'नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि समुदाय एक क्लिक टाढा छ'
२४ असार २०८१
•
७ मिनेट पाठ
'नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि समुदाय एक क्लिक टाढा छ'
अशोकजङ्ग कोइराला (दायाँ) र उनको पार्टनर सन्दीप थापाबीच चीनको सबभन्दा ठूलो पुरुष-समलिङ्गी डेटिङ एप ब्लूडको माध्यमबाट भेट भयो र सन् २०२२ मा उनीहरूले बिहे गरे। उनीहरूले आफू सुरुमा यो एपमा जोडिंदा पार्टनर वा डेट गर्ने व्यक्ति खोजिरहेका थिएनन्। तस्बिर: यामकुमा
काठमाडौं, नेपाल — दुई वर्षअघि, अशोकजङ्ग कोइराला र सन्दीप थापा चीनको सबभन्दा ठूलो पुरुष(समलिङ्गी डेटिङ एप ब्लूडमा सामेल हुँदा उनीहरूले न डेट गर्ने बारेमा न बिहेका लागि पार्टनर खोज्ने बारेमा सोचेका थिए। स्वभावले लजालु खालका व्यक्ति थापा आफ्ना साथीहरूको सर्कल बढाउन ब्लूडमा सामेल भएका थिए। कोइरालाको कुरामा यो काठमाडौंस्थित एउटा गैरसरकारी संस्थामा उनले गर्ने जागिरको हिस्सा अर्थात् अनलाइन प्लेटफर्मका प्रयोगकर्ताहरू विरुद्ध हुने उत्पीडनको निगरानी गर्नु थियो।




त्यो समयमा, कोइरालासँग – जसले सन् २०२१ मा मात्र एउटा पुरुष(समलिङ्गी व्यक्तिको पहिचान आत्मसात गरेका थिए, ठूलो समुदाय थिएन। कोभिड-१९ महामारीको समयले सिर्जना गरेको आइसोलेसनले डेटिङ एप्स र विभिन्न सामाजिक सञ्जाल प्लेटफर्मलाई लोकप्रिय बनायो किनभने धेरैभन्दा धेरै मानिसहरू अरुसँग जोडिने उपाय (कनेक्सन) खोजिरहेका थिए। तीन महिनासम्म थापा र कोइरालाबीच यस एपमा नियमित कुराकानी भइरह्यो। थापाले प्रस्ताव राखे र व्यक्तिगत भेटघाट भएको तीन महिनापछि, उनीहरूले प्रसिद्ध हिन्दु मन्दिर पशुपतिनाथमा बिहे गरे।

थापासँगको भेटले कोइरालाको जीवनलाई नै बदलेको छ। उनको भनाइअनुसार यसले उनलाई एक पुरुष-समलिङ्गी व्यक्तिको रूपमा संसारमा अघि बढ्न चाहिने साहस र सहयोग दिएको छ। कोइराला भन्छन्, 'उसले मलाई अथाह खुसी र मेरो आफ्नै पहिचान बोकेर हिँड्न पर्याप्त शक्ति दिन्छ।' 

उनको भनाइअनुसार थापाको साथ र सहयोगकै कारण उनले अप्रिल महिनामा भएको मिस्टर गे नेपाल प्रतियोगितामा उपविजेताको स्थान हासिल गरेका थिए। उनी भन्छन्, 'थापा मेरो परिवार हो र उसको प्रेमले म संसार जित्न सक्छु।'

अशोकजङ्ग कोइरालाका अनुसार डेटिङ एप्सजस्ता भर्चुअल स्पेसहरूले एकातिर एलजीबीटीक्यू+ वर्गमा मानिसहरूलाई नेपालमा सम्बन्ध र समुदाय खोज्न मद्दत गर्छन् भने अर्कोतिर यस्ता स्पेसहरू जोखिमपूर्ण पनि छन्। यो समुदायमा नपर्ने केही व्यक्तिहरूले नक्कली परिचय प्रयोग गरी हैरानी दिने गरेका र यो समस्या बढ्दै गइरहेको कोइरालाको भनाइ छ। तस्बिर: यामकुमारी कंडेल, जिपिजे नेपाल 
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई मान्यता दिने दिशामा नेपालको कानूनले फड्को मारेको भएपनि, सामाजिक स्वीकृति मायावी रहेको छ। नेपालमा एलजीबीटीक्यू+ मानिस, जसले आफ्नो पहिचान पुरुष(समलिङ्गी, महिला(समलिङ्गी, उभयलिङ्गी (बाइसेक्सुअल), पारलिङ्गी (ट्रान्सजेन्डर), क्वीअर चिनाउँछन् वा अन्य यौनिक झुकाव वा लैङ्गिक पहिचानको रूपमा चिनाउँछन् – अझैपनि लान्छना र विभेदको सामना गर्दछन्। कतिपय आफ्नै घर र पारम्परिक सहयोग प्रणालीबाट बहिष्कृत भएका छन्। यसको प्रतिक्रिया स्वरूप, फेसबुक समूह, डेटिङ एप्स र अनलाइन फोरम जस्ता भर्चुअल स्पेसहरू उनीहरूका लागि समुदाय खोज्ने र विना डर आफ्नो पहिचान अभिव्यक्त गर्ने महत्त्वपूर्ण आरक्ष बन्दै गइरहेको छ।

एक जना ट्रान्सजेन्डर पुरुष सुदीप गौतमले नेपालमा ट्रान्सजेन्डर पुरुषहरूलाई जोड्न सन् २०२२ मा एउटा फेसबुक ग्रुप बनाएका थिए। गौतम एउटा यस्तो स्पेस चाहन्थे जहाँ उनीहरूले आफ्ना पहिचान, वित्तीय चुनौती र अन्य सवालहरूबारे व्यक्तिगत अनुभव साझा गर्न सक्थे। 'विशेषतः ट्रान्सजेन्डर पुरुषहरूका लागि स्वास्थ्यबारे छलफल गर्नु महत्त्वपूर्ण छ,' गौतम भन्छन्। उनीहरू अक्सर आफ्नो स्वास्थ्य, विशेषगरी महिनावारीको बारेमा कुराकानी गर्न गाह्रो मान्ने गर्छन् र यसले धेरैमा डर चिन्ता उत्पन्न गरिरहेको छ। भर्चुअल समूहले उनीहरूलाई अन्यत्र भन्न नसक्ने केही यस्ता अनुभव साटासाट गर्ने एउटा महत्त्वपूर्ण अवसर दिन्छ। 

यो पनि पढ्नुहोस्

मिस युनिभर्स नेपालसँगै खासै नसुनिएको डिस्अर्डरको चर्चा पनि चुलिंदै

काठमाडौंका प्रतीक थापाको भनाइअनुसार यस समूहले उनलाई निरन्तर जुझिरहनुपर्ने हर्मोनसँग सम्बन्धित समस्या सुल्झाउन मद्दत गरेको छ।

अहिलेसम्म, यस समूहमा ६० सदस्य रहेका छन्। गौतम भन्छन्, 'हाम्रा लागि यो हाम्रो घर हो।' आफूलाई जन्म दिने परिवारबाटै अस्वीकार भएका सदस्यहरूका लागि यो समूह पारिवारिक सम्बन्ध खोज्ने एउटा स्पेस रहेको गौतमको भनाइ छ। यस समूहको अवधारणा भनेको 'परिवारविहीन ट्रान्स-पुरुषहरूलाई एकताबद्ध गरी उनीहरूलाई सुरक्षित महसुस गराउनु हो।'

यस डिजिटल वातावरणले नियन्त्रण र सुरक्षाको भावना प्रदान गर्दछ। प्रयोगकर्ताले अज्ञात रहेर गोप्य खाताहरू खोल्न र आफ्नो वास्तविक संसारमा रहेको पहिचान खोल्नुपर्ने दबाव महसुस नगरी यसमा जोडिन सक्नेछन्। यो स्वायत्तताले उनीहरूलाई अर्थपूर्ण सम्बन्ध बनाउन, अनुभव साटासाट गर्न र अन्य हिसाबले पहुँचयुक्त नहुने सहयोगी सञ्जालहरू निर्माण गर्न सहयोग गर्दछ।

मार्च महिनामा अशोकजङ्ग कोइराला मिस्टर गे नेपालको उपविजेता घोषित भए। यस उपलब्धिको धेरै श्रेय उनी आफ्नो पार्टनर सन्दीप थापालाई दिन्छन्, जोसँग उनको भेट एउटा डेटिङ एपको माध्यमबाट भएको थियो। उनको भनाइअनुसार यदि उनको पार्टनरको सहयोग नभएको भए उनले प्रतियोगितामा यो सफलता पाउने थिएनन्। उनी भन्छन्, 'उसको प्रेमले म संसार जित्न सक्छु।' तस्बिर: यामकुमारी कंडेल, जिपिजे नेपाल 
ट्रान्सजेन्डर महिला अनि नेपालमा एलजीबीटीक्यूं वर्गको हक अधिकारका लागि कार्यरत संस्था ब्लू डायमण्ड सोसाइटीकी अध्यक्ष पिङ्की गुरुङका अनुसार महामारीको समयमा एलजीबीटीक्यूं सदस्यहरूको एउटा फेसबुक समूह किन्नर बिग बोस मानिसहरूले आफ्ना सङ्घर्षका गाथा सुनाउने एउटा प्रमुख प्लेटफर्म बन्न पुग्यो। यस समूहमा ७०० यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक रहेको गुरुङ बताउँछिन्। यस समूहमा जोडिन चाहनेहरूलाई समूहमै आबद्ध भईराखेका सदस्यले निमन्त्रणा गर्नुपर्छ र त्यसपछि मात्र नयाँ सदस्यहरूले उक्त समूहमा प्रवेश पाउन सक्नेछन्।

किन्नर बिग बोस आफूले थालेको पैरवीमा सहयोग गर्ने एउटा महत्त्वपूर्ण स्रोत बनेको नेपालमा अभियन्ताको रूपमा समेत चिनिएकी पिङ्की गुरुङ बताउँछिन्। यस प्लेटफर्मको माध्यमबाट उनले आफूले सेवा गर्दै आएका मानिसहरूको खाँचो र आवश्यकताका बारेमा थाहा पाउँछिन्। यसमा हुने कुराकानीका विषयहरूमा रोजगारका अवसर, तालीम, र मानसिक स्वास्थ्यको उपचार समेत रहन्छन्।

उदाहरणका लागि, मार्च महिनामा, समूहको एक जना सदस्यले परिवारबाट नराम्रोसँग कुटपिट गरिएका कम उमेरका महिला-समलिङ्गी जोडीबारे समाचार पोष्ट गरेका थिए। यस समाचारको आधारमा, ब्लू डायमण्ड सोसाइटी उक्त ठाउँ पुगेर किशोरीहरूलाई उद्धार गरी आश्रयस्थलमा राख्न सहयोग गरेको थियो। गुरुङ भन्छिन्, 'एलजीबीटीक्यू+ वर्गमा पर्ने मानिसका लागिे आफ्नो परिवारसँग बस्न पनि जोखिमपूर्ण हुँदै गइरहेको छ।'

नेपालको कानून प्रगतिशील (राजनीतिक तथा सामाजिक सुधारको पक्षमा) भएपनि, एलजीबीटीक्यू+ समुदायका मानिसहरू उनीहरूकै आफ्नै (जैविक) परिवारबाटै बहिष्करण, लान्छना र विभेदमा पर्दछन्। तस्बिर: यामकुमारी कंडेल, जिपिजे नेपाल
यस घटनाले भर्चुअल स्पेसहरूको महत्त्वमाथि प्रकाश पार्ने सन् २०२३ मा बीबीसीले निकालेको शीर्ष १०० प्रभावशाली महिलाहरूको सूचीमा रहेकी नेपाली ट्रान्सजेन्डर महिला रुखसाना कपालीको भनाइ छ। उनीहरूले घर किन्न सक्दैनन् र भाडामा बसेको ठाउँमा पनि उनीहरूले लान्छना सहनुपर्छ।

तर भर्चुअल स्पेस दुईतिर धार भएको तरबार हो।

कोइरालाका अनुसार यी प्लेटफर्ममा पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई अन्य मानिसले हैरान पारिरहेका हुन्छन्। कोइरालाले यस्तो उत्पीडनको शिकार भएकाहरूलाई परामर्श दिने गर्दछन्। उनले एलजीबीटीक्यूं वर्गका मानिसहरूका लागि सञ्चालित नौवटा सामाजिक सञ्जाल पेज र बन्द मेसेन्जर समूहलाई नजिकबाट निगरानी गर्दछन्। कोइरालाको भनाइअनुसार यस्ता प्लेटफर्महरू उपयोगी भएपनि यी प्लेटफर्मका माध्यमबाट कैयौँ मानिसले आर्थिक र यौन हिंसाको सामना गरिरहेका हुन्छन्। केही व्यक्तिहरूले नक्कली परिचय प्रयोग गरी हैरानी दिने गरेका र यो समस्या बढ्दै गइरहेको कोइरालाको भनाइ छ।

उनको भनाइअनुसार ट्रान्सजेन्डर पुरुषहरूका लागि उनले बनाएको फेसबुक ग्रुपमा यस्तो धेरै पटक भएको छ। उनले यीमध्ये केही घटनाबारे प्रहरीमा उजुरी गरेका भएपनि प्रहरीले राम्रोसँग सम्बोधन नगरेको उनको भनाइ छ। अहिले, उनी शंकास्पद व्यवहारको जाँच गर्छन् र आपत्तिजनक व्यवहार गर्ने सदस्यलाई समूहबाट हटाउँछन्।

सम्बन्ध र समुदाय खोज्न उनीहरू कहिलेकाहीँ डेटिङ एप ब्लुड जस्ता भर्चुअल स्पेसहरूमा पुग्छन्, जहाँ अशोकजङ्ग कोइरालाले आफ्नो जीवनसाथी सन्दीप थापालाई भेटेका थिए। तस्बिर: यामकुमारी कंडेल, जिपिजे नेपाल
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको हकहितमा कार्यरत अभियन्ता आनिक रानामगरले फेसबुक मेसेन्जरमा एउटा बन्द समूह शुरू गरे। अहिलेसम्म यस समूहमा नेपालभरिबाट ४७ सदस्य बनेका छन्। रानामगरले यो समूह एकतालाई बढावा दिन र पहिचान, प्रशासन, स्वास्थ्य र रोजगारसँग सम्बन्धित सवालहरूमा सहयोग गर्न गठन गरेको बताउँछन्।

एक जना पुरुष समलिङ्गी व्यक्ति सूरज थापा सन् २०२२ मा यो समूहमा सामेल भए। उनका अनुसार उनले यस समूहको माध्यमबाट मिल्ने साथीहरू बनाएका छन्। सूरज भन्छन्, ”अनलाइनमा कुरा गर्दै हामी सूर्यास्तको समयमा एक साथ चिया पिउँछौँ।” “समूहका सदस्यहरूले मेरो समस्यालाई आफ्नै समस्याको रूपमा लिन्छन्।”

(यो स्टोरी सुरुमा ग्लोबल प्रेसजर्नलद्वारा प्रकाशन गरिएको थियो। यामकुमारी कंडेल ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।)
अर्को समाचार
नागरिकतामै अल्झिएका लैंगिक तथा यौनिक अल्पसंख्यक
१५ भदौ २०८१
•
९ मिनेट पाठ
नागरिकतामै अल्झिएका लैंगिक तथा यौनिक अल्पसंख्यक
कागजात पुगेको अवस्थामा नागरिकले आफ्नो हकअनुसारको नागरिकता पाउने गर्छन्। तर, यहाँ त्यस्ता व्यक्तिहरू पनि छन्, सबै कागजात बुझाएको वर्षौंवर्ष हुँदा पनि नागरिकता पाउन सकेका छैनन्।




नेपालको संविधान २०७२ ले लैंगिक पहिचानका आधारमा नागरिकता दिने व्यवस्था गरे पनि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले आफ्नो हक प्रयोग पहल गर्दा पनि नागरिकता पाएका छैनन्। आफ्नो कामधाम सबै छोडेर नागरिकताका लागि चाहिने सबै कागजात संकलनपछि सम्बन्धित निकायमा बुझाएका छन् तर नागरिकता हातमा परेको छैन।

काठमाडौंकी ३७ वर्षीय टिना राई लगातार दुई वर्षदेखि नागरिकताका लागि भागदौड गरिरहेकी छिन् तर उनको भागदौडसँगै सबै कागजात काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बुझाए पनि नागरिकता हात पर्ने कुनै टुंगो छैन।

टिनाको जन्म पुरुषका रूपमा भयो तर उनको मन नारीको छ। आफूलाई नारीकै रूपमा चिनाउन रुचाउने समुदायलाई अझै फराकिलो हृदयले समाजले स्वीकार्न नसकेको भन्दै राज्यले पनि नागरिकता दिने सवालमा विभेद गरेको उनको दुखेसो छ।

आफू महिला हुँ भनेर उनी नागरिकता लिन चाहन्छिन्। त्यसका लागि नागरिकता प्राप्त कार्यालयमा अस्पतालले प्रमाणित गरेको मेडिकल रिर्पोट, वडा कार्यालयको सिफारिस र जन्मदर्ता बुझाउनुपर्छ। तब मात्रै नागरिकता पाउने प्रावधान छ।

त्यो प्रावधानअनुसार उनले वीर अस्पतालबाट लिंग परिर्वतन गरेको कागजातलाई मेडिकल बोर्डले पनि प्रमाणीकरण गरेर बुझाएकी छन्। वडा कार्यालयको सिफारिस र जन्मदर्ता बुझाएको दुई वर्षभन्दा बढी भइसक्दा पनि नागरिकता नपाएको उनको गुनासो छ।

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको सूचीमा हुँदाहुँदै नागरिकता पाउने उमेरमै आमाबाबुले पुरुषको नामबाट नागरिकता बनाइदिएको उनी सुनाउँछिन्। जसमा उनी निकै दुःखी छिन्। उनको आत्मसम्मानमा चोट लागेको बताइन्।

‘आफू जन्मजात महिला भएर जन्मेको आभास हुन्छ,’ उनले भनिन्, ‘उमेर बढ्दै गएपछि महिला अनुभूत गर्न थालेकी हुँ। आफैंभित्र महिलाको आत्मासँग जोडिएपछि बल्ल समाज र आफ्नै जीवनसँगको लडाइँ सुरु भयो।’

उनको ठुलो चाहना छ टिना राईको नामबाट नागरिकता बनिदिए हुन्थ्यो भन्ने। त्यसका लागि उनी हरदम लागिपरेकी पनि हुन्। ‘नागरिकतामा भएको पुरानो नाम र लिंग परिवर्तन गर्ने इच्छा छ। विदेशमा गएर लिंग परिवर्तन गर्न सकिन्छ। तर, त्यसका लागि लाखौं खर्चेर शल्यक्रिया गर्न सबै सक्षम हुँदैनन् नि?,’ उनले भनिन्। शल्यक्रिया गर्नुपर्ने प्रावधान लैंगिक तथा यौनिक अल्पसख्यक समुदायका लागि ठुलो समस्या र चुनौती बनेको टिनाले बताइन्।

‘आवश्यक कागजात जुटाउनै समस्या हुन्छ। जसोतसो सबै संकलन गरेपछि जिल्ला प्रशासन गयो, त्यहाँ पनि यो भएन र त्यो भएन भन्ने हुन्छ। दिक्क भएर फर्किनुको विकल्प हुँदैन। कहाँ गएर अट्किन्छ, थाहा हुन्न,’ उनले भनिन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नागरिकताका लागि अपिल गरेकी उनको कागजातसहित निवेदन गृह मन्त्रालयमा पठाएको खबर पाएकी बताइन्।

‘सिडिओ कार्यालयमा नागरिकताका लागि दुई वर्षअघि चाहिने सबै कागजात बुझाएको थिएँ,’ उनले नागरिकसँग भनिन्, ‘अहिले बुझ्दा गृह मन्त्रालय पुगेको छ। एकचाटि त्यहाँ बुझ्नुस् भन्छन्। गृह मन्त्रालयमा दश पटक धाउँदा पनि तपाईंको काम हुँदैछ नआतिनुस् भन्छन्। अझै के नपुगेको हो थाहा छैन।’

उनका अनुसार लैंगिक तथा यौनिक अल्पसंख्यकलाई प्रमाणका आधारमा ‘अन्य’ को नाममा नागरिकता दिँदै आए पनि इच्छाइएको नामबाट नागरिकता लिन धेरै समस्या झेल्नुपरेको छ।

नेपालमा लैंगिक पहिचान उल्लेख गरिएको नागरिकता प्राप्त गर्नका लागि व्यक्तिले चिकित्सकीय प्रक्रियाबाट लिंग परिवर्तन गर्नुपर्ने कुनै कानुनी व्यवस्था नभए पनि राज्यले यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिलाई पहिचानको नागरिकताका लागि शल्यक्रिया गरेको चिकित्सकीय प्रमाणपत्र माग्ने गरेको दुःख उनले व्यक्त गरिन्।

इच्छाइएको नाममा नागरिकता नहुँदा ठाउँठाउँमा दुःख पाउनु परेको उनी सम्झन्छिन्, ‘मेरो रूपरेखा, शरीरको बनावट सबै महिलाजस्तो छ। त्यति मात्रै नभएर बोलीमा पनि खासै भिन्नता छैन। तर पनि पाइला–पाइलामा नागरिकता चाहिन्छ। जसका लागि पुरानो नागरिकता पेस ग¥यो। तपाईंको नागरिकता दिनुस् ? यो त अर्कै मान्छे पो छ त ? यो नागरिकतावाला मान्छेलाई बोलाउनुस् कि त ?’

विभिन्न ठाउँमा नागरिकता पेस गर्दा कसको नागरिकता बोकेर आउनुभएको भनेर प्रश्न गरेकोमा उनी बेलाबेलामा मुर्छित हुन्छिन्। यसरी विभिन्न ठाउँठाउँमा दुःख पाइरहेकाले पुरुषजस्तो पहिरनमा हिँड्नुप¥यो ? आत्मा र शरीरको मिलन (महिला) भइसकेपछि नागरिकता चाहिएको उनी बताउँछिन्।

टिनाजस्तै नागरिकता पाउन धेरै लाञ्छना र दुःख पाइरहेका काठमाडौं चक्रपथका एलिन भण्डारी नागरिकता पाउने दिनको पर्खाइमा छन्। एलिन जन्मजात महिला भएर जन्मे पनि आफूलाई पुरुष अर्थात् ‘ट्रान्सम्यान’ (पारलैंगिक) भन्न रुचाउँछन्। बाबुआमाले छोरीको रूपमा रंग, अंग र लिंग हेरेर हुर्काएसँगै उनको नागरिकता एलिना भण्डारीको नामबाट निस्किएको छ। तर, बच्चादेखि नै आफू पुरुष हुँ भन्ने अनुभूतिले साच्चै आज उनलाई सबैले पुरुष नै ठानेका छन्। भावना र शरीरले पनि एलिनलाई साथ दिएको छ। जो कोहीले हेर्दा उनलाई ‘ट्रान्सम्यान’ हो भन्ने ठान्दैनन्, ठान्छन् त केवल पुरुष।

उनको माग पनि इच्छाइएको नाममा नागरिकता पाउनुपर्छ भन्ने हो। उनी लिंग पुरुष अर्थात् एलिनको नाममा नागरिकता लिन एक वर्षभन्दा बढी समयदेखि लडाईं गरिरहेका छन्। तर, टिनाजस्तै उनले पनि नागरिकता पाउन सकेका छैनन्।

टिनालाई जस्तो एलिनलाई नागरिकता पाउन आवश्यक कागजातमा शल्यक्रियासहितको मेडिकल प्रमाणपत्र बुझाउनु परेको छैन किनकि आफूले पुरुषको नाममा नागरिकता पाउनुपर्छ भन्दै वर्ष दिन पहिल्यै उच्च अदालत पाटनमा मुद्दा हालेको एलिनले बताए। सोही मुद्दामा पुरुषको नामबाट नागरिकता पाउनुपर्छ भन्ने निष्कर्ष निस्किएपछि उनी वडा र जिल्ला प्रशासन कार्यालय धाउन थालेको उनी सुनाउँछन्।

‘मैले पुरुषको नागरिकता पाउनुपर्छ भन्दै सिधै उच्च अदालतमा मुद्दा हालेको थिएँ,’ एलिनले नागरिकसँग भने, ‘त्यो मुद्दा जितेँ पनि। त्यसो हुँदा सिडिओमा कुनै पनि मेडिकल प्रमाणपत्र बुझाउनुपर्दैनथ्यो। पथ्र्यो त केवल वडाको सिफारिस।’

उनले भने, ‘वडामा तीनचार दिन धाएँ। त्यहाँका कर्मचारीले हामी सल्लाह गरेर बोलाउँछौं भने। तर, केही समयपछि मैले वडाको पनि सिफारिस पाएँ। त्यसपछि सिडिओमा जाँदा तपाईंलाई उच्च अदालतले दिएको कागजपत्रमै खुलस्त रूपमा पुरुषकै नामको नागरिकता पाउनुपर्छ भनेर खुलाएकै छैन भने। त्यसपछि केही आशा पलाएको ममा पुनः निराशाले ढाल्यो ।’ त्यही पनि उनलाई जिल्ला प्रशासन कार्यालयले कागजात लिएर फोटोसमेत खिची बुझेर खबर गर्ने झिनो आश राखिदिएको बताए।

त्यतिमात्रै नभएर जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओले सिधै सिडियोलाई भेटेरै कुरा गर्नु भनेको उनी सम्झन्छन्, ‘मैले तपाईंको लिनुपर्ने कागजात र फोटा पनि लिएको छु। यस विषयमा अब सिधै सिडिओ सापलाई नै भेटेर कुरा गर्नुहोला ।’ धेरै पटक सिडिओलाई भेट्न खोजे तापनि भेट नभएको एलिनको गुनासो छ।

समय–समयमा कहाँसम्म पुग्यो आफ्नो काम भन्दै एलिनले प्रशासन कार्यालयलाई नझकझक्याएका होइनन्। तर, आज वर्ष दिनभन्दा बढी समय हुँदा पनि नागरिकता नपाएर आफूले पेस गरेका सबै कागजात पनि प्रशासन कार्यालयमै रोकिएकोमा उनी साह्रै चिन्तित छन्।

संविधानमा पनि लैंगिक पहिचानअनुसारकै नागरिकता दिइने भनिएको छ, यौन अभिमुखीकरण अनुसारको होइन। तर, आफूहरू वञ्चित रहेको उनको ठुलो गुनासो छ। उनका अनुसार नामजस्तो आधारभूत विषयमा पनि व्यक्तिले निर्णय गर्न नपाउने र अरूले फैसला गरिदिएकै नाम जीवनभर कायमै राख्नुपर्ने बाध्यता नागरिकलाई हुनुहुँदैन।

‘जन्मनेबित्तिकै शिशुलाई कसरी चिन्ने भनेर अभिभावक वा संरक्षकले नामांकन गर्नु स्वाभाविक हो तर जन्मको ३० दिनभित्र गरिएका निर्णय जीवनभर नै कायम गरिराख्नुपर्ने बाध्यता हुनुहुँदैन,’ उनले भने।

उनका अनुसार अभिभावकसँग नागरिकता बनाउन जाँदा आफ्नो वास्तविक पहिचान खुलाउन नसकेको वा ढिलो गरी लैंगिक पहिचान थाहा पाउने व्यक्तिले पछि नागरिकता सच्याउन पाउनुपर्ने हो।

‘एउटा सामान्य मान्छेले पहिचानकै आधारमा केही घण्टामै नागरिकता पाउँछन्। तर, पीडितलाई जहाँ गए पनि पीडा भनेझैं हाम्रो पहिचानअनुसारकै नागरिकता देऊ भन्दा पनि वर्षौंवर्ष हन्डरठक्कर खानुपर्ने कस्तो नीति हो,’ एलिनले मलिन स्वरमा नागरिकलाई भने।

बल्लतल्त एउटा चरण पार गरेर अर्को चरणमा पुग्दा आत्मसम्मानमा चोट पुग्ने प्रश्नहरू खेप्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। त्यति मात्रै गरेर हामीलाई आजाद बनाइदिए त हुने नि, वर्षौंवर्ष फाइल नै अड्काएर के चाहिँ गर्ने होला भन्दै एलिनले प्रतिप्रश्न गरे।

अहिले एलिना नामकै बैंक खाता, शैक्षिक प्रमाणपत्रमा सोही नाम रहेको आफ्नो व्यथा पोखे। आफूले एलिनको नामको नागरिकता पाउनेबित्तिकै बैंक खाता र परीक्षा बोर्डमा गएर शैक्षिक प्रमाणपत्रमा पनि एलिन भण्डारी नै राख्ने उनको ठुलो चाहना छ।

ब्लु डाइमन्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले संविधानको व्यवस्था र सोहीअनुसार अदालतले आदेश दिँदा पनि सरकारी निकायहरूले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई नागरिकता दिँदा तनाव दिने गरेको बताइन्।

‘सरकारले नागरिकता दिए तापनि सरकारी ढोका लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि खुला छैन। पहिचान भन्ने कुरा अनुभूति र आत्मासँग जोडिएको हुन्छ,’ पिंकीले भनिन्, ‘यसकारण स्वअनुभूतिका आधारमा नागरिकता पाउनुपर्छ। साथै विदेशमा गएर लिंग परिवर्तन गराउन धेरैको हकमा असम्भव छ।’

संविधानले समानता र समावेशिताको व्याख्या गरे पनि व्यवहारमा लैंगिक तथा यौनिक अल्पसंख्यक सवालमा लागु नहुनु सबैभन्दा दुःखद पक्ष रहेको पिंकीले बताइन्।

‘कम्तीमा अरू नागरिक सरह नागरिकता त सहजै पाउनुपर्ने हो नि। त्यसमा पनि हामीमाथि विभेद गरिएको छ। कुनै पनि व्यक्तिले आफ्नो स्वअनुभूतिअनुसारको लैंगिक पहिचान पाउनु उसको नितान्त वैयक्तिक अधिकार हो,’ पिंकीले भनिन्। साथै यसमा राज्यको कुनै पनि कानुनले जैविक लिंग के हो भनी निर्धारण गर्नु अन्यायपूर्ण विषय रहेको उनी बताउँछिन्।

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिले स्वेच्छाका आधारमा आफूहरूलाई नागरिकता प्रदान गर्न माग राखेका छन्। ‘लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको नागरिकताको सवाल जटिल बन्दै गइरहेको छ, ट्रान्सम्यान र ट्रान्स वुमनलाई नागरिकता दिन डाक्टरकै सर्टिफिकेट माग गरिन्छ, शरीरका अंगहरू नै देखाउन भनिन्छ, यो के मानव अधिकार उल्लंघन होइन?’

पिंकीले भनिन्, ‘नागरिकता नहुँदा बैंक अकाउन्टदेखि अन्य कागजातमा समस्या हुने गरेको छ। सयौं लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति नागरिकताको अधिकारबाट वञ्चित हुनुहुन्छ। नागरिकता लिएकाहरूलाई पनि ‘अन्य’ भनेर दिने गरिएको छ, यो मान्य छैन।’

संविधानको धारा १२ मा पनि लैंगिक पहिचानका आधारमा नागरिकता दिने व्यवस्था छ। तर, नागरिकता कानुनमा डाक्टरको हस्ताक्षरसहितको प्रमाण र लिंग परिवर्तन गरेको प्रमाण देखाउनुपर्ने व्यवस्था गरिएको छ। लिंग परिवर्तन गर्न तथा हार्मोन परिवर्तन गर्न खर्चिलो हुने भएकाले आफ्नो पहिचान आफैं गर्न पाउनुपर्ने लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले माग राखेका छन्।

ब्लु डायमन्ड सोसाइटीको तथ्यांकअनुसार हालसम्म सरकारले करिब २५० जना लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई ‘अन्य’ पहिचानमा नागरिकता दिएको छ। नेपालको संविधान २०७२ को धारा १२, १८ र ४२ ले लैगिंक तथा यौनिक अल्पसंख्यकको नागरिकता, समानता र सामाजिक न्यायको हक सुनिश्चित गरेको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस