गाडीबाट हामफालेका सहचालक भन्छन् : बसमा सवार ३० जनालाई बाढीले बगाएको सम्झँदा मन काँप्छ
१८ भदौ २०८३
•
६ मिनेट पाठ
गाडीबाट हामफालेका सहचालक भन्छन् : बसमा सवार ३० जनालाई बाढीले बगाएको सम्झँदा मन काँप्छ
‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको ? यता हेर्नुस् त आमा, म त फर्केर आएको छु।’ घर फर्किएपछि निरज भण्डारीले भावुक आमालाई यसरी सम्झाए।




छोरा आँखै अगाडि छोरालाई देख्दा पनि आमा प्रेमकुमारी ढकालका आँसु थामिएनन्। उनी केहीबेर घुक्कघुक्क गर्दै रोइरहिन्। घरमा सन्नाटा छाएको थियो। छोरा फर्किएको खुसीभन्दा मनमा त्रास बढेको थियो।  

‘आमा, म त फर्केर आएँ, खरानीबाट उठेर आएँ...’

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनको घटना क्रमलाई समेटेर लेखेका यो गीतको भावसँग गोरखा सिरानचोक गाउँपालिकाका निरजको कथा पनि मिल्छ। निरज बसका सहचालकका रूपमा काम गर्दै आएका थिए।

भदौ १० गते बिहान करिब ४ः३० बजे उनी पालुङटार नगरपालिका–५ बाट ३६ यात्रु बोकेको पृथ्वी यातायातको ग२ख ११५२ नम्बरको बसमा रसुवाको गोसाइँकुण्ड यात्राका लागि निस्कए।

कहिले लोकगीत, कहिले आधुनिक त कहिले तीज गीत घन्काउँदै गाडी अगाडि बढिरहेको थियो। के थाहा यात्रुहरूलाई गाडीले गोसाइँकुण्ड नपुर्याउँदै मृत्युको मुखमा पुर्याउँदैछ । यात्रासँगै यात्रुको जीवन र मृत्युबीचको दूरी नजिक धकेलिरहेको थियो। बिहान बाढीले छोराले चलाउने गाडी नै बगायो रे भन्ने खबर आयो। त्यसपछि घरमा रुवाबासी नै चल्यो, परिवारले निरजको खबर पाउन सकेन।

दिन बितिसक्न लाग्यो। छोराले फोन गर्छ कि भन्दै पटकपटक फोन हेर्दै बसेकी आमा प्रेमकुमारीको मुटुमा चिसो पस्न थाल्यो। छोरालाई पनि त्यही भेलले बगायो झैँ लाग्न थाल्यो। छोरा आउने आशा र डर मिश्रित आमाको मन छट्पटाउन थाल्यो। निरजको मोबाइल पनि गाडीसँगै भेलले बगाएको रहेछ।

एकाएक समाचार आउन थाल्योः पालुङटारबाट आज बिहान गोसाइँकुण्डका लागि छुटेको गाडीमा सवार सहचालकसहित छ जनाले हामफालेर ज्यान जोगाए।

खबर सुनेपछि पनि प्रेमकुमारीलाई छोराको आवाज नसुनेसम्म छोरा जिवित रहेको भन्ने निश्चित लागेन। साँझपख मात्रै निरजले कसैको फोन मागेर बुबालाई फोन गरेका थिए।

‘छोराले फोन गरेपछि बल्ल लामो स्वास फेरेँ। कहिले छोरो आउला र देखौँला ? जस्तो भयो। छोरा घर फर्केपछि खुसीले आँसु नै रोकिएन’, रुन्चे स्वरमा उनी भन्छन्।

भोटेकोशीको बाढीले धेरै परिवारका सपना बगायो। कसैलाई आफन्तविहीन बनायो, कसैको घरबार खोस्यो। तर निरजजस्ता केहीका लागि त्यो विनाशको बीचबाट घर फर्किनु पुनर्जन्म जस्तै बन्यो।

बाढीलाई समान्य ठानियो

गल्छीमा नास्ता खाएर गाडी नुवाकोटतर्फ अघि बढ्यो । गल्छीमा नै हुँदा रसुवाबाट बाढी आएको छ रे भन्ने गाइँगुइँ कुरा सुनिएको थियो तर त्यस्तो महाविपत्ति होला भनेर कसैले पत्ताएनन्।

यात्रुहरू आ–आफ्नै कुराकानीमा थिए। बाहिर घाम लागिरहेको थियो। त्रिशूली नदी पनि सधैँ झैँ आफ्नै गतिमा सुस्तरी बगिरहेको देखिन्थ्यो।

नुवाकोटको भैँसे भन्ने स्थानमा पुगेपछि कसैले अचानक भन्यो, ‘बाढी आइरहेको छ, भागौँभागौँ।’ तर त्यो आवाजलाई कसैले गम्भीरतापूर्वक लिएनन्। ‘यस्तो घाम लागिरहेको छ, कसरी बाढी आउँछ ?’ गाडीभित्र यात्रुबीच कुरा चल्यो।

केही क्षणअघिसम्म सामान्य देखिएको वातावरण एकाएक बदलियो। गड्याङगुडुङको आवाज सुनियो। त्यो आवाज सामान्य थिएन। मानौँ कुनै ठूलो प्रलय आउनुअघि प्रकृतिले दिएको अन्तिम सङ्केत थियो।

‘गाडी रोक, गाडी रोक !’ अचानक चर्को आवाज आयो।

ढोका नजिकै बसेका सहचालक निरजले माथिबाट माटो, ढुङ्गा र लेदो मिसिएको ठूलो बाढीको छाल आउँदै गरेको देखे।

उनले चालक सागर देवकोटालाई गाडी रोक्न भने। तर गाडी पार गरिहालिन्छ भन्ने सोचेर चालकले रोक्न नमानेको बताउछन् निरज।

त्यसपछि केही सेकेन्डमै सबैथोक बदलियो।‘धुलोसहितको ठूलो बाढीको छाल देखेँ । दृश्य नै अर्कै थियो’, निरज सम्झिन्छन्, ‘चालकलाई मैले ‘भागौँ, बाढी आइसक्यो दाइ’ भनेँ। कटिहालिन्छ भनेर होला, ड्राइभर दाइले गाडी रोक्नै मान्नुभएन। म त ढोकाबाट हामफालेर माथितिर दौडेँ।’

त्यहाँबाट तल फर्केर हेर्दा उनले देखेको दृश्य अहिले पनि आँखाबाट हटेको छैन। गाडी थिएन। गाडी सँगैसँगै भएका यात्रु बगाए। दैनिकजसो गााडीमा सँगै हिँड्ने चालकलाई निरजले हेरे । देखेनन्। केही क्षणअघि मानिसको चहलपहल रहेको सडक र वरपरको भूभाग हेर्दाहेर्दै बगरमा परिणत भइसकेको थियो।

भेलसँगै बगिसकेको गाडीलाई निरज चाहेर पनि केही गर्नसक्ने अवस्थामा थिएन, न त्यहाँ अरू कसैले सहयोग गर्नसक्ने अवस्था थियो। ‘आफू बाँचेको खुसीभन्दा पनि आफूलाई माया गर्ने सागर दाइलगायत आफूसँगै आएका ३० जनाभन्दा बढी यात्रुलाई बाढीले बगाएको सम्झँदा धेरै दुःख लाग्छ’, निरज भन्छन्।

अझै बाँकी छ मानसिक सन्त्रास

अहिले निरज घरमा आमा बासँग सुरक्षित छन्। र पनि अहिलेसम्म उनलाई मानसिक रूपमा सन्त्रास बाँकी नै छ। ‘त्यो घटनापछि बाबु राम्रोसँग बोलेको पनि छैन। हाँसेको पनि छैन। निरास देखिन्छ। खाना पनि रुचेन भन्छ’, सानिमा गङ्गा ढकाल भन्छिन्, ‘सबैभन्दा बाबुलाई चालकले माया गर्थे। उनलाई गुमाउनुपर्दा धेरै चिन्तित बनेको हुनसक्छ। अहिले पनि एकान्तमा बसेर टोलाइरहन्छन्।’ त्यो दृश्यले अझै झस्काइरहेको छ। निरजलाई सबै कुरा सपना जस्तै बनाएको छ।

बाढीले निरजको स्मृतिमा एउटा यस्तो दिन छाडेर गयो, जसलाई सम्झना साथ अहिले पनि उनको मन काँप्छ। यात्रुहरूसँगै बिताएका केही क्षण, बाटोमा भएका कुराकानी र बाढी आउनुअघिको त्यो सामान्य वातावरण अहिले निरजको सम्झनामा बारम्बार दोहोरिन्छ।

अहिले पनि त्यो दिनसँगै यात्रा गरेका अरू कति त फर्किएलान् भन्ने आशा लाग्छ तर दिन बित्दै जाँदा आशाको दियो पनि मधुरो बन्दै गएको बताउछन् उनी।

निरजलाई जस्तै अहिले आफन्त गुमाएका तथा हराइरहेका आफ्ना आफन्तका सम्झानाले सताइरहेको छ। उक्त गाडीमा सवार बद्री देवकोटा पनि हामफालेर बाँच्न सफल भए।

रविन्द्र देवकोटाले पनि बाढीको भयावह दृश्य देखेपछि गाडीबाट हामफालेर ज्यान जोगाए। बचेर आउने अन्य रविन्द्र देवकोटा, तुलराम देवकोटा, बाबुराम देवकोटा, पार्वती न्यौपानेका लागि पनि उक्त घटना सम्झँदा अझै मन तर्सिरहेको छ। उनीहरुले पनि बाहिरको दृश्य देखेपछि गाडीबाट हामफालेर ज्यान जोगाएका थिए।

पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले सम्पर्कविहीन तीर्थयात्रीको सकुशल उद्धारका लागि पालुङटार नगरपालिका निरन्तर रूपमा सम्बन्धित निकायसँग समन्वय र सहकार्यमा रहेको जानकारी दिए।

‘सबै तीर्थयात्रीको यथाशक्य सकुशल उद्धारका लागि पालुङटार नगरपालिका सम्पूर्ण प्रयासमा प्रतिबद्ध छ’, उनी भन्छन्।  

गाउँ नै शोकमा

एउटै गाउँबाट यात्रा गरेका मानिस एकैपटक बेपत्ता भएपछि पालुङटार–५ नै शोकमा डुबेको छ। सबैका घरका आँगन सुनसान छन्।

आफन्तको खोजीमा रहेका परिवारका आँखामा आशा र पीडा सँगसँगै देखिन्छ। कसैको घरमा प्रियजन फर्केर आउने प्रतीक्षा छ, कसैको घरमा सनाखतको खबरले सन्नाटा छाएको छ।

हिजोसम्म गाउँमा सुनिने हाँसो, कुराकानी र चहलपहलको ठाउँ अहिले फरक छ। बेपत्ता आफन्तको पर्खाइमा छन् कति। कति खोजमा व्यस्त छन्।

अहिलेसम्म पनि सास पाइएको छैन। घाइते भएर कतै अड्किएको भए पनि कतिको त साता दिनसम्म उद्धार नहुँदा मृत्यु भइसक्यो कि भन्ने चिन्ता छ। सास नपाएपछि अव लास पाए पनि हुने भनेर कुर्दैछन् आफन्त।

भोटेकोशी बाढीका कारण आफ्नै ठाउँका तीर्थ यात्रु सवार बगाएदेखि नै गाउँ नै शोकमा रहेको बताउछन्, पालुङटार नगरपालिका–५ का वडाध्यक्ष दीपक पाण्डे।

‘उक्त गाडीमा ३६ जना यात्रु सवार थिए। तीमध्ये छ जना सकुशल सम्पर्कमा आएका छन् भने ३० जना अझै बेपत्ता छन्’, पाण्डेले भने, ‘तीमध्ये कमला देवकोटा, केदार पण्डित, सुजता कौडाल, तारा रानाभाट र सुमी कुमालको सनाखत भइसकेको छ।’

बाढीले नदी किनार मात्रै बगाएन, यस गाउँको खुसी पनि सँगै बगाएर लगेको छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
५४ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस