सालझन्डी-सन्धिखर्क-ढोरपाटन सडकखण्ड अन्तर्गत भण्डार क्षेत्रमा १२ दिनका लागि यातायात आवागमन बन्द हुने भएको छ। अविरल वर्षाका कारण सडक भासिएपछि मर्मतका निमित्त सवारी आवागमन बन्द गर्न लागिएको हो।
मालारानी गाउँपालिका-५ अन्तर्गत पर्ने बेताने क्षेत्रमा सडक भासिएकोले असोज १ देखि ११ गतेसम्म सडक बन्द रहने छ। यातायात बन्द हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न स्थानीयलाई आग्रह गरिएको छ।
जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइरालाको नेतृत्वमा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, सुरक्षा निकायका प्रतिनिधि लगायतको टोलीले स्थलगत अनुगमन गरी बाटो बन्द नै गरी मर्मत आवश्यक भएको निष्कर्ष निकालेका हुन्।
चाडपर्वका बेला कुनै अप्रिय घटना नघटोस् भनेर सडक मर्मतको काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए। चाडपर्वमा सवारीको चापलाई मध्यनजर गर्दै मर्मत कार्य छिटो सक्न योजना समेत बनाइएको उनले सुनाए।
सडक आयोजनाका सूचना अधिकारी दिक्षा बस्यालका अनुसार, मर्मत कार्य १२ दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।