भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, तीन हजार २५३ जनाको उद्धार
१२ भदौ २०८३
•
७ मिनेट पाठ
भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, तीन हजार २५३ जनाको उद्धार
रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३ हजार २९५ सुरक्षाकर्मी, १५ हेलिकप्टर तथा विभिन्न निकायका विषयगत आपतकालीन समन्वय टोली परिचालन गरिएको छ।




राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)ले आज गते बिहान ०८ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्य सेवा, सञ्चार तथा विद्युत् पुनःस्थापना, सडक सञ्चालन, राहत वितरण, अन्तर्राष्ट्रिय सहायता तथा सूचना व्यवस्थापनका लागि १२ विषयगत आपतकालीन समन्वय टोली गठन गरी परिचालन गरिएको जनाएको हो।

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका छ र निजी क्षेत्रका नौ गरी १५ हेलिकप्टर उद्धार तथा राहत कार्यमा परिचालन गरिएका छन्। स्थलगत तथा हवाई उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रतिवेदनमा उद्धारसम्बन्धी विवरणअनुसार हालसम्म जम्मा तीन हजार २५३ जनाको उद्धार गरिएको उल्लेख छ।

बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई तीव्र बनाउन नेपाल प्रहरीका सात हजार २५०, नेपाली सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ गरी कुल १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ।

हिम-चट्टान खस्दा आएको बाढी

प्राधिकरणको विवरणअनुसार २०८३ भदौ १० गते नेपाल-चीन सीमास्थित ल्हेन्दे खोलाको उत्तरी क्षेत्रमा करिब एक वर्ग किलोमिटर क्षेत्रफलको हिम-चट्टान खसेर ठूलो भू-चाल उत्पन्न भएको थियो। उक्त घटनाले म्याग्निच्युड ५.२ बराबरको भूकम्पीय सङ्केत दिएको बताइएको छ। हिम-चट्टान खस्दा भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा भीषण बाढी आएको र त्यसबाट व्यापक क्षति भएको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार, आपतकालीन स्वास्थ्य सेवा, सञ्चार तथा विद्युत् पुनःस्थापना, सडक सञ्जाल सञ्चालन, राहत वितरण, अन्तर्राष्ट्रिय सहायता र सूचना व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।

७३ घाइते, अस्पतालमा उपचार जारी

प्राधिकरणको विवरणअनुसार बाढीबाट हालसम्म ७३ जना घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपाचार जारी रहेको बताइएको छ।

नौ सय ७७ जना सम्पर्कविहीन  

प्राधिकरणको विवरणअनुसार हालसम्म ९७७ जना सम्पर्कविहीन रहेको उल्लेख छ। त्यस्तै आज बिहान ८ः३० बजेसम्ममा ४६९ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये धादिङमा ३३, नुवाकोटमा ३७, रसुवामा १२, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १७८ रहेका छन्।

सम्पर्कविहीन ९७७ जनामध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार र रसुवाका १६१ जना रहेका छन्। प्रतिवेदनमा सम्पर्कविहीन विदेशी नागरिकको सङ्ख्या ५१७ रहेको तथा नेपाल घुम्न आएका र विदेशमै बस्ने नेपाली नागरिकमध्ये १२७ जना सम्पर्कविहीन रहेको विवरण राखिएको छ।

सडक खुलाउन विभिन्न स्थानमा उपकरण परिचालन

बाढीका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन विभिन्न सडकखण्डमा उपकरण परिचालन गरिएको छ। देवीघाटको सडक अवरोध हटाउने काम सम्पन्न भइसकेको छ। गल्छी-विदुर-त्रिशूली तथा बैरेनी-मुग्लिन सडकखण्डमा अवरोध हटाउन उपकरण परिचालन गरिएको छ।

धुञ्चे-ग्राङ सडकखण्डमा एउटा हिल एक्साभेटर, एउटा लोडर र एउटा टिपर परिचालन गरिएको छ। त्यस्तै, विदुर-त्रिशूली-ढुङ्गे खण्डमा तीनवटा भारी उपकरण परिचालन गरिएको छ। बैरेनी-मुग्लिन खण्डमा एउटा ब्याक परिचालन गरिएको छ भने थप एउटा ह्विल लोडर नुवाकोट सडक डिभिजनबाट छिट्टै थप गर्ने तयारी गरिएको छ।

सडक अवरोध हटाउने कार्यलाई थप प्रभावकारी बनाउन सडक विभागअन्तर्गत काठमाडका दुई भारी उपकरण तयारी अवस्थामा राखिएका छन्। सडक डिभिजन मुलकोट र सडक डिभिजन डुम्रे (खैरेनी) मा पनि एक-एक वटा उपकरण राखिएका छन्। त्यस्तै जनकपुरमा नौवटा भारी उपकरण र चार वटा टिपर तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।

तीन जिल्लामा तत्काल राहत  

नेपाल सरकारले तत्काल राहत कार्य वितरणका लागि रसुवामा रु एक करोड, नुवाकोटमा रु एक करोड र धादिङमा रु ५० लाख गरी कुल दुई करोड ५० लाख नगद पठाएको जनाइएको छ। त्यस्तै, काठमाडौंलगायत क्षेत्रबाट राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइएको छ। प्रभावित परिवारलाई खाद्यान्न, पानी, त्रिपाल, कम्बल, सुत्ने सामग्री, सोलार बत्ती, जेनेरेटर, पावर बैंक, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी सामग्रीलगायत वितरण भइरहेको छ।

प्राधिकरणको विवरणअनुसार राहतका लागि ५०० झुल, चार हजार २०० वटा २० लिटरका बाल्टिन, एक हजार वटा बालबालिकाका डिग्निटी किट, १०० वटा सेतो टार्पोलिन, १५० वटा स्लीपिङ ब्याग, १०० म्याट्रेस, ७०० वटा कम्बल, ५०० वटा प्लास्टिक सिट, १०० रोल डोरी, एक हजार वटा सोलार ल्याम्प, ५०० वटा सोलार ल्याम्प प्लेट, ३० केभिए क्षमताको एक वटा जेनेरेटर, पावर बैंक, २०० हाराहारी टेन्ट, दुई वटा पोर्टेबल जेनेरेटर, दुई हजार १२० वटा पिरियड प्यान्टी र ९० वटा शव राख्ने ब्याग पठाइएको विवरणमा उल्लेख छ।

इन्धन आपूर्ति सहज बनाउन तयारी

नुवाकोटका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको प्राधिकरणले जनाएको छ। 

विभिन्न १२ विषयगत आपतकालीन समन्वय टोली परिचालन

बाढी प्रतिकार्यलाई समन्वित र प्रभावकारी बनाउन १२ विषयगत आपतकालीन समन्वय टोली गठन गरिएको छ। ती टोलीमा खोज, उद्धार तथा स्थानान्तरणदेखि सञ्चार, विद्युत्, स्वास्थ्य, शव व्यवस्थापन, अन्तरराष्ट्रिय सहायता, यातायात, क्षति मूल्याङ्कन, राहत र हवाई सञ्चालनसम्मका क्षेत्र समेटिएका छन्।

सर्च, रेस्क्यु एन्ड इभ्याकुएसन टोलीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण रहेका छन्। त्यस्तै, इमर्जेन्सी हेल्थ एन्ड मेडिकल रेस्पोन्स टिममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाली सेना र गृह मन्त्रालय रहेका छन्। शव व्यवस्थापन टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सशस्त्र प्रहरी बल नेपाल, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेका छन्।

इन्टरनेसनल असिस्टेन्स एन्ड डोनर कोअर्डिनेसन टोलीमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, समाज कल्याण परिषद्, नेपाली सेना र गृह मन्त्रालय रहेका छन्। ट्रान्सपोर्ट एन्ड रोड कनेक्टिभिटी टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, नेपाली सेना, सडक बोर्ड, यातायात व्यवसायी महासङ्घ, नेपाल प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण रहेका छन्। ¥यापिड ड्यामेज एन्ड निड्स एसेसमेन्ट टोलीमा राष्ट्रिय योजना आयोग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय तथ्याङ्क कार्यालय रहेका छन्।

मिसिङ पर्सन्स एन्ड फ्यामिली असिस्टेन्स टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना रहेका छन्। राहत अर्थात् खाद्यान्न, पानी तथा अत्यावश्यक सामग्री व्यवस्थापन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा स्वास्थ्य तथा खाद्य स्वच्छतासम्बन्धी निकाय रहेका छन्।  

त्यसैगरी एयरपोर्ट एन्ड एयर अपरेसन्स कोअर्डिनेसन टोलीमा नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, निजी वायुसेवा कम्पनी तथा गृह मन्त्रालय रहेका छन्। त्यस्तै, सकुशल उद्धार गरिएका, बेपत्ता तथा मृतकको नाम सार्वजनिक गर्ने कार्यका लागि गृह मन्त्रालय तथा नुवाकोट र रसुवाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइएको छ। सम्पर्कविहीन व्यक्तिको विवरण सङ्कलन तथा खोजीका लागि सेतु एपमार्फत ट्याकिङको व्यवस्था गरिएको छ।

इमर्जेन्सी कम्युनिकेसन रेस्टोरेसन टोलीमा सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र एनसेल रहेका छन्। बाढीका कारण प्रभावित सञ्चार पूर्वाधार पुनःस्थापना तथा आपतकालीन सञ्चार सेवा सञ्चालनमा यो टोली परिचालित हुनेछ।

त्यस्तै इलेक्ट्रिसिटी रेस्टोरेसन एन्ड ब्याकअप पावर टोलीमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम, नेपाल प्रहरी र गृह मन्त्रालय रहेका छन्। प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापना तथा आवश्यक वैकल्पिक विद्युत् व्यवस्थापनका लागि उक्त टोली परिचालन गरिएको छ।

थप जोखिम कायमै

प्राधिकरणले भोटेकोशी बाढीको तत्कालीन प्रभाव कम हुँदै गए पनि थप ठूलो बाढीको जोखिम कायमै रहेको चेतावनी दिएको छ। भदौ ११ गते बिहान ११ बजेर ४४ मिनेटमा लिइएको स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणबाट रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई ताल बनेको देखिएको प्राधिकरणले जनाएको छ।

उक्त तालको प्राकृतिक बाँध फुटेमा पुनःठूलो बाढी आउनसक्ने जोखिम रहेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन र उच्च सावधानीका साथ रहन प्राधिकरणले अनुरोध गरेको छ। उक्त क्षेत्रमा थप तालहरू समेत हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यसकारण ल्हेन्दे खोला, भोटेकोशी तथा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीको सतह, बहाव तथा प्रशासनबाट जारी हुने सूचनाप्रति निरन्तर सचेत रहन आग्रह गरिएको छ।
अर्को समाचार
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
११ भदौ २०८३
•
१ मिनेट पाठ
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि सात हजार चार सय १५ जना सुरक्षाकर्मी परिचालन भएका छन्।




राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका तीन हजार तीन सय १८, नेपाली सेनाका दुई हजार तीन सय ५५ र सशस्त्र प्रहरी बल नेपालका एक हजार सात सय ४२ जना सुरक्षाकर्मी परिचालन भएको जानकारी दिए।

बाढी प्रभावित क्षेत्रमा हालसम्म दुई सय ३९ वटा हेलिकोप्टर उडानमार्फत खोज तथा उद्धार कार्य गरिएको प्राधिकरणले जनाएको छ। त्यसमध्ये नेपाली सेनामार्फत दुई सय ११ वटा र निजी क्षेत्रका हेलिकोप्टरबाट २८ जनाको उद्धार भएको छ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत व्यवस्थापनको कार्य निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ।  

तिब्बततर्फबाट भोटेकोशी नदी हुँदै आएको उक्त बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेंसी हुँदै त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा गम्भीर जोखिम सिर्जना भएको प्राधिकरणले जनाएको छ।बाढीका कारण तटीय क्षेत्रका विभिन्न स्थानमा जनधनको क्षति भएको छ।

विपद्पछि खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर परिचालन गरिएको छ। घाइतेको उपचारका लागि नुवाकोट जिल्ला अस्पतालमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकसहितका स्वास्थ्य टोली परिचालन भएका छन्।

बाढी प्रभावितका लागि नेपाली सेनाका  ब्यारेकमा त अस्थायी बसोबास, खानेकुरा, खानेपानी तथा औषधिको व्यवस्था गरिएको छ।
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस