चिम्साईला आँखा। छिद्र परेका दाँत। मुस्कुराउँदा उनको गाला चाउरी परेको प्रष्ट देखिन्छ। उनको खुसीको सीमा छैन। चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्दाकी वास्मती प्रजा ६३ वर्षमा नागरिकता प्राप्त गरेपछि दङ्ग छिन्।
‘यसअघि पटक-पटक नागरिकता बनाउन आउँदा बनेको थिएन। आज बन्यो,’ आइतबार जिल्ला प्रशासन कार्यालय चितवनमा भेटिएकी वास्मतीले दुई हातले नागरिकता देखाउँदै भनिन्, ‘नागरिकता भएपछि धेरै खुसी लागेको छ।’
वास्मतीले नागरिकता प्राप्तिका लागि गरेको सङ्घर्षको फेहरिस्त लामै छ। नागरिकता बनाउनकै लागि जिल्ला प्रशासन कार्यालयमा उनी तीन पटक आइन्। सरकारी निकायले मागेका कागजात पूरा गर्न नसक्दा उनी खालि हात फर्कन पर्दथ्यो।
विगतमा प्रजालाई नागरिकताको महत्त्वबारे त्यति थाहा थिएन। केही वर्ष अगाडि स्थानीय कान्देश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले यसको महत्वबारे जानकारी गराएपछि नागरिकता बनाउन कस्सिएकी हुन्।
उनका श्रीमान् दशरथ प्रजाले पनि गत वर्षमात्र नागरिकता प्राप्त गरेका थिए। दशरथले नागरिकता बनाएपछि उनका दुई छोराले नागरिकता बनाएका थिए। उनको भने बन्न सकेको थिएन।
२०१८ साल वैशाख १५ गते जन्मिएकी वास्मती शिक्षक थपलिया र श्रीमानलाई लिएर नागरिकता बनाउन आएकी थिइन्। उनका श्रीमान् दशरथ पनि श्रीमतीको नागरिकता बनेकोमा खुसी देखिन्थे। नागरिकता भएपछि राज्यले दिने सेवा सुविधा उपलब्ध हुने उनले सुनाए।
चितवनको सदरमुकाम भरतपुरदेखि कान्दा निकै टाढा छ। त्यहाँ अझै गाडी पुग्न सकेको छैन। केही समय हिँडेर दुईवटा सवारी साधन परिवर्तन गरेर भरतपुर आउनुपर्नेहुन्छ। जसले गर्दा त्यस ठाउँका मानिसहरुले नागरिकता बनाउन नखोज्ने गरेको प्रधानाध्यापक थपलियाले सुनाउँछन्।
‘कान्दामा उमेर पुगेर पनि नागरिकता नबनाउनेको संख्या ५० जनाभन्दा बढी थिए। गत वर्ष २४ जनाले लिए। अझै २५ जनाको हाराहारीमा होलान्,’ उनले भने ‘चेपाङहरुलाई नागरिकताको महत्वबारे बुझाउनै कठिन छ।’
चेपाङ संघका अध्यक्ष भीम बहादुर चेपाङ पछिल्लो समयमा चेपाङ समुदायमा नागरिकता बनाउनुपर्दछ भन्ने विषयमा जानकार हुन थालेको बताउँछन्।
‘नागरिकता नबनाउने चेपाङ समुदायको संख्या पहिला जस्तो त छैन। केही सेवा सुविधा लिन नागरिकता अनिवार्य गरेपछि उहाँहरूले नागरिकता बनाउन थाल्नुभएको छ’, उनले भने ‘पछिल्लो समय उहाँहरुका छोराछोरी पढ्न थालेका छन्। नागरिकता चाहिन्छ भन्ने बुझाउँदै छन्।’
उनका अनुसार चितवनको कालिका, राप्ती, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकाका दुर्गम ठाउँका केही चेपाङहरु नागरिकता बनाउन बाँकी छन्। ‘सडक क्षेत्रमा बस्ने प्राय नागरिकले नागरिकता बनाएका छन्,’ उनले भने ‘यातायातको समस्या भएका क्षेत्रका मानिसहरुमा नागरिकता नबनाउने समस्या छ।’
नागरिकता नहुनु भनेको दशको नागरिक नहुनु हो। चेपाङ समुदायलाई राज्यले स्वास्थ्य उपचार, यातायत छुट, सामाजिक सुरक्षा भत्तादेखि विभिन्न क्षेत्रमा सहुलियत दिएको छ। तर, नागरिकता नहुँदा यी सुविधाबाट उनीहरु वञ्चित छन्।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...