जलवायु न्यायको लागि नेपाली युवाहरूले अजरबैजानको बाकुमा प्रदर्शन गरेका छन्। मंगलबार अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) चलिरहँदा नेपाली युवाको समूहले प्रदर्शन गरेका हुन।नेपाली युवाको समूहलाई केही विदेशीहरूले पनि साथ दिएका थिए।
धनी देशले गर्ने कार्बन उत्सर्जनबाट नेपाल जस्ता विकासोन्मुख तथा पर्वतीय देशहरूले क्षति भोग्नु परिरहेकाले सोबापत न्यायपूर्ण तवरबाट सहयोग उपलब्ध हुनु पर्ने प्रदर्शनकारीहरूको माग थियो। नोभेम्बर ११ बाट सुरु भएको (कोप–२९) को बैठक नोभेम्बर २२ सम्म चल्नेछ।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।