चेक अनादर मुद्दामा रौतहट प्रहरीले एकै दिन १६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानअन्तर्गत जेठ १२ गते नियन्त्रणमा लिएका १६ जनामध्ये १२ जना चेक अनादर मुद्दाका अभियुक्त रहेका छन्।
चेक अनादर मुद्दामा पक्राउ परेकाहरुमा रौतहटको चन्द्रपुर नगरपालिका २ का सोभीलाल चौधरी, चन्द्रपुर १ का श्यामबहादुर भोलन तामाङ, वृन्दावन नगरपालिका ६ का मुकेशकुमार जयसवाल, ८ का लक्ष्मी राउत र मनोज राउत भेडिहर रहेका छन्। जयसवालमाथि चेक अनादरका दुई मुद्दा रहेका छन्।
यसै गरी माधव नारायण नगरपालिका १ का हरेन्द्र साह कलवार, ३ का सिपाही राय यादव, कटहरिया नगरपालिका १ विनोद राय यादव, ६ का शेख बच्चाबाबु र गरुडा नगरपालिका ५ का विन्देश्वर साह कलवार चेक अनादर मुद्दामा प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले गढीमाई नगरपालिका ४ का विक्रम ठाकुर, कृष्ण ठाकुर र उतिम नारायण ठाकुरलाई कुटपिट मुद्दामा नियन्त्रणमा लिएको जनाएको छ। रौतहट प्रहरीले फतुवा विजयपुर नगरपालिका ३ का दुखा साह कानुलाई बालबालिका विरुद्धको कसुर मुद्दामा नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट फरार व्यक्तिहरुलाई पक्राउ गरी कानुन कार्यान्वयन गर्न सक्रिय देखिएको हो। पक्राउ परेका सबैलाई सम्मानित रौतहट जिल्ला अदालत, गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी गराएका छन्।
यसैबिच जिल्ला प्रहरी कार्यालय रौतहट र ट्राफिक प्रहरी कार्यालय गौरबाट संयुक्त रुपमा खटिएको टोलीले गौरको विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा स्वरुप परिवर्तन गरी चलाएका दुई मोटरसाइकल नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएको दुवै मोटरसाइकल भारतीय नम्बर प्लेटका रहेका छन्।
दुवै मोटरसाइकलको धुवा फाल्ने साइलेन्सर लगायत विभिन्न पार्टपुर्जाहरु मोडिफाइ गरिएको अवस्थामा बिआर ०१ सिए ५१११ नम्बरको रोयाल इन्फिल्ड र बिआर ०५ एडि ३२१७ नम्बरको अपाचे मोटरसाइकलहरु रहेका छन्।
नियन्त्रणमा लिइएका दुवै मोटरसाइकललाई आवश्यक कारबाहीको लागि यातायात व्यवस्था कार्यालय गौरमा पठाइएको प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी गराएका छन्।
काठमाडौं। देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ती घटनाबाट रु २५ लाख ५१ हजार ८०० बराबरको आर्थिक क्षति भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर ११ देखि १२ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्नु तथा जनावरको आक्रमणका घटना भएका हुन्।
प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार उक्त अवधिमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, दोलखा, कास्की र रुपन्देहीलगायत जिल्लामा आगलागीका घटना भएका छन्। त्यस्तै दोलखा र मोरङमा सर्पदंश, मुस्ताङमा लेक लाग्नु तथा उदयपुर र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन्।
विभिन्न विपद्का घटनामा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।
विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता केसीले जानकारी दिए। घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।
यसैबीच, प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...