पाेखरा र भैरहवा विमानस्थल निर्माणमा अनियमितताको आशंका
१७ असोज २०८१
•
४ मिनेट पाठ
पाेखरा र भैरहवा विमानस्थल निर्माणमा अनियमितताको आशंका
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार दिउँसो नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा छापा मारी कागजपत्र नियन्त्रणमा लिएको छ।




अख्तियारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा भ्रष्टाचार भएको उजुरीमा छानबिन गरिरहेको छ। यसै विषयमा अख्तियारले माग गरेका थप आवश्यक कागजपत्र प्राधिकरणले उपलब्ध नराएपछि छापा मारेर नियन्त्रणमा लिनुपरेको हो।

अख्तियारले यसअघि २०८० साल कात्तिक १२ गते क्षेत्रीय कार्यालय पोखराबाट अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक अनियमितता भएको दाबी गर्दै आयोजनाबाट कागजपत्र नियन्त्रणमा लिएको थियो। तर प्राधिकरणसँग माग गरिएका कागजपत्र उपलब्ध नगराइएपछि बुधबार छापा मारेर नियन्त्रणमा लिनुपरेको अख्तियार स्रोतले जनाएको छ। अख्तियारको टोलीले प्राधिकरणले सिनामंगलमा बनाएको उसको नयाँ भवनको कागजात पनि नियन्त्रणमा लिएको छ।

‘अख्तियारले विमानस्थल निर्माणसँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन दुई महिनादेखि प्राधिकरणलाई पत्राचार गरेको थियो तर उसले आनाकानी गर्दै आएको थियो’, स्रोतले भन्यो।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागत दोब्बर बनाएको, निर्माणका लागि ठेक्का प्रक्रियामा चलखेल गरेकोलगायत विषयमा छानबिनका लागि कागजात नियन्त्रणमा लिइएको हो’, अख्तियार स्रोतले भन्यो। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा विमानस्थलको लागत बढाउन सहयोग गरेको, गुणस्तरहीन काम गर्न लगाएको, आयोजना निर्माण कम्पनीसँग मिलेमतो गरेको भन्दै आयोगमा उजुरी परेका छन्। उजुरीका आधारमा थप छानबिन गर्नुपर्ने भएकाले क्यानमा छापा मारी कागजात नियन्त्रणमा लिनुपरेको स्रोतको दाबी छ।

यसैगरी अख्तियारले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र मुआब्जा वितरणसँग सम्बन्धित कागजात पनि नियन्त्रणमा लिएको छ। स्रोतका अनुसार अख्तियारले पोखरा विमानस्थल आयोजनामा काम गर्ने केही कर्मचारीको बैंक खाता पनि रोक्का राखेको छ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गुणस्तरहीन सामग्री त प्रयोग गरिएको छ नै, टेन्डर प्रक्रियालगायतमा सेटिङ गरी राज्यको अर्बाैं रूपैयाँ लुटिएको छ। यसै विषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ’, स्रोतले भन्यो, ‘अनुसन्धान सुरु भएको एक वर्ष भयो, केही आवश्यक कागजात हेर्न बाँकी छ। अनुसन्धान सकिन कति समय लाग्छ भन्न सकिन्न।’ अख्तियारले क्यान कार्यालयमा प्राविधिक टोलीलाई समेत लगेर कागजात नियन्त्रणमा लिएको हो।

सुरुमा १२ अर्ब रूपैयाँमा निर्माण सम्पन्न हुनेगरी स्टमेट गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत पछि बढाइएको थियो। त्यतिबेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख प्रदीप अधिकारी थिए। उनी अहिले प्राधिकरणको महानिर्देशक छन्। अधिकारीले नै १२ अर्ब रूपैयाँबाट लागत बढाएको स्रोतले दाबी छ।

चीनको एक्जिम बैंकको ऋण सहयोगमा बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा तीनवटा अन्तर्राष्ट्रिय र आठवटा आन्तरिक उडानका विमान पार्किङ गर्न सकिने भए पनि त्यहाँबाट हालसम्म एकाधबाहेक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

एक्जिम बैंकको २२ अर्ब रूपैयाँ दुई प्रतिशत ब्याजमा र दुई अर्ब अनुदान गरी २४ अर्ब लागतमा निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत अनुमान अस्वाभाविक रूपमा वृद्धि गरिएको उजुरी अख्तियारमा परेको छ।

तत्कालीन आयोजना प्रमुख रहेका अधिकारीले पोखरा विमानस्थलको ठेक्का सेटिङमा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङ कम्पनीलाई दिएका थिए। सिएएमसी इन्जिनियरिङ कम्पनीसँग नेपाली ठेकेदार कम्पनी क्षमादेवी कन्स्ट्रक्सनलाई जेभीमा राख्ने चाँजोपाँजो पनि उनै अधिकारीले मिलाएको स्रोतको दाबी छ।

सरकारले एक्जिम बैंकबाट लिएको सहुलियत ऋण प्राधिकरणले सरकारबाट पाँच प्रतिशत ब्याजदरमा लिएको थियो। चीनबाट दुई प्रतिशत ब्याजदरमा २२ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण प्राप्त हुने भएपछि सरकार र प्राधिकरणबीच २०७३ जेठ २३ मा सम्झौता भएको थियो। सम्झौतामा प्राधिकरणले सरकारबाट लिएको उक्त ऋणको ब्याज विमानस्थल निर्माण सम्पन्न भएपछि सात वर्षसम्म दुई प्रतिशतका दरले मात्र तिर्ने उल्लेख छ। सात वर्षपछि भने १३ वर्षमा २६ किस्ता गरेर साँवा चुक्ता गर्ने सम्झौतामा उल्लेख छ।

अख्तियारले ६ महिनाअघि नै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालेको थियो। भैरहवा विमानस्थल निर्माण, जग्गा अधिग्रहण तथा ट्याक्सी वे विस्तारमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले प्रारम्भिक अनुसन्धान गर्दा भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो।

यस मामिलामा विस्तृत अध्ययन गर्ने गरी अख्तियारले प्राधिकरणका महानिर्देशक अधिकारीसँग गत चैतमै बयान लिएको थियो। प्रदीप, भैरहवा विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीलगायतलाई केन्द्रमा राखेर अख्तियारले अनुसन्धान अघि बढाएको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा भैरहवा विमानस्थल बनाइएको हो। विमानस्थल बनाउने ठेक्का चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले पाएको थियो।
अर्को समाचार
उपत्यका विकास प्राधिकरणको चिठीले प्राधिकरण र भूमि व्यवस्थाबिच झगडा
२१ माघ २०८१
•
४ मिनेट पाठ
उपत्यका विकास प्राधिकरणको चिठीले प्राधिकरण र भूमि व्यवस्थाबिच झगडा
काठमाडौं उपत्यका विकास प्राधिकरणले गत माघको पहिलो साता उपत्यकाका सबै मालपोत र नापी कार्यालयलाई चिठी लेखेर ‘अंशबन्डाबाहेक व्यावसायिक प्रयोजनका लागि कित्ताकाट गर्नुपरेमा अबदेखि विकास प्राधिकरणसँग अनिवार्य अनुमति लिनुपर्ने छ’ भन्ने व्यहोराको चिठी पठाएपछि प्राधिकरण र भूमि व्यवस्था मन्त्रालयबिच विवाद सुरु भएको छ।




मन्त्रालयका प्रवक्ता गणेश भट्टका अनुसार प्राधिकरणको उक्त चिठीबाट उपत्यकामा हरेक जग्गाको कारोबार गर्न तथा कित्ताकाट गर्नुपरेमा अबदेखि प्राधिकरणको सिफारिस अनिवार्य चाहिने प्राधिकरणको आशय देखिएको मन्त्रालयका कर्मचारीको बुझाइ छ।

‘भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियमावली २०७६ विपरीत छ। उक्त ऐन र नियामावलीमा उपत्यकामा न्यूनतम १३० वर्ग मिटर क्षेत्रफल जग्गा रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था छ’, भट्टले भने, ‘त्यसैले प्राधिकरणले मालपोत र नापी कार्यालयलाई पठाएको परिपत्र कानुनबाहिर छ, जुन हामीले मान्नुपर्ने आधार छैन।’

प्राधिकरणले पठाएको चिठीका बारेमा छलफल गर्न मन्त्रालयले गत बुधबार प्राधिकरणका उच्च कर्मचारीलाई बोलाएको थियो। सो छलफलमा प्राधिकरणका काठमाडौं आयोजना प्रमुख सुवास बस्नेत र काननु अधिकृत घनश्याम पौडेल पुगेका थिए। मन्त्रालयबाट सहसचिव मदन कोइराला छलफलमा उपस्थित थिए।

भूमि व्यवस्था स्रोतका अनुसार उक्त छलफलमा मन्त्रालयका उच्च कर्मचारीहरूले प्राधिकरणले कार्य क्षेत्रबाहिर गई नापी र मालपोतलाई पत्राचार पठाएको भन्दै तीव्र असन्तुष्टि पोखेका थिए। जवाफमा प्राधिकरणका कर्मचारीले प्राधिकरण एउटा स्वायत्त संस्था भएकाले उसले सोझै नापी र मालपोतलाई चिठी पठाउन सक्ने जनाएका थिए।

‘प्राधिकरणले केही कुरा बुझ्नुपरेमा मन्त्रालयसँग समन्वय गर्न सक्छ। प्राधिकरणको प्रस्तावमा मन्त्रालयले आन्तरिक छलफल गर्छ र आवश्यक ठानेमा मात्र मन्त्रालयले आफैं नापी र मालपोतलाई परिपत्र गर्न सक्छ’, मन्त्रालयका एक उच्च कर्मचारीले भने, ‘तर प्राधिकरणले मालपोत र नापीलाई पठाएको चिठीले मालपोत र नापीमा आतंक सिर्जना गर्ने काम गरिरहेको छ।

अहिले देशभर जग्गा खरिद–बिक्रीमा मन्दी आइरहेका बेला उपत्यकामा हरेक कित्ताकाट र हरेक कारोबारमा प्राधिकरणको सिफारिस लिनुपर्ने भन्ने नियमले जग्गा कारोबार ठप्प नै हुनेछ।’

प्राधिकरणका कानुन अधिकृत घनश्याम पौडेलले अंशबन्डाबाहेक व्यावसायिक प्रयोजनका लागि व्यवस्थित घडेरी निर्माण गर्नुपरेमा प्राधिकरणबाट अनिवार्य रूपमा सहमति लिनुपर्ने गरी प्राधिकरणले मालपोत र नापीलाई चिठी पठाएको बताउँदै भने, ‘काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५, सहरी विकास तथा बस्ती योजनासम्बन्धी मापदण्ड २०७२ को दफा १३ को ६(क) अनुसार हामीले चिठी पठाएका हौं। त्यसैले हामीले कानुनअनुसार नै चिठी पठाएका हौं।’

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर प्राधिकरणको कार्य क्षेत्रभित्र रहेकाले प्राधिकरण ऐन लागु हुने उनको भनाइ छ। उनले भने, ‘उपत्यकाका तीन जिल्लाबाहेक ७४ जिल्लामा भू–उपयोग ऐन र भू–उपयोग नियमावली लागु हुन्छ, तर काठमाडौं उपत्यकाका हकमा प्राधिकरण ऐन लागु हुन्छ। उहाँहरूले उपत्यकाका तीन जिल्लालाई पनि अन्य जिल्लासरह ठान्नुभएको रहेछ’, उनले भने, ‘त्यसैले उहाँहरूको यस्तो बुझाइ गलत छ।’

तर मन्त्रालयका प्रवक्ता गणेश भट्टले भने उपत्यकाका जग्गा विकास कार्यक्रममा मात्र प्राधिकरण ऐन लागु हुने तर जग्गा विकास कार्यक्रमबाहेक अन्य ठाउँमा भू–उपयोग ऐन र भू–उपयोग नियमावली लागु हुने दाबी गरे।

उनले भने, ‘प्राधिकरण ऐनअनुसार पनि कसैको जग्गा तीन वर्षभन्दा बढी रोक्का गर्न मिल्दैन, तर प्राधिकरणले स्मार्ट सिटीका नाममा नागरिकको जग्गा १० वर्षदेखि रोकिरहेको छ।’

प्राधिकरणले उपत्यकाका मालपोत र नापी कार्यालयलाई मात्र चिठी पठाएको छैन, उपत्यकाका सबै वडा कार्यालयलाई यस्तै परिपत्र गरेको छ। सबै परिपत्रको चलानी नम्बर पुस २९ गते राखिएको छ। साथै, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सहरी विकास मन्त्रालयलाई बोधार्थ पठाइएको छ।

मन्त्रालयका प्रवक्ता भट्टले प्राधिकरणको चिठीले सेवाग्राहीलाई झनै सास्ती दिने र नापी र मालपोतका कर्मचारीमा पनि काम गर्न गाह्रो हुने बताए। यता प्राधिकरणका कानुन अधिकृत पौडेलले उपत्यकामा खुला क्षेत्र बढाउन र व्यवस्थित सहर बनाउन यस्तो चिठी लेख्नुपरेको बताउँछन्।

यसैबिच, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था र गरिबी निवारण मन्त्रालयलाई गत साल एउटा चिठी पठाएर ‘कित्ताकाट गर्न भू–उपयोग नियमावली २०७९ मा उल्लिखित मापदण्ड पालना गर्न सुझाव पठाउने भनी आयोगबाट निर्णय भएको’ जनाएको छ। उपत्यकामा रहेको एक नापी कार्यालयका अधिकृतले यतिबेला आफूहरूले अख्तियारको उक्त चिठीअनुसार काम गरिरहेको बताए।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस