इलामको ट्राफिक अस्तव्यस्त, योजना बन्छ–कार्यान्वयन छैन
२४ साउन २०७९
•
८ मिनेट पाठ
इलामको ट्राफिक अस्तव्यस्त, योजना बन्छ–कार्यान्वयन छैन
जिल्लाको ठूलो व्यापारिक केन्द्र इलाम नगरपालिका–५ स्थित बिब्ल्याँटे बजारमा मेची राजमार्गका दुवैतिर गरिएको सवारी पार्किङ। तस्बिर: भीम/नागरिक<br>
कतै जग्गा अभाव र जग्गा भएका ठाउँमा उचित व्यवस्थापन नहुँदा जिल्लाभरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। ट्राफिक व्यवस्थापन चुस्त नहुँदा यहाँ आउने पर्यटकलाई समेत प्रत्यक्ष असर पुगिरहेको छ भने सर्वसाधारण सास्ती खेप्न बाध्य छन्।  




मेची राजमार्गको झापासँगको सीमा जोरकलशदेखि पाँचथरसँगको सीमा राँके बजारसम्म करिब ९० किलोमिटरमा दर्जन हाराहारी साना–ठूला बजार छन्। ती बजारको सवारी साधन पार्किङसमेत राजमार्गमै भइरहेको छ। कतिपय बजारमा राजमार्गको दायाँ–वायाँ नै सवारीका साधन पार्किङ गर्ने गरिएकाले हिँडडुल गर्न र सवारीका साधन चलाउन मुस्किल परेको छ।

सदरमुकाम इलाम बजार मेची राजमार्गभन्दा करिब १ किलोमिटर टाढा पर्ने भएपनि यहाँको ट्राफिक व्यवस्थापन अझ गञ्जागोल छ। ट्राफिक व्यवस्थापनको योजना बनाउन भन्दै वर्षौंदेखि औपचारिक–अनौपचारिक छलफल चलिरहेपनि ठोस समाधान निस्किन सकेको छैन। स्थानीय सरकार र प्रहरीले ट्राफिक व्यवस्थापनको योजना बनाएको भन्दै कागजी दस्तावेज सर्वसाधारणलाई देखाउँछन्। तर, ‘फिल्ड’मा वर्र्षाैंदेखिको भइरहेको ट्राफिक तहसनहसको अवस्था चाहिँ जनसंख्याको चाप बढेसँगै निरन्तर थपिनेक्रममा छ। व्यवस्थापनका लागि प्रयास भएपनि सफल हुन सकेको छैन।

जिल्लाका सबैजसो स्थानीय तहका बासिन्दा कुनै न कुनै कामले सदरमुकाम आइरहन्छन्। त्यतिमात्र होइन, पर्यटकीय जिल्ला भएकाले इलाममा पर्यटकको आउ–जाउ भइरहन्छ। तर, यहाँका बजार र पर्यटकीय क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदा आगन्तुक र पर्यटकले समेत सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। जिल्लाको मुख्य व्यापारिक केन्द्र बिब्ल्याँटे, फिक्कललगायत नेपालटार, राँके, पुवाखोखा, राजदुवाली, तीनघरेलगायत स्थानमा मेची राजमार्गलाई नै पार्किङस्थल बनाइएको छ।  

इलाम चोक बजारको चारैतिर सवारीका साधन यत्रतत्र देखिन्छन्। बिहानदेखि साँझसम्म सिटी फुक्दा पनि सवारी साधन व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई धौधौ छ। ‘ठाउँ साँघुरो भएकाले गाडी कता पार्किङ गराउने भन्ने समस्या हुँदा दिनभर सवारीका साधन व्यवस्थापन गर्न हम्मे परिरहेको छ,’ एक ट्राफिक प्रहरी भन्छन्, ‘ठाउँ देखाइदिए त हामी पनि त्यहाँ पार्किङ गर्न भन्नेथियौं तर ठाउँ नै नभएपछि कता पार्किङ गराउने भन्ने अन्योल छ।’  

केही महिनाअघिसम्म इलाम चोक बजारको चारैतिर मोटरसाइकल पार्किङ गर्ने व्यवस्था थियो। पर्यटकका केही सवारी साधन पनि यहाँ पार्किङ गराइन्थ्यो। अहिले यो क्षेत्रमा ‘इमर्जेन्सी पार्किङ’ राखिएको छ। इमर्जेन्सी पार्किङमा छोटो समयका लागि मोटरसाइकल रोक्न पाउने व्यवस्था छ। बजारकै सिटीमार्टको अगाडिपट्टि मोटरसाइलका लागि पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। इलाम नगरपालिकाले बजारको मासुपसल रहेको भवनमा मोटरसाइकल पार्किङ गर्ने तयारी गरेपनि त्यसको प्रयोग हुन सकेको छैन।  

इलाम बजारकै पूर्वी भागमा रहेको ट्याक्सी स्टेन्डमा बजारभरका र गाउँ–गाउँबाट आएका जीप, भ्यानलगायत पार्किङ गर्ने व्यवस्था छ। तर, इलाम–बिब्ल्याँटे, इलाम–मिलगोलाई, इलाम–गोलाखर्क भञ्ज्याङलगायत रुटमा चल्ने साना सवारी साधनकै चाप धान्न नसकेको यो ट्याक्सी स्टेन्डमा गाउँ–गाउँबाट आएका सवारीका साधनसमेत राख्नुपर्दा थामिनसक्नुको भिड छ। सवारी साधनको संख्या धेरै भएपनि पार्किङ गर्ने स्थान साँघुरो भएकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ।  

यातायात व्यवसायी गृष्म सुब्बा सदरमुकामको ट्राफिकको उचित व्यवस्थापन हुनुपर्ने बताउँछन्। ‘फरकखाले गाडीलाई फरक–फरक स्थानमा व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘जहाँ पायो त्यहीं सवारीका साधन रोक्न दिनुुहुँदैन। बरु, सवारी चालक अनुमतिपत्र लिँदा नै गाडी कहाँ र कसरी रोक्ने भन्नेबारे पनि परीक्षा लिनुपर्छ।’

अहिले इलाम बजार–बिब्ल्याँटे रुटमा ६०, इलाम–गोलाखर्क रुटमा १५ हाराहारी संख्याका भ्यान चलिरहेका छन्। यहाँ १ सय २० हाराहारी टेम्पो छन् भने दिनहुँ करिब ५ सय सवारी साधन इलाम बजारमा गुड्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ। भानुपथ, निकुञ्जपथ, मालापथ, नारायणस्थानलगायत क्षेत्रमा पनि ट्राफिक व्यवस्थापन बिजोक अवस्थामा देखिएको छ।  

बिहान विद्यालय र सरकारी कार्यालय खुल्ने तथा साँझ बन्द हुने समयमा यहाँको सवारी चाप अझ बढी हुन्छ। सदरमुकामको जिरो किलोमिटरदेखि ठूलो टुँडिखेल, बसपार्क, नवीन चोक, चोक बजार, नारायणस्थान हुँदै धोबिधारा जाने रुट साँघुरो भएकाले यो रुटमा दुईतर्फी सवारी साधन चलाउन निकै मुस्किल छ। ‘बिहान यी रुटमा यति भिड हुन्छ कि, कहिलेकाहीं जाम भएर समयमा कार्यालय पुग्नसमेत मुस्किल छ,’ यातायात व्यवस्था सेवा कार्यालयकै कर्मचारी रवीन्द्र श्रेष्ठ भन्छन्, ‘निजी क्षेत्रले समेत पार्किङका लागि जमिन प्रयोग गरी सशुल्क पार्किङको अवधारणा ल्याउनुपर्छ।’  

इलाम बजारकै मालापथ क्षेत्रमा ‘वान–वे’ घोषणा गरिएपनि अहिले त्यसको कार्यान्वयन शून्य छ। धेरैजसो स्थानीय होटलको पनि आफ्नो पार्किङस्थल नहुँदा सडकमै सवारीका साधन राख्ने भएकाले साँघुरो सडक खचाखच हुनेगरेको छ। होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेल कतिपय होटलको आफ्नै पार्किङ रहेपनि कतिपय होटल जीविकोपार्जनका लागि चलेकाले उनीहरूले पार्किङ व्यवस्था गर्न नसकेको बताउँछन्। बजार क्षेत्रमा कार्यालय रहेका बैंक, विमा कम्पनी र वित्तीय संस्थालगायतको पनि आफ्नो पार्किङस्थल नभएकाले ती कार्यालयमा काम गर्ने कर्मचारीले दिनभर सडकमै सवारी पार्किङ गरिदिँदा निर्बाध आउ–जाउमा समस्या थपिएको सर्वसाधारण बताउँछन्।

बजारको मालापथ क्षेत्रमा गाउँबाट आएका सवारीका साधन बिहान १० बजेदेखि साँझसम्म राख्ने गरिएको छ। सदरमुकाममा सवारीका साधनको संख्या बढिरहेको ट्राफिक प्रहरी बताउँछ। अहिले सदरमुकाममै यातायात व्यवस्था सेवा कार्यालय रहेकाले पनि सवारी साधन खरिद–विक्रीमा सुविधा हुँदा र सवारी चालक अनुमतिपत्रसमेत यहींबाट वितरण हुने भएकाले सवारी साधनको कारोबार र संख्या बढ्दो छ। कार्यालयका निमित्त प्रमुख श्रेष्ठ यो कार्यालयबाट मात्रै वर्षमा १ सय २५ वटासम्म मोटरसाइकलको नामसारी हुनेगरेको बताउँछन्। तर, यहाँ गुड्ने सवारी साधन अन्य ठाउँका कार्यालयमा समेत नामसारी भएर आउँदा यो संख्या बढ्नेगरेको छ।

अहिले इलामको पुरानो बसपार्कमा बहुतल्ले पार्किङ भवन निर्माणाधीन छ। त्यहाँ पार्किङ नबन्दासम्मलाई इलाम बजारकै ठूलो टुँडिखेलछेउमा साना सवारी साधनका लागि अस्थायी स्टेन्ड बनाइएको छ। इलाम भएर बाहिरी जिल्ला चल्ने सवारीका साधन यो स्टेन्डमा भेला हुुन्छन् र यात्रु चढाउने–ओरार्ने गरिरहेका छन्। तर, बहुतल्ले पार्किङको क्षमता पनि ४८ वटा गाडीको मात्रै भएकाले समस्याको पूर्ण समाधान सम्भव नहुने इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठ बताउँछन्। चोक बजारकै छेउमा रहेको सिटी मार्टको अगाडिपट्टि मोटरसाइकल पार्किङको व्यवस्था गरिएपनि पर्याप्त हुन सकेको छैन।

बजार क्षेत्रका कतिपय सडक भत्किएर क्षत–विक्षत हुँदा सवारी चलाउन कठिन छ। दुर्घटनाको जोखिम पनि बढिरहेको छ। बजार क्षेत्रमा भत्किएका सडक समयमै मर्मत नहुँदा यात्रुलाई सास्ती भएको नारायणस्थाका बासिन्दा हुकुमलाल थेबे बताउँछन्। इलाम नगरपालिका–९, सेरामा निर्माण भएको बसपार्कसमेत बसपार्कका रूपमा प्रयोग हुन सकेको छैन। बसपार्कका लागि बनाइएको भवनमा अहिले वडा कार्यालय र इलाम कृषि क्याम्पस सञ्चालन भइरहेको छ।  

व्यापारिक केन्द्रका रूपमा रहेको बिब्ल्याँटे बजार पनि ट्राफिक व्यवस्थापन अभावमा उकुसमुकुस छ। स्थानीय तथा झापा–ताप्लेजुङ रुटमा चल्ने सवारी साधन पनि यहाँबाटै आउ–जाउ गर्ने भएकाले चौबीसै घन्टा यहाँ सवारी साधनको चाप बाक्लो देखिने गरेको छ। मेची राजमार्गको दुवैतिर सयौं सवारी साधन पार्किङ गर्दा सवारी चालक, यात्रु र सर्वसाधारणलाई समस्या भइरहेको इलाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका स्थानीय व्यवसायी कृष्ण पौडेलले बताए। ‘यहाँ ट्राफिक व्यवस्थापनको दिगो विकल्प खोज्नु आवश्यक छ,’ उनले भने।  

बिब्ल्याँटे बजार क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि बजारभन्दा केहीमाथि ट्याक्सी स्टेन्ड निर्माण गर्ने प्रयास भएको थियो। तर, कतिपय व्यवसायीले बजारभन्दा टाढा गाडी रोक्ने व्यवस्था गर्न नहुने भन्दै विरोध जनाएपछि पुनः मेची राजमार्गलाई नै ट्याक्सी स्टेन्डका रूपमा प्रयोग गर्नुपरिरहेको स्थानीय बताउँछन्। इलाम बजार क्षेत्रका पनि धेरैजसो व्यवसायीले आफ्नै पसलअगाडि सवारीका साधन रोक्नुपर्ने तर आफूलाई भने असर गर्न नहुने ‘मानसिकता’ प्रकट गरेकाले सवारी साधन व्यवस्थापनमा समस्या थपिएको एक ट्राफिक प्रहरीले बताए।  

सदरमुकामको जिरो किलोमिटरबाट कुलधारा, धोबिधारा, चुरेघाँटी, बिब्ल्याँटे–नेपालटार भएर जाने मेची राजमार्ग पनि ठाउँ–ठाउँमा भत्केका कारण सवारीका साधन चलाउन समस्या छ। यो क्षेत्रमा राखिएका ट्राफिक संकेत, ट्राफिक बत्ती र जेब्रा क्रसिङ स्पस्ट नहुँदा यात्रुहरू समस्यामा छन्। मेची राजमार्गको कुलधारास्थित बालागुरु टोलबाट ग्रिनभ्याली स्कुल हुँदै इलाम बजार जाने सडकको मेची राजमार्गसँग जोडिएको स्थान निकै जोखिमपूर्ण देखिएको छ। यो ठाउँमा सडक मर्मत नहुँदा साना र ठूला सवारीका साधनसमेत उकालो चढ्न नसकेर दर्जनौंपटक दुर्घटना भइरहेको छ। बजार क्षेत्रमा गुड्ने टेम्पो वा अटोरिक्साको व्यवस्थापन पनि चुनौतीपूर्ण बनिरहेको छ।

बजार क्षेत्रमा भित्रिने सवारीका साधन जिरो किलोमिटर र धोबिधारा क्षेत्रमै पार्किङ गर्ने व्यवस्था मिलाउन सक्दा चोकबजारको सवारी चाप व्यवस्थापन सहज हुने ट्राफिक प्रहरी प्रमुख शैलेन्द्र गच्छदारको सुझाव छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले पनि बजार क्षेत्रका सवारीका साधन व्यवस्थापन गर्न उचित खाली स्थानको व्यवस्थापन गर्न सुझाएका छन्। ‘अब नगर क्षेत्रमा घर बनाउँदासमेत पार्किङ अनिवार्य गर्ने नीति ल्याउने हो भने एक तहसम्मको पार्किङ अभाव समस्या कम हुन्छ,’ उनले भने, ‘त्यसबाहेक बजारनजिकका खाली क्षेत्र सदुपयोग, वान–वेलगायत विकल्पमा पनि जान सकिन्छ।’  

इलाममा ट्राफिक प्रहरीको सङ्ख्या नै न्यूून भएकाले पनि सवारी साधन व्यवस्थापनमा समस्या भइरहेको छ। जिल्लाभर ९ ट्राफिक प्रहरीको दरबन्दी रहेपनि अहिले १९ जना कार्यरत छन्। यो संख्या ज्यादै अपुग भइरहेको प्रहरी बताउँछ।  

इलाम नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि योजना बनाएको मेयर केदार थापाले बताए। ‘अब केही समयपछि यहाँको ट्राफिक व्यवस्थापन सुधार हुँदैजानेछ,’ उनले भने। नगरको पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष प्रकाश अधिकारीले ट्राफिक व्यवस्थापन सहज हुँदामात्र पर्यटक सहज रूपमा आउ–जाउ गर्नसक्ने भएकाले समितिले ट्राफिक व्यवस्थापनबारे सरोकारवालाबीच छलफल गरी सुझाव संकलन गरिरहेको जानकारी दिए।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
३ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस