त्रियुगा नदी व्यवस्थापन ७० प्रतिशत बाँकी
३० जेष्ठ २०८२
•
३ मिनेट पाठ
त्रियुगा नदी व्यवस्थापन ७० प्रतिशत बाँकी
बाँध निर्माण गर्ने विषयमा स्थलगत छलफल गर्दै प्राविधिक टोली। तस्बिर: महेश्वर/नागरिक
वर्षौंदेखि उदयपुरवासीलाई ‘कहर’ खेपाउँदै आएको त्रियुगा नदी नियन्त्रणमा ७० प्रतिशत हिस्सा अझै बाँकी छ। त्रियुगा नदी व्यवस्थापन आयोजना कार्यालयका अनुसार ०६८/६९ देखि सुरु भएको नदी नियन्त्रण कार्य १३ वर्षको अवधिमा ३० प्रतिशतभन्दा बढी हुन सकेको छैन।




आयोजना प्रमुख (डिई) राजेन्द्रप्रसाद देवका अनुसार हालसम्म पहिलो चरणमा गर्नुपर्ने ४२ किमि दूरी बाँध निर्माण कार्य ३० प्रतिशत मात्र सम्पन्न भएको छ। नदीको शिरदेखि तीरसम्म ५०.५ किमि दूरीमध्ये पहिलो चरणमा फरक–फरक दुई खण्डमा २३.२ किमि बाँध निर्माण भए पनि पूर्णता पाउन सकेको छैन।

बाँकी खण्डको काम यो वर्ष टुक्रे योजनाअन्तर्गत तीनवटा साना खण्डमा काम गर्ने गरी भर्खरै ठेक्का लागेको डिई देवले बताए। चालु वर्ष त्रियुगा नगरपालिका– ९ उत्तराहीटोलमा एक सय ९२ मिटर, चौदण्डीगढी नगरपालिका– ९ ज्यामिरेमा दुई सय १० मिटर र बेलका नगरपालिका– १ अविनारायण टोलमा दुई सय एक मिटर खण्ड बाँध बाँध्ने गरी ठेक्का लागेको आयोजना कार्यालयका इन्जिनियर वीरेन्द्र महतोले बताए।

उनका अनुसार उत्तराहीटोलका लागि मूल्य अभिवृद्धि कर (भ्याट) सहित ६८ लाख ७७ हजार १२ रूपैयाँमा शिवु कन्स्ट्रक्सन काठमाडौंले ठेक्का सम्झौता गरेको छ। यही जेठ ४ को सम्झौताअनुसार आगामी ०८३ वैशाख ३० भित्र सो काम गरिसक्नुपर्ने छ।

त्यसैगरी गत वैशाख १३ को सम्झौताअनुसार बेलका– १ को काम भ्याटसहित ९१ लाख ८७ हजार नौ सय ३१ रूपैयाँमा ठेक्का लिएको एरिना निर्माण सेवा सुनसरीले लिएको छ। सो खण्डको काम सम्पन्न गर्न आगामी असोज ३० भित्र सक्नुपर्ने करार सम्झौता भएको छ।

ज्यामिरेको कामको भने सम्झौता हुन बाँकी रहेको इन्जिनियर महतोले बताए। उनका अनुसार सो बाँधका लागि पिके निर्माण सेवा रौतामाई उदयपुरले ९० लाख ४६ हजार नौ सय पाँच रूपैयाँमा ठेक्का लिने पक्का भए पनि सम्झौता गर्न बाँकी छ। सो खण्डको सम्झौता छिटै गरेर काम सुरु गर्न निर्माण व्यवसायीलाई बोलाइसकेको पनि महतोले बताए।

सरकारले बजेट दिन नसक्दा त्रियुगा नदी व्यवस्थापन कार्य कछुवा गतिमा भइरहेको छ। सुरुवातताका अर्ब बढी लगानी गरेको सरकारले पछिल्लो तीन आर्थिक वर्षयता कोभिडका कारण देखाउँदै बजेट नदिएपछि अहिलेसम्म सक्नुपर्ने बाँधको काम अलपत्र परेको डिई देवले बताए। चालु वर्ष सात करोड २० लाख विनियोजित बजेट पुरानो बक्यौता भुक्तानी गर्दै सकिएपछि नयाँ केही काम गर्न नसकेको उनको गुनासो छ।

पहिलो चरणको काम गर्न आयोजना कार्यालयले माथिल्लो भागको १०.६ किमि खण्डका लागि ७८ करोड र तल्लो खण्ड १२.६ किमिका लागि ७८ करोड ७४ लाखमा दुइवटा ठेक्का लगाएको थियो। आर्थिक वर्ष २०७७/७८ देखि आव २०७९/८९ सम्ममा नदीको माथिल्लो भाग १०.६ किमि र तल्लो भाग १२.६ किमि बाँध निर्माण भइसकेको छ। माथिल्लो भागको बाँध त्रियुगा नगरपालिका – ७ चुहाडेदेखि चौदण्डीगढी नगरपालिका– ९ अजगरासम्म तथा तल्लो भाग अजगरादेखि बेलका नगरपालिका– १ पुरन्दहसम्म बाँध निर्माण सकिएको छ।

तर पहिलो चरणको काम सकिनुअघि नै कोभिड कहर सुरु भएपछि रोकिएको बाँध निर्माण बजेट अभावका कारण निरन्तर चल्न नसक्दा बाँकी निर्माण अलपत्र परेको छ। कोभिडकै कारण देखाउँदै आव २०७८/७९ देखि सिँचाइ विभागले बजेट दिन नसकेकोमा चालु वर्षको बजेट सुनिश्चित गरेसँगै साना तीन खण्डको बाँध निर्माण गर्ने गरी ठेक्का लगाएको हो। ५०.६ किमि लामो नदीले क्षति गर्न सक्ने सम्भावित एकातर्फको ४२ किमि दूरीको बाँधले त्रियुगा नगरपालिका ७, ८, ९, ६, ५, ३, ११, १२, १३, २, १ नं. वडा समेट्ने छ।

त्यसैगरी छिमेकी चौदण्डीगढी नगरपालिकाका– १०, ९, ५ वडा तथा बेलका नगरका २ र १ लाई समेट्ने नदीमा लगाइने बाँधलाई सडकमा परिणत गरी २७ वटा पुल निर्माण गर्ने बृहत् योजना छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का सांसद डा. नारायण खड्काले परिकल्पना गरेको त्रियुगा नदी नियन्त्रण कार्यका लागि डेढ दशकअघि नै आठ अर्ब १५ करोड लागत इस्टिमेटको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको थियो। नदीको दुईतर्फी ८४ किमि लामो बाँध निर्माण परियोजना चार चरणमा पूरा गर्ने गरी आयोजना कार्यालयले काम गरिरहेको छ। पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा २२ किमि बाँध बाँध्न थप तीन अर्ब ९६ करोड रूपैयाँको इस्टिमेट छ।

आवश्यक बजेट सरकारले विनियोजन नगर्दा नदी नियन्त्रण कार्य कछुवा गतिमा भइरहेको छ। लगातार नगरेर बीचमा खाली राख्दै टुक्राटुक्रामा भइरहेको बाँध निर्माण कार्यले बर्खामा बाढी आउँदा नदी कटान र डुबान समस्याले स्थानीय पीडित हुनुपरेको जनगुनासो छ।  
अर्को समाचार
दाउन्नेको दलदलबाट मुक्ति कहिले?
०४ वैशाख २०८२
•
८ मिनेट पाठ
दाउन्नेको दलदलबाट मुक्ति कहिले?
समयमा काम भएको भए तीन वर्षअघि नै नारायणगढ–बुटवल सडकखण्ड चिल्लो भई यात्रा सहज हुन्थ्योे तर कछुवा गतिमा काम हुँदा अहिले पनि यो खण्डको यात्रा कष्टपूर्ण छ।




सडक विस्तारका क्रममा भत्काइएका संरचना पुनर्निर्माण नहुँदा यात्रु ६ वर्षदेखि धुलो, हिलो र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। अहिले दाउन्ने सडकखण्डको १३ किलोमिटर छिचोल्न मात्र घण्टौं लाग्छ। ११ जनाको परिवारसहित लुम्बिनी यात्रामा निस्केका झापाका दीपक निरौला आइतबार दाउन्नेको जाम र हिलोले हैरान देखिन्थे। साँझसम्म लुम्बिनी पुग्ने लक्ष्यसहित होटेल बुकिङ गरेका निरौला समयमै गन्तव्यमा नपुगिने हो कि भन्ने चिन्तामा थिए। ‘दिउँसो तीन बजे दाउन्ने आइपुगेका थियौं। बेलुका साढे ६ बजेसम्म पनि यहाँ नै छौं,’ हिलोमा फसेको बस हेरिरहेका निरौलाले भने, ‘सडकको अवस्था यस्तो छ। यो क्षेत्र छिचोल्न कति समय लाग्ने हो थाहा छैन।’

दाउन्नेको जाममा मुक्तिनाथ तीर्थ यात्रा गरेर फर्कंदै गरेका दाङका प्याउली केसीसहित ६ जनाको टोली पनि थियो। उनीहरूलाई समयमा घर नपुगिने हो कि भन्ने चिन्ता थियो। ‘जाने समयमा पाल्पा हुँदै गएका थियौं। त्यति समस्या भएन। फर्किने समयमा पोखरा, चितवनको कुरिनटार घुम्दै आउँदा दाउन्नेमा धेरै समस्या भयो। कतिखेर घर पुगिन्छ अझै थाहा छैन। चिप्लो बाटोमा कतिबेला दुर्घटना हुने हो त्रास मात्र छ,’ उनले भनिन्।

नारायणगढ–बुटवल सडकखण्डको यात्रा सात वर्षदेखि कष्टकर छ। अन्य स्थानमा केही सहज भए पनि यतिखेर दाउन्ने क्षेत्रको यात्रा निकै सकसपूर्ण रहेको काठमाडौंदेखि भैरहवा हिँडेका कृष्ण भुसालले बताए। ‘दाउन्नेको जाम भनेर बच्चा बच्चालाई थाहा हुन लागिसक्यो। ६ बजे सुनवल पुग्ने लक्ष्य थियो,’ पौने ६ मा दाउन्नेबीच भागमा भेटिएका भुसालले भने, ‘यही गति भए अझै पाँच घण्टा लाग्ला जस्तो छ ।’ जाम भएको ठाउँमा कति चालक गाडीभित्रै सुतिरहेका थिए।

चालकको दुःख

धादिङका इन्द्रकुमार ढुंगानाले सुर्खेत–काठमाडौं रुटमा बस चलाउँछन्। १६ वर्षअघिदेखि यो पेसा अँगालेका ढुंगानालाई सडकको दुरवस्थाले कहिलेकाहीँ दिक्क बनाउँछ। बर्खा लागिसकेपछि ठाउँठाउँमा बाढीपहिरो त आउँछ नै। त्यसमाथि निर्माणाधीन सडक समयमै नबन्दा सास्ती खेप्नुपरेको छ। ‘कम्तीमा महिनामा १५ दिन यो सडक हिँड्नुपर्छ, खाल्डाखुल्डी, हिलो र धुलोले एकदम गाह्रो छ।’

काठमाडौंदेखि सुर्खेतका यात्रु लिएर हिँडेको अवस्थामा दाउन्नेको जाममा परेका ढुंगानाले भने, ‘नारायणगढ–बुटवल सडकखण्ड साढे दुई घण्टामा पार गरिन्थ्यो। अहिले दाउन्नेमा जाम हुँदा १९ घण्टा पनि लाग्ने गरेको छ।’

नारायणगढ–बुटवल सडकखण्ड निर्माणाधीन छ। यो सडकमा सवारी गुड्न त्यति सहज छैन। ढुंगानाजस्तै काठमाडौं–दिल्ली गाडी चलाउँदै आएका राधेश्याम बरालले पनि सडकको अवस्थाले गर्दा हैरानी खेप्नुपरेको छ। ‘ठाउँठाउँमा खाल्डाखुल्डी छन्। यात्रुले डाइभरले झ्याँक्यो भनेर रिसाउनुहुन्छ,’ यात्रु लिएर दिल्लीतर्फ हिँडेका अवस्थामा जाममा भेटिएका बरालले भने, ‘सडक साँघुरो छ। त्यसमाथि धुलो र हिलोले हैरानी छ हजुर। नयाँ गाडी बिग्रिसक्यो।’

उनले गाडी मर्मत खर्चसमेत उठ्न कठिन भएको बताए। दाउन्नेमा बढी जाम हुँदा यात्रुसमेत फिर्ता भएको अनुभव बरालसँग छ। ‘यात्रु छोटो समय लिएर हिँड्नुहुन्छ,’ सडक खुल्ने पर्खाइमा बसेका बरालले भने, ‘कतिपय यात्रु ढिला भएर उत्ताको काम नहुने भएपछि बीच बाटोबाटै फर्किएको अवस्था छ।’

नारायणघाट–बुटवल सडकखण्डमा दैनिक हजारौं सवारीसाधन गुड्छन्। यही खण्ड हुँदै राजधानी काठमाडौं तथा पूर्व पश्चिम क्षेत्र आउजाउ गर्नुपर्ने बाध्यता छ। भैरहवा–काठमाडौं रुटका चालक अरूण पटेल सडकका कारण गाडी बिग्रेर मर्मत गर्दा नै आम्दानी सकिने बताउँछन्। ‘पानी नपर्दा धुलोले सताउँछ। पानी पर्दा धुलोले सताउँछ। यात्रैपिच्छे गाडी मर्मत गर्नुपर्छ। पट्टा भाँचिन्छ। खाल्डो भनेर गाडी हाल्यो डाँडो पर्छ। डाँडो भनेर हाल्यो खाल्डो पर्छ। यस्तै छ हजुर, हाम्रो समस्या कसले सुन्ने,’ उनले भने।

उनले यो सडकखण्डको अवस्थाका कारण खानसमेत समयमा नपाएको बताए। ‘हिजोआज सधैं जाम हुँदा एकछाके भइएको छ,’ उनले भने, ‘१२ दिनमा छ दिन त एक छाक खाएर गाडी चलाउनुपरेको छ।’

पानी पर्दा दाउन्नेमा हिलो हुँदा गाडी चिप्लिएर चलाउन कठिन हुने गरेको उनले बताए। खाल्डाखुल्डीमा ग्राभेल हालिदिए केही राहत हुने उनले बताए।

हिउँदमा पानी पर्दा हिलोले समस्या, घाम लाग्दा धुलोले समस्या छ। बर्खाको समय ठाउँठाउँमा पहिरो खस्छ। सडक पनि निर्माणाधीन छ। त्यसैले यात्रा कठिन बनेको यात्रुको गुनासो छ। सुनसरीदेखि महाकाली यात्रामा निस्केका साकार अधिकारी सरकारले ठेकेदारलाई समयमै काम गर्न नलगाएका कारण यात्रुले लामो समयसम्म सास्ती भोग्नुपरेको बताउँछन्।

‘देशको प्रमुख राजार्गको खण्ड निर्माण गर्दा सरकारले विशेष प्र्राथमिकतामा राखेर काम गर्नुपर्ने हो। प्रदेश र स्थानीय सरकारले पनि ध्यान दिएको पाइएन,’ अधिकारीले सडकको अवस्थाबारे भने, ‘अस्ति मेरा साथी ११ घण्टा जाममा परेका थिए। म यहाँ आएको पनि पाँच घण्टा भयो। गाडी सर्ने सुरसार छैन।’

नारायणगढ–बुटवल सडक खण्डको यात्रा जोखिमपूर्ण छ। चोरमाराका मित्रलाल पाठक सडक अवरुद्ध हुँदा यात्रुको खर्चसमेत बढेको बताउँछन्। ‘यात्रुहरू समयमा पुग्न पाउँदैनन्। यहाँ खान र बस्न समस्या छ। सरकारको ध्यान यसमा जाँदैन। ट्राफिक एक दुई ठाउँमाभन्दा देख्न सकिँदैन,’ उनले भने, ‘अस्ति २७ घण्टा जाममा परेको थिएँ। आज पनि जाममा नै छु।’

व्यापारमा समेत असर

नारायणगढ–बुटवल सडक खण्ड समयमा निर्माण नहुँदा व्यापारमा समेत असर परेको छ। अरूण खोलामा होटेल व्यवसाय गर्दै आएका घनश्याम ढेंगा धुलोका कारण व्यवसाय ठप्प जस्तै रहेको बताउँछन्। ‘होटेल व्यवसाय थालेको पाँच वर्षभयो। पानी पर्दा हिलो हुन्छ। घाम लाग्दा होटेल भरी धुलो आउँछ,’ उनले भने, ‘व्यवसाय बन्द पनि गर्न नसकिने, समयमा सडक नबन्दा साह्रै दुःख पाइएको छ।’ कोरोना महामारीपछि व्यापार उकासिन नसकेको उनले बताए।

तेस्रो म्यादमा पनि काम सकिँदैन

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा नारायणगढ–बुटवल सडकखण्ड विस्तार सम्झौता २०७५ चैत ८ गते भएको थियो। ११३ किलोमिटर लामो यो खण्डलाई दुई भागमा विभाजन गरेर अलगअलग ठेक्का लगाइएको थियो। दुवै खण्डको ठेक्का चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ ले पाएको छ ।

पूर्वी खण्ड भनिने गैंडाकोट–दाउन्ने ६४.४२ किलोमिटर र पश्चिम खण्ड भनिने दाउन्ने–बुटबल ४८.५८ किलोमिटर सडक विस्तार र मर्मत गर्न १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। चाइना स्टेट कन्स्ट्रक्सनले गैंडाकोट–दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रूपैयाँमा ठेक्का पाएको हो।

सरकारले यो सडक खण्डको ठेक्का म्याद २०७९ भदौमा पहिलो पटक, २०८० साउनमा दोस्रो पटक र २०८१ साउनमा तेस्रोपटक थप गरिसकेको छ। तेस्रो पटक थपिएको म्यादअनुसार २०८२ साउन ८ सम्म काम सकिसक्नुपर्छ तर अहिले ६३ प्रतिशत मात्र काम सकिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर शिव खनाल बताउँछन्।

‘अहिलेसम्म वित्तीय प्रगति ५३ प्रतिशत छ। भौतिक प्रगति ६३ प्रतिशत पुगेको छ,’ खनाल भन्छन्, ‘कामको गति हेर्दा साउनसम्म भ्याउन कठिन छ ।’

उनका अनुसार साउनसम्म एकतर्फी कालोपत्रे गर्ने लक्ष्य छ। ‘दाउन्नेको १३ किलोमिटरको ९० प्रतिशत कटिङ गर्न बाँकी छ। हामीले पूर्वी खण्डको ४ किलोमिरट १५ दिनमा सक्ने लक्ष्य राखेका छौं,’ इन्जिनियर खनालले भने, ‘भित्तो काट्ने काम सकेपछि एकतर्फी पिच गर्ने योजना छ।’

अहिलेसम्म पूर्वी खण्डको ५३ किलोमिटर सडक एकतर्फी कालोपत्रे गरिएको छ। दाउन्ने, दुम्किबास, चोरमारा बजार क्षेत्र र पुल क्षेत्रको १० किलोमिटर पूर्ण सडक पूर्णरूपमा कालोपत्रे हुन बाँकी छ। साउनसम्म गर्ने लक्ष्य आयोजनाको छ। पूर्वी खण्डमा मात्र ३४ वटा पुल छन्। २६ वटा पुल बनिसकेका छन्। गैंडाकोटको जयश्री, बेल्डिया, बहुला, झरही, कावासोती, गिरुवारी, अरूणखोला र विजयी खोलामा पुल निर्माण चरणमा रहेको खनालले बताए।

पश्चिम र पूर्वी खण्डमा एक सय तीनवटा कल्भर्ट छन्। पूर्वी खण्डमा ३३ वटा रहेको खनालले बताए। त्यसमध्ये पाँच वटा सकिएका छन्। दाउन्ने खण्डको १३ किलोमिटरमा ७० वटा कल्भर्ट छन्। दाउन्ने सडक क्षेत्र पश्चिम खण्डमा ९ किलोमिटर र पूर्वी खण्डमा ४ किलोमिटर छ। यस खण्डमा दुईवटा पुल समेत रहेका छन्। ‘पश्चिम खण्डमा समयमै काम सक्न चुनौती छ,’ उनले भने, ‘समग्रमा एकतर्फी कालोपत्रे गर्न दाउन्ने खण्ड नसकिने देखिन्छ।’ दाउन्ने क्षेत्रमा कल्भर्ट बनाउन र भित्ता काट्न समस्या रहेको उनले बताए।

अहिलेसम्म पूर्वी खण्डमा मानिसले गर्ने काम ८५ प्रतिशत सकिएको छ। २२ किलोमिटर दुईतर्फी कालोपत्रे भइसकेको उनले बताए। ‘दाउन्नेमा तीन लेनको सडक विस्तार हुँदैछ। त्यसमा दोहोरो गाडी चलाउन मुस्किल छ,’ उनले भने, ‘चार लेनको भए भित्ता बढी काटेर कल्भर्ट बनाउन सजिलो हुन्थ्यो।’

अहिले दाउन्ने क्षेत्र गाडी गुडाउन निकै नाजुक छ। मर्मतका लागि बजेट विनियोजन भए पनि पानी परेका कारण काम गर्न नसकिएको उनले बताए। ‘पानी हाल्न र खाल्डामा माटो हाल्नका लागि हामीले बजेट विनियोजनसमेत गरेका छौं,’ उनले भने, ‘पानी आएर जाम हुँदा काम गर्न सकेनौं।’

फेरि म्याद थप्ने तयारी

तेस्रो पटकका लागि थपिएको समयपभित्र काम नसकिने भन्दै निर्माण कम्पनीले सरकारसँग फेरि समय थप्न अनुरोध गरेको छ। चाइना स्टेट कन्स्ट्रक्सनका मिडिया संयोजक राकेश झाले सरकारसँग अझै डेढ वर्ष म्याद थप्न अनुरोध गर्ने तयारी भएको जानकारी दिए। ‘पछिल्लो पटक थपेको म्यादभित्र भएको कामको प्रगतिले हामी सन्तोषजनक अवस्थामा छौं,’ उनले भने, ‘पहिल्यै हामीले दुई वर्ष म्याद थप्न भनेका थियौं। अब हामीले १७ महिनाभित्र सक्छौं। सोहीअनुसार सरकारलाई म्याद थप्न भन्न लागेका छौं ।’

उनका अनुसार दुईतर्फी नै ६३ प्रतिशत भौतिक प्रगति भएको छ। सर्भिस ल्याण्ड निर्माण गर्न ३४ किलोमिटर बाँकी रहेको उनले बताए।

यस्ता छन् ढिलो हुनुका कारण

तीन वर्षभित्र सक्नेगरी २०७५ चैतमा ठेक्का पाए पनि निर्माण कम्पनीले सडक विस्तार ढिलो हुनुका कारण धेरै औंल्याएको छ। जसमा रुख कटान, विद्युत्का पोल, कोभिड १९ र निर्माण सामग्री उपलब्ध नहुँदा विस्तारको काम ढिला भएको बताएको छ। ‘डिपिआरमा ९ हजार रुख काट्ने भनिएको थियो। पछि फिल्डमा जाँदा ३६ हजार रुख काट्नुपर्‍यो’, भुसालले भने ‘वन मन्त्रालयबाट अनुमति लिन नै डेढ वर्ष लाग्यो।’

वन क्षेत्रमा २० मिटर र सहरी क्षेत्रमा २५ मिटरमा रुख काट्ने सहमति भएको थियो। अर्को विद्युत् पोल सार्ने विषयमा विवाद हुँदा समस्या भएको उनले बताए। ‘विद्युत् पोल सार्ने काममा ६ महिनासम्म विवाद भयो,’ उनले भने, ‘प्रगति नगरदेखि भेडावारीसम्म ३३ केभी लाइन सार्न नै कठिन भयो।’

विद्युत् र रुख कटानको काम सकेपछि कोरोना महामारीले काम रोकिएको उनले बताए। त्यसपछि सामुदायिक वनले माटो दिन नमान्दा पनि काम ढिला भएको उनले बताए। अन्तिम दुई वर्षदेखि निरन्तर काम भएको उनको दाबी छ। ११३ किलोमिटर सडक खण्डमध्ये भूगोल हेरी ६, ४ र ३ लेनको सडक निर्माण हुँदैछ ।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस