पर्यटकीय नगरी सूर्योदय नगरपालिका ७, कन्याममा थप पर्यटक आकर्षित गर्न स्काई वाक टावर (मान्छे हिँड्ने सिसाको टावर) निर्माण गरिएको छ। मेची राजमार्गले छोएको चियाबारीको बीचमा बनाइएको स्काई वाकमा चढेर पर्यटकले मज्जा लिन पाउनेगरी यो टावर निर्माण गरिएको हो।
सूर्याेदयका मेयर रणबहादुर राईले शुक्रबार स्काई वाक उद्घाटन गरे। कन्याम क्लाउडमा आबद्ध करिब १६ महिलाको ५ करोड रुपैयाँ संयुक्त लगानीमा यो पर्यटकीय संरचना निर्माण गरिएको हो। कन्याम क्लाउडकी रीता भुसालले कन्याम आएका पर्यटकलाई सिसाको टावरमा चढेर तल चियाबारीको दृश्य देखाउन स्काई वाक निर्माण गरिएको बताइन्। ‘यो स्काई वार्कबाट कन्याम चियाबारीसहित वरपर टाढासम्मको दृश्यसमेत देखिन्छ,’ उनले भनिन्, ‘यो बिल्कुल नयाँ संरचना भएकाले बढीभन्दा बढी पर्यटक आकर्षित हुने सम्भावना छ।’
टावरमा सिँढी बनाइएको छ। सिँढीको सिरानमा ४ मिटर चौडाई र ७ मिटर लम्बाईको सिसा राखिएको छ। सिसामा चढेर दृश्यावलोकन गरी पर्यटकले आनन्द लिन सक्छन्। उनका अनुसार स्काई वाकसँगै २ वटा स्विइङ, बालउद्यान र रेस्टुरेन्टसमेत निर्माण गरिँदैछ। तर, ती संरचना निर्माण गर्न केही महिना लाग्ने छ। ‘कन्यामले अब पर्यटकका लागि नयाँ गन्तव्य र आकर्षण पाएको छ,’ भुसालले भनिन्, ‘बाँकी संरचनासमेत निर्माण भएपछि धेरै संख्याका पर्यटक यहाँ भुल्लिनेछन्।’
स्काई वाकको मज्जा लिन अहिले पर्यटकले प्रतिव्यक्ति ३ सय रुपैयाँ तिर्नुपर्ने छ। अन्य संरचनासमेत निर्माण भएपछि टिकटदर ५ सय रुपैयाँ पुग्ने उनले जनाइन्। ‘कन्याम आउने प्रत्येक पर्यटकले यसको नौलो आनन्द लिन पाउनेछन्,’ उनले भनिन्, ‘नेपालमात्र नभइ भारतको दार्जिलिङ र पश्चिमबंगालबाट आएका पर्यटकसमेत यसप्रति आकर्षित हुनेछन्। ’
भुसालले पर्यटकीय भेडेटार र काठमाडौंको कमलादीमा समेत स्काई वाक टावर निर्माण भइरहेको जानकारी दिइन्। सगरमाथा बेसक्याम्पमा ११ अर्ब रुपैयाँ लगानीमा केबलकार सञ्चालन गर्ने जानकारी पनि उद्घाटन अवसरमा दिइएको छ।
मेयर राईले पर्यटकीय सूर्याेदय नगरको पर्यटन प्रवद्र्धनमा स्काई वाकले सहयोग गर्ने बताए। नगरमा नयाँ–नयाँ पर्यटकीय आकर्षणका केन्द्र थपिँदैगएको भन्दै उनले नगरले पर्यटन प्रवद्र्धनका लागि आफैं पनि दर्जनौं संरचना निर्माण गरेको र गरिरहेको जनाए।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...