फागुनको कठ्याङ्ग्रिँदो चिसो हावा, खोल्साखोल्सीमा हिमाली सिरसिरे बतास। बिहानीको पहिलो घाम नउँघ्दै ६५ वर्षीया मोसिला न्यौपाने हातमा हथौडा लिएर गिट्टी कुट्न थालिसकेकी थिइन्।
जुम्लाको हिमा गाउँपालिका–७ कुडुगाउँकी उनी उमेरले जति नै बूढी भए पनि हातहरू भने जीवनको भारी उठाउन अझै व्यस्त छन्। उनले गिट्टी कुटेर दैनिक तीन सय रुपैयाँ सुनाउँछिन्।
‘नजिकै ढुंगा पाइँदैन, खोला किनारमा पुगेर भारी बोकेर ल्याउनुपर्छ। ठूल्ठूला ढुंगा फुटाउन सक्दिनँ, धेरै गाह्रो हुन्छ,’ उनले आफ्नो पीडा पोखिन्। घर खर्च चलाउने उपाय नभएपछि गिट्टी नै उनको बाँच्ने आधार बनेको छ।
यस उमेरमा छोराछोरीबाट स्याहारसुसार पाउने उनको अधिकार थियो। तर, नियतिले उनलाई हातमा हथौडा दिएर गिट्टी कुट्न बाध्य बनायो। ‘दर्जन बढी परिवारको सङ्ख्या छ, बाँच्नलाई केही गर्नैपर्छ। गाउँमा खानेपानीको पोखरी निर्माण हुँदैछ भन्ने सुनेपछि म यहाँ गिट्टी कुट्न आएकी हुँ,’ उनले भनिन्, ‘छोराछोरीलाई कापीकलम किनिदिन, घरखर्च टार्न केही पैसा जुटोस् भन्ने आशा छ।’
छोराहरू काम खोज्न भारत गएका छन्, छोरीहरू विद्यालय जान्छन्। घर सम्हाल्ने जिम्मेवारी उनको काँधमा छ। उनले आँसु पुछ्दै भनिन्, ‘अब त मर्ने बेला पनि ढुंगा कुटेर जिन्दगी पाल्नुपर्ने भयो जस्तो छ। हात नचलाए खाना पाइँदैन।’
उनीजस्तै ५५ वर्षीया सीता शाही पनि दुई साना बच्चा काखमा च्यापेर गिट्टी कुटिरहेकी थिइन्। उनका श्रीमान् भारतमा छन्, तर उताको कमाइले परिवार पाल्न पुग्दैन। ‘बिहानदेखि बेलुका गिट्टी कुट्छु, दिनभरि कुटेको गिट्टीबाट तीन रुपैयाँ आउँछ,’ उनले सुनाइन्, ‘मासिक जम्मा ९ हजार। यही पैसाले छोराछोरीको लालनपालनदेखि घरखर्च टार्नुपर्छ।’
गाउँकै ५० वर्षीया निली बुढा बिहान ९ बजे पाखामा पुग्छिन्। हातमा हथौडा लिएर गिट्टीसँग पौठेजोरी खेल्न थाल्छिन्। ‘गिट्टी कुटेको पैसाले नै परिवार चलेको छ। बिहानै आउँछु, बेलुकी घर फर्किंदा शरीर थाकेर नथलिए हुने,’ उनले मुस्किलले मुस्कुराउँदै भनिन्।
यी त प्रतिनिधिमूलक पात्र मात्रै हुन्। जुम्लाका गाउँहरूमा यस्ता दृश्य सामान्यजस्तै भइसकेका छन्। दुधेबच्चा बोकेर गिट्टी कुट्दै जीवन धान्ने आमा, ६० वर्ष पार गरेका ज्येष्ठ नागरिकहरू हातमा हथौडा लिएर गिट्टीमा प्रहार गरिरहेका हुन्छन्।
रोजगारीका वैकल्पिक माध्यम छैनन्। धेरै पुरुषहरू भारत जान बाध्य छन्। गाउँमा बाँकी रहेकाहरूले गिट्टी कुटेर जीवन धान्नुपरेको छ। हिउँको कठ्याङ्ग्रिँदो चिसो, पातलो एकसरो कपडा, हातमा हथौडा। नजिकै खोलाको पानीसमेत जमिसकेको छ, तर उनीहरूका संघर्षमा कुनै विराम छैन।
एक हप्ता लगातार ढुंगा फोडेपछि बल्ल एक ट्र्याक्टर टर्ली गिट्टी तयार हुन्छ। ठेकेदारले एक टर्ली गिट्टीको तीन हजार पाँच सयदेखि चार हजार रुपैयाँसम्म दिन्छन्। उनीहरूले गिट्टी फुटाएको पसिना खलङ्गा, नाग्मा बजार, हिमा र सिञ्जाका सडक तथा भवन निर्माणका लागि बग्छ।
तर, जसले टहरो उठाउने गिट्टी फुटाउँछन्, उनीहरूको आफ्नै घर भने अझै जीर्ण छ। छोराछोरीको पढाइदेखि वृद्धावस्थाको सहारा—सबैको एकमात्र उपाय बनेको छ, गिट्टी।
खडेरीले गहुँबालीसमेत सुक्न थालेको छ। खेतबारीमा उब्जनी घट्दै गएको छ। तर, गाउँका यिनै महिलाहरू निर्माणाधीन सडक र भवनहरूमा गिट्टी फुटाउँदै जिन्दगीको बाटो खोजिरहेका छन्।
बिहान सुर्य चम्किएपछि उनीहरूका हथौडाले पुनः गिट्टी कुट्न सुरु गर्छ। एक पटक हात रोके जीवन चल्दैन। त्यसैले भोलि फेरि ढुंगा फुट्छन्, तर उनीहरूको संघर्ष फुट्दैन।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...