विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने कोशी राजमार्गको सडक खण्डमा सिटी सफारी चलाउन रोक लगाएपछि शुक्रबार चालकहरूले विरोध प्रदर्शन गरेका छन्। उनीहरुले सिटी सफारी मुख्य राजमार्ग चलाउन पाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन्।
सिटी सफारी चालकले मुख्य राजमार्गमा निःशर्त सिटी चलाउन पाउनुपर्ने माग राख्दै विराटनगर महानगरपालिकाको कार्यालय अगाडि र मुख्य राजमार्गअन्तर्गत बरगाछी चोकमा एक–एक घण्टा चक्का गरेर प्रदर्शन गरेका थिए।
उनीहरुले सुरुवात महानगरपालिका अगाडि सडक अवरुद्ध पार्दै महानगरविरुद्ध नाराबाजी गरेका थिए। उनीहरुले आफैले लगानी गरेर गरी खाने बाटो बनाएको सिटी सफारीलाई ट्राफिक प्रहरी र नगर प्रहरी (नगरपालिकाको प्रहरी) मुख्य राजमार्गमा चलाउन रोक लगाउँदा दुःख पाएकोले सहजै रुपमा चलाउन पाउनुपर्ने माग राखेको बताएका छन्।
महानगरको गेटअगाडि सफारी तेर्स्याएर प्रदर्शन गरिएको सफारी चालक अनिल रायले बताए। विराटनगरका मुख्य राजमार्गमा सफारी सञ्चालनमा रोक लगाएपछि चालकहरू आन्दोलित भएको जानकारी उनले दिए। विराटनगर महानगरपालिका एवं कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वयमा ट्राफिक प्रहरीले रानी नाकादेखि विराटनगरको ढाटसम्मको राजमार्गमा सफारी सञ्चालन गर्न बिहीबारदेखि रोक लगाएको छ।
त्यसको विरोधमा सफारी चालक आन्दोलित भएका हुन्। उनीहरुले राजमार्गमा सफारी गुड्न पाउनुपर्ने माग राखेका छन्। सडकमा गुड्न प्रतिबन्ध लगाउनुभन्दा पनि व्यवस्थित बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनीहरुले बताए।
आन्दोलनरत सफारी चालकले विराटनगरका मेयर नागेश कोइराला र प्रदेश सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका थिए। उनीहरुले ऋण गरेर किनेको सफारीलाई सडकमा गुड्न प्रतिबन्ध लगाएर गरिबमारा नीति लिएको निर्णय तत्काल नसच्याए आन्दोलन थप गर्ने चालकहरूले बताएका छन्।
सफारी चालकले राजमार्ग नै अवरुद्ध पारेर आन्दोलन गरेपछि मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेमप्रसाद भट्टराईले सफारी चालकहरूलाई शनिबार वार्ताका लागि आउन आग्रह गरेका छन्। सिडिओले वार्तामा बोलाएपछि तत्कालका लागि सफारी चालकले आन्दोलन फिर्ता लिएसँगै राजमार्गमा नियमित रूपमा सुचारु भएको हो।
ट्राफिक प्रहरीका अनुसार विराटनगर महानगरपालिकाभित्र ८ हजारभन्दा बढी सिटी सफारी गुड्ने गरेका छन्। धेरै संख्यामा रहेका सफारीका कारण सवारी आवागमन अस्तव्यस्त बन्दै गएको छ। जथाभाबी सफारी सञ्चालन गरिँदा र सफारीले नियम नमान्दा दुर्घटना बढेको ट्राफिक प्रहरीले जनाएको छ। विराटनगर महानगरपालिकामा करिब २ हजारको संख्यामा मात्रै सफारी दर्ता रहेको छ।
सिटी सफारी सञ्चालनमा विशेष योजनासहित नयाँ नियम लागू गरेको बताउँदै, मोरङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले भने, ‘महानगरभित्र कोशी राजमार्गमा सफारी सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको हो। सिटी चालकहरूलाई यसअघि नै सूचना जारी गरेर रोक लगाएका हौँ। सडक साँघुरो अनि दैनिक रुपमा सफारीको संख्या बढेका कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ।’
पढ्न-लेख्न नजान्ने सिटी रिक्सा चालकलाई मौखिक परीक्षा लिएर लाइसेन्स दिने व्यवस्था गर्न माग गरिएको छ। यात्रुहरूका लागि सस्तो र सजिलो सवारी साधनका रूपमा रहेको सिटी सफारीका चालकहरूलाई मौखिक परीक्षाको माध्ययमबाट लाइसेन्स दिने व्यवस्था गर्न नेपाल अटो तथा इ-रिक्सा चालक सङ्घका केन्द्रीय सदस्य भगवान् बस्नेतले माग गरेका छन्।
लाइसेन्स नहुँदा सिटी सफारी चालकले धेरै समस्या झेल्नु परेको उनले बताए । ‘सिटी रिक्सा दुर्घटनामा परेको अवस्थामा चालकले जेलै जानु पर्ने बाध्यता छ,’ उनले भने । उनले लेखपढ गर्न नजान्ने इ-रिक्सा चालकलाई मौखिक परीक्षा र प्रयोगात्मक परीक्षाको माध्ययमबाट लाइसेन्स दिने व्यवस्था गर्न सरकारसँग माग गरे ।
बस्नेतले धेरैजसो इ-रिक्सा चालकहरू विगतमा पाइडल रिक्सा चालउनेहरू रहेको बताए । लेखपढ गर्न नजान्नेहरू विगतमा पाइडल रिक्सा चलाउने गरेको तर, यतिबेला इ-रिक्साले पाइडल रिक्सालाई विस्थापित गरेपछि उनीहरूले पनि इ-रिक्सा खरिद गरि सञ्चालन गरिरहेको बस्नेतले बताए । पढे-लेखेका र नपढेका सबैलाई लाइसेन्स दिने एउटै मापदण्ड भएका कारण लेखपढ गर्न नजान्ने रिक्सा चालकहरू समस्यामा परेको उनले बताए ।
यस्तै इ-रिक्सा चालक श्यामकुमार राजवंशीले सिटी रिक्सा चालकलाई सहज रूपमा लाइसेन्सको व्यवस्था नहुँदा एकातर्फ आफूहरू समस्यामा पर्ने बताए। अर्कोतर्फ नेपालमा भारतीय नागरिकहरूले समेत अवैध रूपमा सिटी रिक्सा चलाउने गरेको उनले बताए। 'लाइसेन्स नभई पनि सिटी रिक्सा चलाउने पाइने हुँदा धेरैजसो सिटी रिक्सा चालकको लाइसन्स छैन,’ उनले भने‘ 'लाइसेन्स बिना पनि नेपालमा इ-रिक्सा चलाउन पाइने भएकाले भारतीय नागरिकहरू पनि नेपालका इ-रिक्सा चलाउने गरेका छन् ।’
जसका कारण नेपाली मजदुरले रोजगारी पाउने ठाउँमा भारतीय नागरिकहरूले रोजगारी पाइरहेको उनले गुनासो गरे । यता, इ-रिक्सालाई व्यवस्थित बनाउने अभियान चलाइरहेका विकल्प एण्ड अल्टरनेटिभका संस्थापक बसन्त अधिकारीले इ-रिक्सा व्यवस्थित गर्ने, चालकलाई लाइसेन्सको व्यवस्था गर्ने विषयमा इ-रिक्म्सा चालक र सरकारी निकायसँग बारम्बार पहल गरिरहेको बताए । उनले भने, 'इ-रिक्सालाई व्यवस्थित पार्न सरकारसँग बारम्बार छलफल गरिरहे पनि सरकारले यसतर्फ प्रयाप्त ध्यान दिएको छैन ।’
इ-रिक्साको दर्ता, नवीकरण र नियमन नै कसले गर्ने भन्नेबारे तीन तहका सरकारहरूबीच विवाद हुँदै आएको उनले बताए । अहिले प्रदेश सरकारले इ रिक्सा दर्ता, नवीकरण र नियमन गर्ने भन्ने कानुनी व्यवस्था गरे पनि कार्यान्वयनमा आइसकेको छैन । नेपालमा कति सिटी रिक्सा छन् भन्ने विषयमा सरकारी निकायसँग आधिकारिक तथ्यांकसमेत नभएको उनले. बताए ।
अधिकारीले सरकारले लाइसेन्स नभएका सिटी रिक्सा चालकहरूलाई सहज रूपमा लाइसेन्स पाउने व्यवस्था गर्नु आवश्यक रहेको बताए । विराटनगर क्षेत्रमा मात्रै करिब १० हजार सिटी रिक्सा सञ्चालनमा रहेको अनुमान गरिए पनि सिटी सफारीका लागि सिटी स्टेण्डको व्यवस्था नभएको र जथाभावि रिक्सा चलाउने गरिएका कारण ट्राफिक व्यवस्थापनमासमेत समस्या हुँदै गएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...