंगलमा मृत अवस्थामा उनी भेटिएको मृतकका दाजु बखतबहादुर शाही बताउँछन्।

त्यतिबेला प्रहरीको भूमिका ठीक नभएकाले घटना घटेको उनको भनाइ छ।

२१ जेठमा घर नजिकैको जंगलमा मृत भेटिएका शाहीको हत्या गरेको भन्दै पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिए पनि जिल्ला सरकारी वकिल कार्यालय अछामले मेयर चलाउनेसहित तीन जना आरोपितविरुद्ध मुद्दा नचलाउने निर्णय गरेर १० जनाविरुद्ध मात्र मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता गर्न आनाकानी भएपछि विनोद शाही हत्या घटनाबारे संसदमा पनि कुरा उठेको थियो।

मुद्दा दर्ता गर्न सभामुखले नै सरकारलाई रुलिङ गरेका थिए। ५ जना पुर्पक्षका लागि थुनामा परेका थिए भने ५ जना धरौटीमा रिहा भएका थिए। जिल्ला अदालतको फैसलापछि थुनामा रहेका पनि रिहा भएका थिए।
अर्को समाचार
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
३ सेकेन्ड अघि
•
१ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
मोरङ । जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ। जापान सरकारको २ अर्ब २९ करोड रुपैयाँ (जापानी येन) अनुदान सहयोगमा निर्माण सम्पन्न भएको उक्त आयोजना शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो। आयोजनाबाट विराटनगरका करिब एक लाख नगरवासीलाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्य राखिएको छ।




विराटनगर–५ मा आयोजित आयोजना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा महानगरपालिकाका प्रमुख नागेश कोइरालाले खानेपानी सुधार आयोजना विराटनगरको खानेपानी समस्या समाधानका लागि दीर्घकालीन महत्त्वको परियोजना भएको बताए। उनले महानगरका १५ वटै वडाका बासिन्दालाई स्वच्छ खानेपानीको सुविधा पुर्‍याउन आयोजनाले महत्त्वपूर्ण योगदान गर्ने बताए।

आयोजनाबाट विराटनगरका करिब एक लाख नागरिक लाभान्वित हुने र महानगरका १५ वटै वडाका बासिन्दाले स्वच्छ खानेपानीको सुविधा पाउने गरी दोस्रो चरणको आयोजना सञ्चालन गर्न जापान सरकारसँग कोइरालाले आग्रह गरे।

नेपालका लागि जापानी राजदूत तारो मादाले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाइरहेको वर्षमा आयोजना सम्पन्न हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए। जापान लामो समयदेखि नेपालको विकास साझेदार रहँदै आएको उल्लेख गर्दै उनले मेलम्ची खानेपानी आयोजना र पोखरा खानेपानी सुधार आयोजनामा समेत जापानले सहयोग गरेको स्मरण गरे।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रतिनिधि इन्डो केइले सुरक्षित र भरपर्दो खानेपानी मानव जीवन तथा समाजका लागि अपरिहार्य रहेको बताए। खानेपानीले जनस्वास्थ्यमा सुधार ल्याउनुका साथै नागरिकको जीवनस्तर उकास्न र दिगो सहरी विकासमा समेत योगदान पुर्‍याउने उनको भनाइ थियो।

नेपाल खानेपानी संस्थानले पाइप जडानको काम पूरा गरेपछि प्रणाली औपचारिक रूपमा सञ्चालनमा आउने र विराटनगरको कुल जनसङ्ख्याको करिब ४० प्रतिशत अर्थात् ९३ हजार नागरिकले स्वच्छ तथा सुरक्षित खानेपानी पाउने उनले बताए।

नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारले आयोजनाबाट विराटनगरको खानेपानी आपूर्तिमा सुधार आउने विश्वास व्यक्त गर्दै बाँकी वडालाई समेत समेटेर दोस्रो चरणको आयोजना अघि बढाउन आग्रह गरे।

सन् २०२४ जुन २५ मा निर्माण सुरु भएको आयोजना सन् २०२६ अक्टोबर १४ मा सम्पन्न भएको हो। जाइकाको आर्थिक सहयोगमा जापानको एमएआरएस सिमिजु कर्पोरेसनले आयोजना निर्माण गरेको हो।

आयोजनाअन्तर्गत विराटनगरमा ५६ दशमलव २६ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ। ¥यापिड स्यान्ड फिल्टर प्रविधिमा आधारित चारवटा खानेपानी प्रशोधन केन्द्र, चारवटा पानी भण्डारण ट्याङ्की, तीनवटा पम्प भवन, एउटा ओभरहेड ट्याङ्की र एउटा प्रशासनिक भवन निर्माण गरिएको छ।

त्यसैगरी, आयोजनाअन्तर्गत १ हजार १९८ घरधुरीमा खानेपानी धारा जडान गरिएको छ। आयोजना सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी नेपाल खानेपानी संस्थानले गर्नेछ।
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३ सेकेन्ड अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस