भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार राति निधन भएको हो।
भारतीय सञ्चार माध्यमका अनुसार उनी घरमै बेहोस भएका थिए। सो पश्चात् राति ८:०६ बजे दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एआईआईएमएस) लगिएको थियो।
अस्पतालले जारी गरेको बुलेटिन अनुसार उनलाई आपत्कालीन कक्षमा भर्ना गरिएको थियो। अस्पतालमै राति ९:५१ बजे उनको निधन भएको हो।
उनको निधनमा भारत सरकारले सात दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। साथै, भोलिका सबै कार्यक्रम रद्द गरिएको छ। डा. मनमोहन सिंहको अन्तिम संस्कार राजकीय सम्मानका साथ गरिनेछ।
कांग्रेस नेता राहुल गान्धी र पार्टी अध्यक्ष मल्लिकार्जुन खड्गे बेलगावीबाट दिल्ली प्रस्थान गरेका छन्। मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गर्दै राहुलले लेखेका छन्, ‘मैले मेरो मार्गदर्शक र गुरु गुमाएको छु।’
मनमोहन सिंह दुई पटक भारतको प्रधानमन्त्री बनेका थिए। उनी लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए। यसअघि पनि उनी धेरै पटक अस्पताल भर्ना भएका थिए।
एआईआईएमएसको बाहिर सुरक्षा कडा पारिएको छ। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा पनि अस्पताल पुगेका छन्। सञ्चार माध्यमको रिपोर्ट अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी पनि केहीबेरमा एआईआईएमएस पुग्ने सम्भावना छ।
यसैबीच, कर्नाटकको बेलगावीमा चलिरहेको कांग्रेस कार्यसमिति (सीडब्ल्यूसी) बैठक रद्द गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेका छन्।
नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा नेता सिंहसँगको आफ्नो तस्बिर पनि प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका छन्।
'मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरू सम्झिरहेको छु। दिवङ्गत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,' फेसबुकमा प्रधानमन्त्री ओलीले लेखेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...