छोरीबुहारीले धानेको पाल्ही बहुमुखी क्याम्पस
३० चैत्र २०८१
•
६ मिनेट पाठ
छोरीबुहारीले धानेको पाल्ही बहुमुखी क्याम्पस
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– ४, जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा छात्राहरूको बाहुल्य छ। त्यसमा पनि मधेसी समुदायका छात्राहरूको संख्या अधिक छ। त्यहाँ अध्ययन गर्ने छात्राहरूमध्ये विवाहित र अविवाहितको संख्या बराबरजस्तै छ।




तराई क्षेत्रमा विवाह भएपछि अधिकांशले बुहारीलाई पढाउन स्कुल, कलेज नपठाउने प्रचलन अझ पनि कायमै छ, तर अहिले भने क्रमशः त्यो प्रचलन हट्दै गएको छ। त्यसको उदाहरण यही क्याम्पसमा अध्ययन गर्न आउने विवाहित छात्रालाई लिन सकिन्छ। 

पाल्ही क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरू सबैजसो स्थानीय ग्रामीण भेगका छन्। विद्यार्थी संख्या हेर्दा उक्त क्याम्पस ग्रामीण क्षेत्रका छोरी बुहारीले चलेको भन्दा फरक पर्दैन।

क्याम्पस प्रशासनका अनुसार, क्याम्पसमा अध्ययन गर्ने छोरी बुहारीको संख्या ७४ प्रतिशत छ। यस क्याम्पसमा कुल विद्यार्थी संख्या ५०१ छ, जसमा छात्राको संख्या ३७० रहेको क्याम्पसका सहायक प्राध्यापक सञ्जीव कोइरालाले जानकारी दिए। जिल्लाकै पहिलो क्याम्पसका रूपमा रहेको यो क्याम्पस १२ वैशाख २०४६ देखि सञ्चालनमा आएको हो।

भारतीय सीमा क्षेत्रसँग जोडिएको हुनाले यो क्याम्पस अध्ययन गर्नेहरू अधिकांश मधेसका छोराबुहारी छन्। रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका र सराबल गाउँपालिकाबाट विद्यार्थीहरू अध्ययनका लागि यहाँ पुग्ने गरेका छन्।

आर्थिक अवस्था राम्रो भएकाहरू भैरहवा, बुटवल र काठमाडौं अध्ययनका लागि जाने गरेका छन्। तर, कम आयस्रोत भएका र विवाहित तथा मधेसी समुदायका अधिकांश छोरीको उच्च शिक्षा हासिल गर्ने शैक्षिक संस्थाका रूपमा यो क्याम्पस रहेको छ।

पछिल्लो समय मधेसी समुदायमा पनि शिक्षाको चेतना बढेपछि छोरीबुहारीहरू उच्च शिक्षाका लागि आउने गरेको सहायक प्राध्यापक कोइरालाको बुझाइ छ। घरमा ससाना नानीबाबुलाई छाडेर उनीहरू बिहानको समयमा क्याम्पस आउने गरेका हुन्। बिहानी कक्षा भएकाले पनि उनीहरूको पढ्ने इच्छा पूरा हुनमा मद्दत गरेको छ।

पाल्हीनन्दन गाउँपालिका– २ बस्ने प्रियङ्का कुमारी मिश्रा यसको उदाहरण हुन्। उनी विवाहित हुन्। श्रीमान्, सासू ससुराको सहयोग र प्रेरणाले उनी अहिले पाल्ही क्याम्पसको स्नातक तहको तेस्रो वर्षमा अध्ययनरत छिन्। उनी भन्छिन्, 'म सौभाग्यशाली छु, राम्रो परिवार पाएकी छु र उहाँहरूले नै मलाई प्रेरणा दिएर पढ्न पठाउनुभएको छ।'

हुन त प्रियङ्काले पहिलो पटक २०७४ सालमा क्याम्पसमा स्नातक तहमा भर्ना भएर प्रथम वर्षको परीक्षा पनि उत्तीर्ण गरिन् तर दोस्रो वर्षको परीक्षा भने दिइनन्। पढाइ बीचमै छोडिन्। पढाइ छोड्नुको कारण उनको पारिवारिक समस्या वा चुनौती थिएन, उनी आफैँले छोडेको थिइन्। उनले भनिन्, 'दोस्रो वर्षको परीक्षा दिने बेलासम्म मेरो बच्चा जन्मियो, अनि पढाइ रोकियो । त्यसपछि मेरो बच्चा ठूलो भयो र म २०७९ सालमा फेरि सुरुदेखि पाल्ही क्याम्पसमा भर्ना भएर पढाइलाई निरन्तरता दिँदै छु।' 

उनी भन्छिन्, 'म ब्राह्मण समुदायको बुहारी हुँ र हाम्रो समुदायमा छोराछोरी जन्मिएपछि बुहारीले पढाइलाई निरन्तरता दिएका कमै होलान्। अझै म मधेसको पनि भारतसँग सीमा जोडिएको बस्ती, समुदायकी हुँ, जहाँ अहिले पनि बुहारीहरू घरकै कामकाजमा व्यस्त देखिनुहुन्छ। तर, मेरो श्रीमान् र सासू ससुराले शिक्षाको महत्त्व बुझेर होला, मलाई पढ्नबाट रोक्नु भएन र अवसर दिनुभयो।'

प्रियङ्काजस्तै अन्य बुहारीहरूले पनि यसैगरी विवाहपछिको पढाइलाई निरन्तरता दिएका छन्। नवलपरासीको सुनवल नगरपालिका–९ सोवाठी माइत भएकी अनिताको रुपन्देहीको रोहिणी गाउँपालिका–२ मा कक्षा १२ सम्म पढेपछि बिहे भयो।

बिहेपछि पढाइले निरन्तरता पाउँछ भन्नेमा उनलाई शङ्का थियो । तर, अनिता अहिले पाल्ही क्याम्पसमा स्नातक तहमा अध्ययनरत छिन्। उनले भनिन्, 'मेरो श्रीमान्‌ले नै पढ्नुपर्छ भनेर मलाई हौसला दिनुभएको हो। अहिले म माइतमा बसेर पाल्ही क्याम्पस धाउँदै छु।'

अझै परिवारमा सबै कुरालाई व्यवस्थापन गरेर निरन्तर कक्षामा सहभागी हुन मधेसका बुहारीलाई चुनौतीको विषय हो। तर, उनीहरू सबै काम र पारिवारिक सम्बन्धलाई राम्रो बनाउँदै दिनहुँ कक्षामा उपस्थित हुन्छन्।

उनीहरूमध्ये सबैभन्दा बढी चुनौती स्नातक तहमै अध्ययनरत छात्रा रामग्राम– ७, उजैनी बस्ने चन्दा हरिजनलाई छ। चन्दाका दुई बच्चा छन्। सानो बच्चा सात महिनाको छ। तर, उनी कक्षामा नियमित उपस्थित हुने गरेकी छन्।

भन्छिन्, 'मेरा दुवै बच्चालाई सासू ससुराले हेरचाह गर्नुहुन्छ, म बिहानै कलेज आउँछु। क्याम्पसबाट घर गएर बालबच्चाको हेरचाहपछि फुर्सद निकालेर पढ्ने गरेकी छु। मेरो पढाइलेखाइमा मलाई सासू ससुराको ठूलो सहयोग छ, नत्र सात महिने बच्चालाई घरमा छोडेर म कसरी पढ्न पाउँथेँ र ?' 

बुहारी पढ्न जाने भएपछि बिहानको खाना बनाउन सासू ससुराले सघाउने गरेको उनले सुनाइन्। 'बच्चालाई आवश्यक कुराहरू बेलुकै तयार गर्छु। उनीहरूलाई बिहान आवश्यक पर्ने लत्ताकपडा सबै मिलाएर मात्रै म बिहान क्याम्पस पढ्न आउँछु,' उनले भनिन्।

त्यस्तै, रामग्राम नगरपालिका– १५, घिन्हा बस्ने रिनु चौधरीको पनि पारिवारिक अवस्था उस्तै छ। उनको पनि १३ महिनाको बच्चा छ। परिवारकै जिम्मा लगाएर निरन्तर कक्षामा सहभागी हुने गरेको उनले सुनाइन्।

'परिवारमा रहेका सासू ससुरा र श्रीमान्‌को सहयोग भएन भने पढाइलाई निरन्तरता दिन गाह्रो छ। तर, यो सबै सम्भव भएको पनि पाल्ही क्याम्पसले हो भनेर उहाँहरूले क्याम्पसलाई श्रेय दिनुभएको छ। क्याम्पस नजिक छ, हाम्रा अभिभावकको मन जितेको छ, त्यसैले हामीले पढाइलाई बुहारी भएर पनि निरन्तरता दिन पाएका छौँ,' रिनुले भनिन्।

'परासीसम्म बुटवल र भैरहवादेखि बस नै आउँछ तर हामीलाई घरदेखि लिएर पढाइका सबै कुरा व्यवस्थापन गर्न पाल्ही क्याम्पसले मात्रै सम्भव भएको पायौँ र यसै क्याम्पसलाई रोजेका छौँ। हाम्रो समुदायस्तरमा छोरी बुहारीलाई घरभित्रको काममा मात्रै सीमित गर्ने चलन पनि यसै क्याम्पसले तोड्दै छ,' उनीहरू भन्छन्।

हामीलाई थोरै चुनौती जाडो समयमा हुने गरेको छ, चन्दा हरिजन भन्छिन्, 'जाडो समयमा अबेरसम्म अँध्यारो नै हुन्छ र त्यसमा पनि जाडो। त्यसैले अँध्यारोमा अन्य केही समस्या नहोस् भनेर सकेसम्म हाम्रो घरका कोही न कोही सदस्य क्याम्पस नजिकसम्म छोड्न आउनुहुन्छ। हामी सबैको घर क्याम्पस नजिक छैन, कसैको घर १० किलोमिटर टाढा त कसैको सात/आठ किलोमिटर छ। हामी कलेज जाँदा साइकल लिएर जान्छौँ। त्यसैले अँध्यारोमा कसैले हामीसँग दुर्व्यवहार नगरोस् भनेर सकेसम्म हामी अभिभावकको सहयोगमा जाडो समयमा क्याम्पस आउने गरेका छौँ।'

क्याम्पसको भौतिक अवस्था केही वर्ष पहिला खासै राम्रो नभए पनि अहिले सुधार हुँदै गएको क्याम्पस प्रमुख दीपक अर्यालले बताउँछन्। 'कुनै समय यसै क्याम्पसमा कक्षाकोठाको अभाव थियो तर अहिले हामीले त्यो सबै व्यवस्थापन गरिसकेका छौँ', उनले भने।

स्थानीय रामग्राम नगरपालिका, विश्वविद्यालय अनुदान आयोगको सहयोग र यसै क्याम्पसको संयुक्त लगानीमा अहिले महिला शौचालयसहित भौतिक सुविधामा सुधार भएको छ। पढ्ने इच्छा भएको तर पारिवारिक समस्याले टाढा जान नपाउने छात्राहरूका लागि यो क्याम्पस सबैभन्दा बढी रोजाइमा पर्ने गरेको अर्यालले बताए।

त्यससँगै क्याम्पसमा आकर्षण बढ्नुमा छात्रवृत्तिको व्यवस्थाले पनि हो। 'संघ र प्रदेश सरकारसँगको सहकार्यमा बढीभन्दा बढी विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थापन गरेका छौँ,' प्रमुख अर्यालले बताए, 'खास गरी दलित, जनजाति, मुस्लिम र अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध हुँदै आएको छ।'

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम पाठकले क्याम्पसको स्तरोन्नतिका लागि आफू निरन्तर प्रयासमा रहेको बताए। उनले भने, 'क्याम्पसमा कुनै समय विद्यार्थीहरूको अभाव थियो। तर, अहिले धेरै सुधार छ।' 

अनिल यादव/रासस
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
३ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस