चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–५ स्थित इच्छाकामना माईँको मन्दिरमा पहिलो पटक सरकारी पूजा आयोजना गरिएको छ।
बुधबार इच्छाकामना गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा फूलको डोलीसहित पञ्चेबाजा बजाएर पञ्चबलि चढाइएको छ। पञ्चबलिको रुपमा राँगा, बोका, कुखुरा, परेवा चढाउने गरिन्छ। कुरिनटारस्थित पालिकाको कार्यालयबाट बिहानै मन्दिरमा फूलको डोली लगेर विशेष पूजासँगै प्रसाद वितरणको कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए। यसबर्ष पञ्चमी मेला भर्न सबैभन्दा धेरै भक्तजन इच्छाकामना आएको उनले बताए।
मेला भर्न चितवन र यस आसपासका जिल्लाका भक्तजनहरूको बिहानैदेखि भीड लागेको हो। कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, पूर्वअध्यक्ष गीता गुरुङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतलगायतको उपस्थिति रहेको थियो।
मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार इच्छाकामना मन्दिरमा हरेक वर्ष पञ्चमीका अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बलि चढाइने परम्परा छ। रातभर मेला लाग्ने बिहान पूजाआजाका साथै बलि चढाउने प्रचलन छ।
केही वर्षदेखि इच्छाकामना गाउँपालिकाले मेलालाई भव्य रूपमा मनाउन पञ्चमीका दिन सार्वजनिक बिदासमेत दिन थालेको छ। गाउँपालिका उपाध्यक्ष माया सिलवालले धार्मिक पर्यटकीयको रूपमा विकास हुँदै गएको यस क्षेत्रमा मन्दिर पुनर्निर्माणसहित आवश्यक विभिन्न भौतिक संरचना निर्माण गरिएको बताइन्। उनका अनुसार मन्दिरको आम्दानीलाई पारदर्शी बनाउन गाउँपालिकाको मातहतमा ल्याइएको छ। पुजारी र हेरालु सरसफाइका कर्मचारीलाई गाउँपालिकाले मन्दिरको भेटी आम्दानीबाट तलब उपलब्ध गराउँदै आएको छ।
मन्दिरमा मंगलबार देखिनै पञ्चमी मेला लागेको थियो। मेलाका अवसरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले मन्दिर संरक्षण समिति र त्रिवेणीकला केन्द्र मुग्लिनको सहकार्यमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए। उनले मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पालिकाले बजेट समेत विनियोजन गरेर काम गरिरहेको बताए। विसं २०७६ देखि निर्माण सुरु भएको इच्छाकामनाको यो मन्दिर दुई वर्षअघि सम्पन्न भएको थियो। जम्मा दुई करोड ४० लाख रुपियाँ लागत लागेको यस मन्दिरको निर्माणमा धेरै जनाको साथ, सहयोग र सहभागिता रहिआएको छ।
मनकामना देवीका सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती छ। इच्छाकामना माईको मन्दिरमा सन्तान नभएकाले भाकल र पूजाआजा गरे सन्तान प्राप्त गर्ने सदियौँदेखि जनविश्वास रहेको पाइन्छ। समुद्री सतहबाट एक हजार आठ सय मिटरको उचाइमा इच्छाकामना मन्दिरको वरपर जङ्गलले ढाकेको छ।
धेरै अग्लो स्थानमा रहेको इच्छाकामना माताको मन्दिरको दर्शन गर्न जाने क्रममा कुरिनटारबाट करिब दुई अढाई घण्टा अग्लो डाँडामा गाडीबाट गएपछि बल्लतल्ल पुगिन्छ। तल हाइवेबाट त्यस डाँडामाथि रहेको इच्छाकामना मन्दिरसम्म जान जम्मा एक हजार आठ सय मिटर रहेको छ भने ठाडो उकालो भएकाले ठाउँ ठाउँमा घुमाउरो बाटो बनाइएको छ। इच्छाकामनालाई मनकामनाकी बहिनी पनि भनिन्छ।
फागुन र चैतमा ढकमक्क फुलेको लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ। इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्र्रे देख्न सकिन्छ। यहाँ धार्मिक पर्यटनका साथै प्राकृतिक सौन्दर्य अवलोकनका लागि पनि निकै राम्रो स्थल रहेको छ।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...