अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले संक्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरेकामा नेपाल सरकारलाई बधाई दिँदै यस प्रक्रियामा अगाडि रहेका चुनौतीप्रति सजग गराएका छन्।
‘संक्रमणकालीन कानुन पारित गरेकामा म सरकारलाई बधाई दिन चाहन्छु,’ नेपालको दुईदिने भ्रमणका लागि आएका लुले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘मलाई थाहा छ, यस प्रक्रियामा अगाडि धेरै चुनौती छन् तर यसलाई सहमतिमा अनुमोदन गर्नु उत्साहपूर्ण छ। सरकार र प्रतिपक्ष दुवैतर्फका नेता अहिले आयोग गठनमा सँगै क्रियाशील भइरहेका छन्।’
उनले संक्रमणकालीन न्यायसम्बन्धी जारी छलफल महत्त्वपूर्ण रहेको बताए। ‘हालै सार्वजनिक आयोग सदस्यहरूको सूचीले छलफललाई पारदर्शिता र समावेशिताको विषयलाई चर्काएको छ,’ उनले भने, ‘नेताहरूले समाजलाई संवादमा सरिक गराउनु र सार्वजनिक सुझावलाई ध्यानमा राख्नु आवश्यक छ। लोकतान्त्रिक प्रक्रियाले विगतका अन्यायलाई सम्बोधन गर्न जिम्मेवारी र निष्पक्षता सुनिश्चित गर्छ।’
भारत र श्रीलंकाको भ्रमणपछि आइतबार नेपाल आइपुगेका लुले विभिन्न नेतासँग भेटवार्ता गरेका छन्। कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायतसँग उनले सोमबार भेट गरेका हुन्।
यस क्षेत्रको अहिलेको जिम्मेवारीमा रहेर लुले गरेको नेपालको चौथो भ्रमण भए पनि उनी नेपालमा ६ पटक आइसकेका छन्। ‘यो ठाउँमा पहिलो पटक आइपुग्दाको सुखद अनुभूति ममा छ,’ उनले भने, ‘तीस वर्षअघि म एक युवतीसँग भ्रमणमा आएको थिएँ, जो अहिले मेरी पत्नी हुन्। पछि हामी हाम्रा नानीहरूसँग आयौं र पोखराको पदयात्रा र सुन्दर काठमाडौंको अवलोकन गर्यौं।’
भ्रमणका क्रममा आफूले नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धबारे छलफल गरेको उनले बताए।
यसमा अमेरिकी सहयोग नियोग (एमसिसी) कम्प्याक्टको कार्यान्वयन, युएसएआइडीको कार्यक्षेत्र विस्तार, विकास वित्त सहयोग, लगानी विस्तार र पिसकोर स्वयंसेवी कार्यक्रमबारे छलफल भएको उनले जानकारी दिए। उनले हिन्दकुश पर्वतीय क्षेत्रका निम्ति कार्यरत संस्था इसिमोडलाई नेपाल, भारत र बंगलादेशका महिलालाई हरित अभियान सञ्चालनमा सहयोग पुर्याउन ९ लाख अमेरिकी डलर अनुदान सहायता दिने समारोहमा सहभागी हुने सौभाग्य प्राप्त भएको पनि उनले खुलाए।
उनले नेपाल–अमेरिका उच्चस्तरीय संलग्नतामा जोड दिए। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयपछि राजनीतिक परिवर्तन भए पनि उनले विगतमा एसियालाई प्राथमिकतामा राखेका हुँदा त्यसको निरन्तरताप्रति आशावादी रहेको बताए।
‘हाम्रो ७७ वर्ष लामो साझेदारी हाम्रा जनताबिचको न्यानो मित्रतालाई प्रतिबिम्बित गर्दै अझ सुदृढ रहनेछ,’ उनले भने।
तपाईंको भ्रमण दक्षिण एसियाको भूराजनीतिक विकासबाट निर्देशित छ ? भनी सोधिएको प्रश्नमा उनले भने, ‘यो भ्रमण अमेरिकी प्रशासनको संक्रमणको समयमा भएको छ। पेसागत कूटनीतिक व्यक्तिका रुपमा हामीले डेमोक्रेटिक र रिपब्लिकन दुवै प्रशासनमा सेवा गरेका छौं, अमेरिकी विदेशनीतिको त्यही निरन्तरतालाई सुनिश्चित गर्न यो भ्रमण भएको हो।’
भ्रमणका क्रममा आफूहरूले द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षबारे कुराकानी गरेको उल्लेख गर्दै लुले आर्थिक विकास, जलवायु संकट समाधान र निजी क्षेत्रसँगको सहकार्यबारे पनि छलफल भएको बताए। ‘उदाहरणका लागि तपाईंका प्रधानमन्त्रीले भर्खरै इलन मस्कसँग टेलिकन्फ्रेन्स गरी नेपालमा सम्भावित अमेरिकी लगानीबारे छलफल गर्नुभएको छ,’ उनले भने।
उनले भूराजनीतिक द्वन्द्वबारे प्रष्ट शब्दमा भने, ‘संयुक्त राज्य अमेरिका नेपालले आफ्ना छिमेकी भारत र चीनका साथै टाढाका साझेदार युरोप, जापान र टर्कीसँग पनि राम्रो सम्बन्ध राख्ने प्रयासको सधैं समर्थन गर्छ। यी सम्बन्धहरू नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको आपसी सम्मानमा आधारित हुनेछन् भन्नेमा हामी पूर्ण विश्वास गर्छौं। नेपाल बाह्य दबाबबेगर आफ्नो निर्णय आफैं गर्न सक्छ।’
अमेरिकाको नयाँ प्रशासनले बाइडेन प्रशासनले जस्तै जलवायु परिवर्तनका मुद्दालाई प्राथमिकतामा राख्ला ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘इमानदारीका साथ भन्छु, मसँग यसको प्रस्ट जवाफ छैन। अहिले म बाइडेन प्रशासनलाई प्रतिनिधित्व गरिहेको छु, जसले जलवायु परिवर्तनका समाधानलाई प्राथमिकतामा राखेको छ।’
‘ट्रम्प प्रशासनले विगतमा पेरिस सम्झौताबाट हात झिकेको भए पनि अहिले उनका थुप्रै सल्लाहकारले अन्तर्राष्ट्रिय जलवायु प्रयासको समर्थन गरेका छन्,’ उनले भने, ‘नेपाल र दक्षिण एसियाले सामना गरेको हिमताल पग्लिने र चर्को गर्मी यथार्थ हो। म आशा गर्छु, यसलाई सम्बोधन गर्न अमेरिका सरकार सशक्त साझेदारका रुपमा कायम रहनेछ।’
लुले एमसिसी कम्प्याक्टको प्रगति राम्रोसँग भइरहेको र नेपालमा १० हजार रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरे। यसले विद्युत् ट्रान्समिसन लाइन र सडक पूर्वाधार विकासमा मद्दत पुर्याउने उल्लेख गर्दै उनले भने, ‘यी परियोजनाले उल्लेख्य आर्थिक लाभ लिनुका साथै वार्षिक १० करोड अमेरिकी डलर भारतमा बिजुली निर्यातबाट प्राप्त गर्न सकिनेछ। यसअघिका राजनीतिक तनाव किनारा लागिसकेका छन् र यसको सकारात्मक प्रभावका लागि नयाँ सहमति भइसकेको छ।’
२५ मंसिर २०८१
•
४ मिनेट पाठ