वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैंको मुखमा यात्रा कष्टकर बनेको छ। दसैंका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन्। कतिबेला घर पुग्ने हो ठेगान छैन। अन्य प्राकिृतिक विपत्तिले झ्याप्ले खोलामा आएको पहिरोमा नागरिक बिलाए झैँ हुने हो कि भन्ने त्रासमा यात्रा गर्न बाध्य छन्।
यही असोज ११ गतेदेखि नै काठमाडौंको नागढुङ्गा हुँदै जाने सवारी साधन गन्तव्यमा जान सकेका छैनन्। सामान्य रुपमा सडकमा खसेको पहिरो हटाएर सवारी साधन कछुवाको गतिमा चल्न सुरु भएलगत्तै असोज १४ गते दिउँसोबाट रात्रिकालीन सवारी साधन काठमाडौंबाट छुटाउन थालिएको थियो। दसैंका यात्रु भरिभराउ ती रात्रिकालीन बस एकैचोटि निस्किए।
राजमार्गमा सुस्त गतिमा मात्रै सवारी साधन चल्नसक्ने अवस्थामा यातायातको चाप अत्यधिक हुँदा र चालकको ‘ओभरटेक’ गर्ने पुरानै नराम्रो बानीले सडक खुले पनि जामको समस्या कायमै छ। यद्यपि बीचबीचमा पुनः पहिरो खस्ने क्रम जारी तथा ठाउँठाउँमा एकतर्फी सडकले जाम थपिएको छ।
त्यसैले अब यात्रुहरुले यो दसैंमा घर पुग्न ठूलै युद्ध जिते झैँ हुने अवस्था रहेको चितवन जान लागेका यात्रु कृष्ण शर्माले जानकारी दिए। सोमबार राति ११ बजे नागढुङ्गा नाका हुँदै उपत्यका छाड्ने यात्रु बोकेका सवारी साधनहरु काठमाडौंको नैकापसम्म लाइन थियो।
आज पनि ती सवारी साधन राम्ररी अघि बढ्न सकेका छैनन्। यस्तै, पूर्व र पश्चिम नेपाल जाने राजमार्ग पनि राम्ररी सञ्चालन हुन सकेका छैनन्। नेपाल प्रहरीका अनुसार आज पनि २० भन्दा बढी ठाउँमा राजमार्ग अवरोध नै रहेको तथ्याङ्क छ। केही ठाउँमा पहिरो हटाउने र सडक खुलाउने काम पनि जारी छ।
सडक यात्रा जोखिमपूर्ण रहेपछि अहिले हवाई यात्रुको सङ्ख्या थेगिनसक्नु भएको छ। नारायणगढबाट बुटवल हुँदै जाने सडकको दाउन्ने खण्डमा सडक भाँसिएका कारण उक्त खण्ड पनि पूर्णरुपमा बन्द हुँदा सवारी साधनको चाप थपिएको छ। बिपी राजमार्ग पनि क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ।
काठमाडौं–नारायणगढ सडकका दर्जनौं ठाउँँमा भत्किएको सडक गाडीको अत्यधिक चापका कारण राम्री सवारी साधन सञ्चालन हुने गरी सडक व्यवस्थापन गर्न सक्ने अवस्थासमेत छैन। हेर्दा कामचलाउका रुपमा मात्रै यातायात सञ्चालन गरिएको छ। सामान्य पानी परेको खण्डमा यातायात पूर्णरुपमा अवरुद्ध हुने अवस्था रहेको नेपाल प्रहरीका सहायक प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी बताए।
समयमै गन्तव्यमा यातायातका साधन जान नसकेपछि यातायातको ‘चेन ब्रेक’ हुने अवस्थाले गर्दा यात्रुको चाप बढ्ने, यातायात अव्यवस्थित हुने, यात्रुको तँछाडमछाड हुने र त्यसले दसैंसम्म नै यात्रा कष्टकर हुनसक्ने देखिएको छ। यातायात व्यवस्था विभागले यही असोज १४ गतेदेखि देशभर बाटो इजाजत खुला गरेकाले अब गाडीको चाप झन् बढ्न थालेको छ।
पानी पर्दै नपरेको खण्डमा दसैं आसपाससम्म यातायात पूर्णरुपमा सहज पार्ने प्रयास जारी रहेको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारी अहिले कसरी हुन्छ रोकिएका यातायातलाई गन्तव्यमा पुर्याउने र यातायात सहज आवागमन पार्ने भन्नेमै सरकारको ध्यान रहेको बताउँछन्। उनले भने, “प्राथमिकताका आधारमा अत्यावश्यक र यात्रुवाहक साधनलाई पठाउने गरिएको छ, त्यसपछि खाद्यान्न, इन्धनलगायत बोकेका अत्यावश्यक सवारी साधनलाई प्राथमिकतामा राखेर व्यवस्था भइरहेको छ।”
प्रवक्ता तिवारीका अनुसार केही ठाउँमा पहिरो गएको र झ्याप्ले खोलामा पनि एकतर्फी जस्तै छ। त्यसैले समस्या भएको उनले सुनाए। अब दाउन्नेमा पनि एकतर्फी खुलेको र धादिङको पहिरो हटाइसकेका कारण यातायात आवागमन सहज बन्दै जाने उनले बताए।
प्रवक्ता तिवारीका अनुसार अहिले बिहान ११ देखि १ बजेसम्म बीचबीचमा सवारी साधन रोकेर दुईतर्फी यातायात खुलाउने गरी काम अघि बढाउने निर्णय भएको छ। अबको केही दिनमा पुरानै अवस्थामा यातायात आवागमन सहज हुनेगरी व्यवस्थापन कार्यलाई तीव्रता दिइएको उनले बताए। यो चाडपर्वमा १८ लाख मानिसले राजधानी छाड्ने अनुमान यसअघि नै गरिएको थियो।
यही अवस्थामा गाडी लैजान सक्दैनौँ
नेपाल याातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला अब दसैंको बुकिङ नै बन्द गर्न लागिएको बताउँछन्। यो अवस्थामा कुनै हालतमा यात्रुलाई गन्तव्यमा लैजान नसकिने उनले बताए।
वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, “विषम परिस्थिति, वर्षालगायत कारण राज्यले व्यवस्थापन गर्न सकिरहेको छैन, विपी राजमार्ग ठप्पै छ, त्यहाँ ६०० सवारी साधन रोकिएका छन्, चालक खान नपाएको भनेर आफूलाई फोन गरिरहेका छन्, दुवै पट्टि पहिरो गएर बीचमा जोखिमपूर्ण अवस्थामा गाडी अड्किरहेका छन्, हामीले खाना नै पुर्याउन सकिरहेका छैनौँ, सरकारले पनि सकेको छैन, अनि कसरी चलाउन सकिन्छ गाडी ?”
वरिष्ठ उपाध्यक्ष सिटौलाले नागढुङ्गाबाट बाहिर जान चार दिनअघिका गाडी बल्ल पठाइएको बताए। “जाम जारी छ, धादिङ र दाउन्नेमा पहिरो खसिरहेकै छ, देशभरको सडक अस्तव्यस्त भएका कारण समस्या ठूलो छ, फेरि वर्षा हुने भनिरहेको छ, बीचमा रोकिएका गाडी र यात्रु जोखिममा परे, केही भए जिम्मा कसले लिन्छ ? वर्षा नहुँदा पनि सुक्खा पहिरो खसिरहेको छ, यातायात रोकिँदा अब हाम्रो सबै ‘सेडुअल’ बिग्रियो, अब हामीले टिकट बुक गर्न सक्ने अवस्था छैन, यदी गाडी समयमा आउने अवस्था नरहे यात्रुका पैसा फिर्ता गर्नेछौं।”
वर्षाका कारण विपत्तिको सङ्कटग्रस्त क्षेत्र घोषण गर्न ढिला गर्न नहुनेमा उनले सरकारलाई सुझाव दिए। मान्छेको ज्यान बचाउन राज्यले ध्यान दिनुपर्छ भन्दै सिटौलाले दसैं पछि पनि मनाउन सकिने भएकाले अहिले ख्याल गर्नुपर्ने बताए।
आज पनि बिहान ११ बजेदेखि गाडी रोक्न अनुरोध आएको सुनाउँदै उनले एक ठाउँमा भए गाडी रोकौंला पन्छाएपछि सहज जाउँला भन्ने हुन्छ, जताततै भत्किएको अवस्थामा सहज सञ्चालन हुने अवस्था नै नरहेको उनले सुनाए। पहिरोको त्रास कायमै रहेको अवस्थामा बेलैमा सरकारले निर्णय गरोस् भन्ने आफूहरुको माग रहेको उनले बताए।
‘अहिले घर जान हतार नगरौँ’
यातायात क्षेत्रका विज्ञ आशिष गजुरेल अहिलेको अवस्थामा यातायात सहज बनाउन सकिने अवस्था छ भने सहज बनाउने, होइन अवस्था जटिल छ भन्ने देखिएको त्यो सडक बन्द नै गरेर काम गर्नुपर्ने बताउँछन्।
उनले भने, “कहाँ–कहाँ व्यवस्थापन गर्न सकिन्छ गर्ने र सुधार गर्नसक्ने ठाउँमा सुधार गर्नुपर्छ, तत्काल व्यवस्थापन गर्न सकिँदैन भने बन्द नै गर्नुपर्छ, दसैं छ भनेर जोखिममा यात्रा गराउनु हुन्न।”
अहिले पनि सडकमा पहिरो खस्ने र ढुङ्गा खस्ने क्रम जारी रहेको उल्लेख गर्दै उनले सुधार गरेर सञ्चालन गर्दा जोखिम छैन भन्ने लागेको क्षेत्रमा सञ्चालन गर्ने तर सडक व्यवस्थापनमा समय लाग्ने छ भने हतार गर्न नहुने सुझाव दिए।
“दसैंमा यात्रुको चाप छ भनेर ज्यानको जोखिम राखेर सवारी साधन सञ्चालन गर्नु भएन”, उनले भने, “त्यसैगरी सञ्चालन गर्दा झ्याप्ले खोलामा त्यती ठूलो घटना भयो, गाडी नचलाउ भन्दाभन्दै चलाएका कारण झ्याप्ले खोलामा घटना भएको थाहा नै छ।”
उनका अनुसार जहाँ पनि सडक खनेको ठाउँमा सानो ठूलो पहिरो खसरिहेको र यसले जोखिम कायम छ भनेर देखाउँछ। आगामी दिनमा पनि ठूलो क्षति गराउन सक्ने उनको भनाइ छ।
“यो अवस्थामा जबरजस्ती गरेर घर जानलाई हतार गर्नु हुँदैन, ज्यान रह्यो भने दसैँ त फेरि पनि मनाउन पाइहालिन्छ”, गजुरेलले भने, “यात्रुले पनि जबरजस्ती जान नखोजौँ, सरकारले पनि जोखिम छ भनेर यकिन भएको ठाउँमा गाडी जान रोक्नैपर्छ।”
तनहुँ। निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ।
आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिबाट चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने भएपछि वैकल्पिक आश्रयस्थल तयार गर्न लागिएको हो।
आयोजनाका प्रमुख श्यामजी भण्डारीले वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजनाअन्तर्गत चमेराका लागि काठबाट बनाइने आवासको ‘डिजाइन’ तयार गरी निर्माण कार्य सुरु गरिएको जानकारी दिए।
राष्ट्रिय वन्यजन्तु विशेषज्ञले चमेराको बासस्थानका लागि काठको घरको डिजाइन तयार गरेका हुन्। सोही डिजाइनअनुसार आयोजना क्षेत्रभित्र तीनवटा आवास निर्माण गरिने आयोजना प्रमुख भण्डारीले बताए।
भण्डारीले भने, 'विशेषगरी आयोजना निर्माणका क्रममा हुने गतिविधि तथा रूख हटाउने कार्यबाट प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने स्थानलाई ध्यानमा राखेर चमेराका लागि वैकल्पिक आश्रयस्थल निर्माण गर्न लागिएको हो। निर्माण सम्पन्न भएपछि आयोजना क्षेत्रभित्र चमेराका लागि उपयुक्त स्थान पहिचान गरी ती आवास स्थापना गरिनेछ।'
चमेराले प्राकृतिक पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षणलाई आयोजनाको वातावरणीय व्यवस्थापन योजनामा समेटिएको छ। प्राकृतिक बासस्थानमा निर्माण कार्यबाट पर्न सक्ने सम्भावित असर न्यूनीकरण र स्थानीय चमेरा प्रजातिलाई सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो।
आयोजनाले निर्माण गर्ने वैकल्पिक आवासबाट चमेराको बासस्थान संरक्षण, आश्रयस्थलको उपलब्धता र वन्यजन्तुमाथि आयोजनाका गतिविधिले पार्न सक्ने सम्भावित प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरेको भण्डारीले उल्लेख गरे।
उक्त आयोजना ऋषिङ गाउँपालिका क्षेत्रमा निर्माणाधीन छ। १४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको आयोजनाले भौतिक संरचना निर्माणसँगै वातावरणीय तथा सामाजिक व्यवस्थापनका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ। रासस
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...