एक दिन अगाडि बिहीबार मात्र शपथग्रहण गरेका वीरगन्ज महानगरपालिकाको नगर प्रमुखमा निर्वाचित राजेशमान सिंह औपचारिकताहरु पूरा गरेपछिको पहिलो छलफल वीरगन्ज महानगरपालिकाका सफाइकर्मीहरुसंग गरेका छन्।
वीरगन्जको नगरसभागृहमा बोलाएर शुक्रबार बिहान नगरप्रमुख सिंहले सफाइकर्मीहरुसंग उनीहरुको अनुभव सुने। सरसफाइ भन्ने कुरा सहरको पानी निकास र लामखुट्टे नियन्त्रणसंग समेत जोडिएको विषय भएको हुनाले यसमा आफूहरुले गम्भीर भएर काम गर्न चाहेको उनले सफाइकर्मीहरुलाई बताए। यस महत्वपूर्ण अभियानमा साथ दिन उनले आग्रह गरे। छेउमा नवनिर्वाचित उपप्रमुख इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेलाई बसाएर गरेको छलफलमा उनले नगरवासीको गुनासो सुन्न नपर्ने गरी काम गर्न निर्देशन दिए।
पहिलो निर्णय
यसअघि बिहीबार साझ शपथग्रहण लगतै नगरप्रमुख सिंहले घण्टाघर माइस्थान सडकखण्ड मर्मत गर्ने, मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शुल्क कृषि मिटरको सबै शुल्क महानगरपालिकाले बेहोर्ने निर्णय गरे। लामो समयदेखि जीर्ण रहेको घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत गर्ने पहिलो निर्णय अनुसार शुक्रबार बिहानैदेखि त्यहाँ काम सुरु भएको छ। निवर्तमान नगरप्रमुख विजयकुमार सरावगीले सडक विभागअन्तर्गत पर्ने भएकोले उक्त सडक निर्माण गर्न आफ्नो अधिकारक्षेत्रमा नरहेकोले मर्मत गर्न नसकेको बताउँदै आएका थिए। उक्त विषयलाई सिंहले आफ्नो चुनावी अजेण्डा समेत बनाएका थिए। नगर प्रमुख सिंहले शपथ लिएकै दिन उक्त सडकखण्ड मर्मत गर्ने निर्णय गरी अर्को दिन बिहान काम सुरु गराएका हुन्।
नगर प्रमुखको पहिलो निर्णय अनुसार मर्मत गर्न लागिएको वीरगन्जको घण्टाघर माइस्थान सडकखण्ड। तस्विरः रितेश/नागरिकपाँच दलीय गठबन्धनले जारी गरेको घोषणा पत्रमा उल्लेख भए अनुसार महानगरभित्रका दश हजार ९ सय २४ घरधुरीको घरेलु मिटरमा खपत हुने मासिक ३० युनिटसम्म विद्युतको न्यूनतम शुल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने निर्णय सिंहले गरेका हुन्। त्यस्तै सिँचाइ प्रयोजनले लगाइएका मिटर चार सय ७० वटा कृषि मिटरको सम्पूर्ण शुल्क भुक्तानीको दायित्व पनि महानगरपालिकाले नै लिने सिंहले गरेको निर्णयमा छ।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।