‘पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ’
०४ असार २०८१
•
५ मिनेट पाठ
‘पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ’
२०७८ साल १ असार गते बाढीले वितण्डा मच्चाएको मेलम्ची क्षेत्र। फाइल तस्बिर: नागरिक
सिन्धुपाल्चोकस्थित हेलम्बुको उच्च भेगमा वर्षा हुँदा मेलम्ची खोलाको सतह बढेर आउँछ। साबिकभन्दा खोला बढेपछि नदी आसपास रहेकाहरुबीच भागदौड मच्चिन्छ, कारण खोलामा सामान्य बाढी आउँदा पनि यहाँका स्थानीयले १ असार २०७८ सम्झिहाल्छन्।




आजभन्दा तीन वर्षअघि हेलम्बुको शिर भेमाथाङको विशाल चौर भत्केर आएको लेदोसहितको बाढीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सिधै छोप्यो। पाँचपोखरी थाङपाल गाउँपालिकाका केही भाग पनि नदीमा विलय भयो। बाढीले पाँच सय बढी घरटहरासहित नदी करिडोरमा रहेका केही व्यक्ति बगायो।

हेलम्बुको शिर भेमाथाङको विशाल चौर भत्केर आएको लेदोसहितको बाढीले त्यति मात्रै गरेन अरबौँ लगानी गरेर बनाइएका फर्म, रिसोर्टहरुलाई पनि खोलाले निल्यो। स्थानीय तहले निर्माण गरेका र गर्दै गरेका संरचना ध्वस्त बनायो। योसँगै मेलम्ची र हेलम्बुको विकासलाई बाढीले निकै वर्ष पछाडि धकेल्यो। बाढीले क्षति गरेका तीन स्थानीय तहका नदी आसपास बस्नेहरु अहिले पनि राम्ररी निदाउन सक्दैनन्। खोला बढ्नासाथ त्रास फैलन्छ। डरले मुटु काँप्छ अनि त्यस्तै बाढी आउन सक्ने आकलनमा भागदौड मच्चिन्छ।

तीन वर्षअघि बढेको हेलम्बुको ठूलो चौर कुनै पनि बेला फेरि खस्न सक्ने सम्भावना रहेको विज्ञहरुले बताएकाले मेलम्ची करिडोरवासी पानी पर्नासाथ त्रासमा रहने गरेका हेलम्बु–४ का खिलप्रसाद लामिछाने बताउँछन्।

‘बर्खा लागेसँगै सम्भावित बाढीले पिरोल्छ, कसरी ज्यान जोगाउने भन्नेमै रात बित्छ’, उनी भन्छन्, ‘पानी पर्न थालेपछि पहिलाको विकराल बाढीको याद आउँछ अनि मुटु काँप्न थाल्छ, डर र त्रासका बीच रात बिताउँदैछौँ।’

बाढीले बगाएका सडक अझै बनिसकेका छैनन्। घर बगाएकाहरु अझै टहरामै खुम्चिन बाध्य छन्। सडक सञ्जाल विस्तार हुन नसक्दा बिरामी तथा वृद्धवृद्धाहरु सकसपूर्ण दैनिकी जिउन बाध्य भएका लामिछाने बताउँछन्।

‘सरकारले वास्ता गरेको छैन, हामीले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराएका छौँ’, उनी भन्छन्, ‘जनताहरु पीडामाथि पीडामा छन्, सरकारले हामीले राखेका मागहरु केही पूरा गरेको छैन।’

यस वर्ष पनि जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकमा औसतभन्दा धेरै पानी पर्ने पूर्वानुमान गरेको छ। विभागको यो पूर्वानुमानले पनि स्थानीयवासीमा थप त्रास फैलिएको छ। पहिलेका बाढीपीडित अझै पक्की घरमा बस्न पाएका छैनन्। उनीहरु अझै असुरक्षित छन्।

मेलम्ची बाढीले हेलम्बु गाउँपालिकाको चार गाउँको अस्तित्व मेटाउनाका साथै तटीय क्षेत्रलाई हेर्दाहेर्दै एकै रातमा बगर बनाएको लामिछाने अनुभव सुनाए।

‘बाढीले सयौँ रोपनी खेतीयोग्य जमिन नदीमा मिसाइदिएपछि किसानले उब्जनी गर्न पाएनन्। हेलम्बुको पहिचान झल्कने ट्राउट व्यवसाय बन्द भयो। बाढीले समृद्ध हेलम्बुको यात्रालाई बीचमै रोकिदियो’, उनी भन्छन्।

आठ वर्षदेखि हेलम्बुको किउल बगरमा रिसोर्टसहितको ट्राउट फर्म सञ्चालन गरेर बसेका उत्तममणि भण्डारीसहितको नदी करिडोरमा रहेको आठवटा फार्म नदीमा विलय भएको भण्डारी बताउँछन्। उनका अनुसार नदी करिडोरमा रहेका ट्राउट फार्ममा मात्रै एक खर्बभन्दा बढीको क्षति भएको छ।

मेलम्चीको मुहानस्थल हुँदै एक्कासि उर्लिएर आएको बाढीले हेलम्बुको पुराना गाउँ चिउरेखर्क, चालिसे गाउँ, तल्लो तिम्बु बजार, गणेश बगर गाउँको सबै संरचना बगायो। झन्डै १८ हजार जनसङ्ख्या भएको हेलम्बुको तालामाराङ, चनौटे, किउल, तिम्बुजस्ता चिटिक्क देखिने बजारभर बालुवा थिग्रियो।

मेलम्ची बजारको नदी किनारमा नगरपालिकाले पर्यटकीय प्रवर्द्धनका लागि ग्रिन सिटी पार्क निर्माण गर्दै थियो। करिब ३८ करोड लगानीमा निर्माण थालिएको उक्त पार्क पनि बाढीले बगाएको तत्कालीन नगरप्रमुख डम्बरबहादुर अर्याल बताउँछन्। तीन खण्डमा कार्य सम्पन्न गर्ने गरी सुरु गरिएको उक्त पार्कको निर्माण एक खण्ड सकिएको उनी जानकारी दिए। सो पार्क पर्यटन प्रवर्द्धनसँगै वातावरणीय संरक्षण अभियानका लागि निर्माण थालिएको अर्यालले बताए।

‘बाढीले मेलम्ची बजार सिङ्गै डुबायो। बजारमा निर्माण गरिएका सामुदायिक रेडियो, रेडियो मेललम्चीको चारतल्ले पक्की घर पनि बगायो। चन्दा सङ्कलनबाट निर्माण गरिएको भवनमा रेडियोका उपकरणहरुसमेत बगायो’, रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदी भन्छन्। बजारमा छ करोड लगानीमा स्थानीय सागर श्रेष्ठले जिल्लामै पहिलोपटक लिफ्टसहितको होटल सञ्चालनमा ल्याएका थिए। छ तल्ले सो भवन पनि बाढीले डुबाएपछि उनी अहिले ऋणको मारमा छन्।

मेलम्ची बाढी आएको तीन वर्ष पूरा भए पनि पीडितहरु अझै टहरामै आश्रित छन्। पीडित सन्तोषी श्रेष्ठ यो वर्ष पनि आनन्दसँग रात काट्न नपाउने भन्दै दुखेसो गर्छिन्। बाढीपछिका बर्खामा टहराको बसाइ निकै सकसपूर्ण भएको उनको भनाइ छ।

बाढीका कारण हेलम्बु गाउँपालिकामा तीन सय ९२ परिवार लाभग्राही पहिचान गरिएको थियो। सोमध्ये हालसम्म एक सय परिवारले मात्रै राहतको पहिलो किस्ता पाएका छन्, जसमा ९५ परिवारले जग्गा खरिद गरेकाे हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।

मेलम्ची नगरपालिकामा दुई सय ४४ परिवार लाभग्राहीको सूचीमा थिए। सोमध्ये दुई सय ३२ परिवारले पहिलो किस्ता पाएका छन् भने अन्तिम किस्ता पाउने परिवारको सङ्ख्या आठ रहेको नगरपालिका कार्यालयले जनाएको छ।

बाढी प्रभवित पाँचपोखरीमा एक सय ८४ परिवार लाभग्राही रहेकामध्ये ९२ परिवारले जग्गा प्राप्त गरेका छन्। सरकारले जग्गा नभएका बाढीपीडितलाई जग्गाका लागि बढीमा तीन लाख, घर निर्माण गर्न पाँच लाख र अस्थायी आवास निर्माणका लागि ५० हजार दिने घोषणा गरेको थियो।

वर्षासँगै उर्लिएर डरलाग्दो गरी बग्ने मेलम्ची खोलाको बाढीले क्षतिग्रस्त घर र खेतबारी कटान गरेपछि थप बिचल्ली भएको स्थानीय बताउँछन्। पीडितका लागि स्थायी आवास निर्माण गर्न स्थानीय सरकारले मात्रै सम्भव नहुने हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पा बताउँछन्।

सबै तहका सरकार र सरोकार भएका निकायले सहयोग गर्नुपर्नेमा उनले जोड दिए। 

- रुपक पुरी/रासस
अर्को समाचार
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
४९ मिनेट अघि
•
१ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
पोखरा। गण्डकी प्रदेश प्राकृतिक रूपमा मात्र होइन, भाषा र संस्कृतिको हिसाबले पनि धनी छ। यहाँ १०३ जातजातिले ७२ मातृभाषा बोल्छन् भनिन्छ। सांस्कृतिक हिसाबले पनि विविधतापूर्ण संस्कृति रहेको गण्डकी देशकै भाषा, संस्कृतिमा नमुना मानिन्छ।




तर नवपुस्ताले आफ्नो भाषा बोल्न छाड्दै गएका छन्। मौलिक लोकभाका हराउँदै गएको छ भने परम्परागत संस्कृति पुस्तान्तरण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेका छन्।

यही नयाँ पुस्ताले बोल्न छाड्दै गएको भाषा, मौलिक लोकभाका र लोपोन्मुख संस्कृति संरक्षणमा गण्डकी प्रज्ञा–प्रतिष्ठान लाग्ने भएको छ। जसका लागि आगामी वार्षिक कार्य योजना तयार गरेर कार्यक्रमको प्राथमिकीकरण गरिएको प्रतिष्ठानले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

प्रतिष्ठानको मंसिर ११ र १२ गते बसेको प्राज्ञ सभा बैठकले मौलिक भाषा, लोकभाका, बाजा, नाच र संस्कृतिलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्यसहितको वार्षिक कार्य योजना पारित गरेको कुलपति प्रा.डा.कुसुमाकर न्यौपानेले बताए।

‘दशौं प्राज्ञ सभाबाट पारित कार्ययोजनामा लोपोन्मुख सांस्कृतिक सम्पदाको खोज, अनुसन्धान, संरक्षण र पुस्तान्तरणलाई विशेष जोड दिइएको छ’,उनले भने। सीमित स्रोतसाधनबाट अधिकतम उपलब्धि हासिल गर्ने लक्ष्य राखेको प्रतिष्ठानले प्रदेशको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय पहिचानलाई संरक्षण गर्दै सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने गरी योजना बनाएको उनले बताए।

प्रतिष्ठानको वार्षिक कार्ययोजनामा गण्डकीका मुख्य १० भाषाका कक्षा सञ्चालन गर्ने उल्लेख छ। प्रतिष्ठानले चालु आर्थिक वर्षमा तमु (गुरुङ), मगर, नेपाल, दुरा, ढुट÷खाम, थारु, तामाङ, छन्त्याल, कुमाल र दरै भाषाका कक्षा सञ्चालन गर्ने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार भाषा संरक्षण अन्तर्गत लोपोन्मुख भाषा र लिपिको अनुसन्धान, शब्दकोश निर्माण तथा लोकभाषाका शब्द सङ्कलन गरी ग्रन्थ प्रकाशन गर्ने योजना पनि प्रतिष्ठानको छ।

युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष्ठले बताए।

त्यस्तै, प्रतिष्ठानले गण्डकी प्रदेशको कामकाजी भाषाका रूपमा घोषित गुरुङ र मगर भाषालाई व्यवहारमै उतार्नका लागि आवश्यक कार्यमा सहकार्य गर्ने भएको छ।

‘गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई कामकाजी भाषाका रूपमा विकास गर्ने उद्देश्यले अघि सारेको नीतिलाई कार्यान्वयनमा सघाउने प्रतिष्ठानको योजना छ’,उनले भने,‘यसका लागि सम्बन्धित पक्षसँग छलफल तथा परामर्श गरी भाषा र लिपिलाई व्यवस्थित गरिनेछ।’

प्रतिष्ठानले भाषा संरक्षण र शुद्ध प्रयोगलाई प्रोत्साहन गर्न ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान’लाई निरन्तरता दिने भएको छ। यसअघि देखि नै सञ्चालनमा रहेको यो अभियानलाई प्रभावकारी बनाउने गरी प्रतिष्ठानले कार्य योजना बनाएको सदस्य सचिव श्रेष्ठले जानकारी दिए। जसका लागि ३५ जना भाषा शिक्षक तयार गरिएको उनले बताए।

उनका अनुसार शुद्धतालाई प्रोत्साहन गर्न प्रतिष्ठानले शुद्ध पुस्तकहरूको प्रतिष्ठान आफैले प्रकाशन गर्नेदेखि गण्डकीका लेखकहरूले प्रकाशित गरेका शुद्ध पुस्तकहरूलाई गण्डकी वर्ष पुस्तक घोषणा गरी पुरस्कृत गर्ने, स्थानीय, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय गोष्ठी तथा सम्मेलन आयोजना गर्नेसम्मका कार्यक्रम तय भएको छ।

प्रतिष्ठानले भाषासँगै हराउँदै गएका लोकसंस्कृतिको संरक्षणलाई पनि प्राथमिकतामा राखेर कार्य योजना बनाएको छ। लोकगीत, लोकगाथा, लोककविता, लोककाव्य, लोकभाका, लोककथा, लोकनाटक, उखान, टुक्का र गाउँखाने कथाको सङ्कलन गर्ने प्रतिष्ठानको योजना रहेको जनाइएको छ।

विभिन्न जातजातिका संस्कृतिको सर्वेक्षण, किंवदन्ती, जनश्रुति र लोकमन्त्रको सङ्कलन तथा होमस्टे संस्कृतिको दस्तावेजीकरणसमेत गरिने कार्य योजना बनेको सदस्य सचिव श्रेष्ठले बताए।

विशेष गरी लोपोन्मुख अवस्थामा रहेका मौलिक लोक भाकालाई नयाँ पुस्तासम्म पुर्‍याउन प्रतिष्ठानले संरक्षण अभियान सञ्चालन गर्ने, यानिमयाँ, सुनिमयाँ, साहिँलो दाइ, रेरे साइँलो, घुम्टेको भाका, कठै, सिलोक र कैकदमैजस्ता मौलिक भाकाको संरक्षणसँगै पुस्तान्तरण कार्यक्रम सञ्चालन गरिने पनि श्रेष्ठले जानकारी दिए।

त्यस्तै, एकोहोरी तथा दोहोरी गीतको संरक्षण र सम्बद्र्धनका कार्यक्रम पनि समेटिएका छन्। परम्परागत बाजा र नाचको संरक्षणका लागि धिमे, ढोङ्गी, टुना, खैजडी, मादल, सारङ्गी, अर्बाजो, मौरी, छ्याँडु र नौमती बाजा बजाउने तालिमलाई निरन्तरता दिइने भएको छ।

साहित्य र सिर्जनाको संरक्षणका लागि गण्डकी साहित्य डिजिटल अभिलेख निर्माण, स्रष्टाका सिर्जनाको संरक्षण, पुस्तक लेखनमा अनुदान र प्रतिभा प्रस्फुटन कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले बताए। ‘स्मृतिमा स्रष्टा, धूनमा कविता’ कार्यक्रम गरिने उनले बताए।

ललितकलातर्फ ‘रङमा लोमान्थाङ’, ‘कला अङ्कुर अभियान’ र प्रादेशिक ललितकला प्रदर्शनी आयोजना गरिने जनाइएको छ। कोमागाने पार्कलाई खुला आर्ट ग्यालरीका रूपमा विकास गर्न पहल गर्ने प्रतिष्ठानको योजना रहेको श्रेष्ठले बताए।

नाट्यकलाको विकासका लागि नाटक लेखन तथा निर्देशन कार्यशाला, विद्यालय रङ्गमञ्च अभियान र नाटकलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पहल गर्ने कार्य योजना बनेको श्रेष्ठले जानकारी दिए।

‘ललितकलातर्फ ‘रङमा लोमान्थाङ’, ‘कला अङ्कुर अभियान’ र प्रादेशिक ललितकला प्रदर्शनी आयोजना गरिनेछ। कोमागाने पार्कलाई खुला आर्ट ग्यालरीका रूपमा विकास गर्न पहल गर्ने प्रतिष्ठानको योजना छ’,उनले भने।

नाट्यकलाको विकासका लागि नाटक लेखन तथा निर्देशन कार्यशाला, विद्यालय रङ्गमञ्च अभियान र नाटकलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पहल गरिने उनले बताए।

भाषा र संस्कृतिलाई प्राथमिकतामा राखेको प्रतिष्ठानले अनुसन्धानलाई पनि उत्तिकै महत्त्व दिएको छ। प्रतिष्ठानले अनुसन्धानका लागि अनुदानको व्यवस्था गरेको छ भने गण्डकीका प्रतिभा ग्रन्थ निर्माण गर्ने, गण्डकीका संघसंस्थाहरु शीर्षकमा अनुसन्धान गर्रा ग्रन्थ तार गर्ने, गण्डकी प्रदेशका भाषा, कोट, किल्ला तथा गढीहरु, मठमन्दिर, गुम्बा तथा थान, लोकमन्त्र, लोकविश्वास, औषधीमुलो, लोकगीत, लोककविता, लोकगाथा, लोककाव्य, लोककथा, उखान, लोकनाटक, टुक्का, गाउँखाने कथा, लोकबाजा, लोककला, प्रथा, पुरातत्व, नदीनाला, लोकजीवन, पर्यटनलगायत बारेको अनुसन्धानमा जोड दिइने सदस्य सचिव श्रेष्ठले जानकारी दिए।

प्रतिष्ठानले आफ्नै कार्यालय भवन बनाउनका लागि जग्गाको खोजी गर्ने भएको छ भने गण्डकी प्रदेशले स्थापना कालदेखि नै जोड दिँदै आएको सांस्कृतिक ग्राम निर्माणका लागि पहल गर्ने भएको छ।

साथै कला प्रदर्शनी गृह निर्माण, स्रष्टा चौतारी निर्माण, गन्धर्व डबली निर्माण र एक जिल्ला एक सांस्कृतिक घर निर्माणका लागि पनि पहल गरिने श्रेष्ठले बताए।

त्यस्तै, लोपोन्मुख संस्कृतिको डकुमेन्ट्री बनाउने, स्रष्टाको बायोग्राफी बनाउने लगायतका कार्यलाई पनि प्राथमिकता दिइने उनले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock १४ सेकेन्ड अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
यो पनि पढौँ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस