पशु
२३ पौष २०८१
•
१२ मिनेट पाठ
पशु
३२ वर्ष ‘पशु’ जीवन बाँचेर मानव जीवनमा फर्किए इमानसिंह




लमजुङको दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका इमानसिंह गुरुङले ३२ वर्ष एक प्रकारको बन्धक जीवन बिताए। सपना, आशा र खुसीका कुनै रङ्गले कहिल्यै छुन नसकेको उनको जीवन पशु सरहको कठोर यातनामा जकडिएको थियो।

इमानसिंहको जीवन न त स्वतन्त्र थियो, न त मानवीय। उनी आफ्नै घरको खम्बामा साङ्गलोले बाँधिएका थिए। परिवारबाटै थुनिएका उनले ३२ वर्षसम्म न त राम्ररी खुला आकाश हेर्न पाए, न त मान्छेसँग संवाद गर्न।  समयले उनलाई पृथ्वीमै रहेर पनि गोठजस्तो अँध्यारो कोठामा ‘नर्क’ जस्तो जीवनयापन गर्न बाध्य बनाएको थियो।

उनले ३२ वर्षसम्म न मानिससँग बोलचाल गरेनन्। न कुनै खुसी महसुस गरे। उनको साथी बने केवल परेवा, कुकुर र झिँगा। उनीहरूसँगै उनले आफ्नो भोक मेटाए, आफ्नो पीडा बाँडे। एउटा थालमा पानी र खाना हालेर कुकुरसँग भाग लगाएर खाने उनको दिनचर्या बन्यो। परेवा उनका साथी भए। उनीहरूको गुड हेर्दै, बच्चा कोरल्दै र उड्दै गरेको देख्न पाए, तर इमानसिंह आफैं कहिल्यै उड्न सकेनन्।

जन्मकैदको सजाय पाएको व्यक्तिले पनि २० वर्षपछि स्वतन्त्रता पाउँछ, तर इमानसिंहले कुनै अपराध नगरी पनि ३२ वर्ष घरकै जेलमा बिताउनुपर्‍यो।

***

विसं २०२७ सालमा बुवा वीर सुब्बा गुरुङ र आमा गोमाया गुरुङको कोखबाट इमानसिंहको जन्म भयो। सानैदेखि उनी खेलकुदप्रति असाधारण रुचि राख्थे। गाउँमा आयोजित मेला महोत्सवका खेलकुद प्रतियोगितामा भाग लिन उनी सँधै उत्साहित रहन्थे। खेल हुने दिन बिहानै वामअफका लागि दौडनु उनको दिनचर्या जस्तै थियो।

उनका भतिज कृष्ण गुरुङ पनि प्रायः इमानसँगै खेल्न जान्थे। कृष्णले बाल्यकालका यादहरू सुनाउँदै भने, ‘इमानसिंह नाताले मेरो काका पर्नुहुन्छ। उमेरले भने हामी सँगसँगैका हौँ। उहाँको बुवा र मेरो बुवा दाजुभाइ। स्कुल सँगै जान्थ्यौँ, फुटबल, भलिबल खेल्थ्यौँ। मेला महोत्सवमा रमाइलो गर्न जान्थ्यौँ।’

खेलकुदमा इमानको अद्भुत लगाव थियो। विशेषगरी हाइ जम्प र लङ जम्पमा उनी गाउँकै उत्कृष्ट खेलाडी थिए। उनको फुर्ती देखेर गाउँलेहरू उनलाई यो त लाहुरे हुन्छ भनिदिन्थे। त्यो कुराले उनलाई लाहुरे बन्ने सपना देख्न प्रेरित गर्‍यो। त्यति बेला उनको उमेर १८ वर्ष पुगिसेको थियो। उनी ८ कक्षामा पढ्दै थिए।

एक दिन घरमै बसिरहेका बेला, नाताले भेना पर्ने एक व्यक्तिले उनलाई सुझाव दिए, ‘घरमै बसेर के हुन्छ, इमान ! लाहुरे जानु पर्छ, पैसा कमाउन। जाने हो?’ त्यो कुरा इमानका लागि ढुङ्गा खोज्दा देउता भेटेको जस्तै भयो।

त्यसपछि इमानले आफूलाई लाहुरे बनेर आमाबाबुलाई सुख दिने कल्पना गर्न थाले। घरमा उनको बिहेको चर्चा सुरु भएको थियो। तर, उनी आफ्नो सपना पछ्याउँदै अघि बढ्न चाहन्थे। लाहुरे बनेर बा-आमा पाल्ने, बिहे गर्ने र  छोराछोरीको सपना बुनिरहेका उनी भेनाको साथमा जंगल र भञ्ज्याङ हुँदै भारततर्फ हानिए।

***

भारत पुगेपछि इमानसिंह ट्रेनिङमा सहभागी भए। सेलेक्शनको दिन आयो। उनी आफू सेलेक्ट हुनेमा ढुक्क थिए। उनका मनमा भविष्यका सपनाहरू तैरिरहेका थिए— घर बनाउने, पैसा कमाउने, रिन तिर्ने, बिहे गर्ने, र आमाबाबुलाई नातिनातिना खेलाउन दिने।

त्यही बेला हाकिम कराए। ‘१८ नम्बर, इमानसिंह आइज !’ उनले तनक्क छाती तन्काएर, खुट्टा भुइँमा बजार्दै सलाम ठोके। हाकिमले उनको छाती हिर्काए। भने, ‘तेराेको हाइट पुगेन। आउट।’

यी शब्दहरूले इमानलाई मस्तिष्कमा झट्का लाग्यो। उनी भुइँमा ढाले। उनी केवल शरीरले होइन, मन र आत्माले पनि ढले। उनका आशा र भविष्यका सबै सपना ढले। बिहे गर्न सपना ढल्यो, र त्यही दिन देखि दिमागले काम गर्न छाड्यो।

होसमा आउँदा उनी गाडीमा थिए। कसैले उनलाई गाडीमा चढाइदिएका थिए। उनको मुहार अन्धकार भयो। गाडीमै रहँदा उनले आत्महत्याको कोसिस समेत गरे। गुडिरहेको गाडीबाट हाम फाल्ने खोजे। तर सकेनन्। खलासीले बोकेर घरसम्म पुर्‍याइदिए।

घरमा पुगेपछि थाहा भयो, उनी हराएको दिनदेखि उनकी आमा बिरामी परेकी रहिछन्। बिरामी आमाले छोरालाई देखेपछि जुरुक्क उठिन्। तर लाहुरे बन्ने सपना टुटेपछि थलिएका उनी कहिँलै उठ्न सकेनन्। बिस्तारै उनको दिमागले काम गर्न छाड्यो।

इमानको लाहुरे हुने सपना चकनाचुर भएपछि उनको परिवारले बिहे गरिदिन भनेर खोजिदिएको र उनले मन पराएको केटीले पनि अर्कैसँग बिहे गरिन्। त्यसपछि झनै उनको मानसिक अवस्था कमजोर हुँदै गयो।

उनले आफैलाई कष्ट दिन थाले। खोलामा हाम फाल्ने। घाँटीमा पासो लगाउने गर्न थाले। तर खोलामा हाम फाल्दा कहिले माझीले बचाए, कहिले घाँस काट्नेले डोरी काटिदिए।

दोर्दी गाउँपालिका-९ साबिक हिलेटक्सार गाविस-३ नम्बर वडा नजिकै खरबारी र जङ्गल थियो। एकदिन उनी, उनका भतिज कृष्ण र साइँलो दाइ कर्णसँग गाई चराउन जंगल गएका थिए।

विगतका कुरा सुनाउँदै इमानका भतिज कृष्ण भन्छन् ‘त्यस दिन उहाँ जङ्गलको एक कुना बसिरहनु भएको थियो। उहाँले साइँलो दाइलाई हातको इसाराले बोलाउनु भयो। त्यतिखेर उनको हाउभाउ बदलिएको थियो। उहाँका कुराहरू अनौठा थिए। त्यसपछि म कामले अर्कै ठाउँ गए। बेलुका खाना खाने बेलामा पो थाहा भो कि काकालाई त बोकेरै घर ल्याउन परेको रैछ।’

परिवारले झाँक्री देखाए, पण्डित बोलाए, तर सीप लागेन। अन्ततः उनलाई उपचारका लागि राजधानी पुर्‍याइयो। उनका साइला र माहिला दाइले मानसिक अस्पतालमा भर्ना गराए।

नियमित औषधि सेवनको दुई महिनापछि उनको अवस्थामा थोरै भए पनि सुधार आयो। उनी गाउँ फर्किए पछि उनी आफ्ना साथीभाइसँगै पुन खेलमा रमाउन थाले।

उनी आफूले खाने औषधि लिन आफै काठमाडौँ आउने जाने गर्थे। उनका भतिज कृष्णका अनुसार केही समयपछि गाउँमा फुटबल टुर्नामेन्ट सुरु भयो। उनी टिमको लिडर समेत बने। ‘उहाँ हाम्रो टिमको कप्तान बन्नुभयो। हामीले खेल पनि जित्यौ। यहाँसम्म सबै ठिकै थियो। तर राम्रो हुँदा हुँदै पनि उहाँले बिचमा औषधि खान छाड्नुभयो। र बिस्तारै पुरानै अवस्थामा फर्किनुभयो, उहाँको अवस्था झनै बिग्रिँदै गयो।’

उनका अनुसार रूढीवादी समाजका कारण पनि उनले औषधि खान छाडेका हुन्। गुम्बाका ठूला लामाहरूले ‘दिएको बलि नखाने यस्तो औषधि खाने’ भन्न थालेपछि उनले नियमित ‌औषधि सेवन गर्न छाडेका थिए। ‘यती बेलासम्म उहाँको बाबुआमा जीवित हुनुहुन्थ्यो। उनीहरुले थप उपचारका लागि भारतको राँची समेत लाैजानु भयो। तर हर सम्भव कोसिस गरेपनि काकालाई पुरानै अवस्थामा फर्किनबाट रोक्न सकेनौँ।’

त्यसपछि उनको अवस्था झनै बिग्रँदै गयो। उनले आफ्नो पुरै होस गुमाउन थालिसेका थिए। बच्चाहरू उनलाई पागल भन्दै लखेट्थ्यो। जवानहरूले बहुला भन्दै कुट्थे।

छिमेकीतिर जाँदा पनि बच्चा चार्न आएको भनेर हकार्थे। नराम्ररी कुट्थे। आमाले लाख बिन्ती गर्दा पनि आमालाई नै बोक्सी बुढी भन्दै हकार्थे।

**

समयले इमानसिंहलाई बहुला बनायो। मानसिक सन्तुलन गुमेपछि उनको व्यवहार खतरनाक बन्दै गयो। परिवारमाथि आक्रमण गर्ने, जे देख्यो त्यही भत्काउने, घरको सामान फाल्ने उनको स्वभावले गाउँ नै त्रसित बनायो। गाउँलेहरूले उनीलाई घरमै बाँधेर राख्न दबाब दिए। त्यसपछि सुरु भयो उनको ३२ वर्षे पशु जीवन।

उनका ठुला दाजु बेनीराम गुरुङ (पञ्चगुरुङ) का अनुसार, इमानलाई स्वतन्त्र छोड्दा उनले परिवारका सदस्यहरूलाई घाइते बनाउने, घरको ढोका र पर्खाल भत्काउने गर्थे। यही कारण परिवार बाध्य भएर उनलाई फलामको साङ्लोले बाँध्न निर्णयमा पुग्यो। सुरुमा डोरीले बाँध्ने प्रयास गरियो, तर उनले डोरी फुस्काएर भाग्ने गर्थे। अन्ततः दाहिने हातमा फलामको साङ्लो बाँधेर घरको ढिकी-जाँतो राख्ने कोठाको खाँबोमा थुनियो।

बेनीराम भन्छन्, ‘हामीलाई पनि गाह्रो भएको थियो। बलियो, लक्का जवान मान्छे, कसैले समात्न सक्दैनथ्यो। रिस उठ्यो भने ढोका भत्काइदिन्थ्यो, पर्खाल ढाल्थ्यो। बाध्य भएर हामीले यसो गर्नुपर्‍यो।'

एकान्तमा बितेको ३२ वर्ष

इमानसिंहलाई १८ वर्षको उमेरबाट मानसिक सन्तुलन गुमेपछि फलामको साङ्लोले बाँधेर राख्न थालियो। उनले सामान्य जीवन जिउने अवसर कहिल्यै पाएनन्। कहिले खाना खाइदिन्थे, कहिले भोकै बसिदिन्थे। भात ल्याएर राखिदिएको थालमा झिँगा बसेर खाने, पानी राखिदिए कुकुरसँगै खाने उनको दैनिकी बन्यो।

इमानले ३२ वर्षसम्म मान्छेसँग संवाद गरेनन्। उनलाई कहिले भैँसी बाँध्ने फलामको साङ्लो त कहिले केही बाँध्ने फलामको साङ्लोले दायाँ हात बाँधेर कोठामै थुनेर उनलाई राखियो।

समय बित्दै गयो। इमानसिंहका बुवा बिते। छोराको अवस्था देखेर उनकी आमा कमजोर हुँदै गइन्। छोराको पीडाले ग्रसित आमाले पनि अन्ततः धर्ती छाडिन्। इमानसिंह भने त्यही साङ्लोमा बाँधिएर आफ्नो जीवनलाई बिस्तारै खिइँदै गएको अवस्थामा हेर्दै यसरी नै चलिरह्यो।

इमानसिंहलाई आमाबुबाले मृत्यु भएपछि जेठो दाजु बेनीराम (पञ्चगुरुङ)  र भाउजु ठूली भाउजु दबलकुमारी गुरुङले हेरचाह गर्दै आएका थिए।

***

अन्धकारबाट उज्यालोतर्फ

२०७७ मंसिर १८ गते मानव सेवा आश्रमको लमजुङ शाखाले एक संचारकर्मीको माध्यमबाट इमानसिंहको दर्दनाक अवस्थाबारे थाहा पायो। त्यसपछि जिल्ला प्रशासन र प्रहरीको समन्वयमा आश्रमका अभियन्ताहरूले उनलाई उद्धार गर्न गए। त्यतीबेला घरमा इमानसिह‌ं, उनका जेठा दाजु बेनीराम र ठुली भाउजु दबलकुमारी गुरुङ मात्र थिए।

आश्रमको गण्डकी प्रदेश संयोजक अनिता अधिकारीका अनुसार उद्धारका क्रममा इमानसिंहको अवस्था अत्यन्तै दयनीय थियो। उनले त्यतिबेलाको अनुभव सुनाउँदै भनिन , ‘उहाँ उभिन समेत सक्नुभएको थिएन। वर्षौंसम्म कुँजिएर बस्नुपरेकाले खुट्टाले काम गर्दैनथ्यो। घुँडाहरू पनि सिधा हुँदैनथे। शरीरका कुनै अङ्गले सामान्य काम गर्न सक्दैनथो।'

इमानसिंहलाई पशुजस्तै अवस्थामा बन्धक बनाएर राखिएको थियो। अधिकारीले थपिन्, ‘उहाँलाई गोरुलाई फल्याक ओछ्याएजस्तै पराल राखेर खाँबोमा बाँधिएको अवस्थामा भेट्यौं। दिशा-पिसाब गर्ने ठाउँ पनि त्यही थियो। खाना दिनुहुन्थ्यो, मन लागे खाने, मन नलागे नखाने। लुगा पनि थिएन। केवल एउटा कम्बलको साहारमा हुनुहुन्थो। सुरक्षाको हिसाबले केही पनि थिएन। घरमा बाख्रा र भैँसी पाले झैँ उहाँ पनि त्यसरी नै बस्नु भएको थियो।यस्तो अवस्थामा उहाँलाई हामीले उद्धार गरेर ल्यायौं।’

इमानसिंहलाई उद्धारपछि लमजुङस्थित मानव सेवा आश्रममा लगियो। उनी १८ वर्षको उमेरदेखि ५१ वर्षको उमेरसम्म एकैठाँउ एकै प्रकारले बसिरहेका थिए। उनका खुट्टाहरू चल्ने अवस्थामा थिएनन्। 

शारीरिक र मानसिक अवस्था सुधारका लागि उनलाई जिल्ला अस्पतालमा फिजियोथेरापी गराउन थालियो। अधिकारीले भनिन्, ‘उहाँलाई फिजियोथेरापी र औषधिको सहायताले बिस्तारै उभिन र हिँड्न सक्ने बनायौं। लगभग दुई वर्ष लमजुङमै उपचार गरायौं। केही औषधिहरू पनि चलायौं।'

त्यसपछि उनी बिस्तारै आस आश्रमको वातावरणमा घुलमिल हुँदै गए। तर स्वभावमा भने धेरै फरक देखिएको थिए। त्यसपछि उनलाई उपचारमा सहजताका लागि हेटौंडास्थित आश्रमको केन्द्रीय कार्यालयमा लगियो।

मानव सेवा आश्रमको केन्द्रीय कार्यालय, हेटौंडामा रहँदा इमानसिंहको जीवनमा उल्लेखनीय परिवर्तन भयो। आश्रमका अध्यक्ष रामजी अधिकारीका भन्छन्, ‘उहाँ शारीरिक रूपमा अशक्त हुनुहुन्थ्यो। फिजियोथेरापीका लागि र मानसिक स्वास्थ्य सुधारका लागि हेटौंडा ल्याइएको हो। हाम्रो मुख्य कार्यालयको वातावरण र जमिन फराकिलो भएकाले उहाँको मानसिक र शारीरिक सुधारमा यसले ठूलो सहयोग गर्‍यो।'

उनले इमानसिंहलाई ल्याउँदा सुरुवाती दिनहरूमा उनका स्वभाव र बानी पुरानै जस्तै भएको सुनाए। नियमित काउन्सेलिङ, फिजियोथेरापी, र सकारात्मक वातावरणले बिस्तारै उनको मानसिक र शारीरिक स्थितिमा सुधार आयो। अधिकारीले भने, ‘रेगुलर काउन्सेलिङ र आश्रमको सहयोगी वातावरणले उहाँ आफैं हिँड्न सक्ने भएपछि आत्मबल र सकारात्मक सोचको विकास हुँदै गयो।'

इमानसिंहको सुधारसँगै उनी आत्मनिर्भर बन्दै गए। अधिकारीका अनुसार उनी आफै हिँड्ने डुल्ने, वातावरणमा रमाउन थालेका थिए।

इमानसिंहले मानसिक रोगका लागि औषधि सेवन गर्दै आएका छन्। अधिकारीले औषधि नियमित सेवन गर्नुपर्ने महत्त्वसमेत उल्लेख गरे। ‘यहाँ हुँदा उहाँले औषधि पनि नियमित खानुभएको थियो। यो निरन्तरता उहाँले कायम गर्नुपर्छ,’ उनले थपे।

स्वास्थमा क्रमश: सुधारदेखिएपछि उनलाई पुन: लमजुङ ल्याइयो। त्यसपछि उनले घर जाने इच्छा जाहेर गरे। उनकाे भनाइलाई उद्‌धत् गर्दै अनिताले भनिन्  ‘उहाँ आफैंले मलाई म हिँड्न सक्ने भएँ, घर जान पाए हुन्थ्यो भन्न थाल्नुभयो। त्यसपछि उहाँको परिवारसँग सल्लाह गरेर जिम्मा लगाउनेबारे छलफल भइरहेको थियो। उहाँको ठुलो दाई भेट्न आउनुभएको थियो तर लान मान्नभएन। त्यसपछि अचानक उहाँ आश्रमबाट हराउनुभयो।’

एकदिन छलफलको क्रममा, इमानसिंह आश्रमबाट अचानक भागे। बिना कुनै जानकारी, उनले घरतर्फ पाइला तेर्साए। आश्रमले केहि दिनसम्म उनलाई खोज्ने प्रयास गरे, तर उनी कतै भेटिएनन्।

*****

इमानसिंहका पाहिला निरन्त घर तर्फ लम्किरहेका थिए। नागरिक न्युजको सम्पर्कमा आएकी उनकी ठूली भाउजु दबलकुमारी गुरुङले त्यसपछिको कहानी सुनाइन। ‘ऊ गाउँ आउने पुरानो बाटो खोज्दै आफैं आएको रहेछ। त्यो बाटोमा अहिले पहिरो गएको छ, बाटो पनि अठ्यारो थियो। रातभरि कहाँ सुत्यो, के गर्‍यो, थाहा भएन। बिहानसम्म रोडमा आइपुगे सुतिरहेको रहेछ।’ 

माझगाउँका एक सहकारी संस्थामा काम गर्ने एक महिलाले देखेपछि उनले, ‘रक्सी खाएको मान्छे भनेर वास्ता गरिनन्।’ त्यसपछि, ४ बजे अफिस सकिएर फर्किदा समेत सुतिरहेको देखेर सोध्न गइन्, ‘तपाई को हो?’ इमानसिंहले जवाफ दिए, ‘म त कर्णको भाइ हो।’ कर्ण इमानसिंहका साइला दाइ हुन्।

त्यसपछि, ती महिला र गाउँका केटाहरूले इमानसिंहलाई स्कुटरमा हालेर घरसम्म पुर्याएका थिए।

****

इमान  आफ्नो घरको आँगनमा पुगे। उनको आगमनले उनका दाजु र भाउजु निकै खुशी भए। लामो समयपछि परिवारसँग पुनर्मिलन भएको यो क्षण विशेष बन्यो। इमान घर पुगेको खबर आश्रमसम्म पुग्यो। आश्रमको टोली उनको दबाइ लिएर घरसम्म पुगे।

हाल इमानसिंह आफ्ना जेठा दाजु र भाउजुसँग घरमै बसिरहेका छन्। मानव सेवा आश्रमकी संयोजक अनिता, स्थानीय जनप्रतिनिधि, र सञ्चारकर्मीहरूको टोली पनि उनलाई भेट्न घर पुगे। अनिताले उनलाई राम्ररी हेरचाह गर्न र औषधि नियमित खुवाउन परिवारलाई अनुरोध गरिन्।

कहिले कुनै कुरामा रिसाउने, कसैसँग नबोल्ने, र आक्रमण गर्न खोज्ने इमानसिंह अहिले भने सामान्य जीवन बिताइरहेका छन्। उनी मानिसहरूसँग खुलेर कुरा गर्छन्, ठट्टा गर्छन्।  मानसिक अवस्था बिग्रिएर बाँधेर राखिएको समय उनलाई झल्याँस्स सम्झना आउँछ। उनलाई आफू कति समय बिताए भन्ने कुरा भने ठ्याक्कै थाहा छैन।

पारिवारिक पुनर्मिलनपछि मात्रै उनले आफ्ना बाबुआमाको निधनको खबर पाए। मानसिक रूपमा विक्षिप्त हुँदा बाबुआमाको मृत्युको खबर थाहा पाउन नसकेका उनले दाजुभाउजुबाट यो कुरा थाहा पाएपछि निकै दु:खी भए।

घर पुगेपछि इमानसिंहले आफूलाई भेट्न आउनेहरूसँग खुलेर कुरा गर्न थालेका छन्। उनी आफ्नो विक्षिप्त अवस्थाका ती भयानक क्षणहरू सम्झिन्छन्। आफूलाई साङ्लोले बाँधेर राखिएको स्थान देखाउँदै भन्छन, ‘म यहीँ बाँधिएको थिएँ। यही खाँबोमा साङ्लो बाँधेर राख्थे।’

भाइको सुधारोन्मुख स्वास्थ्य अबस्था देखेर बिनीराम अहिले खुशी छन् , ‘यसको पनि दिन आउनेछ भन्ने लागेको थियो। आज त्यो दिन आयो। बुवाआमाले पनि भविष्यमा केही सुधार हुने भन्ने सोच्नु हुन्थ्यो। आज सही अवस्थामा घर फर्किएर आएकोमा खुसी लागिरहेको छ।’

इमानसिंहका लागि मानव सेवा आश्रमले जीवनमा नयाँ अध्याय सुरु गरिदिएको छ। उनका दाजुले आमाको पुरानो भनाइ सम्झिएर भने, “आमाले सधैं भन्नुहुन्थ्यो— जीवनमा दु:ख मात्रै हुँदैन, सुख पनि आउनेछ। आज आश्रमको सहयोगले भाइलाई नयाँ जीवन मिलेको छ।”

हाल उनी आफ्नो दैनिक काममा व्यस्त छन्। बाख्राहरूलाई घाँस हाल्ने, सुत्ने, हिँड्नेजस्ता काम गर्दै जीवनलाई सामान्य बनाउन प्रयास गरिरहेका छन्। तर, कहिलेकाहीं उनलाई अत्यधिक बोल्न थालेपछि फेरि पुरानै समस्या दोहोरिने हो कि भन्ने डर लाग्ने भाउजु दबलकुमारी बताउँछिन्।,

“पहिलेभन्दा धेरै सुधार भएको छ। अब त आफ्नै ट्वाइलेट जान्छन्, खान्छन्, औषधि खानुपर्ने बेला आफैं माग्छन्। तर, अझै पनि अलि बढी बोल्ने र चञ्चल स्वभाव बाँकी नै छ। तर घरका कामहरु पनि गर्न थालेको छ।” उनले भनिन्।

मानव सेवा आश्रम लमजुङले इमानसिंह गुरुङको सुधारका लागि सघाउने सबैलाई आभार प्रकट गर्दै उनको बाँकी जीवनमा सुस्वास्थ्य, दीर्घायु, र खुसीको कामना गरेको छ। मानसिक रोगीलाई हेलाँ र तिरस्कार होइन, माया र उपचारको खाँचो पर्दो रहेछ पाठ सिकाएको छ।
अर्को समाचार
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्‌मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता
२८ असोज २०८३
•
२ मिनेट पाठ
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्‌मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्‌मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता भएका छन्।




परिषद्ले पशुपालन गर्ने किसानलाई लक्षित गरी पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय थप व्यवस्थित र मर्यादित बनाउन व्यवसायीलाई दर्ता अनिवार्य गरेको हो। दर्ता नभई व्यवसाय सञ्चालन गरेमा व्यवसायीलाई रु ५० हजार जरिवाना वा छ महिना कैद तथा दुवै सजाय परिषद्ले गर्नेछ।

सरकारले तोकेको मापदण्डअनुसार प्रक्रिया पूरा गरेका व्यवसायीलाई अनुमति दिइएको रजिष्ट्रार जनकबहादुर रावलले जानकारी दिए। गत वर्षको तुलनामा करिब सात हजार व्यवसायीलाई इजाजत प्रदान गरिएको छ। अहिलेसम्म व्यवसायीका कागजातको अध्ययन गरी मापदण्ड पूरा गरेका व्यवसायीलाई अनुमति प्रदान गरिएको जनाइएको छ।

परिषद्ले पशु स्वास्थ्य तथा पशु सेवाको क्षेत्रमा कार्यरत आधारभूत तहका प्राविधिक जनशक्तिदेखि विषय विज्ञसम्मका जनशक्तिलाई दर्ता र नियमन गर्दै आएको छ।

पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा कार्यरत सम्पूर्ण जनशक्तिजस्तै पशुपन्छी, मत्स्य र दुग्ध विज्ञानसम्बन्धीका जनशक्ति परिषद्‌मादर्ता हुने व्यवस्था ऐनमा उल्लेख गरिएको छ। परिषद्‌मा दर्ता नभई पशु स्वास्थ्य तथा पशु सेवाका कुनै पनि व्यवसाय गर्न नपाइने व्यवस्था छ।

परिषद्ले दर्ता नभएका व्यवसायीलाई परीक्षा लिएर दर्ता गर्ने, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी र ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको दर्ता र नियमन गर्ने, राष्ट्रियस्तरको मापदण्ड तयार गरी कार्यान्वयन गराउने, व्यवसायीलाई अनुगमन गर्ने, मापदण्ड पालना नगर्ने व्यवसायीको दर्ता खारेज गर्ने, व्यवसायीको एकीकृत अभिलेख सङ्कलन तथा अद्यावधिक गर्ने, व्यवसायीलाई तालिमको व्यवस्था गर्ने जनाएको छ।

विसं २०७९ असोज २३ गतेदेखि पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन जारी भएको थियो। सो ऐनअन्तर्गत २०८० साल कात्तिक १६ गते मन्त्रिपरिषद् बैठकले परिषद् गठन गरेको हो। ऐनको परिधिभित्र रहेर प्रदेश कानुन बनाउने र सो कानुनले तोकेको निकायले समेत प्रदेशस्तरमा जनशक्ति दर्ता हुने प्रावधान ऐनमा राखिएको छ। प्रदेश कानुन नबनेसम्म त्यसले गर्ने सम्पूर्ण काम पनि परिषद्ले गर्ने व्यवस्था ऐनमा उल्लेख छ।

पशुपालन गर्ने किसानलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सम्बन्धित व्यवसायीलाई लिखित र मौखिक परीक्षा लिने तयारी गरिएको रजिष्ट्रार रावलले जानकारी दिए। शिक्षण संस्थाको मापदण्ड तोक्ने तथा व्यवसायी र शिक्षण संस्थाको पाठ्यक्रम विकासमा सहजीकरण गर्ने र व्यवसायीको कारोबार तथा अनुभवका आधारमा ‘क’ देखि ‘घ’ श्रेणीको स्तर तोक्ने परिषद्को तयारी छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ७ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस